भरतमणि रिसाल
‘पितृदेवो भवः’ यो वैदिक शिक्षा पद्धतिलाई मौलिक आदर्श कायम राख्दै शैक्षिक, सांस्कृतिक र परम्परागत पर्वका रूपमा ‘पितृ सम्मान दिवस’ हाम्रोसामु आइपुगेको छ । वैदिक सनातन धर्मको अर्को नाम हो– हिन्दु धर्म । हिन्दु धर्म खास एउटा धर्म मात्र नभएर हामी हिन्दुको जीवन पद्धति र दर्शन पनि हो । अनन्तकालदेखि नै जीवन पद्धतिमा अभिन्न रूपले गाँसिँदै र टाँसिँदै आएका राम्रा सु–संस्कारलाई नै संस्कृति भनिन्छ । यसैले वैदिक सनातन धर्म वा हिन्दु धर्म र संस्कृति मान्नु नै हाम्रा दर्शन तथा जीवन पद्धति हुन् । हाम्रा धार्मिक तथा सांस्कृतिक चाडपर्वले यिनलाई जीवन पद्धति र दर्शनलाई जीवन्त राखेका हुन्छन् । अतः सांस्कृतिक तथा धार्मिक चाडपर्वहरू हाम्रा जीवन हुन् र दर्शन पनि हुन् । यिनको मर्म, धर्म र कर्म बुझेर मनाउँदा र मान्दा वास्तविक अर्थमा लाभ हुने देखिन्छ ।
हिन्दु धर्म र संस्कृतिअनुसार सामाजिक मर्यादा एवं सामाजिक गठबन्धनका लागि हरेक पर्वमा कुनै न कुनै वर्गविशेषको महìव देखिन्छ । जस्तै– मातातीर्थ औँसी, बाबुको सम्मान गर्ने कुशे औँसी, गुरुको महìव भएको गुरुपूर्णिमा, कुनैमा दिदी–बहिनीको महìव, कुनैमा दाजुभाइको महìव, कुनैमा कुल–वंशका वयोवृद्ध एवं मान्यवर्गको महìव देखिन्छ । यी सबै सन्दर्भलाई हेर्दा आमाबाबुको मुख हेर्ने औँसी, गुरुपूर्णिमा, दशैँ, तिहार आदि अनेकौँ चाडपर्वमा भित्री आध्यात्मिक भावनाका साथै सामाजिक अनुशासन, मर्यादा, त्याग अनि कृतज्ञताको भावना पनि पाइन्छ । हाम्रा सम्पूर्ण चाडपर्वका शुभ–पुण्य दिनहरूमा ईश्वर, जीव र जगत्लाई आध्यात्मिक तथा भौतिक समन्वयात्मक भावनाले जीवन अगाडि बढ्न–बढाउन प्रेरणा प्रदान गरिरहेको देखिन्छ । सामाजिक सुसङ्गठन पनि यी पर्वमा देखिन्छन् ।
यो वर्ष कुशे औँसी भोलि परेको छ । हाम्रा जुनसुकै धार्मिक कार्यमा कुश नभई कुनै कर्म पूर्ण हुँदैन । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ र घर–घरमा कुश भिœयाइन्छ । यसै दिन बाबुको विशेष सम्मान गर्ने परम्परा चलिआएको छ । बाबुको मुख हेर्ने यो दिनमा श्रद्धायुक्त आफ्ना बाबुको मुख हेरी सम्मानपूर्वक दर्शन गरेर मिष्ठान्न खुवाउने गर्दछौँ, लुगा–कपडा पहि¥याउने गर्दछौँ । हाम्रो परम्पराअनुसार गोकर्णादि तीर्थमा गई आफ्ना दिवङ्गत पितृका नाममा तर्पण, श्राद्ध, पिण्डदान गर्ने चलन भएकाले यो दिनलाई गोकर्णे औँसी पनि भन्ने गरिन्छ । आजको दिन टाढा–टाढादेखि आएर आफ्ना जीवित बाबु भए श्रद्धापूर्वक ढोगभेट गरी सम्मान गर्दछौँ । बाबु नहुनेले तीर्थमा गई श्राद्धादि गर्ने र सो पनि अनुकूल नभएमा पितृका नाममा सिधा र खाद्यवस्तु तथा मिठाई आदि श्रद्धासाथ ब्राह्मणलाई दान गर्दछौँ । यो हाम्रो परम्परा पनि हो, पितृप्रति कृतज्ञता व्यक्त गर्ने परसंस्कार
