कमल रिजाल
सरकारले गत बुधबार दसौँ कर दिवस मनाएको छ । यसै दिन केही करदाता पुरस्कृतसमेत भएका छन् । यस आर्थिक वर्षलाई अभियानकै रूपमा ‘कर वर्ष’ बनाउन लागिएको बुझिएको छ । अर्थमन्त्री जनार्दन शर्माले यस वर्ष राजस्व सङ्कलन दोब्बर पार्ने अठोट व्यक्त गरिसक्नुभएको छ । झट्ट सुन्दा उहाँको अठोट अलि बढी महìवाकाङ्क्षी हो कि जस्तो लाग्न सक्छ तर करको दायरा बढाउँदै जाने हो भने असम्भव पनि छैन । यस आलेखमा हालसम्मका कुनै पनि सरकारले ध्यान नदिएको, दिन नभ्याएको वा नचाहेको केही क्षेत्र र तप्काबारे उल्लेख गर्ने जमर्को गरिएको छ । आशा छ, सरकारले ती क्षेत्रलाई पनि करको दायरामा ल्याउने परिपाटी बसाउने छ ।
भनिरहनु परोइन, हाम्रो मुलुक अध्यात्मप्रधान मुलुक हो । देश अध्यात्मप्रधान छ, जनता आध्यात्मिक छन्, जनताको रुचि अध्यात्मप्रति बढी छ तर विडम्बना यही क्षेत्रमा राजस्व ठगी, चुहावट र छलीको समस्या बढी छ । यसको अर्थ समस्या यस क्षेत्रमा मात्र छ भन्ने होइन । भ्रष्टाचारको जालो तलदेखि माथिसम्म फैलिएको छ । यसमा अधिकृतस्तर र तह नै सर्वाधिक अगाडि देखिएका छन् । प्रमाणका रूपमा हालै प्रकाशित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनलाई नै लिन सकिन्छ । तथापि आध्यात्मिक क्षेत्रको कथा र व्यथा अर्कै छ । अध्यात्मको तुुरूप लगाउनेबित्तिकै राजस्व तिर्नु पनि नपर्ने, जति नै कुम्ल्याए पनि मुद्दा खेप्नु नपर्ने र अख्तियारले पनि नछुने भएकाले ठगी खाने, ठगी खान चाहनेहरूका लागि यो क्षेत्र उर्वर सावित हुँदै गएको छ । अन्य क्षेत्रमा रीतभाँती पु-याउनु पर्छ, कागजपत्र मिलाउनु पर्छ, मिलाउन जान्नुपर्छ । अन्यथा मुद्दामामिलाको कुरा आउन सक्छ तर यस क्षेत्रमा केही गर्नै पर्दैन । यज्ञ–अनुष्ठान, ज्योतिष, वास्तु र कर्मकाण्डको नाम दिनुपर्छ, लिनुपर्छ जति ठगे पनि हुन्छ, जति कुम्ल्याए पनि हुन्छ ।
केही वर्षयता महायज्ञको आयोजना गरिनुको मूलध्येय अपवादबाहेक ठगी खाने भाँडो बन्दै आएका छन् । पैसा कमाउन मन लाग्यो कि महायज्ञ लगाए पुग्छ । जहिले पनि जहाँ पनि पैसा चाहियो भने महायज्ञ लगाउने भनिन्छ, लगाउन थालिन्छ, जहाँ न रीत पुगेको हुन्छ, न विधि नै । यज्ञको उद्देश्य भनेकै पैसा कमाउनु रहेको हुन्छ । यो छुट्टै कुरा हो कि हिजोआज कोभिड–१९ महामारीका कारण केही कमी आएजस्तो देखिएको छ तर यो क्षणिक हो । हेर्दै जानुपर्छ, महामारी केही मत्थर हुनेबित्तिकै महायज्ञका खेती सुरु हुनेछन्, हुन थाल्नेछन् । धर्मप्राण जनता यज्ञमा सहभागी हुन्छन्, मन खोलेर दान गर्छन् । अमूक व्यक्तिले यति दान गरे, अमूक यज्ञबाट यति उठ्यो, त्यति उठ्यो भन्ने विज्ञापन गरिन्छ र दाताहरूलाई थप दान गर्न उक्साइन्छ तर ती रकम कहाँ गए, कुन–कुन काममा के कति खर्च भए र कति राजस्व तिरियो, त्यतातिर कसैको ध्यान पुगेको छैन, पुगेको पाइन्न । दाताहरू त यसै पनि खोजीनीति गर्दैनन्, किनकि उनीहरूलाई दान गोप्य हुनुपर्छ, गोप्य पनि यति कि दाहिने हातले दिएको देब्रे हातले थाहा पाउनु हुन्न, अन्यथा निस्फल हुन्छ भन्ने गुरुमन्त्र पहिले नै सुनाइन्छ, सुनाइएको हुन्छ । खोज्नुपर्ने सरकारी निकायले हो उसले पनि आध्यात्मिक क्षेत्र भनेर आँखा चिम्लँदै आएको आवस्था छ ।
हिजोआज जताततै ठूलो–सानो सःशुल्क योग र ध्यान शिविर चलाउने र विभिन्न बहानामा अनेक किसिमका कक्षा चलाउने चलन पनि त्यति नै बढ्दै गएको छ । नाम जे पनि हुन सक्छ, न्वारन जसरी गरे पनि भयो, नाम जे राखे पनि भयो । न न्वारन गर्ने गुरु पुरोहितको कमी छ, न नाममा लोभिने यजमानहरूको कमी तर यसबापत उठेको रकमको हिसाबकिताब भने पारदर्शी हुन सकेको पाइन्न । न उनीहरूले उठेको रकमको कर तिर्ने परिपाटी बसाएका छन्, न सरकारी निकायबाट यथोचित ध्यान पुग्न सकेको छ ।
