विकास आचार्य
बजारमा सेयर मूल्यको घटबढ, बोनस घोषणा, प्राथमिक सेयर निष्कासनलगायतका कारणबाट लगानीकर्ताको चाख प्रतिदिन बढ्दै गरिरहेको छ । हाल हितग्राही (डिम्याट) खाता खोल्नेको सङ्ख्या २५ लाखभन्दा बढी छ । दोस्रो बजारमा खाता खोल्नेको सङ्ख्या छ लाख, सक्रिय खाता पाँच लाखभन्दा बढी तथा अनलाइन एकाउन्ट टीएमएस प्रयोग गर्ने लगानीकर्ता चार लाखभन्दा बढी रहेको तथ्य पाइन्छ । देशभित्र मात्र नभई बाहिर रहेका व्यक्तिले समेत अनलाइन प्रयोगबाट सेयर खरिद बिक्री गर्न सकिने भएकाले लगानीकर्ता दिनानुदिन बढिरहेका छन् ।
सेयर कारोबारमा टी प्लस वान अर्थात् सेयर खरिद गरेको दोस्रो दिनसम्ममा किनेको सेयर आफ्नो खातामा आउने तथा सेयर बेचेको पैसा दोस्रो दिनभित्र आफ्नो बैङ्क खातामा आइसक्ने प्रावधानबाट पनि लगानीकर्ता थप आकर्षित भएको बुझिन्छ । तथापि केही ब्रोकर कार्यालयमा फोन लाग्न गाह्रो हुने, लागिहाले पनि नउठ्ने र फोन उठ्दा तथा इमेल हेर्दा पनि तत्काल प्रतिक्रिया नआउने समस्या भने कायमै छ । खरिद तथा बिक्री प्रणाली तथा प्रक्रियामा केही समस्याको बाबजुद पनि आफूले कमाएको रकमको केही हिस्सा पुँजी बजारमा लगानी गर्ने लहर निकै बढेको पाइन्छ ।
सेयर बजारबाट मुख्य दुई तरिकाले नाफा कमाउन सकिन्छ । पहिलो आफूले किनेको सेयर बजार मूल्य बढेको समयमा बिक्री गर्ने । यो ‘सर्ट टर्म’ लगानी अर्थात् ‘ट्रेडर’ बन्ने हो भने दोस्रो, दीर्घकालीन प्रतिफल दिने कम्पनीमा लगानी गर्ने र वार्षिक बोनस आर्जन गर्ने । ट्रेडरकै कारण छोटो समयमा बजार तल/माथि हुने गर्छ । यी दुईका लागि लगानीको फरक–फरक रणनीति हुन्छ । जसमध्ये दोस्रो अर्थात् दीर्घकालीन लगानी र सुरक्षित लगानीका लागि केही महत्त्वपूर्ण तथ्य जान्नु जरुरी छ ।
प्रतिसेयर आम्दानी (ईपीएस)
सेयर खरिद गर्नुअघि सो कम्पनीले एक कित्ता सेयरबराबर एक वर्षमा कति आम्दानी गरिरहेको छ, भन्ने कुरा जान्नु जरुरी हुन्छ । सो कुरा त्रैमासिक वा वार्षिक रूपमा कम्पनीले आफ्नो प्रतिवेदनमा प्रकाशित गर्दा अनिवार्य रूपमा देखाइएको हुन्छ र सो कम्पनीको वेबसाइटमा पनि राखिएको हुन्छ । सामान्यतया ईपीएस जति धेरै भयो सो कम्पनी राम्रो मुनाफामा चलको छ भन्ने बुझ्न सकिन्छ । ईपीएस धेरै भएको कम्पनीले बोनस पनि धेरै दिन सक्ने अवस्था रहन्छ ।
मूल्य आम्दानी अनुपात (पीई रेसियो)
मूल्य आम्दानी अनुपात भन्नाले हाल कुनै कम्पनीको एक कित्ता सेयरको मूल्यलाई सोही कम्पनीको वार्षिक प्रतिसेयर आम्दानीले भाग गर्दा आउने एकाइ हो । मानौँ कुनै ‘ए’ भन्ने कम्पनीको प्रतिसेयर आम्दानी ४० र हाल एक कित्ता सेयरको मूल्य दुई हजार छ भने छ भने (२०००/४०) बराबर ५० अर्थात् ५० पीई रेसियो हो । हामीले सेयर खरिद गर्दै छौँ भने इपीएसभन्दा पीई रेसियो हेर्नु ज्यादै महत्त्वपूर्ण हुन्छ । किनभने प्रतिसेयर आम्दानी धेरै हुँदा मूल्य धेरै बढिसकेको छ भने सो कम्पनीको सेयर खरिद गर्नु जोखिम मानिन्छ । ईपीएस र पीई रेसियोका आधारमा समान प्रकृतिको कम्पनीमा कुन सस्तो र कुन महँगो छ भन्ने पत्ता लगाउन सकिन्छ । त्यसका लागि यो तालिकाबाट थप प्रस्ट हुन सहयोग पुग्नेछ ।
