तिलक चाम्लिङ
किराती पुर्खाहरू तोयामा, खियामा र रैछाकुलेबारे थुप्रै मिथक छन् । यसमध्ये निकै चर्चित प्रसङ्ग हो– दिदीबहिनीको विछोड अनि विछोडिँदा रोपिएको लिम्चुङ्बुङ (एकप्रकारको फूल) । मिथकअनुसार लिम्चुङ्बुङ फूल ओइलाएको देखेपछि तोयामा (किराती पुर्खा) साह्रै दुःखी भइन् । बिलौना गर्न थालिन् । तुवाचुङडाँडा (मुन्दुमअनुसार किरातीको उद्गम थलो)मा रुन थालिन् । आलाप गर्न थालिन्, “मेरो भाइ पनि म¥यो । बहिनी पनि मरिछे । अब म एक्लै भएँ ।”
छुट्टिने बेला तोयामा, खियामा दिदीबहिनीले एक–एकवटा लिम्चुङ्बुङ फूलको बिरुवा रोपेका थिए । कसले रोपेको फूल मर्छ, त्यसलाई अशुभ भएछ भनेर बुझौँ भन्दै उनीहरू छुट्टिएका थिए । धेरै समयपछि तोयामा फिरेर तुवाचुङ आउँदा बहिनी खियामाले रोपेको फूल मरेको देखिन् । त्यसपछि तोयामाले बहिनी खियामा जीवित नरहेको अनुमान गरेकी हुन् । तुवाचुङडाँडा रुङेर बस्ने साफोप्ते कुरुङ्पा (मामा)लाई पक्कै थाहा हुनुपर्छ । तोयामाले कुरुङ्पालाई सोधिन्, “मेरी बहिनी के भएकी हुन् ? तपाईंलाई पक्कै थाहा छ ।” कुरुङ्पाले थाहा नभएको बताए । जसरी पनि बताउनैपर्छ भनेर तोयामाले ढिपी गरिन् । कुरुङ्पाले मनमनै सोचे, “यसलाई ढाँट्न सकिन्न । अब मैले साँचो कुरा बताउनैपर्छ ।”
तोयामाले फेरि पनि दोहो¥याइन्, “तपाईंले भन्नैपर्छ । मेरी बहिनी के भएकी हुन् ?
कुरुङ्पाले रिसाउँदै भने, “मैले खाइदिएँ ।”
तोयामाले आफूलाई बहिनीको हाडखोर भए पनि चाहिन्छ, कहाँ छ भनिन् । त्यसपछि कुरुङ्पाले पश्चिमतिर रावाचुङडाँडा (हाल ः हलेसीगढी)तिर देखाउँदै भने, “उता हेर ।” तोयामाले रावाचुङडाँडातिर हेर्दा अचम्मको दृश्य देखिन् । ढुङ्गाहरू फुलेजस्तै । बुकी फुलेको फूलैफूलको डाँडा अर्थात् घामपानीले पखालेर सेतो र सफा भइसकेको पशुपक्षीको हाडखोरजस्तै देखिन् । यसरी कुरुङ्पाले तोयामालाई देखाइदिएको ठाउँलाई ‘बुङालुङ डाँडा’ भन्न थालियो । हिजोआज यो ठाउँलाई ‘बुङालुङ पार्क’ भन्न थालिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–५ बोहेम्माका पदमकुमारी राई ‘ताराम्मा’ (७९)ले को स्मरणमा रहेको यो मिथकीय तथ्यलाई यथार्थसँग जोड्ने गरी भौगोलिक अवस्थिति रहेको यो स्थान हालसम्म हलेसी भ्रमणकर्ताको नजरमा नपरिहाले पनि बिस्तारै चर्चा बटुल्न थालेको छ । यसले मुख्यतः धार्मिक आस्थाका लागि मात्र हलेसी पुग्नेलाई फरक प्रकारको प्राकृतिक रोमाञ्चकता दिनेछ ।
