टेकबहादुर थापा (मदन) / शैलेन्द्रबहादुर थापा
गोसाइँकुण्डमा अवस्थित ऐतिहासिक अमरसिंह ओढार ‘गो’ को अर्थ ‘पृथ्वी’ र ‘साँइ’ को अर्थ मालिक अर्थात् ‘गोसाइँकुण्ड’ को अर्थ ‘पृथ्वीको मालिक’ बुझाउँछ । चीनको स्वशासित प्रदेश तिब्बतसँग सीमाना जोडिएको रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड समुद्री सतहबाट करिब चार हजार ३८० मिटरको उचाइमा छ । समुद्री सतहबाट करिब चार हजार पाँच सय मिटरको उचाइमा उत्तरपट्टिको नाकेडाँडी भीरमा एउटा ऐतिहासिक चट्टानभित्र केही फराकिलो अण्डाकार प्रकृतिको ओढार छ । गोसाइँकुण्डको सतहदेखि यो स्थान करिब १२० मिटर जति उचाइमा छ । जुन ओढारमा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा र उहाँकी कान्छी श्रीमती लालवती (सिंह) थापा (तत्कालीन बघाटका शक्तिशाली राजा महिन्द्रसिंहकी छोरी) ले बास बस्नु भएको तथ्यलाई यो लेखमार्फत पहिलो पटक केही विस्तृत रूपमा सार्वजनिक गर्न खोजिएको छ ।
यो चट्टानी ओढारलाई ‘अमरसिंह ओढार’ वा कतिपयले ‘अमर गुफा’ पनि भन्ने गरेको पाइन्छ । सोही स्मरणमा राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानका संस्थापक अध्यक्ष प्रा.डा. बाबुरामसिंह थापाको संयोजकत्वमा करिब छ वर्ष अगाडि बडाकाजी अमरसिंह थापाको अर्धकदको पत्थर प्रतिमा निर्माण गर्न लगाइ गोसाइँकुण्डमा स्थापना गर्न पठाइएको थियो । स्थानीयका अनुसार यो प्रतिमा भन्दा अगाडि पनि त्यहाँ एउटा पुरानो जीर्ण अवस्थामा रहेको अमरसिंह थापाको आकृतिको पत्थर मूर्ति थियो । राष्ट्रिय विभूति बडाकाजी अमरसिंह दम्पत्तिले यो चट्टानी ओढारमा बास बसेको १६औँ दिनमा कुण्डमा एकसाथ जल समाधि (जलयोग) लिएका थिए । तान्त्रिक विधि, नियम पूरा गरी सम्बत १८७३ साउन १६ गते बडाकाजी थापा दम्पत्ति जललीन हुनुभएको इतिहास छ ।
यो ऐतिहासिक एवं पुरातात्त्विक ओढार उत्तर दिशाबाट दक्षिण गोसाइँकुण्डतर्फ मोहोडा गरी बसेको छ । कतिपय स्थानीय ज्येष्ठ नागरिकको भनाइअनुसार अमरसिंह दम्पत्ति यो ओढारदेखि सीधा दक्षिण दिशातर्फ ओर्लेर गोसाइँकुण्डको किनारै किनार हिँडेर पारिपट्टिको किनारमा पुगेका थिए । सो किनारबाट उत्तरपट्टिको ओढारतर्फ फर्की कुण्डमा स्नान गर्दै एकसाथ अमरसिंह दम्पत्ति लीन (दिवंगत) हुनुभएको किम्बदन्ती रहिआएको छ । यस ठाउँमा अहिले पनि समय समयमा जल डमरुको आकृति देखिने गरेको स्थानीय बताउँछन् ।
