logo
२०८१ माघ ९ बुधवार



विश्वविद्यालय र निजामतीबीच समन्वय

विचार/दृष्टिकोण |




डा.खगेन्द्रप्रसाद सुवेदी

मानव सभ्यताको आरम्भकालमा निश्चित उमेर पुगेपछि गुरुकुलमा बच्चाहरूलाई अध्यापनका लागि पठाइन्थ्यो । जहाँ भावी दिनमा आइपर्ने समस्याहरूलाई सहज रूपमा सामना गर्न सक्ने र जीवनलाई व्यावहारिक रूपमा सम्पादन गर्न सक्ने खालको शिक्षा दिइन्थ्यो । आज पनि पढाइने विषयहरू आफ्नो क्षेत्र, देशको वर्तमान र निकट भविष्यमा आइपर्ने विषय तथा अन्वेषण, चुनौती, कार्यक्रम सञ्चालन गर्ने उद्देश्यबाट अभिप्रेरित छन् ।
नेपालको सन्दर्भमा, हाम्रा विश्वविद्यालयमा पढाइने विषय र त्यहाँबाट उत्पादन हुने शैक्षिक जनशक्तिको भविष्यको बारेमा हामीले घनिभूत छलफल गरेका छैनौँ । विश्वविद्यालयबाट निश्चित योग्यता पूरा गरेपछि नेपाल सरकार मातहतका विभिन्न निकायहरूमा आर्कषण बढेको पाइन्छ । लोकसेवा आयोगको सिफारिसमा जनशक्ति त्यहीबाट खपत भइरहेको छ । निजामती सेवालगायत नेपाल सरकारको मातहतमा रहेका अन्य निकायमा सेवा गर्न चाहने जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयकासँग नेपाल सरकारले समन्वय गर्न जरुरी भइसकेको छ । मुलुकलाई समृद्ध बनाउन एक अर्काबीच छलफल, समन्वय र दिगो सहकार्य स्थापना गर्न जरुरी छ । यसका लागि निम्नानुसार चरण अपनाउनुपर्छ । सम्बन्ध स्थापनाः विश्वविद्यालयका विभिन्न सम्बन्धित विभागका उच्च तहका प्रमुखहरूलाई नेपाल सरकारको मन्त्रालय वा विभाग, निर्देशनालयले आपसी छलफलको लागि निमन्त्रणा गर्नुपर्छ । व्यावसायिक सम्बन्ध स्थापना गरी ज्ञानलाई व्यवहारमा उतार्न गर्न सकिने पक्षबारे छलफल गरी सम्बन्ध स्थापना गर्नुपर्छ ।
संरचना स्थापनाः ज्ञानलाई व्यवहारमा उतार्न यदाकदा गरिने विषयले कम महìव दिन्छ । आम नागरिकको अपेक्षा पूरा गर्न जुन उद्देश्यले संस्थाको स्थापना भएको छ, त्यसलाई वास्तविकतामा परिणत गर्न जरुरी छ । यसका लागि सरकारका विभिन्न निकायमा सम्बन्धित विषयका विद्यार्थीलाई अनुसन्धान, इन्टर्नसिप गर्ने गराउनु व्यावहारिक देखिन्छ । त्यसैले व्यवहारमा रूपान्तरण गर्ने गरी विभिन्न चरणका लागि संरचना स्थापना गर्नुपर्छ । कार्य सञ्चालन कार्यविधि : विश्वविद्यालय र निजामतीका निकायहरूबीच कार्यात्मक रूपमा सम्बन्ध स्थापना गरी त्यसका स–साना चरणहरूलाई कसरी, कसले कहाँ, कहिलेसम्ममा के के गरी सम्पन्न गर्ने भन्ने सम्बन्धमा कुनै द्विविधा नहुने गरी चरणहरूबारे उल्लेख गर्नुपर्छ ।
विश्वविद्यालयमा पढाइने विषयलाई सम्बन्धित क्षेत्रमा उपयोग हुने हिसाबले र नियमित सम्पूर्णतामा कार्यसफलताका र आपसी हितका लागि कार्यसञ्चालन कार्यविधि निर्माण गर्नुपर्छ । कार्यप्रगति प्रतिवेदन प्रस्तुतिः विश्वविद्यालयका विद्यार्थीबाट विभिन्न विषयमा तयार गरिएका थेसिस, लेखन वा अध्ययनलाई अनुसन्धान गराई उनीहरूको सो कार्य परीक्षासँग अथवा उपलब्धिसँग सम्बन्ध स्थापित भएको हुनुपर्छ । उनीहरूले गरेको अध्ययनको निचोडको प्रतिवेदन विश्वविद्यालयका सम्बन्धित क्षेत्रका विज्ञ, उपभोक्ता, नागरिक समाज, पत्रकार एव्म निजामती सेवाका सम्बन्धित क्षेत्रका कर्मचारी समेतको छलफल गराए उक्त क्षेत्रलाई प्रभावकारी रूपमा कार्य सम्पादन, उत्पादन र उपयोगी हुन सहयोग पुग्छ ।
