logo
२०८१ मंसिर १२ बुधवार



मिचाहा प्रवृत्तिका वनस्पति

विचार/दृष्टिकोण |




रामचन्द्र वाग्ले

राजनीतिशास्त्रमा साम्राज्यवादी, विस्तारवादी र मिचाहा प्रवृत्तिजस्ता शब्द खुबै प्रचलनमा पाइन्छ । यस्ता स्वभाव र प्रवृत्ति वनस्पतिमा समेत पाइन्छ । त्यसैले यस्ता शब्द वनस्पतिको अध्ययन र अनुसन्धानमा समेत प्रयोग हुने गरेको छ । बोटबिरुवाले बोटबिरुवामाथि अत्याचार र मिचाहा प्रवृत्ति देखाउने, आफ्नो साम्राज्य विस्तार गर्ने गर्दछन् । विश्वमा केही यस्ता वनस्पति पनि छन्, जसले तीव्र रूपमा आफ्नो सीमाना वा क्षेत्र विस्तार गर्दछन् । त्यस्ता वनस्पतिबारे केही कुरा जानौ ।
विश्वको कुनै एक स्थानमा उत्पत्ति भई विभिन्न माध्यमबाट अर्को स्थानमा पुग्ने र नयाँ स्थानमा असहज वातावरणमा पनि सजिलै हुर्कने, छिटोछिटो फैलिने र त्यहाँ भएका प्राकृतिक र रैथाने प्रजातिका वनस्पतिलाई हानि गर्ने क्षमता भएका वनस्पतिहरूलाई साम्राज्यवादी वनस्पति भनिन्छ । यस्ता वनस्पतिलाई मिचाहा वा विस्तारवादी वनस्पति पनि भनिन्छ ।
यस्ता वनस्पति विभिन्न माध्यम जस्तै हावा, पानी, यातायातका साधन, चरा, जनावर र मानिसको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण वा विस्तार हुने गर्दछन् । कुनै कुनै मिचाहा वनस्पति त मानिसले थाहै नपाइ (झुक्किएर) पनि स्थानान्तरण भएका छन् । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वनस्पति विभागले वि.स. २०७७ सालमा प्रकाशन गरेको पुस्तक ‘नेपालमा फैलिएका बाह्य मिचाहा वनस्पतिहरू’ अनुसार नेपालमा पाइने मिचाहा वनस्पतिहरू जलकुम्भी, सेतो वनमारा, कालो वनमारा, लहरे वनमारा, लज्जावती झार, कालो कुरो, सेतो गन्धे झार, निलो गन्धे झार, पटपटे, पाती झार, काँडे लुडे, थाकल वा सत्यनाशी, फुली झार, वेशरम, चित्लांगे, वनफाँडा, मारियोफाइलम, ठूलो मिर्रे, करौते घाँस, ठूलो टाप्रे, सानो टाप्रे, आलु पाते, ठूलो चरिअमिलो, कुम्भिका, भेडे कुरो, थाङ्ने झार हुन् । लोवे र उनका सहकर्मीले सन् २००० मा प्रकाशन गरेको अनुसन्धानात्मक लेखअनुसार नेपालमा पाइने यी २६ मिचाहा प्रजातिमध्ये चार प्रजातिका वनस्पतिहरू (जलकुम्भी, वनफाडा, लहरे वनमारा र सेतो वनमारा) विश्वका १०० खतरनाक मिचाहा प्रजातिमा पर्दछन् ।
साम्राज्यवादी वनस्पतिहरू रैथाने वनस्पतिभन्दा केही फरक विशेषता भएका हुन्छन् । यस्ता वनस्पति सबै प्रकारका जमिनमा सजिलै उम्रन, हुर्कन र फैलन सक्दछन् । यस प्रकारका वनस्पतिहरू अमैथुनिक प्रजनन विधिबाट सजिलै र धेरै मात्रामा उत्पादन हुन्छन् । प्रतिकुल वातावरणमा पनि अनुकुलित र तीव्र मात्रामा वृद्धि हुन सक्छन् । स्थानीय वातावरणअनुसार आफूलाई परिवर्तन गर्न र वृद्धि हुन सक्छन् । बीउ मसिना र हलुका हुने भएकाले टाढा टाढासम्म फैलिन्छन् । यस्ता बोटबिरुवाहरू आफू रोग प्रतिरोधक हुन्छन् तर अन्य स्थानीय बोटबिरुवालाई मार्न सक्ने रसायन उत्पादन गर्न सक्छन् ।
यी साम्राज्यवादी बिरुवाले एक किसिमको रासायनिक पदार्थ उत्पादन गर्छन् जसलाई एलिलोप्याथिक भनिन्छ । उक्त रसायनले अन्य स्थानीय बिरुवालाई मार्ने काम गर्दछ, जसले गर्दा मिचाहा वनस्पतिले आफूलाई उच्च दरमा फैलाउँदै लैजान सक्छ । वनजङ्गल विनाश भएको ठाउँमा, खाली जमिन, सिमसार र न्यून वनस्पति भएको स्थानमा यी वनस्पति तीव्र मात्रामा फैलिएको पाइन्छ । यस्ता वनस्पतिले प्राकृतिक सुन्दरता र जैविक विविधतामा नकारात्मक असर पार्दछन् । यी प्रजातिले स्थानीय प्रजातिमा आनुवांशिक फेरबदल गरी विनाशकारी