यसबाहेक सहर बजारका गल्लीहरूमा र गाउँमै पनि ज्योतिष तथा वास्तुमरामर्श केन्द्र खोलेर बस्नेहरू पनि त्यत्तिकै छन् । एउटै परामर्श दिइएको वा चिनाटिप्पण हेरेबापत कम्तीमा पाँच सयदेखि हजार रुपियाँसम्म शुल्क लिने गरिन्छ । कतिको रेट त दस हजारसम्म रहेको पनि बुझिएको छ । यसअनुसार उनीहरूका आम्दानी महिनामै कम्तीमा तीन लाख रुपियाँभन्दा बढी रहेको अनुमान हुन्छ । दिनमा सरदर १० वटा चिना हेरेको वा परामर्श दिइएको अनुपातमा गरिएको हिसाब हो यो । यथार्थमा त्योभन्दा बढी नै हुन्छ ।
भाषा, टीका हेरेर सङ्गीतमय कथा भट्याउने वाक्पटु पण्डितहरूले एउटै यज्ञबाट दक्षिणास्वरूप लाख रुपियाँभन्दा बढी नै लिने गरेको पाइएको छ । उनीहरूलाई एउटा महायज्ञ सम्पन्न गर्न सरदर सातदेखि नौ दिनसम्म लाग्ने गर्छ र यस्ता यज्ञ महिनामा तीनवटासम्म सम्पन्न गर्छन्, गराउन सक्छन्, गराउँदै आएका छन् । यसअनुसार उनीहरूको मूल दक्षिणा नै महिनाको तीन लाखभन्दा बढी हुन पुग्ने देखिन्छ । फुटकर दक्षिणाको त हिसाबै छैन, कति हो कति । यो भनेको उनीहरूको वार्षिक आम्दानी झन्डै ४० लाखको हाराहारी हुनु हो ।
एकछिन कुरा गरौँ पुरोहित वर्गको । सहर बजारका पुरोहितलाई कुनै दिन खाली हुँदैन । प्रत्येक दिन सानाठूला कुनै न कुनै कर्मकाण्ड परेकै हुन्छ । त्यस्तै परे एकै दिन दुई÷तीनवटा पनि भ्याउँदै आएका हुन्छन् । प्रतिकर्मकाण्डको दक्षिणा सरदर दुई हजार नै राखे पनि उनीहरूको आम्दानी महिनाको ६० हजार नाघ्छ । सामान्य अनुपातमा निकालिएको अनुपात हो यो पनि । यथार्थमा यहाँ पनि योभन्दा बढी नै हुन्छ । यो भनेको उनीहरूको वार्षिक आम्दानी दस लाखको हाराहारी हुनु हो ।
वार्षिक आम्दानी पाँच लाख ननाघ्ने कर्मचारीले सरकारलाई आम्दानीको एक प्रतिशत ट्याक्स तिनुपर्छ । त्योभन्दा बढी आम्दानी हुने कर्मचारीले आम्दानीको अनुपातमा १५ देखि ४० प्रतिशतसम्म कर तिर्ने गरेको बुझिन्छ । एउटा साहित्यकारले वर्षमा मुस्किलले एउटा पुस्तक प्रकाशित गराउन सक्छ, त्यो पनि भनेको बेला प्रकाशक मिलेको खण्डमा तर उसले पाउने रोयल्टीमा पनि सोहीअनुसारको ट्याक्स तिर्नुपर्ने हुन्छ । एउटा लेखकले महिनामा प्रकाशित गराउन सक्ने लेख भनेको अधिकतम चारवटासम्म हुनसक्छ तर उसको पनि आफूले पाउने पारिश्रमिकमा ट्याक्स लागेकै हुन्छ । सामान्य किराना पसल गरी खाने पसलेले पनि कर तिर्नुपर्छ, जिन्दगीभरको कमाइले जोडेको घरजग्गाको पनि कर तिर्नुपर्छ तर अध्यात्मिक क्षेत्रमा लागेकाहरूले महिनामै लाखौँ लुड्याइरहेका हुन्छन् त्यसतर्फ भने ध्यान पुगेको छैन, दिइएको छैन, पाइन्न ।
प्रश्न कर तिर्नुप¥यो भन्ने होइन । तिर्नुपर्छ, जनताले नतिरे कसले तिर्छ ? प्रश्न के हो भने नियम सबैलाई समान हुनुपर्छ र सरकारले पनि सबैलाई समान हैसियतले करको दायरामा ल्याउनुपर्ने हुन्छ । राजस्वको कुरा गर्दा बजेट बढाउन अखबारहरूले विज्ञापनको रेट बढाएजस्तै सरकारको ध्यान करको दर बढाउनेतर्फ जाने गरेको छ । होला यो पनि राजस्व बढाउने एउटा तरिका तर दर बढाउनेतर्फ भन्दा दायरा बढाउनेतर्फ ध्यान दिनु बुद्धिमानी हुनेछ । त्यसैले आशा छ, जनपक्षीय सरकार र केही गर्न चाहने जोश, जाँगर र इच्छाशक्ति भएको व्यक्ति अर्थमन्त्री भएको बेला उल्लिखित सबै क्षेत्र र तप्कालाई पनि करको दायरामा ल्याउने परम्परा बसाइने छ ।