प्रतिवेदन कार्यान्वयन चक्रीय प्रणालीः प्रतिवेदनमा उल्लेख गरिएका विषयहरूलाई वास्तविक कार्यक्षेत्रमा परिणत गराउने गरी समूहहरू निर्माण र परिचालन गर्नुपर्छ । त्यसमा देखिएका समस्याका विषयमा छलफल गर्नुपर्छ । तत्काल हल गर्ने विषयको समाधान गर्ने र बाँकी रहेका विषयमा समाधानतर्फ लैजान विभागीय उच्च तहमा छलफल गर्नुपर्छ । बाँकी अन्य समस्यालाई पुनः अध्ययन, अनुसन्धान गरी यसलाई निरन्तर चक्रीय रूपमा सञ्चालन गर्दै रहनाले पुराना समस्याहरू हल हुँदै जान्छन् । नयाँ नयाँ देखिएका विषयहरूमा निरन्तर अध्ययन र समाधान भइनै रहन्छ ।
मूल्याङ्कन ः निरन्तर मूल्याङ्कन र सुधार अध्ययन, अनुसन्धानबाट देखाइएका विषयहरूलाई कार्यक्षेत्रमा रूपान्तरण र हल गर्दै तथ्याङ्कीय रूपमा प्रगति वा स्थितिको मूल्याङ्कन गर्नुपर्छ । विगतवर्षको तथ्याङ्कीय स्थिति, आजको अवस्था र भोलि त्यसलाई बढाउने अपेक्षित लक्ष्य बीचमा तुलना र प्रगतिको समीक्षा सोही कार्यक्रम क्षेत्रको बारेमा हुनुपर्छ । नेपालको संविधानले परिकल्पना गरेको आकाङ्क्षा पूरा गर्न राज्य सञ्चालनका लागि स्थापित विभिन्न निकाय तथा मन्त्रालय छन् । तिनीहरूको कार्यसञ्चालन, कार्यसम्पादन गर्न मानव जनशक्ति सबैभन्दा महìवपूर्ण पक्ष हो । विश्वविद्यालयबाट आफ्नो निश्चित योग्यतामा निपूर्ण भई प्रतियोगिता पार गरेर आएकाहरूलाई कार्यस्थलमा आ–आफ्नो कार्य जिम्मेवारी र कार्य संस्कृति दिई पठाइएको हुन्छ । उनीहरूबाट नै सरकारका नीति तथा कार्यक्रम सम्पादन गराइन्छ । उक्त कार्यसम्पन्न गराउने पद शृङ्खला हुन्छ । उनीहरूको श्रेणीगत वा तहगत कार्य जिम्मेवारीको रूपमा आपसी सद्भाव, समन्वय, सूचनाको दोहोरो सञ्चार, सहकार्यको समधुर सम्बन्धको आधारमा कार्यसम्पादनको गुणस्तर वा वस्तुको उत्पादन तथा परिणाम अथवा सेवाको गुणस्तरको प्रवाह देखापर्छ । वस्तु तथा सेवाको गुणस्तरमा एउटामात्र तत्वले भूमिका खेलेको हुँदैन । जस र अपजस दुवै पूरै शृङ््खलामा आवद्ध कर्मचारी तथा पदाधिकारी भागी हुन्छन् र हुनुपर्छ । प्रत्येक कर्मचारीहरू सरकारको नीति तथा कार्यक्रम सम्पन्न गर्ने गराउने अनुबन्धित सहजकर्ताहरू हुन् ।
माथि उल्लेखित गरिएका विषयहरूमा विश्वविद्यालय र नेपाल सरकारका निकायहरूको सम्बन्ध जोड्दै सूक्ष्म ढङ्गले यसको सहसम्बन्ध र सहकार्यको कार्यलाई अघि बढाउनुपर्छ । कर्मचारीले वस्तु तथा सेवाको गुणस्तर अभिवृद्धि गर्न प्रत्येक काममा सुधार गर्दै व्यवहार, शैली र स्रोत साधनको परिचालनमा देखिएका समस्याहरूलाई तुरुन्तै समाधान गर्न तयार अवस्थामा बस्नुपर्छ । यसका लागि आफूसहितको कार्यस्थलको तल्लो युनिटदेखि माथिल्लो नीति निर्माण तहसम्मको साङ्लोको रूप तयार भई अभिलेख दुरुस्त राख्नुपर्छ । गुणात्मक कार्यसम्पादन गर्दै प्रत्येक दिन आइपरेका समस्याका बारेमा छलफल गर्नुपर्छ । यसबीच कर्मचारीका समस्या र उक्त समस्या आउने व्यक्तिगत, पारिवारिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, सीप अपर्याप्तता, थप ज्ञान, सीपको आवश्यकता, आराम र मनोबल बढाउने, प्रोत्साहित हुनेलगायतका विषयमा सूक्ष्म ढङ्गले समस्या केलाउँदै प्रत्येक युनिट, कार्यालय, निर्देशनालय, विभाग, मन्त्रालयले अद्यावधिक गर्दै सुधार गर्दै जाँदा