धनबहादुर रोका ‘अमर’
हेलो धनबहादुर जी, म दिवाकर दाइ बोलेको ।
घामले टल्केको मोबाइलमा नाम देख्न नसक्दा कसले फोन गरेको भन्ने ठम्याउन सकेको थिइनँ ।
मैले आदरपूर्वक अभिवादन गरिसकेपछि उहाँले फोन गर्नुको कारण स्पष्ट पार्दै भन्नुभएथ्यो– ‘‘तपाईं दलित समुदायको पढेलेखेको मान्छे, जिल्ला समितिमा तपाईंले जित्नुपर्छ भन्ने लागेथ्यो, बडा कठिन थियो र पनि जित्नु भएछ, बधाई छ ।’’
३८ जना जिल्ला सदस्य आवश्यक हुँदा जिल्लामा चार जना दलितसहित १२० जनाको उम्मेदवारी परेकोमा दलितमध्ये म एक्लैले जितेकोमा उहाँ निकै खुसी हुनुहुन्थ्यो । उहाँहरूकै शुभेच्छा र सहयोगले मैले जितेको थिएँ । धन्यवाद, भन्नुभन्दा अर्को शब्द मसँग थिएन । उहाँले पनि अब पार्टीले तोकेको जिम्मेवारी राम्ररी निर्वाह गर्नु, सदा क्रियाशील रहनु भन्दै प्रेरणास्पद र ऊर्जाशील वाणीमा कुरा टुङ्ग्याउनु भयो । २०७० साल चैतमा सम्पन्न एनेकपा (माओवादी) को जिल्ला सम्मेलनबाट यस पङ्क्तिकारले जिल्ला समिति सदस्यमा निर्वाचित भएलगत्तै चैत २८ गते क. पोष्टबहादुर बोगटी ‘दिवाकर’ले फोन गरेर हौसला प्रदान गर्नुहुँदा औधि खुसी लागेको थियो । खुसी यसर्थ भएको थिएँ कि मलाई कुनै केन्द्रीय शीर्ष नेतृत्वले आफैँले फोन गरेर बधाई दिनुभएको थियो पहिलो पटक । सामान्यतः अरू नेतृत्वमा त्यस्तो शैली पाइँदैन, जुन उहाँमा थियो । ०५५ सालमा च्वाडी स्कुलको विद्यार्थी मोर्चाबाट जोडिएर २०५९ असार १० गते मनोहर क्याम्पस काठमाडौँबाट विद्यार्थी मोर्चाको क्याम्पस एकाइ अध्यक्ष तथा स्ववियू सभापति क. रवि गौतम र विद्यार्थी नेता क. हिमाल शर्माबाट नेकपा (माओवादी) को पार्टी सदस्यता लिएको मेरा लागि सबैभन्दा खुसी र गर्वको क्षण थियो । तर ‘बुर्जुवा शिक्षा’ नै सही, शिक्षा लिने मेरो हुटहुटीले पूर्णकालीन हुन सकिनँ र पारिवारिक समस्या र अध्ययनलाई निरन्तरता दिन जागिर खान थाल्दा नुवाकोट जिल्लाको पार्टीसँगको मेरो सम्बन्ध २०६४ देखि मात्र जोडिन पुगेको थियो । मेरो र दिवाकरको पहिलो भेट पनि त्यतिखेरै भएको हो ।
२०६० साल फागुन १६ गते मेरी बहिनी रूपाको विवाहमा म राजनीतिक परिस्थितिले नुवाकोट घर जान सकिनँ तर दाजु सम्मर जानुभयो । दाजुलाई शाही सेनाले घेरा हालेर कञ्चटमा दुईतिरबाट बन्दुकले ताकिरहेकोमा एउटा हात नभएका काका होमबहादुरले भन्न भ्याउनुभएछ, ‘‘ऊ मेरो भतिज हो, बहिनीको विवाहमा आएको”, त्यसपछि मात्र दाइ बचेको थाहा भयो । यो घटनाले मलाई झनै सामन्ती राजतन्त्र विरुद्धको आन्दोलनमा होमिन प्रेरित गरेथ्यो । २०६२÷६३ को १९ दिने जनआन्दोलनमा पनि विद्यार्थी मोर्चामै जोडिएर परिचालित भएँ । मैले पार्टीको सैन्य फर्मेसनमा काम गर्न नपाए पनि विद्यार्थी मोर्चाबाट सकेको योगदान गरेको हुँ । अहिले पार्टीको केही नेतृत्वले सैन्य र गैरसैन्य पृष्ठभूमिबाट आएकाहरूलाई जुनखाले विभेद गर्छ, क. दिवाकर हुनुहुन्थ्यो भने त्यसो हुन दिनुहुन्नथ्यो ।
