आशिक सिंह
कोभिड–१९ का कारणले विद्यालय बन्द भए, पठनपाठन अवरुद्ध भयो भने शैक्षिक गतिविधि पनि प्रभावित हुन पुगे । यसले गर्दा बालबालिका जोखिममा पर्ने सम्भावना देखियो । निषेधाज्ञा लम्बिँदै जाँदा अन्योलको स्थिति बढ्दै गयो । यस्तो विषम् परिस्थितिमा शैक्षिक गतिविधि नियमित गर्न वैकल्पिक उपायका रूपमा अनलाइन कक्षा सञ्चालन गरियो । यसका पनि आफ्ना चुनौती र समस्या थिए ।
ओपाल–चिप अध्ययनको उद्देश्यअनुसार विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकले सिकाइप्रति वहन गरेको उत्तरदायित्वले विद्यार्थीको सिकाइमा कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा ब्रिस्टल विश्वविद्यालय इङ्गल्यान्ड, टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेस, मुम्बई र त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा अध्ययन गरिरहेका छन् । कोभिडका कारणले पठनपाठन अवरुद्ध भएको समयमा विद्यालय, शिक्षक र अभिभावकको भूमिका कस्तो हुनुपर्छ भनेर अध्ययन गर्न खोजिएको थियो । यसका लागि सामुदायिक विद्यालयले भोगेका समस्या, समाधानका प्रयास र आगामी दिनमा देखा पर्न सक्ने समस्या समाधानका उपाय खोजी गर्ने प्रयास गरिएको छ ।
समस्या र चुनौती
विश्वनिकेतनलगायत अन्य विद्यालयले अनलाइन माध्यमबाट पठनपाठनको प्रयास गरे पनि यसमा केही समस्या देखिए । शिक्षकलाई अनलाइन कक्षा सञ्चालन गर्न प्राविधिक सीपको विकास, कक्षा सञ्चालन गर्न आवश्यक डिजिटल स्रोत र सामग्रीको व्यवस्थापन गर्नुजस्ता चुनौती, त्यस्तै विद्यार्थीको नियमित उपस्थिति र सहभागिता, प्रविधिमा समान पहुँच नहुनु, इन्टरनेटको भरपर्दो सुविधा नहुनु र एक परिवारमा एउटै साधनकोे प्रयोग सबैले गर्नुपर्ने बाध्यताका कारण सबैले अनलाइन कक्षामा सहभागिता जनाउन नसक्नेजस्ता समस्या देखियो ।
अनलाइन कक्षामा कम उपस्थिति र उपस्थित विद्यार्थीमध्ये पनि थोरै विद्यार्थीले मात्र कक्षामा सक्रिय सहभागिता देखाउने गरेको पाइयो । अनलाइन कक्षामा अभिभावकको पनि महìवपूर्ण भूमिका हुन्छ । अनलाइन कक्षामा अभिभावकले विद्यार्थीको सिकाइप्रतिको चासो, घरमा उपयुक्त सिकाइ वातावरण, बालबालिकालाई उपयुक्त मार्गनिर्देशन, विद्यालयसँगको सम्पर्क र कामकाजी अभिभावकले समय दिन नसकेको पाइयो ।
समाधानका प्रयास
अनलाइन कक्षा सञ्चालनका लागि शिक्षकलाई तालिमको माध्यमद्वारा आवश्यक प्राविधिक ज्ञान प्रदान गरियो र भौतिक व्यवस्थापन गर्ने काम भयो । विद्यार्थी र अभिभावकलाई पनि विभिन्न माध्यमबाट जानकारी प्रदान गर्दै समन्वय गरियो । कक्षामा बढीभन्दा बढी विद्यार्थीको उपस्थिति, सहभागिता र क्रियाशीलता सुनिश्चित गर्न शिक्षकले विभिन्न उपाय अवलम्बन गरेको देखियो । इन्टरनेटमा पहुँच नपुगेका विद्यार्थीलाई विद्यालयले नै निःशुल्क नेट सुविधा दिई अनलाइन कक्षा लिने व्यवस्था गरेको पाइयो । कुनै पनि अवस्थामा अनलाइन कक्षा लिन नसक्ने विद्यार्थीलाई निश्चित दिनमा विद्यालयमा बोलाएर सिकाइ कार्य प्रदान गरी घरबाट गरेर ल्याउन लगाउने र त्यसको नियमित जाँच गर्ने पनि गरिएको थियो ।
तल्लो कक्षामा विद्यार्थीको उपस्थिति न्यून हुनु, भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसक्नु, सक्रिय विद्यार्थी मात्रै लाभान्वित हुनु, इन्टरनेट समस्या तथा विद्युत्को अनियमितताले कक्षा सञ्चालनमा बाधा आउनु र विभिन्न प्रयासका अतिरिक्त पनि अभिभावकको संलग्नता कम रहेको अध्ययनका क्रममा पाइयो ।
भविष्यमा पनि विभिन्न दैविक प्रकोप जस्तै– बाढी, पहिरो, हिमपात, भूकम्प, महामारीजस्ता विषम परिस्थितिले गर्दा विद्यालयको पठनपाठन र सिकाइमा अवरोध आउन सक्छ । सिकाइमा अवरोध आउने कारणले विद्यार्थी दुई–तीन महिनासम्म पनि विद्यालयमा जान नसक्ने अवस्था बेलाबखतमा आउन सक्छ । अनलाइन कक्षा पनि हुन नसक्ने, भौतिक कक्षामा पनि उपस्थित हुन नसक्ने अवस्थामा के गर्न सकिन्छ र सिकाइलाई निरन्तरता कसरी दिन सकिन्छ जस्ता प्रश्नमा आधारित भएर शिक्षकसँग छलफल गरियो ।
