प्राडा ईश्वरचन्द्र घिमिरे
संविधानको यो प्रावधान कार्यान्वयनमा दलहरू कत्तिको इमानदार छन् भन्ने प्रश्नको उत्तर ज्यादै निराशाजनक छ । मुलुकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारीका लागि छुट्टै अस्पताल छन् तर सबैभन्दा पीडित वर्गका रूपमा रहेको मजदुरका लागि छुट्टै अस्पताल छैन । किन ?
नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु भएका युवाको सङ्ख्या हेर्ने हो भने ९० प्रतिशत मजदुर नै छन् । सङ्क्रमित युवाको सङ्ख्या हेर्ने हो भने पनि करिब ८० प्रतिशत श्रमिक नै छन् । त्यति मात्रै होइन, अघिल्लो पटकको लकडाउनमा दुई जना नेपाली खानै नपाएर मरेको समाचार मिडियामा आयो । ती दुवै जना श्रमिक थिए । कोरोना कहरको एक वर्षको अवधिमा करिब दुई हजारले आत्महत्या गरेको समाचार मिडियामा आयो । यी दुई हजारमध्ये एक हजार ७५३ जना श्रमिक थिए ।
कोरोना कहरका सन्दर्भमा मात्रै होइन, मुलुकमा दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी मजदुर नै छन् । ५० वर्षभन्दा कम उमेरका बिरामी तथा रोगीको सङ्ख्या हेर्ने हो भने पनि ८० प्रतिशतभन्दा बढी मजदुर नै छन् तर दुर्भाग्यपूर्ण कुरा के छ भने नेपालमा सबै वर्गका लागि छुट्टै अस्पतालको व्यवस्था छ तर श्रमिक वर्गका लागि छैन । उत्पादनका चार अङ्ग श्रम, पुँजी, भूमि र व्यवस्थापन हुन् । जुन मुलुकमा श्रमलाई हेपिएको छ, ती मुलुकले प्रगति गरेका छैनन् । श्रमिक स्वस्थ र सुरक्षित भए भने मात्रै उत्पादन बढ्ने हो । कामदारको व्यावसायिक स्वास्थ्य र सुरक्षाले नै व्यापार एवं उद्योगको निरन्तरता सम्भव छ । त्यति मात्र होइन, कामदारको सुरक्षा भए मात्र हाम्रो समुदाय, समाज र देश सुरक्षित रहन्छ । तसर्थ अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले भने झँै व्यावसायिक सुरक्षा र स्वास्थ्यको सुनिश्चिततामार्फत नै मजदुरको हित हुनेछ । नेपालमा ८० प्रतिशत उद्यमीलाई व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका बारेमा जानकारी नै छैन । कतिपयले त मजदुरलाई मान्छेको व्यवहार गर्नुपर्छ भन्ने कुरा सुनेका पनि छैनन् । कुनै पेसा–व्यवसायमा संलग्न भएकै कारण काम वा पेसाको प्रकृतिअनुसार अल्पकालीन तथा दीर्घकालीन रोग लाग्छन् । उदाहरणका लागि इँटाभट्टा, सिमेन्ट कारखानाजस्ता धुलो धुवाँमा रहेर काम गर्ने मजदुरलाई फोक्सोको रोग लाग्ने सम्भावना ९० प्रतिशतभन्दा बढी हुन्छ । कोरोनाको कहरमा युवा मजदुरको मृत्यु बढ्नुको कारण यही हो । कोरोनाको सन्दर्भमा मात्रै होइन, निमोनियाका युवा बिरामीको सङ्ख्या हेर्ने हो भने ९० प्रतिशत त कारखाना तथा असङ्गठित क्षेत्रका श्रमिक नै हुन्छन् । शिक्षा र स्वास्थ्यलाई जनताको मौलिक अधिकारका रूपमा संविधानमै उल्लेख गरिसकिएको छ । संविधानको यो प्रावधानको कार्यान्वयन अहिलेको आवश्यकता हो तर संविधानको यो प्रावधान कार्यान्वयनमा दलहरू उदासीन छन् । आजको युग विज्ञान र प्रविधि आविष्कार र उपलब्धिको युग हो । मुलुकको उन्नति र प्रगतिका लागि वैज्ञानिकले गरेका आविष्कारलाई उपभोक्तसम्म पु-याउन र उत्पादन गर्न नभइनहुने अपरिहार्य जनशक्ति श्रमिक (मानसिक र शारीरिक) दुवै काम गर्ने