२०३४ सालदेखि पुष्पलाल समूहबाट कम्युनिस्ट राजनीतिमा होमिनुभएको थियो कमरेड दिवाकर । २०४० सालको छुरीकाण्डमा पञ्चायती व्यवस्थाले जेल हाल्दा केही दिनमा छुट्नुभएका क. दिवाकरलाई २०४२ को बमकाण्डपछि पुनः तत्कालीन सरकारले जेल हाल्यो, २०४३ मा छुट्नुभयो । जेलमा हुँदै नेकपा (मशाल) मा आबद्ध उहाँ त्यसपछि २०४५ सालमा युवक सङ्गठनको केन्द्रीय सदस्य हुनुभएको थियो, जसको अध्यक्ष क. प्रचण्ड नै हुनुहुन्थ्यो । २०४८ सालमा नेकपा (एकता केन्द्र)को एकता (छैटौँ) महाधिवेशनपछि केन्द्रीय सदस्य हुनुभएका क. दिवाकर नेकपा (माओवादी) पार्टीको जन्मदातामध्ये एक हुनुहुन्छ । नेकपा (एकता केन्द्र) को २०५१ फागुन २–४ मा सम्पन्न तेस्रो विस्तारित बैठकबाट पार्टी नाममा संशोधन गर्नेसहितको दस्तावेज तत्कालीन महामन्त्री क. प्रचण्डले ल्याएकोमा कमरेड दिवाकरले पूर्णसमर्थन गर्नुभएको थियो । उक्त दस्तावेज पारित गरेपछि नेकपा (एकता केन्द्र) को नाम नेकपा (माओवादी) रहन गयो र २०५२ साल फागुन १ गतेदेखि जनयुद्धको थालनी भयो । प्रचण्डको त्यही दस्तावेज नै नेपाली सर्वहारावर्गीय क्रान्तिको अहिलेसम्मकै सबैभन्दा महìवपूर्ण दस्तावेजसमेत हुन गएको छ ।
आफ्नो पैतृक सम्पत्ति विद्यालयलाई दान दिएर तथा पार्टीकरण गरी कम्युनिस्ट राजनीतिको भुङ्ग्रोमा हामफाल्नु भएका क. दिवाकर प्राविधिक किसिमका सोपानगत नेतृत्व विन्यासमा अल्मलिएर उचनिचजन्य भावना एकरत्ति पनि नराख्ने, मातहतका सबै कमरेडलाई समान र न्यायोचित व्यवहार गर्ने प्रिय नेता हुनुहुन्थ्यो । उहाँका एक मात्र सुपुत्र क. रविको शहादत भएको शोकलाई शक्तिमा बदलेर क. दिवाकरले रविका समकालीन हामीमा पनि सायद रविकै छायाँ–प्रतिछायाँ पाउनुभयो होला र हामीलाई पनि अगाध माया अनि प्रेरणा दिनुभयो । त्यसर्थ, पनि मेरो उहाँप्रति उच्च सम्मानभाव छ । सायद मैले आफ्नो बुबा २०५१ सालमै गुमाएकोले होला, मैले क. दिवाकरलाई जहिलेदेखि भेटेँ एक असल अभिभावकको प्रतिछायाँ पाउथेँ उहाँमा । उहाँलाई भेट्न पाउनु औधि खुसीको क्षण हुन्थ्यो ।
भेट्ना साथ उहाँले हँसमुखसाथ, मायाको भावमा सोध्नुहुन्थ्यो, ‘‘ओ हो, के छ धनबहादुर जी ?’’ म सीधा आँखाले उहाँलाई हेर्न सक्दिनथेँ । केही डर, धक र शरमले भन्थेँ, ‘‘सलाम दाजु, मलाई ठीक छ । अनि हजुरलाई ?’’, ‘‘ठीक नभए म यहाँ आउँछु त ?’’ उही सदाबहार मुस्कुराहटका साथ उहाँ भन्नुहुन्थ्यो । जुन म शब्दमा बयान गर्न सक्दिनँ । अहिले आएर त्यो सम्झिँदा लाग्छ, उहाँ आज हाम्रोमाझ हुनुभएको भए हाम्रो पार्टीको वस्तुगत स्थिति, हामीजस्ता इमानदार कार्यकर्ताको वैचारिक, राजनीतिक वृत्तिविकासमा केही उन्नति हुन्थ्यो कि कि भन्ने विषय खड्किन्छ । १५ वर्षको किशोरवयदेखि नै जान–अन्जानमा माओवादी आन्दोलनमा विद्यार्थी मोर्चाबाट जोडिन पुगेको थिएँ म । कमरेड भरत ढुङ्गाना जिल्ला सभापति भई च्वाडी स्कुलको कार्यक्रममा प्रमुख अतिथिको रूपमा आई क्रान्तिकारी भाषण गर्दा प्रभावित भएथेँ । कमरेड भरत माओवादी जनयुद्धमा होमिएपछि २०५९ मा शाही सेनाद्वारा मारिनुभयो । त्यसपछि कमरेड दिवाकर नै मार्गदर्शक बनिरहनुभयो । त्यसकै जगमा, त्यही धरातलमा पार्टी, विचारको राजनीति तथा रणनीति र कार्यनीति एवं नेतृत्वप्रतिको आस्था र विश्वासमा सतीसालझै अटल हुँदै अविचलित रहँदै आएका हौँ ।