शृङ्खलाबद्ध सञ्चार तथा सिकाइ
छलफलमा शिक्षकबाट विभिन्न धारणा प्रस्तुत गरिए, जस्तै– सिकाइका लागि विद्यार्थीलाई पायक पर्ने जुनसुकै विद्यालयमा गएर पनि पढ्न पाउने, शिक्षकले आफ्नो नजिकको वा पायक पर्ने विद्यार्थीलाई जम्मा गरेर सिकाइ सहजीकरण गर्ने, जसमा जुनसुकै विद्यालयको विद्यार्थी भए पनि समावेश हुन पाउने, सिकाइका लागि सार्वजनिक स्थल, गाउँपालिका भवनको प्रयोग गर्ने आदि । विद्यार्थीको सिकाइ सहजीकरण गर्न कुनै पनि अन्य तरिकाले सम्भव हुन नसक्ने र यसका लागि भौतिक उपस्थितिमै भए पनि सहजीकरण गर्नुपर्ने अवस्था सिर्जना भएमा शिक्षकबाट वैकल्पिक उपायका रूपमा शृङ्खलाबद्ध सञ्चार तथा सिकाइको प्रयोगात्मक ढाँचाअनुसार कक्षा सञ्चालन गर्न सकिन्छ ।
यसका लागि कुन–कुन टोल वा गाउँबाट विद्यार्थी विद्यालयमा आउने गरेका छन् । उनीहरूको सूची तयार गर्नुपर्छ । यसमा कुनै पनि विद्यार्थीलाई आधा घण्टाभन्दा बढी समय हिँड्नु नपर्ने गरी उनीहरूको क्षेत्र÷क्लस्टर तयार गरिन्छ । प्रत्येक क्लस्टरमा समावेश हुने विद्यार्थीको नाम र त्यस समूहको टोली नेताको चयन गर्ने काम शिक्षकले गर्छन् । यदि समूह भेला हुनुपर्ने भएमा कुन स्थानमा भेला हुने सो तय गरिन्छ । शिक्षक र टोली नेता (जुन विद्यार्थीलाई आवश्यकताअनुसार आलोपालो गराउन सकिन्छ) नियमित सम्पर्क र सञ्चारमा रहेका हुन्छन् । शिक्षकले समूहलाई कुनै निर्देशन दिनुपर्ने वा कुनै शैक्षणिक सामग्री उपलब्ध गराउनुपर्ने भएमा वा विद्यार्थीलाई कुनै कार्य गराउनुपर्ने वा विद्यार्थीलाई दिइएका गृहकार्य, परियोजना कार्य जम्मा गर्नुपर्ने भएमा सो कार्य टोली नेतामार्फत गराउने । यसमा समन्वय, सञ्चार र सिकाइका लागि टोली नेताले सेतुका रूपमा कार्य गर्छन् । यस प्रकारको समन्वयात्मक भूमिकाबाट वैकल्पिक सिकाइलाई सहज सञ्चालन गर्न निश्चित दिन र समयमा तोकिएको समूहका लागि शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिन्छ । साथै यस प्रकारको सिकाइ प्रक्रियाले प्रयोगात्मक एवं सहपाठी क्रियाकलाप सहज गराउन सकिन्छ ।
यस विधिमा शिक्षकले टोली नेतालाई विषयवस्तु र गर्नुपर्ने क्रियाकलाप सिकाउने र टोली नेताले सहपाठी समूहलाई सिकाउने । यसमा जिग्स, जोडीमा सहपाठी शिक्षण, प्रश्न–उत्तर जोडी, धारणा सिकाइ, अनुच्छेदज्ञाता, पाँच–छ जनाको समूहमा पठन सारांश प्रश्न आदिजस्ता विधि प्रयोग गर्न सकिन्छ । विद्यार्थीलाई समस्यामूलक कार्य दिने, परीक्षण गर्ने र पृष्ठपोषण दिनेजस्ता कार्य पनि यसै शृङ्खलाबाट गर्न सकिन्छ । माथिल्लो कक्षाका विद्यार्थीलाई सिकाइ सहजीकरण गर्ने तरिका सिकाएर तल्लो कक्षाका विद्यार्थीलाई सहयोग गर्न लगाउने तथा स्वयंसेवक शिक्षक परिचालन गर्न सकिन्छ । शृङ्खलाबद्ध सिकाइ प्रक्रियाले कक्षाका सबै विद्यार्थीलाई सिकाइमा आबद्ध गराउने, सिकाइका लागि जिम्मेवारी लिने, समन्वयात्मक भूमिका निर्वाह गर्ने र आपसी समन्वय र सहपाठी सिकाइ गर्ने गर्दा सिकाइ ह्रास कम हुन्छ ।
निष्कर्ष
भौगोलिक विकटता, गरिबी आदिको कारणले अधिकांश विद्यार्थी सञ्चारका साधन, मोबाइल, ल्यापटप तथा कम्प्युटर, इन्टरनेट, विद्युत् सेवा आदिको पहुँचमा पुग्न सकेका छैनन् । प्राकृतिक प्रकोप तथा रोग सङ्क्रमणको अवस्था वा अन्य कारणले विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन हुन नसक्ने परिस्थितिमा विद्यार्थीको सिकाइमा निरन्तरता दिन शृङ्खलाबद्ध सञ्चार तथा सिकाइ विधि एउटा उपाय हुनसक्छ । कुनै पनि आउन सक्ने जोखिमको आकलन गरेर पूर्वतयारीको अवस्थामा बस्नुपर्छ, जसले गर्दा समय खेर नफाली शिक्षण सिकाइका लागि शृङ्खलाबद्ध सञ्चार तथा सिकाइ उपयोग गर्न सकिन्छ ।