logo
२०८१ माघ ५ शनिवार



उपन्यासमा रामप्रसाद राई

विचार/दृष्टिकोण |




गोपाल किराती
भेटघाटका क्रममा एक दिन गणेश अधिकारीले ‘मालिकहरूको मधेस’ उपन्यास उपलब्ध गराउनुभयो । त्यो उहाँको पहिलो उपन्यास रहेछ । उपन्यास पढिसकेपछि हामीले उहाँलाई विशेष आग्रह ग-यौँ, ‘जननायक रामप्रसाद राईबारे पनि उपन्यास लेखिदिनुप-यो ।’ सम्भवतः यही हाम्रो आग्रहलाई स्वीकार गर्दै भर्खरै उहाँको उपन्यास ‘डायरीमा रामप्रसाद राई’ प्रकाशित भएको छ । उपन्यास माझकिरातको क्रान्ति गाथामा आधारित छ । पुस्तकको यावत् साहित्यिक विमर्श विज्ञ पाठकबाटै हुनेछ । यहाँ केवल उपन्यास लेखनको पृष्ठभूमिमा केन्द्रित भएर केही विषय उठान गरिएको छ ।

उपन्यास लेखनको खाका
काठमाडौँस्थित २०७२ फागुन १८ गते किराती राष्ट्रिय मोर्चाले सदाझैँ जननायक रामप्रसाद राईको जन्म दिवस कार्यक्रम आयोजना गरेको थियो । त्यहाँ एक वक्ता लक्ष्मी राई हुनुहुन्थ्यो । रामप्रसाद राईकी कान्छी छोरी लक्ष्मीले मन्तव्यको क्रममा आफ्नो कटु भोगाइसहित भन्नुभयो, ‘कतिपय संस्थाले सहिद घोषणाको माग गरेका छन् । रामप्रसाद राईलाई सम्मानित गर्ने हो भने उहाँको अभूतपूर्व योगदानका आधारमा सहिद होइन, राष्ट्रिय विभूति घोषणा गरियोस् ।’ सहभागी हामी सबैको चेत खुल्यो । किनकि माग सही थियो । लगत्तै हामीले एक भेला आयोजना ग-यौँ ललितपुरस्थित शशीभूषण किरातको डेरामा । भेलाले प्राध्यापक लक्ष्मी राईको संयोजकत्वमा ‘जननायक रामप्रसाद राई जीवनी लेखन समिति’ गठन ग-यो । समिति सदस्यहरूमा गणेश अधिकारी, कवि भूपाल राई, प्रा.डा. धनप्रसाद सुवेदी, पत्रकार टीकाराम राई र भोगीराज चाम्लिङ तथा सामाजिक कार्यकर्ता शौभाग्यवती राई हुनुहुन्थ्यो ।
लेखन समितिको अर्को बैठकबाट खोज तथा लेखनको जिम्मा भोगीराज चाम्लिङलाई दिइयो । विभूति घोषणाका निम्ति रामप्रसाद राईको व्यवस्थित जीवनीको जरुरत पथ्र्याे, जसमार्फत उहाँ र नेपाली समाजमा उहाँको वृहत्तर योगदानबारे सबै जानकार होऊन् । पुस्तक तयार भयो । रामप्रसाद राईकै कान्छा छोरा मानबहादुर राई, नातिनी सुष्मा राई अध्यक्ष रहेको प्रकाशक संस्था ‘रामप्रसाद राई फाउन्डेसन’ले पुस्तक विमोचन समारोह आयोजना ग-यो । ६६औँ सिंहदरबार विद्रोह दिवसको अवसरमा २०७३ माघ ८ गते राजधानीको राष्ट्रिय सभागृहमा आयोजित सो समारोहमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जननायक रामप्रसाद राई ः माझकिरातको क्रान्तिदेखि सिंहदरबार विद्रोहसम्म’ शीर्षक जीवनी लोकार्पण गर्नुभयो । पुस्तक लोकार्पण मन्तव्यका क्रममा प्रचण्डले भन्नुभयो, ‘आजै दलहरूको बैठक छ, बेलुका ५ः०० बजे त्यहाँ विषय राख्नु र रामप्रसाद राईलाई विभूति घोषणा गरिनेछ ।’ तर, स्थिति सहज बनेन । नेपथ्यको जानकारीअनुसार काँग्रेसले अड्कायो । कार्यकालको अन्त्यतिर ठूलो जोड गरियो । तर, प्रचण्डबाट त्यो काम हुन सकेन । उपन्यासको अन्त्यतिर यसको झलक प्रस्ट पढ्न सकिन्छ ।
जीवन लेखन प्रक्रियासँगै ऐतिहासिक चलचित्र निर्माणको कुरा पनि चल्यो । देशप्रेमी चलचित्र नायक नवल खड्का र फाउन्डेसन अध्यक्ष सुष्मा राईलाई बोलाएर हामी तीनजनाको बैठक बस्यौँ । गुणस्तरीय चलचित्र निर्माणका लागि कम्तीमा तीन करोड रुपियाँ लाग्ने कुरा भयो । आर्थिक लगानीको जिम्मा सुष्मा राईले र चलचित्र निर्माणकार्यको जिम्मा नवल खड्काले र कथा लेखनको जिम्मा हामीलाई भनी कार्य विन्यास ग-यौँ ।
०७३ असारमा, पूर्वी नेपालको टेम्के बेस क्याम्पमा बसेर हामीले कथा लेख्यौँ । शीर्षक रह्यो, ‘जननायक रामप्रसाद राई’ । परन्तु, प्राविधिक कारणले चलचित्र निर्माण नहुने देखियो । सशस्त्र क्रान्ति (२००७)को सैनिक जनरल तहमा कलाकारहरू नै कम्तीमा डेढ दर्जन चाहिने भयो । जुन मङ्गोल चेहराको हुनैप-यो । त्यस तहको कलाकार यहाँ सम्भवतः हुँदैन थियो । सिकारुलाई भूमिका दिँदा चलचित्रको गुणस्तरमा स्वतः ह्रास आउथ्यो । अतः कथा लेखनपछि चलचित्र निर्माणको योजना स्थगित गरियो ।
‘उपन्यास लेखन खाका तयारी गर्देऊ’ भन्ने गणेश अधिकारीको आग्रहमा हामीले त्यही टेम्के बेस क्याम्पमा लेखिएको पाण्डुलिपि उपलब्ध गरायौँ । अब त प्रस्तुत उपन्यास ऐतिहासिक चलचित्र निर्माणका निम्ति एक भव्य कथा बनेको छ ।