बुङालुङको अर्थ
चाम्लिङ राई भाषामा फूललाई ‘बुङा’, ढुङ्गालाई ‘लुङ्टो’ र बगैँचालाई ‘लुङ’ भनिन्छ । ढुङ्गाको फूल अर्थात् ‘बुङालुङ’ भनेको ‘ढुङ्गेबगैँचा’ हो । ‘बुङालुङ’ किराती साँस्कृतिक नाम हो । प्रकृतिले नै बनाइदिएको लुङ (पार्क) हो । लोककथाअनुसार तोयामालाई बुङालुङ अचम्म लागेजस्तै यो डाँडामा पुग्दा धेरैलाई अनौठो लाग्छ । किरातीले हलेसीगढी नजिकैको यो बुङालुङलाई खियामाको प्रतीकका रूपमा सम्मान गर्छन् । पुरानो नाम बुङालुङ भए पनि हाल यो ठाउँलाई जोरकाफल, काफलडाँडा, ककनीडाँडा पनि भन्ने गरिएको छ । हलेसी महादेवस्थान विकास समितिले प्रकाशन गरेको ‘हलेसी’ (२०७१) किताबअनुसार करिब चार सय वर्षअगाडि स्थानीय राजनीति सत्ताको केन्द्र थियो– हलेसी । यो बुङालुङ पार्कनजिकैबाट किराती शासक होलेसुङले शासन गर्थे । स्थानीय व्यक्ति जिताराज राई ‘हिकेम्पा’का अनुसार होलेसुङका छोरा सत्ता प्राप्तिका लागि लाक्पा जुझेको ठाउँ पनि बुङालुङनजिक पर्छ ।
स्थानीयका अनुसार बुङालुङ होलेसुङको आफू खेल्ने आँगन थियो । अहिले हलेसीगढीको आँगनजस्तै भएको छ । त्रिधार्मिक स्थल हलेसी र हलेसीगढीको बीचमा बुङालुङ हुनु यो ठाउँकोे विशेषता हो । हलेसी तुवाचुङ नगरपालिकाले ‘हलेसी वृहत्तर गुरुयोजना’मा बुङालुङ पार्कलाई समेटेको छ । त्यहाँको प्राकृतिक स्वरूप नबिगारी ‘बुङालुङ पार्क’को विकास निर्माणको काम सुरु गरिएको नगर प्रमुख इवन राईले बताउनुभएको छ । नगरपालिकाले त्रिधार्मिक स्थल हलेसीलाई किरात, बौद्ध र हिन्दु तीनै धर्मावलम्बीका लागि फरक–फरक ठाउँमा आ–आफ्नै ‘क्लस्टर’ बनाउँदै छ । होलेसुङ समूह नेपालले हलेसीगढीदेखि बुङालुङ पार्कसम्म किरात ‘क्लस्टर’ बनाउनुपर्ने माग राख्दै आएकोे छ । होलेसुङ समूहले त्यो ठाउँमा तीन चुला बनाएर ‘किराती ज्ञान केन्द्र’को रूपमा स्थापाना गर्नुपर्ने प्रस्ताव नगरपालिकालाई गरेको छ ।
बुङालुङबाट पश्चिमतिर दुधकोसी नदी र पूर्वतिर सुनकोसी नदी बगिरहेको देखिछ । नदीबाट सुसेलिएर आउने मीठो हावा, बुङालुङको आकर्षक ढुङ्गेबगैँचामा पुगेर सास फेर्न पाउनु । त्यहाँ पुग्ने जोसुकैले आफूलाई भाग्यमानी सम्झिनेछन् । त्यहाँ पुग्दा लहरै उभिएका ढुङ्गाले स्वागत गरेजस्तो लाग्छ । फर्कने बेला फेरि आउनु है भनेर निम्तो दिँदै गरेजस्तो लाग्नु बुङालुङले गर्ने मानमनितो हो ।
अवस्थिति
खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ र ७ को बीचमा पर्छ– बुङालुङ पार्क । काठमाडौँबाट २२० किलोमिटर जति हिँडेपछि ‘होलेसुङ पार्क’ आइपुगिन्छ । त्यहाँबाट तीन किलोमिटर पर हलेसी मन्दिर छ । होलेसुङ पार्क र हलेसी मन्दिरबीचको डाँडा नै बुङालुङ पार्क हो । बुङालुङ नजिकै भएर मध्यपहाडी लोकमार्ग गएको छ । यो मार्ग भएर धेरै मानिस हलेसी पुगेका छन् । प्रसार–प्रचारको अभावले धेरैलाई बुङालुङ थाहा छैन । साँस्कृतिक अभियन्ता मनि बान्तवा भन्छन्, “हलेसीबाट धेरै नजिक र’छ । सडकबाट खुत्रुक्कै एक बित्ता माथि ।”
होलेसुङ पार्कनजिकै दुर्छिम माध्यमिक विद्यालय छ । स्कुल ‘बङ्क’ गरेर हलेसी घुम्न जानेहरूका लागि बुङालुङ रमाइलो बाटो हो । होलेसुङ पार्कको मूल बाटो भएर हलेसी पुगिन्छ तर जङ्गलैजङ्गल भएर बुङालुङ हुँदै हलेसी झर्नु छुट्टै आनन्न आउँछ । होलेसुङ पार्कबाट तीन मिनेट उकालो हिँडेपछि हलेसीगढी पुगिन्छ । हलेसीगढीबाट डाँडैडाँडा १० मिनेटजति हिँडेपछि बुङालुङ पुगिन्छ । प्राकृतिक रूपमै आकर्षक यो ठाउँमा अहिले दैनिक थुप्रै पर्यटक घुम्न आउने गरेका छन् । हलेसी यात्रामा आउँदा बुङालुङ नपुग्नेले आफ्नो यात्रा अपुरो भएको महसुस हुनेछन् । हलेसीगढी नजिक ६० फिटभन्दा अग्लो रैछाकुलेको प्रतिमा बनाउने, होलेसुङ पार्कमा कपासबाट धागो निकालिरहेको चर्खा बनाउने स्थानीयको योजना छ । समाजसेवी स्थानीय भूपेन्द्रकुमार राई भन्नुहुन्छ,, “यहाँ त थुप्रै युवकयुवतीलाई रोजगारी दिन सकिन्छ । कम्ता राम्रो हुन्थेन ।”
भौतिक रूपमा हेर्दा यहाँको कलात्मक ढुङ्गा चुनढुङ्गा (लाइमस्टोन) जस्तो देखिन्छ । त्यसैले कतिपयले यसलाई ‘रकगार्डेन’ पनि भन्ने गरेका छन् । संसारभर यस्ता ढुङ्गाका आकृतिलाई पुरातन सभ्यताको प्रतीकका रूपमा संरक्षण गर्दै बर्सेनि लाखौँ पर्यटक तान्ने थलो थुप्रै छन् । हलेसीको धार्मिक विशेषताबाहेक थप प्राकृतिक विशेषता पनि झल्काउने बुङालुङको आफ्नै मिथकीय तथा साँस्कृतिक विशेषता पनि छ । तर, नजिकको तीर्थ हेलाँ भनेझैँ हालसम्म यसबारे उचित प्रचार हुन सकिरहेको छैन । राज्य र हलेसीको विकाससँग सम्बन्धित निकायले यसको संरक्षण र सम्बद्र्धनमा लागे यस क्षेत्रले धार्मिकबाहेक फरक मान्यता राख्ने पर्यटकको पनि ध्यान तान्ने निश्चित छ ।
(लेखक चाम्लिङ राई भाषामा प्रकाशन हुने सितिमी मासिकका सम्पादक हुनुहुन्छ ।)