पनि हो ।
प्रगतिशील दृष्टिकोणले हेर्ने हो भने सभ्यताको व्याप्त प्रभाव, आर्थिक र व्यक्तिवादी युग, संयुक्तबाट एकल परिवारका जमाना देखा पर्न थालेकोले आमाबाबुप्रतिको सोचाइ र दृष्टिकोणमा परिवर्तन देखिन थालेको छ । बाबु मरेरै गइसके भने किन श्राद्ध, तर्पण, पिण्डदान आदि गर्ने ? फजुल काम किन गर्नुपर्ने ? आदि प्रश्न पनि कतिपय व्यक्तिमा उठ्न थालेका छन् ।
संस्कृति र परम्परा भनेको सभ्य मानिसका सभ्यताका परिचायक हुन् । कुनै समाज वा कुनै राष्ट्र कति पुरानो वा कति सभ्य छ भन्ने कुराको पहिचान संस्कृति र परम्पराबाट गरिन्छ । हिन्दु धर्म र संस्कृति मानव मात्रको प्राचीन संस्कृति हो र यो सनातन वैदिक कालदेखि कुनै न कुनै रूपमा चल्दै आएको छ । हुनसक्छ, यसमा समयको प्रवाहमा कुनै विकृतिहरू टाँसिएका होलान्, त्यसलाई हामीले केलाउन सक्नुपर्दछ । एक समयमा हाम्रा पूर्वज मनुले घोषणा गरेका थिए ः
एतद्देश प्रसूतस्य सकासादग्रजन्मनः ।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथ्वीव्यां सर्वमानवौ ।।
अर्थात् ‘यस देशमा जन्मेका चरित्रशील, आचारनिष्ठ, विद्वान्, द्विजातिहरूसँग पृथ्वीका सम्पूर्ण मानिसले आ–आफ्नो चरित्र अथवा गर्नुपर्ने, जान्नुपर्ने असल–असल चालचलन जानून–सिकून् ।’ यति नभएर ‘सा संस्कृति प्रथमा विश्ववारा’ अर्थात् सर्वप्रथम यही संस्कृति विश्वमा व्यापक भएर रहेको थियो । हाम्रा सम्पूर्ण जीवन पद्धति हाम्रा धर्म–संस्कतिद्वारा अनुप्राणित छन् । जीवनको सुरुदेखि अन्त्यपर्यन्त र दैनिक बिहान अरुणोदयदेखि अस्त्यसम्मका सम्पूर्ण क्रियाकलापमा आफ्नो संस्कृतिको प्रभाव देखिन्छ । हामी ईश्वर मान्दछौँ, परलोकमा विश्वास गर्दछौँ । शास्त्र, आमा, बाबु र गुरु मान्दछौँ । पुनर्जन्ममा विश्वास गर्छौं र वेद–वेदान्त मान्दछौँ । हाम्रो धर्म संस्कृतिले अनुशासन, मर्यादा र कृतज्ञताको पाठ सिकाउँछ । हामी हाम्रा आमा, बुबा, गुरु र अतिथिलाई देवताजस्तै मान्दछौँ । हाम्रो प्राचीन शिक्षाको सैद्धान्तिक निचोड नै यही प्रकारको छ ।
मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः, अतिथिदेवो भवः’, यी हाम्रा शिक्षाका आदर्श वाक्य हुन् । हाम्रो संस्कृति आशावादी छ । हामीलाई जीवनअघि र मृत्युपछि पनि आफ्ना सन्तानप्रतिको आशा एवं ममता रहन्छ । आफ्ना सन्तान छोराछोरीप्रति आशावादी भएर नै सन्तानको सुशिक्षा र सच्चरित्रका लागि हामी आफ्नो क्षमताअनुसार निरन्तर प्रयास गरिरहेका हुन्छौँ । नेपालीमा एउटा मान्यता छ– हरेक आमाबाबु विशेषगरी आफ्ना सन्तानप्रति आशावादी भएर नै बुढेसकालको सहारा अनि मृत्युपछिको जलपिण्ड दाताका रूपमा हेर्दछन् । आफ्नो मौलिक संस्कृतिको ह्रास हुँदै जानु र बढ्दो विदेशी संस्कृतिको प्रभाव बढ्दै जानुले अबको पुस्तासँग कमै मात्र यस्तो आशा गर्न सकिन्छ ।