उपन्यास नामको सन्दर्भमा सिंहदरबार विद्रोहको चरमोत्कर्षतिर रामप्रसाद राईले श्रीपाल राईलाई बोलाएर एउटा डायरी दिँदै भन्छन्, ‘बच्न सक्यौ भने यो डायरी गाउँको परमानन्द पण्डितलाई दिनू ।’ यहाँबाट सुरु भएको कथा पछि पण्डितले डायरी वाचन गर्दागर्दै प्राण त्याग गरेपछि अन्त्य हुन्छ । उपन्यास नामकरणमा लेखकले मानव जीवनको सौन्दर्यलाई यसरी उत्कृष्ट कलाद्वारा संश्लेषण गर्नुभएको छ ।

उपन्यासमा अन्तर्निहित मूल पक्ष
हामीले गरेको अध्ययन तथा विश्लेषणमा ‘डायरीमा रामप्रसाद राई’ कृतिका मुख्य चार पक्ष देखिन्छन् । एक, रामप्रसाद राईको जीवन र योगदानबारे यो एकमात्र सर्वोत्तम उपन्यास हो । दुई, किराती जनसंस्कृतिबारे वैचारिक स्पष्टतासहितको यो एकमात्र सर्वोत्तम साहित्य हो । तीन, आदिवासी आन्दोलनबारे, जसमा शानदार ढङ्गले अस्ट्रेलियाली आदिवासीको ऐतिहासिक विद्रोहलाई जोडिएको छ । यो नेपालका लागि अभूतपूर्व साहित्यिक कृति हो । चार, राष्ट्रिय स्वाधीनताको प्रखरता र गणतान्त्रिक आन्दोलनको विजारोपणबारे रामप्रसाद राईको सिंहदरबार विद्रोहलाई औपन्यासिक रूपरेखामा उतार्ने यो पहिलो कृति हो ।