सम्बत २०७८ भदौ ६ गते आइतबार जनैपूर्णिमाको दिन ‘एकीकरणका बडाकाजी भाग २’ पुस्तक गोसाइँकुण्डस्थित अमर सिंह ओढारमा विमोचन गरिएको थियो । यसै सिलसिलामा ओढारबाट तल कुण्डतिर झरेर सो कुण्डको पुर्वी–दक्षिण मोहडास्थित किनारको बाटोबाट उत्तरतर्फ फर्किएर कुण्डमा नियाँल्दा एक प्रकारको जलडमरु जस्तो आकृति अवलोकन गरियो । सो आकृतिलाई मित्रद्वय प्रविण गुरुङ र सुरज श्रेष्ठको मोबाइलको क्यामरामा छायाङ्कन गर्न भ्याएका छन् । तर सो आकृति लामो समयसम्म नरहने, कुनै कुनै बेला मात्र देखिने र देखिएको डमरुको जस्तो जल आकृति केही समयमै विलाउने गरेको देखिन्छ । कतिपय स्थानीयवासीका अनुसार सो क्षेत्र वरिपरि कुनै कुनै बेला डमरु बजेको आवाज पनि सुनिने गरेको बताउँछन् । यद्यपि, यी विषयहरू एउटा विश्वास प्रणालीका रूपमा स्थापित भएर रहेका छन् । सो क्षेत्रमा देखिएको जल डमरु आकृतिलाई विज्ञानसम्मत रूपमा अवलोकन गर्न सकिने भएकाले विश्वास प्रणाली र विज्ञान प्रणाली दुवै कोणबाट हेर्दा यो पुष्टियोग्य छ । भ्रमणकै क्रममा भेटिएका स्थानीय दिन्डुप तामाङले ‘‘हामीलाई अमरसिंह थापाप्रति प्रगाढ आस्था छ र उहाँको सम्झनामा यो ओढारको हेरचाह र सुरक्षा गर्दै आएका छौँ । यसभित्र स्थापना गरिएको अमरसिंह थापाको अर्धकदको प्रतिमालाई हामी नमन् गरी श्रद्धा गर्ने गर्छौं’’ भन्नुभयो ।
यसरी यो विषय हिमालय क्षेत्र र सिङ्गो देशको राष्ट्रिय प्रतिष्ठासँग जोडिएको हुँदा यसले स्थान विशेष गोसाइँकुण्ड क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय आकर्षणमा थप प्रवद्र्धन पुग्ने अपेक्षा राख्न सकिन्छ । यो सिङ्गो देशको पहिचान र समग्र देशवासीको साझा सम्पत्ति हो । यसै गुफा/ओढार परिसर अगाडि राष्ट्रिय विभूति अमरसिंह थापाको अष्टधातुको पूर्ण कदको प्रतिमा निर्माण गर्ने सोच बागमती प्रदेश सरकारको रहेकाले पनि प्रदेश सरकारले बहुवर्षीय योजनाको रूपमा कार्यान्वयनमा ल्याएको ‘गोसाइँकुण्ड एकीकृत विकास परियोजना’ ले यससम्बन्धी गृहकार्य गर्दैआएको पाइएको छ । ‘चट्टान’ एक भौतिक वस्तु भएकाले निरन्तरको हिँउ, वर्षाद्, घाम र हावा आदिका कारण क्षति पुग्न सक्ने भएकाले यो ऐतिहासिक पुरातात्त्विक स्थल (ओढार) सुरक्षित गर्नु आवश्यक छ । सो स्थललाई बारबेर र छानो हाली भल कटान गरी ओढारभित्र पानी, फोहोर पस्न नदिने व्यवस्थासहित संरक्षण गर्नुपर्ने स्थलगत अवलोकनबाट पहिचान गरिएको छ । यसका लागि ‘गोसाइँकुण्ड एकीकृत विकास परियोजना’ को ध्यानाकर्षण गराउँदै स्थानीय पुरातात्त्विक सम्पदाप्रति आम सम्पदाप्रेमी देशवासी र विदेशमा रहनु हुने आम नेपालीको उत्तिकै महìवपूर्ण चासोको विषय बन्न सक्छ ।
