राजीव कुँवर
वर्तमान राजनीतिक सोच विचारको अभ्यासले नेपालको राजनीतिक प्रणालीको प्रवृत्ति देखाउँछ । राजनीतिक र कूटनीतिक तालमेल नमिले आन्तरिक समस्या पैदा हुने विज्ञहरूलाई ज्ञात छ । यसको असरले सतहमा भूराजनीतिको बाछिटा लाग्छ । कूटनीतिक व्यवस्थापनले राजनीतिक दाउपेचबाट राज्यलाई सङ्कट मोचन गर्नुपर्छ । सफल कूटनीति यस मानेमा आकर्षित हुन्छ । असल अभिप्रायको कूटनीतिले शासक, सरकार र शासनको वैधता मात्र होइन असल शासनको सुनिश्चित पनि उजागर गरिदिन्छ । कूटनीतिक कवचले बाह्य मामिलाको नकारात्मक प्रभाव र असर निस्तेज गर्ने र सो हिंसारहित वा शान्ति जनित अस्त्रको प्रयोग हो । कूटनीतिको परोक्ष वा अपरोक्ष तरिका र कसरतले नेपाल राज्यको लक्ष्यमा सार्थकता हासिल गर्न समयसीमामै यसको द्रुत उपयोगिताको खोजी गर्नु हो ।
सबल राज्य र नागरिकको कल्याणको अभिवृद्धिमा पुष्टीकरण गर्न सहज तुल्याउनु कूटनीतिक अग्र सक्रियता राज्यको पहिलो मोर्चा हुनु हो । सामरिक स्वार्थ र सर्वोपरि सरोकारको आधारशीला अक्षुण राख्न कूटनीतिको सन्तुलन र गतिशील सञ्चालन आवश्यक छ । नेपालको अपेक्षित समृद्धि सक्रिय कूटनीतिमा निर्भर रहेको छ । कूटनीतिज्ञको क्रियाशीलतामा आश्रित राज्य हरदम लक्ष्योन्मुख हुन्छ, हुनेछ । आजकल फाट्टफुट्ट कूटनीतिक नेपथ्यका टिपोटहरू व्यक्त गरिनु स्वतन्त्रताको सही उपयोग हो । यसबाट सरोकारवाला लाभान्वित हुन्छन् । गुणवेत्ता बहस गर्न र उत्कृष्ट कार्य सम्पादनमा कनिष्ठहरूलाई उत्प्रेरित गर्छ ।
कूटनीतिक माध्यमले अविकासको समस्या हल गर्न अधिकतम सहयोगी हुने क्षेत्रगत उपाय नेपाली राजनीतिज्ञलाई अवगत नै छ । यस बारेमा केही पेचिला परिदृश्य छन् । आन्तरिक मामिलाको हैसियत, अर्थतन्त्रको ल्याकत र राज्यको समग्र व्यवस्थाको सूचकहरू उत्साहप्रद छैन । आजको सन्दर्भमा लोकतान्त्रिक दलीय राजनीतिको अपरिहार्यताको विकल्प नभएको समाजमा राजनीतिक विरोध गर्नेहरूले सुझबुझ राख्न उचित ठान्लान् । परिवर्तनकामी र प्रगतिशील कार्यशैली, सीप र कुशाग्रता उन्नत बनाउने लक्षण हाम्रो राजनीतिक आकाङ्क्षा पूरा गर्ने तरिका हो । राजनीतिक प्रणालीको अभीष्ट प्रगति कूटनीतिक वृत्तले नकार्न मिल्दैन । भनाइ र गराइको खाडल कम गर्नु श्रेयस्कर हुन्छ नै । तब उप्रान्त भविष्यमा निर्दिष्ट हुने कार्यको आशातीत नतिजा प्राप्त गर्न विलम्ब नहुने हो ।
सार्वजनिक सेवा, कार्य र मामिलामा नवप्रवर्तन र किफायत ढङ्गबाट समाधान गर्ने सोच नवीन होला । राजकीय गतिविधि साध्य र साधनको प्रयोगले सर्वजन हितकारी बनाउन राजनीति र कूटनीति एउटा सिक्काका दुईवटा पाटा हुन् । वि.सं. २००७ अघि राजनीतिक आग्रहको बीजारोपण भएको हो । लोकतन्त्रमुखी सिद्धान्त र व्यवहार, मूल्यमान्यतामा आधारित सार्वजनिक प्रशासन, विधिको शासन र समायोचित सुधारमुखी राज्य संयन्त्रमा जोड दिनुपर्छ ।
राजनीति र कूटनीतिको अन्तरसम्बन्ध बहुमुखी हुन्छ । तत्सम्बन्धीका नेतृत्वले सार्वजनिक र राजकीय मामिलाको व्यवस्थापन, सुदृढीकरण र स्तरोन्नति गर्ने कर्तव्य लिनु हो । अर्थतन्त्रको सुधार र विस्तारले लोकतन्त्रलाई दीर्घजीवनको प्रणाली बनाउँछ । यस व्यवस्थाको आशय मानव सुरक्षाको लागि चाहिने स्वतन्त्रता, खुसी र समृद्धिका आधारहरू तय गर्ने हो । नैतिकता स्खलनको यस युगमा, श्रेष्ठ र सबल नेतृत्व वर्गबाट मात्र यसको निराकरण सम्भव छ । न्यायोचित शासनको पथप्रदर्शन गरेर असल नागरिक, आदर्श समाज र नमुना राज्य प्रवद्र्धन गर्न राजनीति र कूटनीतिले संयोगिक मार्गदर्शन बनाउने ध्येय राख्नुपर्छ । नेपालका सकारात्मक पाटाहरूलाई जोगाए अन्तर्राष्ट्रिय मान, सम्मान र मौलिकता प्राप्त गर्न सकिएला । राजनीति र कूटनीतिले पृष्ठपोषण गरेर प्रतिपादित सार्वजनिक नीतिको अभ्यास सोही नेतृत्व वर्गबाट मात्र कार्य सम्पादन हुने दृढता भए राजनीतिक, आर्थिक तथा सामाजिक सबलीकरणको बाटो समात्न सकिन्छ ।