राणा शासनको दमनतन्त्र र नेपाल
भौतिकवादी प्रत्येकले पृथ्वीनारायण शाहको राजकीय भूगोल केन्द्रीकरणलाई समर्थन गर्छन् । उनको आन्तरिक राज्यप्रणालीको भने युगानुकूल वैज्ञानिक पुनः संरचनामा जोड दिन्छन् । खासगरी, जङ्गबहादुर राणाको जहानियाँ शासनपछि नेपाली जनताले १०४ वर्ष लामो कष्टसाध्य दमनतन्त्र सामना गर्नुप-यो । मुख्यतः शिक्षा र राजनीतिको क्षेत्रमा राणा शासन भयानक अन्धकारमय युग थियो । त्यो एउटै समय थियो, जापानमा मेजिनी शासनले बालबालिका विद्यालय नपठाउने अभिभावकलाई कारागार चलान गथ्र्याे । नेपालमा भने राणाले पढ्नेको जिब्रो काट्ने, सुन्नेको कानमा झिरले रोप्नेजस्ता अत्याचारी शासन चलाइरहेका थिए । परिणाम, शिक्षाको क्षेत्रमा नेपाली जनता पूरै चार पुस्तासम्म अन्धकारमा तड्पिए । नेपाली समाजको अधोगतिको मुख्य कारण यसर्थ राणा शासनको दमनतन्त्र जिम्मेवार छ ।
अतः दोस्रो विश्वयुद्धमा ब्रिटिस साम्र्राज्यको पतन र लेनिन–स्टालिन नेतृत्वको सोभियत समाजवादको लहरमा उत्पीडित वर्ग र राष्ट्रले स्वतन्त्रताको झन्डा उठाए । सामन्ती राणातन्त्रका संरक्षक ब्रिटिसले छोडर जान बाध्य भएपछि स्वतन्त्र भारतको लोकतन्त्रको प्रभाव छिमेकी नेपालमा स्वतः प-यो । परिणामस्वरूप नेपालमा लोकतन्त्र र गणतन्त्र स्थापनार्थ राजनीतिक एवम् सैनिक सङ्गठन अग्रसर भए । सन् १८१६ को सुगौली सन्धिमा बेचिएका आदिवासी युवा भाडाको सिपाही नै भएर पनि पहिलो र दोस्रो विश्वयुद्धमा सहभागी भए । तिनले लोकतन्त्र, उद्योगधन्दा र बजार व्यवस्था देख्न पाए । साम्राज्यवादी ब्रिटिसका तर्फबाट आधुनिक युद्ध, प्रविधि सिक्न पाए । त्यसरी हासिल गरेको ज्ञान र सौर्य जनसमुदायको पक्षमा सशक्त खपत गर्नेमध्येका एक रामप्रसाद राई हुनुहुन्थ्यो । जसले पूर्वी नेपालमा माझकिरातको सशस्त्र आन्दोलन हुँदै सिंहदरबार विद्रोहसम्म जोडदार नेतृत्व गर्नुभयो ।

गणेश अधिकारीसँँग
झापा विद्रोहको एक प्रगतिशील विद्यार्थी तथा सिम्पानी, खोटाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक गणेश अधिकारीसँग हाम्रो पहिलो भेट असोज २०४७ मा भएको थियो । देशमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको उपभोग गर्दै जनसभाका निम्ति हामी सिम्पानी पुगेका थियौँ । प्रधानाध्यापक अधिकारीले हामीलाई विद्यालयमा मञ्च उपलब्ध गराएर साथ दिनुभएको थियो । हामी सरकारमा पुग्दा विद्वता र कार्यक्षमताका आधारमा उहाँलाई पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षको जिम्मेवारी पनि सुम्पिएको थियो । नेपाली समाजको अन्तरविरोध र माक्र्सवादलाई ठीकसँग बुझ्नेमध्ये एक हुनुहुन्छ उहाँ ।
उहाँलाई उपन्यासकारका रूपमा २०७२ मा चिनियो– ‘मालिकहरूको मधेस’ मार्फत । प्रकाशित पछिल्लो उपन्यासले २००७ सालमा राणा शासनको अन्त्य र प्रजातान्त्रिक आन्दोलनमा रामप्रसाद राईको योगदाबारे गहन व्याख्या गरेको छ ।
(लेखक पूर्वमन्त्री हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?