सामान्य तया नयाँ लगानीकर्ताले सस्तो भन्नाले थोरै मूल्य भएको सेयर भन्ने बुझ्ने गरेको पाइन्छ तर यो गलत विश्लेषण हो । किन गलत हो ? सो प्रस्ट पार्न माथिको तालिकाबाट सजिलो हुनेछ । माथिको तालिकामा सस्तो कम्पनी वीर महँगो कम्पनी ‘सी’ हो । प्रतिसेयर मूल्य चौबीस सय भएको सस्तो र प्रतिसेयर मूल्य बाह्र सय भएको कम्पनी कसरी महँगो भयो ? अब कारण खोजौँ । माथिको तालिकामा ‘बी’ कम्पनीमा चौबीस सय लगानी गर्दा वार्षिक ८० आम्दानी गरिरहेको छ अर्थात् वार्षिक प्रतिफल रु. ८० दिन्छ भने ‘सी’ कम्पनीमा बाह्र सय लगानी गर्दा वार्षिक रु. ६ मात्र आम्दानी गर्छ । अर्थात् वार्षिक ६ प्रति फल दिन्छ । त्यसैले झट्ट हेर्दा ‘सी’ कम्पनी सस्तो देखिए पनि ‘सी’ भन्दा ‘बी’ कम्पनी १३ गुणाभन्दा बढी सस्तो रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) हेर्दा जहिले पनि समान प्रकृतिको कम्पनीको मात्र तुलना गर्नुपर्छ । सेयर किन्दा पहिले मूल्य बढेकोभन्दा समान प्रकृतिका समूहका अन्य सेयरभन्दा सस्तो किन्नुपर्छ ।
जगेडा कोष (रिजर्भ)
सेयर खरिद गर्दा सो कम्पनीमा रिजर्भ रकम कति रहेको छ भन्ने कुरा पनि हेर्नु अनिवार्य र महत्त्वपूर्ण पक्ष हो । जगेडा कोष धेरै भएको कम्पनीले लगानीकर्तालाई वार्षिक रूपमा बोनस धेरै दिन सक्षम हुन्छ साथै कम्पनीको घाटा पूर्ति गर्न तथा अन्य भैपरिआउने अन्य खर्च व्यवस्थापन पनि सो रकमबाट गर्न सक्छ । विशेषगरी बैङ्क तथा वित्तीय संस्थाले आफ्नो खराब कर्जा व्यवस्थापन पनि सोही रकमबाट गर्ने गरेको पाइन्छ ।
चुक्ता पुँजी
चुक्ता पुँजीबाट कुल लगानी कति छ भन्ने थाहा पाइन्छ । चुक्ता पुँजी धेरै हुँदा सोहीअनुसार प्रतिसेयर आम्दानी धेरै भएमा राम्रो मान्न सकिन्छ तर चुक्ता पुँजीकै आधारमा कम्पनी राम्रो वा नराम्रो भन्ने आधार मान्न सकिँदैन । चुक्ता पुँजीभन्दा कम्पनीको जगेडा कोष ठूलो भएमा सो कम्पनी लगानीका लागि उत्कृष्ट मानिन्छ ।
किताबी मूल्य (बुक भ्यालु)
कुनै कम्पनीको जम्मा सम्पत्ति, मूल्य, जगेडा कोषलगायत सबै रकमबाट कम्पनीको तिर्नुपर्ने सबै दायित्व घटाएर आउने रकमलाई जम्मा सेयरले भाग गर्दा आउने प्रतिकित्ता सेयर रकमबराबरको रकम सो कम्पनीको किताबी मूल्य हो । सामान्य अर्थमा भन्नुपर्दा कुनै कम्पनी घाटामा गयो वा डुब्यो वा बन्द हुने अवस्था आयो भने सो कम्पनीको सेयर होल्डरले एक कित्ता सेयरबराबर कति रकम पाउनेछन् भन्ने हिसाब हो । सामान्यतया यो अवस्था आउँदैन तर पनि आएमा आफूले कति प्राप्त गरिन्छ भन्ने थाहा पाउँदा जोखिम वहन गर्न सक्नेसम्म लगानी गर्न लगानीकर्तालाई मार्गदर्शन हुनेछ ।
एक वर्ष वा सोभन्दा माथि लगानी गर्ने लगानीकर्ताका साथै सेयर बजारको धेरै जानकारी नभएको लगानीकर्ताको लागि यी माथिका सूचक हेरी लगानी गर्दा घाटामा जाने, डुब्ने वा लगानी फस्ने डर न्यून मात्रामा हुनेछ । यो महत्त्वपूर्ण सूचकको ज्ञान नभई गरेको लगानी आकस्मिक कुनै परिवर्तन भई कम्पनीलाई लाभ प्राप्त भएको खण्डमा केही प्रतिफल दिन सक्नेछ भने सामान्यतया सो साँवाकै वरिपरि घुमिरहने वा नोक्सानीमै जाने निश्चितजस्तै हुन्छ ।