प्रजातिहरूको उत्पादनमा सहयोग पनि पु¥याउँछन् । यी वनस्पति खानयोग्य नहुने भएकाले प्रायः जीवजन्तु तथा चराहरूले खाँदैनन् । तर यस्ता साम्राज्यवादी झारहरू तीव्र मात्रामा फैलिने भएकाले जीवजन्तुलाई उपयुक्त आहाराको कमी हुन जान्छ, जसले गर्दा ती जीवहरू आहाराको खोजीमा अन्य स्थानमा जान्छन् । जङ्गली जनावरहरू मानव वस्तीमा छिर्ने प्रमुख कारणमा यो पनि पर्दछ । मिचाहा वनस्पतिले गर्दा मानव र जङ्गली जनावरबीच द्वन्द्व सिर्जना हुने पनि देखिएको छ । यसका साथै यस्ता वनस्पतिले कृषि क्षेत्र, मानव स्वास्थ्य क्षेत्र, सिमसार क्षेत्र र आर्थिक क्षेत्रमा पनि समस्या सिर्जना गर्न थालेका छन् ।
यस्ता वनस्पतिलाई यसरी नै त्यत्तिकै छोडियो भने निकट भविष्यमा स्थानीय बिरुवाहरू लोप भएर जाने निश्चित छ । यसले गर्दा थुप्रै औषधीय गुणले भरिपूर्ण स्थानीय वनस्पति नाश भएर जाने पक्का छ । यस्ता बिरुवाहरूको असर र वितण्डतालाई समयमै रोकथाम गरिएन भने वातावरणीय प्रणाली र खाद्य चक्रमा खलबली हुने देखिन्छ ।
नेपालमा पाइने २६ प्रजातिका साम्राज्यवादी बिरुवाहरू सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण भेगमा पनि फैलिसकेका छन् । समयमै यसको व्यवस्थापनमा जुटे यसको रोकथाम र नियन्त्रण सम्भव छ । यसको रोकथाम प्रमुख तीन विधिबाट गर्न सकिन्छ । ती विधी हुन् ः जैविक, भौतिक र रासायनिक विधि । जैविक विधिअनुसार नियन्त्रण गर्न मिचाहा वनस्पतिले असर गर्न नसक्ने तर मिचाहा झारलाई नै नोक्सान गर्न सक्ने बोटबिरुवा प्रयोग गरिन्छ ।
रासायनिक विधिअनुसार नियन्त्रण गर्न मिचाहा प्रजातिका बोटबिरुवा मार्न विभिन्न प्रकारका रासायनिक विषादीको प्रयोग गरिन्छ । भौतिक विधिअनुसार नियन्त्रण गर्न मिचाहा बोटबिरुवालाई फूल फुल्नुभन्दा अगाडि नै जरासहित उखेलेर एकै स्थानमा राखी जलाउने वा जमिन मुनि गाड्ने गरिन्छ । अझै पनि वनस्पतिशास्त्र पढ्ने विद्यार्थी र पढाउने शिक्षकबाहेक अरू मानिसले खासै मिचाहा प्रजाति र यसको असरबाट अवगत भएको पाइँदैन । त्यसैले स्थानीय र राष्ट्रियस्तरमा साम्राज्यवादी वनस्पति पहिचान गर्ने तालिम, सम्मेलन र अन्तक्र्रिया आदि गरी स्थानीय वासिन्दा (किसान र जनता) मा जनचेतना बढाउने काम प्रभावकारी तवरले गर्नुपर्छ । एक जनाले मात्र यसको रोकथाम गर्न खोजेर हँुदैन । राष्ट्रियस्तरमा नै यो अभियान थालिनु पर्छ ।
विद्यालय शिक्षामा समेत मिचाहा प्रवृत्तिका बिरुवा, यसको रोकथाम, रैथाने प्रजातिका बिरुवाको संरक्षणजस्ता विषयलाई समावेश गरेर लैजानुपर्छ ।
मिचाहा प्रवृत्तिका बिरुवाको रोकथामका लागि जनस्तर, स्थानीय निकाय र राष्ट्रियस्तरबाटै पहल हुन अत्यन्त जरुरी छ । अन्यथा नेपालमा पनि भोकमरीको चरम सङ्कट निम्तिने निश्चित छ ।
विशेषज्ञसहित प्राविधिक टोली बनाई मिचाहा प्रजाति भएका स्थानमा पुगी तत्काल उचित कदम नचाले भविष्यमा दुःखी हुनुबाहेक अरू केही विकल्प रहँदैन । त्यसैले यसको गम्भीरतालाई बुझी रोकथाम र नियन्त्रणका लागि शीघ्र समाधानका प्रयास चाल्नुपर्छ । अन्यथा पछि जतिसुकै खर्च गरे पनि यी प्रजातिलाई रोकथाम गर्न सकिन्न । अन्य मिचाहा प्रजाति हाम्रो देशमा आउनबाट रोक्ने सबैभन्दा प्रभावशाली तरिका भनेको अन्य देशबाट आउने बिरुवा, बीउ, मल आदि क्वारेन्टाइनमा जाँच गरेर वा परीक्षण गराएर मात्र भिœयाउनु पर्छ । यसो हुन सकेमा रैथाने प्रजातिका औषधीय गुण भएका वनस्पतिको संरक्षणमा समेत महìवपूर्ण टेवा पुग्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?