साँच्चै भन्ने हो भने हाम्रो संस्कृतिअनुसार जीवन दिएर यस जगत्मा समर्थवान् बनाइदिने हाम्रा लागि आमाबाबु नै सजीव ईश्वरका अवतार हुन् । बाबुआमा र आफ्ना मान्यवरलाई मान्नु, उनीहरूको सेवा गरी आशीर्वाद प्राप्त गर्नु हाम्रो सामाजिक धर्म र अनुशासन पनि हो । आफ्नी आमाको रगत, पसिना, पानी सुकाएर अन्न र श्वास–प्रश्वासबाट सिर्जना भई उनकै पोल्टामा फूल र कोपिलाजस्तै भएर बढेका हुन्छौँ । यस्ती आमाको त कुरै छोडौँ, पिताजीको विशेष सत्प्रयासबाट नै हाम्रो आजको उन्नति र प्रगति भएको हो, उनको झन् विशेषता छ । कविशिरोमणि लेखनाथ पौड्यालले लेख्नुभएको एउटा कवितांश यस्तो छ :
पाली पोषी ठूलो पारी सत्कर्मतिर लाउन ।
कति कष्ट प-यो होला पितालाई तिमी भन ।।
कृतज्ञताको भावनाले हेर्ने हो भने यो कुरामा सत्यता देखिन्छ । हरेक मनुष्यका लागि आमाबाबु र गुरु देवतातुल्य हुन्, तीर्थस्वरूप हुन् । यिनीहरूलाई हेला गरेर देवता मान्न, तीर्थ जान, त्यसको कुनै महìव छैन । शास्त्रको भनाइ छ –
वेदैरपि च किं पुत्रः पिता येन प्रपूजितः ।
एष पुत्रस्य वै धर्मस्तथा तीर्थः नरोष्विहं ।।
जसले बाबुलाई सेवा गर्दछ, त्यसलाई वेद, धर्म, तीर्थ किन चाहियो ? अर्थात् स्वयम् प्राप्त हुन्छ । हाम्रो धर्म–संस्कृतिअनुसार हरेक मनुष्यलाई तीन ऋणको दायित्व हुन्छ । ती हुन्– देवता, पितृ र ऋषि ऋण । यी तीन ऋणबाट ऊऋण भई कृतज्ञ हुनुपर्दछ । यसका लागि पितप्रति श्रद्धा गरिन्छ । दिवङ्गत पितृको श्राद्ध–तर्पण, आयुर्दा, सन्तान, विद्या, धन, स्वर्ग, मोक्ष, सुख, राज्य, समृद्धि, ऐश्वर्य आदि प्राप्त हुन्छ भन्ने स्मृतिशास्त्रको
भनाइ छ ।
हाम्रो इतिहास, धर्म, संस्कृति यिनै कुराका प्रमाण हुन् । यसैले आजको दिन आफ्नो जन्म दिने र हामीलाई हुर्काउने, बढाउने, सत्कर्म, शिक्षादीक्षा दिलाई योग्य बनाउन निरन्तर प्रयास गर्ने आफ्ना बाबुको श्रद्धापूर्वक दर्शन गरी पाऊमा परेर हार्दिकता देखाउने दिन हो । यही स्नेह–सम्बन्धबाट हाम्रो समाज बाँधिएको छ । तुलनात्मक दृष्टिकोणले हेर्दा हाम्रो परम्परा र संस्कृति दूरगामी, प्रकाशमय, जन्म–जन्मान्तरको आत्मीय भावनाले भरिपूर्ण भएको पाइन्छ । अन्य संस्कृतिमा भने यस्तो भावनात्मक प्रखरता पाइँदैन ।