जनयुद्ध उत्कर्षमा पुग्दा २०५९/६० सालताका नेकपा (माओवादी) को एक चर्चित नेतृत्वको नाम थियो क. दिवाकर । जनयुद्धका शीर्ष नेतृत्वमध्येको एक जुझारु, निष्ठावान् र सैद्धान्तिक–वैचारिक नेता र २०६३ पछिको नुवाकोटे जनताको अभिभावकको रूपमा हुनुहुन्थ्यो उहाँ । नेकपा (माओवादी)को सचिव र महासचिव हुँदै, जीवनको उत्तराद्र्धमा एनेकपा (माओवादी)को उपाध्यक्ष हुनुहुन्थ्यो । पहिलो संविधान सभामा प्रत्यक्ष निर्वाचित सदस्य र पछि विभिन्न मन्त्रालयको जिम्मेवारी पनि कुशलतापूर्वक सम्हाल्नु भयो उहाँले । भदौ ३० गतेका दिन सात वर्षअघि नुवाकोटे नेता, जनताको अभिभावक क. दिवाकर दिवङ्गत हुनुभयो । ‘एमाओवादीका उपाध्यक्ष क. दिवाकरको असामयिक निधनबाट एमाओवादीले एक इमानदार र सिद्धान्तनिष्ठ नेता मात्र गुमाएको छैन, देशको एक सच्चा कम्युनिस्ट क्रान्तिकारी नेता गुमाएको छ । समग्र राजनीतिक विकृति र विसङ्गति अनि विरोधाभाषलाई चिर्दै अघि बढ्ने, पार्टीभित्रको अन्तरविरोधलाई ठीक ढङ्गले हल खोज्ने, संविधान सभाबाट संविधान लेख्ने महान् अभियानका एक अभियन्ता, दलित, महिला, मजदुर, किसानको अधिकारको बिगुल फुक्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका एक जुझारु योद्धासमेत गुमाउन पुगेको छ । क. प्रचण्डले पार्टी अध्यक्षको हैसियतले शोक वक्तव्यमा यिनै भावका शब्दहरू उल्लेख गर्नुभएको थियो ।
उहाँको ७औँ स्मृति दिवसमा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानलगायत पार्टीको विभिन्न तह र तप्काले विविध कार्यक्रम गरी उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् । पार्टीले विधानमै दलित, महिला, युवा आदिको समानुपातिक समावेशीकरण गर्ने नीति लिएको छ । मुलुक धर्म निरपेक्षता, समानुपातिक समावेशीकरणसहित सङ्घीय, लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । क. प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले राज्यका हरेक अङ्गमा समानुपातिक समावेशीकरणको संवैधानिक मर्मलाई परिपालना गर्ने तथा पार्टीको वैचारिक राजनीतिक र सङ्गठनात्मक सुदृढीकरणका एजेण्डालाई माक्र्सवाद, लेनिनवाद र माओवादको वैचारिक आलोकमा विकसित गर्दै वैज्ञानिक समाजवादलाई पक्रँदै एक्काइसौँ शताब्दीको जनवादमा जाने स्पष्ट कार्यदिशा लिएको छ । यही नै कमरेड दिवाकरको
सपना थियो ।
समाजवादको सपना देखेको संविधानका मर्म र भावनालाई अक्षरशः पालना गर्दै उत्पीडित वर्ग र समुदायको नेतृत्वलाई पार्टीमा बिना कुनै पूर्वाग्रह उचित जिम्मेवारी प्रदान गर्नु र नेतृत्व विकास गर्दै अघि बढ्नु, महान् जनयुद्ध र जनआन्दोलनमार्फत प्राप्त उपलब्धिको रक्षा गर्न अविचलित र अविच्छिन्न रूपमा लाग्नुले नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।