समग्र सुधार हुँदै जान्छ । यसर्थ व्यवस्थापन, प्रशासन काममा प्रवेश गरेपछि आफैँ अभिवृद्धि हुँदै जान्छ । विभिन्न निकाय मार्फत गरिने कामभित्रको स–साना युनिटको दैनिक वा दुई तीन दिनमा वा हप्तामा एक दिन सबै पक्षको विश्लेषण गर्दै अगाडि बढियो भने व्यवस्थापन एवं प्रशासनको प्रभाव, असर आदि स्व–अध्ययन हुँदै जान्छ र ती पक्षहरूमा सुधार गर्दै लैजान सकिन्छ । काम नेपालका संस्थामा गर्ने तर संसारका नाम चलेका विश्वविद्यालयमा पढेको व्यवस्थापन हेर्नु पर्दैन । हामीले आ–आफ्नो सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक संस्कारको अवस्था र परिवेशअनुसार समायोजित हुनुपर्छ र यिनै संस्थाभित्रबाट सुधार गर्न खोज्नुपर्छ ।
विश्वविद्यालय र मन्त्रालयका निकायबीच समन्वयको संरचनागत व्यवस्था गरी विद्यार्थीलाई थेसिस (शोधपत्र) लेख्ने, इन्टर्नसिप गर्नेलगायतका विषय कार्यालयका कार्यक्षेत्रसँग आवद्ध गरिनुका साथै त्यसको प्रतिवेदनको निचोड र समस्याका क्षेत्र र सुधारका लागि पहिचान भएका क्षेत्रमा सुधारको पहल गर्नुपर्छ । चाहे त्यो व्यवस्थापकीय क्षेत्र होस् वा कुनै आयोजना, परियोजना होस् वा प्रशासनिक कार्यशैली र स्रोत साधन र प्रोत्साहनको वितरणका असन्तुष्टि होस्, सबैको लागि थेसिसमार्फत अनिवार्य अध्ययन गराइनुपर्छ । कुनै पनि विषयमा एउटा संस्था र व्यक्तिमा कमजोरी मात्र होइन त्यसको स्रोतलाई पनि गम्भीररूपमा अध्ययन विश्लेषण गर्दै जानुपर्छ । दिनभर काम गरेपछि रातमा शरीरलाई पुनर्ताजगी हुन निन्द्राको आवश्यकता जसरी पर्छ त्यसैगरी हरेक तह र तप्काका कर्मचारी, नीति निर्माता भए पनि उनीहरूलाई स्रोत र साधनको उपलब्धताअनुसार छोटो छोटो प्रकृतिका फरक परिवेशमा रमणीय स्थलमा जाने वातावरण मिलाउनुपर्छ । कामबाहेक तपार्इंको व्यक्तिगत समस्या मलाई थाहा छैन भनी गरिने व्यवहारहरू कामको उत्पादकत्वमा ह्रास ल्याउने तìवहरू हुन् ।
यस विषयमा अमेरिकाको सिकागोमा इल्टन मायोसहितको टोलीले सन् १९२८ देखि १९३२ सम्म गरेको अध्ययनले समेत मानवीयतासँग जोडिएका विषयले उत्पादनमा प्रभाव पर्ने हुँदा मानवीय पक्षबाट हेरिनुपर्ने उल्लेख गरेको छ । यसर्थ हामीले कार्यक्षेत्रका समन्वय, सहकार्य र साझेदारीका विषयहरू र कमी कमजोरी थाहा पाउन बाहिरका विज्ञका सिद्धान्तका चरणहरू दोहो¥याइरहनुपर्ने आवश्यक हुँदैन । आफ्नै निकायहरूमाथि विश्वासको वातावरण सिर्जना गरी अन्तरसम्बन्ध बढाउन संरचना र अध्ययन गर्नुपर्छ । जसबाट व्यवस्थापन, प्रशासन र मानवीयताका ठूला उदाहरणीय सिद्धान्त यही उजागर हुँदै जानेछ । जुन नमुनाका हाम्रो पद्धतिको रूपमा विकास हुनसक्छ ।
व्यवस्थापकीयलगायतका क्षेत्रमा अध्ययन, अनुसन्धान, विद्यार्थीहरूको अनिवार्य सोही क्षेत्रको थेसिस र कार्यालयहरूमा इन्टर्नसिप गर्ने चाँजोपाँजो मिलाउन र अध्ययन अध्यापनमा निजामती सेवा सञ्चालन गर्ने निकाय र विश्वविद्यालयबीच संरचनागत साझेदारी हुनु दिगो विकासका लागि अपरिहार्य हुन्छ । यसतर्फ बेलैमा सम्बन्धित निकायको ध्यान जानुपर्छ । विश्वविद्यालयलाई व्यावहारिक क्षेत्रमा अनिवार्य रूपमा एक आपसमा अनुबन्धित गर्न नसक्नु ज्ञान र कर्मबीच तालमेल नहुनु हो ।
(लेखक लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?