असल राजनीतिक विचार, सोच र मानसिकतालाई मूर्त रूप दिने गतिविधि राजनीतिशास्त्रीले अपेक्षा गर्छन् । राजनीतिक सञ्चारमा सोसम्बन्धी समाचार र सूचनामा त्यस्ता प्रयास र प्रयत्न पनि समेटिएका हुन्छन् । सार्वजनिक र परराष्ट्र मामिलाको समस्या समाधान गर्नेतर्फ सचेतता, खबरदारी र उचित संवेदनशीलताबाट वास्तवमा राज्यले लाभ लिन्छ नै । शासकीय सुधारका लागि सही तथ्य र सत्यपरक आलोचना ग्रहण हुन्छ पनि ।
कूटनीतिको साख आन्तरिक र परराष्ट्र मामिलाको परिपूरक व्यवहारले मात्र नाप्न सकिन्छ । अराजक शैलीको व्यवस्थापनले राजनीतिक प्रणालीको दुर्बलता छताछुल्ल पार्छ । राजनीति र कूटनीतिका नतिजा र सम्पादित कार्यहरूको ठोस प्रतिफलको सूचीलाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने नयाँ प्रयोग छ । सार्वजनिक कूटनीतिमा सार्वजनिक पहुँचले राज्यको छवि, व्यक्तित्व र अनुपम विशेषणयुक्त छाप लोकमा पार्छ । नेपालका परराष्ट्रविद्हरूलाई यो पक्ष अवगत नै छ । चुरो कुरो सूचनाको आधिकारिकता र त्यसको दिगो हल खोज्ने, गर्ने आशय हुनु हो । उच्च मनोबल, संस्थागत स्मरण र अभिलेखीकरणमा जोड दिन आग्रह नगरिएका होइनन् । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका कदम र पहलबाट प्राप्त उत्प्रेरणा नेपाली लोकतन्त्रको स्वच्छन्दता उजागर गर्न नै रहोस् ।
सङ्घीय नेपालमा प्रादेशिक प्रतिस्पर्धाको उच्चारण गरिएको छ । प्रदेशका सीमित स्रोत साधनलाई सम्बोधन गर्न सक्ने उपाय खोज्न सकिन्छ । प्रदेशहरूले प्रगति छिचोल्न कूटनीतिमार्फत परराष्ट्र मामिलाबाट आवश्यक आर्थिक, वित्तीय र प्राविधिक सहयोग, सहकार्य र साझेदारी प्राप्त गर्न सक्छन् । नेपालको दिगो विकासका लक्ष्यहरू हासिल गर्न अन्तर्राष्ट्रिय समुदायबाट सहायता नपाइएला र ? समपक्षीय र समकक्षीय विकासका लागि चाहिने लगानी, व्यापार र वाणिज्य बदलिँदो विश्वव्यापीकरणको परिप्रेक्ष्यमा सम्भव हुने नीति नियम तर्जुमा गरिएका र निकाय खडा भइसकेका छन् । सङ्घीय परराष्ट्र मन्त्रालयका अधिकारी प्रदेशहरूमा खटिएका छन् । प्रदेश सरकार त्यसको व्यवस्थित सहजीकरण र स्तरोन्नतिका लागि समन्वय र सहयोगप्रति कूटनीतिक वृत्तमा चनाखो हुन तत्पर छ कि छैन ? अबको परराष्ट्र नीति र त्यसको कार्यान्वय नगर्ने कूटनीति जनमुखी बनाउन यसरी नै सकिन्छ होला कि ? साथै जनतामा निहित सार्वभौमसत्ता अनुभूति गर्ने प्रबलता प्रदान गर्न सकिन्छ पनि ।
यिनै सारभूत टिप्पणीले सामरिक उपादेयताको प्रतिरक्षा कवच बन्न केही खुराक देला । विकृत राजनीतिको आरोपलाई यथार्थमा आफ्नो स्वभाव, चरित्र र स्वरूप जनपक्षीय सकारात्मक भाव प्रेषित र कार्यद्वारा गरेमात्र यस क्षेत्रप्रतिको निराशा र दोष मेटिएला । सकारात्मक राजनीति स्थापित गर्ने चाहना हाम्रै पुस्तामा सम्भव छ नि, छैन र ? राजनीति र कूटनीतिको आपसी स्वार्थ लोकतन्त्र र सार्वभैमिक अधिकार सम्पन्न नेपाल र खुसी नेपाली नै हो ।
(लेखक राजनीतिशास्त्री हुनुहुन्छ ।)