नै हो ।
देशकाल, परिस्थिति र आफ्नो पारिवारिक एवं घरायसी कारणले गर्दा अवसर र स्रोतको अभावमा क्षमता भएर पनि वा स्रोत र अवसर हुँदा क्षमता नभएर श्रमिक बन्ने बाध्यता आइपर्दछ । मानिस परिस्थितिको दास हो । परिस्थितिको जाँतोले थिचेको बेरोजगारलाई सम्मानपपूर्वक क्षमताअनुसारको काम तथा उत्पादनअनुसारको काम र उत्पादनअनुसारको दाम दिनुको सट्टा उनीहरूको शोषण गर्ने र उनीहरूलाई भ¥याङ बनाएर हतियारका रूपमा आफ्नो अभिष्ट स्वार्थ पूरा गर्न मजदुरलाई उपयोग गर्ने राजनीतिक नियति नै भएको छ ।
२००७ सालको जनक्रान्तिको पृष्ठभूमि विराटनगरको श्रमिक आन्दोलनले तयार गरेको हो । त्यसयता भएको मुलुकका हरेक अग्रगामी राजनीतिक परिवर्तनमा श्रमिक वर्गको अहम् भूमिका रहेको पाइन्छ । मजदुरका लागि कामको सिलसिलामा पेसागत कारणले लाग्ने रोगका लागि रोगको निदान, रोकथाम र उपचार गर्न एउटा व्यवस्थित गुणस्तरीय पेसागत रोग अनुसन्धान तथा व्यवस्थित गुणस्तरीय पेसागत रोग अनुसन्धान र निदान एवं उपयुक्त उपचार गर्ने केन्द्रसहितको श्रमिक अस्पताल नितान्त टड्कारो आवश्यकता भएको छ । जुन आजसम्म कुनै नेता, नीति निर्माता, पार्टी कार्यकर्ता कसैले गरेको छैन । त्यो काम नगरी नहुने कर्तव्य कर्म हो । मजदुरका मसिहा भन्नेहरूले नै लेबी उठाएर खाने र मजदुरको निकृष्ट शोषण गरिरहेकाहरूको वर्तमान इतिहास साक्षी छ । कसैलाई दोष दिनुभन्दा शाश्वत सत्य तथ्य प्रस्ट्याएर मजदुरको पसिना र चोटपटकको आँसु र रगत पुछ्न, मलमपट्टि र आवश्यक उपचार गर्ने व्यवस्था होस् भन्ने अभिप्राय र सङ्कल्प नै यो अभियान हो । मजदुरमाथि अब अन्याय नहोस् ।
अधिकांश श्रमिक गरिब हुन्छन् । गरिबीका कारणले नै श्रमिक बन्न बाध्य हुन्छन् । आज देशमा सेना, प्रहरीका अधिकृत जवानका लागि सैनिक अस्पताल र कर्मचारीका लागि निजामती अस्पताल जसरी चलेको छ, त्यसरी नै श्रमिक वर्गका लागि श्रमिक अस्पताल चल्नुपर्छ । किन आजसम्म मजदुरका लागि अस्पताल बनाउने र चलाउने सोचविचार यो देशका नेता, पार्टी कार्यकर्ता, नीति निर्माण गर्ने योजनाविद्हरूको दिमागमा उम्रन वा घुस्न सकेन ? सबै जिम्मेवार वर्गले मजदुरको शोषण गर्ने नियत मात्रै राखेका हुन् त ? विगत र वर्तमानको मजदुरलाई हेप्ने र शोषण गर्ने नीति बन्द गरी उनीहरूको पनि सेना, प्रहरी कर्मचारीलाई जस्तै उपचार गर्ने अस्पताल निर्माण गर्ने सोचको विकास होस् । त्यो सञ्चालन गर्ने जनशक्ति नेपाल चिकित्सक सङ्घको सक्रियतामा व्यवस्था गरी चलाउन सकिन्छ ।