विनाशकारी भूकम्प गएको छ वर्ष बितिसकेको अवस्थामा धेरै धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्व र विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको पुनर्निर्माण भइसकेको छ तर पनि निजी आवास, पूर्वाधारलगायतका क्षेत्रको तुलनामा सम्पदाको पुनर्निर्माणको प्रगति भने कमै छ । मुलुकभरका क्षतिग्रस्त सम्पदाहरूमध्ये ६६ प्रतिशतको मात्र पुनर्निर्माण सम्पन्न भएको छ ।
२०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पका कारण क्षतिग्रस्त बनेका धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महìवका तथा विश्व सम्पदाका ९२० सम्पदामध्ये करिब पाँच सय जतिको पुनर्निर्माण सम्पन्न भएको छ । विश्व सम्पदामध्ये अहिलेसम्म पुनर्निर्माण सम्पन्न भएको बौद्धनाथ मात्र हो । बौद्धनाथ स्तूपको पुनर्निर्माण चार वर्षअघि सम्पन्न भइसकेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत
१७० सम्पदाको पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेकोमा ११० प्राथमिकतामा परेका छन् । अहिले चार दर्जनभन्दा बढी सम्पदा पुनर्निर्माण भइरहेकोमा एक दर्जनजतिको काम सुरु हुन सकेको छैन । उपत्यकाबाहिर क्षतिग्रस्त ३४४ सम्पदामध्ये १७६ को पुनर्निर्माण भएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा करिब ८० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भएको छ । भूकम्पबाट क्षतिग्रस्त यहाँका २९ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने २३ वटाको पुनर्निर्माण भइरहेको छ । हनुमानढोका दरबार क्षेत्रका क्षतिग्रस्त २१ वटा सम्पदाको काम अहिलेसम्म सुरु नै भएका छैनन् । ठूला सम्पदाको पुनर्निर्माण सम्पन्न भइसकेको छ वा सम्पन्न हुने चरणमा पुगेका छन् । साना र सहायक काम बाँकी रहेकाले अब यस क्षेत्रको पुनर्निर्माणको काम चाँडै सम्पन्न हुने सम्बन्धित अधिकारीले जनाएका छन् । एकअर्कासँग अन्तरसम्बन्धित भएका कारणले अहिले बनिरहेका सम्पदाको काम नसकी अरू सम्पदाको काम गर्न नमिल्ने भएकाले २१ सम्पदाको काम अझै सुरु हुन नसकेको सम्बन्धित अधिकारीको दाबी छ । पशुपति क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्रको पुनर्निर्माणको अवस्था पनि यस्तै छ । काठमाडौँको स्वयम्भू, तलेजु भवानी मन्दिर, पाटनको कृष्ण मन्दिर, पलाञ्चोक भगवती, गोरखाको मनकामना मन्दिरलगायतका सांस्कृतिक सम्पदाको पुनर्निर्माण भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा पुरातात्त्वि विभाग, स्थानीय सरकार, दातृ मुलुक र निकाय, स्थानीय समितिसमेतको संलग्नतामा सम्पदाको पुनर्निर्माण भइरहेको छ ।
भूकम्प गएको छ वर्ष बितिसके पनि आधाजसो सम्पदाको पुनर्निर्माण बाँकी रहेको छ । अन्य भौतिक संरचना, पूर्वाधार र निजी आवासभन्दा सम्पदा पुनर्निर्माण जटिल भएकाले प्रगति कम देखिएको हो । सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाको पुनर्निर्माण गर्दा पुरानै शैली, निर्माण सामग्री र प्रविधिको प्रयोग गर्र्नुपर्ने बाध्यताले पनि काममा ढिलाइ भएको हो । प्राचीन शैलीमा बनाउनुपर्दा त्यहीअनुसारको ज्ञान र सीप भएका जनशक्ति चाहिन्छ । निर्माण सामग्री र प्रविधि पनि सोहीअनुरूप हुनुपर्छ, जुन सहज उपलब्ध हुनसक्दैन । आवश्यक आकारका काठ उपलब्ध नहुँदा पनि काष्ठमण्डपलगायत कतिपय सम्पदा निर्माणमा समस्या आएको छ । प्राचीन स्मारक संरक्षण ऐनबमोजिम पुनर्निर्माण गर्नुपर्ने बाध्यता छ । कतिपय सम्पदा पुनर्निर्माणमा विवाद सिर्जना भए । स्वामित्वको विवाद र समन्वयको अभावले पनि काममा बाधा पुगेको छ ।
विश्व सम्पदा क्षेत्रको पुनर्निर्माण छिटो सम्पन्न गर्न युनेस्कोले पटक पटक दबाब दिँदै आएको छ । त्यसैले चाँडोभन्दा चाँडो पुनर्निर्माणको काम सम्पन्न गरेर ती सम्पदालाई खतराको सूचीमा पर्नबाट जोगाउनुपर्छ । यी सम्पदा पर्यटनको आधार भएकाले पनि पुनर्निर्माणमा ढिलाइ हुनुहुँदैन । विवाद अन्त्य गरी पुनर्निर्माणलाई गति दिनुपर्ने आवश्यकता छ । निर्माण सामग्री र जनशक्ति उपलब्ध गराउन सबै निकायले सहयोग र समन्वय गर्नुपर्छ । सम्पदा पुनर्निर्माणमा समन्वय गर्दै आएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आउँदो पुसमा सकिँदै छ । प्राधिकरणले सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाहरूको पुनर्निर्माणसम्बन्धी कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई हस्तान्तरण गरिसकेको छ । जिम्मेवारी हस्तान्तरणले उत्पन्न हुनसक्ने अन्योल र काममा हुने ढिलाइलाई समयमै समाधान गरी पुनर्निर्माणको कामलाई गति दिनु आवश्यक छ । पुनर्निर्माणका लागि आवश्यक बजेटमा कमी हुन नदिन सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।