आधुनिक नेपाल एकीकरणका बडाकाजी अमरसिंह थापाले वि.सं. १८१९ को मकवानपुरको युद्धमा करिब ११ वर्षको उमेरमा जेठा बूढाको भूमिकामा प्रत्यक्ष युद्धदर्शी भई सहयोगीका रूपमा युद्धमा सहभागी बन्नुभएको थियो । वि.सं. १८२६ कात्तिक २९ मा गोरखाली सेनाद्वारा भक्तपुरमाथि गरिएको आक्रमणमा अमरसिंह थापाले सक्रिय रूपमा भाग लिनुभएको थियो । वि.सं. १८२८ भदौदेखि काठमाडाँै उपत्यकाबाट पूर्वी नेपालको एकीकरण अभियानको सिलसिलामा सरदार रामकृष्ण कुँवरको नेतृत्वमा खटिइ वि.सं. १८३५ तक टिष्टा क्षेत्रसम्म पुग्नुभएको इतिहास छ ।
यस अवधिमा अमरसिंह थापाले चौदण्डी राज्यको सामरिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण उच्च भेगीय मध्य–उत्तरी भूभाग चिसंखुगढी क्षेत्रमा पनि विजय गर्नुभएको थियो । यो बेला उहाँ आफ्नो जीवनकालको नवजवान अवस्थामा हुनुहुन्थ्यो । वि.सं. १८३८ को आधा दशकभन्दा बढी पश्चिम नेपालको एकीकरणमा सहभागी हुनुभएको थियो । वि.सं. १८४५ मा नेपाल–भोट युद्धमा सहभागी हुनुभयो । वि.सं. १८४७ भदौ ३१ मा अमरसिंह थापा नेतृत्वको गोरखाली (नेपाली) सेनाले सुदूरपश्चिम क्षेत्र दिपायलमाथि आक्रमण गरी विजय ग-यो । उहाँकै नेतृत्वको गोरखाली सेनाले वि.सं. १८४७ को प्रारम्भमा सुदूरपश्चिम महाकाली (शारदा) नदीसम्म विजय गरेको थियो । अमरसिंह थापा नेतृत्वको नेपाली सेनाले वि.सं. १८४८ असार १२ मा गढवालको राजधानी श्रीनगर विजय गरी अल्कानन्दासम्मका भूभागहरू नेपाल राज्यमा एकीकृत ग-यो । उहाँकै नेतृत्वमा वि.सं. १८४९ सम्ममा नेपाल र सिरमोरबीच एउटा सन्धि हुँदा नेपालको पश्चिमी सिमाना यमुना नदीसम्म पु-याउन सफल भएको थियो । त्यसपछि पनि वि.सं. १८६१/६२ को दशकभरि नै तत्कालीन गोरखा जनरल अमरसिंह थापा नेतृत्वको नेपाली सेनाले किल्ला काङ्गडाहुँदै त्यहाँबाट पश्चिम धेरै टाढा चम्बासम्म हिमालय नेपालको राज्य विस्तार गरेको थियो । त्यसैले पनि अमरसिंह थापालाई ‘हिमाल रणकेशरी’ उपाधिबाट सम्बोधन गर्ने गरेको पाइन्छ । यसरी उहाँको लक्षित गन्तव्य कश्मिरसम्म पुग्ने योजना थियो तापनि चम्बासम्म मात्र सीमित रह्यो । अन्तिम युद्धरत् अवस्थामा बाध्यतावशः अमरसिंह थापा र अङ्ग्रेज जनरल डेभिड अक्टरलोनीबीच मे १५, १८१५ मा युद्ध बिरामसम्बन्धी एउटा महत्त्वपूर्ण सम्झौता भयो । यो सम्झौताले नेपाल–अङ्ग्रेज युद्धको अन्त्य गरिदियो । लगत्तै, यो सन्धिले मे ४, १८१६ को सुगौली सन्धिको प्रारम्भिक वातावरणसमेत निर्धारण ग-यो । यद्यपि, तत्कालीन अङ्ग्रेज शक्तिका विविध खाले षड्यन्त्रहरू, दबाब र नेपाल दरबारभित्रको आन्तरिक खिचातानी आदिका कारण सुगौली सन्धिले पूर्वमा मेचीपारि टिष्टा र पश्चिम महाकालीपारि चम्बासम्मका नेपाली (हिमालय क्षेत्रका) उच्च भू–भागहरू गुम्न पुगे । आफूलगायतका अन्य वीर समकक्षी योद्धाहरू नेतृत्वको गोरखाली सेनाद्वारा विजय गरिएका भूमि सुगौली सन्धिबाट गुमेपछि राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाले त्यो पीडा सहन सक्नुभएन । फलस्वरूपः ‘पृथ्वीको मालिक’ को रूपमा कहलिएका हिमालय क्षेत्रको तिर्थाटनका लागि गोसाइँकुण्ड प्रस्थान गर्नुभएको थियो । सो सिलसिलामा उहाँ सिन्धुपाल्चोक जिल्लास्थित इन्द्रावतीको शिर ‘पाँचपोखरी’ हुँदै रसुवाको गोसाइँकुण्डतर्फ प्रस्थान गर्नुभएको थियो ।
जीवनको अन्तिम घडीमा गोसाइँकुण्डको एउटा ढुङ्गाको ओढार नै एकीकरणका बडाकाजी अमरसिंह थापाका लागि महत्त्वपूर्ण साधनास्थल एवं तपस्वीस्थल सिद्ध भएकाले यसलाई ऐतिहासिक एवं पुरातात्त्विक ओढार मानिँदै आएको छ । उहाँलाई केही हप्ता पेट दुख्ने व्यथाले पनि सताएको थियो । युद्धबाज सेनापति अमरसिंह थाक्पाल (थापा) धार्मिक एवं तान्त्रिक शक्तिमा पनि उत्तिकै कुशल व्यक्तित्व हुनुहुन्थ्यो । पेट दुःखेको कुनै पर्वाह नगरी आफ्नो नित्य कर्म गर्दै तान्त्रिक विधि पूरा गरी श्रीमती लालवतीका साथमा उहाँ ‘जल लीन’ हुनुभएको थियो । सो सम्बन्धमा हामी पारिवारिक अध्ययन, तत्कालीन घटनाक्रम, स्थानीयवासीका भनाइ र विविध ऐतिहासिक स्रोतहरूबाट पुष्टि भइसकेको छ । राष्ट्रिय विभूति बडाकाजी वीर अमरसिंह थापाले आफ्नो मातृभूमिमाथि भइरहेको चारैतर्फको आक्रमण युद्ध, प्रत्याक्रमण युद्ध र चम्बा क्षेत्रसम्मको युद्धमा एकीकरणको समग्र कमाण्डरको भूमिकामा रहेर सक्रिय उपस्थिति साथ मुलुकको प्रतिरक्षार्थ सहभागी हुनुभएको थियो । यद्यपि, सुगौली सन्धिपछि स्वेच्छावश ‘जल समाधि’ लिनुभएका अमरसिंहलाई नेपालको ‘जिउँदो सिंह’ बाट पनि सम्बोधन गर्ने गरेको पाइन्छ । उहाँहरूले गोसाइँकुण्डमा जल समाधि लिएको खबर थाहा पाएलगत्तै बडाकाजी अमरसिंह थापाकी साहिँली श्रीमती धर्मदेवी (विष्ट) थापाले पनि पशुपतिमा आफ्ना पतिको स्मरणमा कुशको प्रतिमा बनाई सती जानुभएको थियो । बडाकाजी अमरसिंह थापाले धर्मदेवी विष्टलाई बैतडीको विष्ट गाउँबाट विवाह गरी ल्याई ललितपुरको लेलेमा भित्राउनु भएको थियो ।