राजेन्द्र पुडासैनी
एक जना राजनीतिज्ञको भनाइ छ, “असम्भव शब्द केवल मूर्खहरूको शब्दकोषमा मात्र पाइन्छ ।” अर्थात् गर्न गाह्रो देखिएका कतिपय कार्य कठिन हुन्छन् तर असम्भव भने हुँदैनन् । चन्द्रमामा पाइला राख्न, मङ्गल ग्रहमा यान पठाउन असम्भव नै लाग्दथ्यो तर आज यो सम्भव भइसक्यो । विश्वव्यापी रूपमा देखा परेको कोभिड–१९ को भ्याक्सिन पत्ता लगाउने कार्यसमेत कठिन मानिएको थियो तर यो सम्भव भएको छ । अर्थात् असम्भव केही छैन ।
संसार हिंसाले आक्रान्त छ । यत्रतत्र सर्वत्र हिंसा नै हिंसा छ । पहिले मानिस मार्नुलाई हिंसा ठानिन्थ्यो । युद्धमा, लडाइँमा ठूलो सङ्ख्यामा मानिस मारिन्थे । मानिसको हत्या गर्नु हिंसा मानिन्थ्यो । पछि आएर पशुबलिलाई पनि हिंसा मान्न थालियो । विभिन्न मन्दिरमा, शक्ति पीठमा हाँस, कुखुरा, बोका, भेडालगायतका पशुपन्छीको बलि दिने कार्यलाई हिंसा मानियो । आज आएर मानिसहरू नमार्नु, पशुबलि नदिनु, काटमार नगर्नु मात्र होइन, जुनसुकै प्रकारको हत्या, बलात्कार, चित्त दुखाई, गालीगलौज, अप्रिय वचन, दुःख कष्ट पु-याउने कार्यको निषेध गर्नुलाई अहिंसा ठानिएको छ । अर्थात् कुनै पनि हिंसात्मक कार्यको निषेध गर्नु अहिंसा हो ।
अहिंसाका विभिन्न रूप हुन्छन् । अर्थात् महिला हिंसा, यौन हिंसा, घरेलु हिंसा, राजनीतिक हिंसा । महिलाको हत्या मात्र नभएर बलात्कार, शारीरिक शोषण, महिला बेचबिखन, दाइजो, साङ्केतिक रूपमा गरिने दुव्र्यवहार, भ्रूण हत्या गर्न दिइने दबाब यी सबै कार्य महिला हिंसा हुन् । शिक्षाको प्रचारप्रसार, महिला जागरण, कानुनको सबल कार्यान्वयनबाट महिला हिंसा कम गर्न सकिन्छ । यसैप्रकारले घरेलु कामदारलाई उचित पारिश्रमिक नदिनु, बालश्रमिकको शोषण, शारीरिक र मानसिक यातना, घरेलु हिंसाका रूप हुन् । बालश्रमिक राख्न निषेध गर्ने, प्रशासनबाट गरिने अनुगमनमा तीव्रता, कानुनको समुचित पालनाबाट घरेलु हिंसा कम गर्न सकिन्छ ।
राजनीतिक हिंसा हिंसाको चर्को रूप हो । राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरसम्म यसले विकराल रूप लिन सक्छ । प्रथम विश्ययुद्ध र द्वितीय विश्वयुद्ध राजनीतिक हिंसाको तीव्र रूप थियो । हातहतियारको होडबाजी, शक्ति प्रदर्शनस्वरूप यी विश्वयुद्ध जन्मिएका हुन् । प्रथम विश्वयुद्धपछि राष्ट्रसङ्घ र द्वितीय विश्वयुद्धपछि संयुक्त राष्ट्रसङ्घको स्थापना शान्ति स्थापित गर्ने हेतुले गरिएको थियो किनकि दुवै विश्वयुद्धबाट ठूलो धनजन र भौतिक क्षति भएको थियो ।
आज पनि स्वतन्त्रता, जातीयता, धर्म, अधिकार प्राप्तिका नाममा विभिन्न आन्दोलन, सङ्घर्ष, क्रान्ति हुने गरेका छन् । आन्तरिक रूपमा देखा पर्ने गृहयुद्धदेखि विश्वयुद्ध सबै हिंसाकै कारण जन्मन्छ । जुनसुकै युद्धमा त्यहाँ हातहतियारको प्रयोग हुन नै गर्छ । आज बम, मिसाइल, ड्रोन यी सबैको प्रयोग युद्धमा सामान्य मानिएको छ । अन्तर्राष्ट्रिय सन्धि, सम्झौताको अनुमोदन, हतियारको कटौती, अन्तर्राष्ट्रिय दिवसको पालना, युद्धविराम, शान्ति सम्झौताजस्ता कार्यबाट राजनीतिक हिंसा कम हुनेछ । देश–देशबीच हुने शीतयुद्धको अन्त्यसमेतले शान्ति स्थापनार्थ सहयोग गर्छ तर व्यक्तिको विश्व सम्राट् जस्तो बन्ने चाहना, सुपर पावर बन्ने राज्यको अभिलाषाले राजनीतिक हिंसा निम्ताइरहेको छ ।
आज विश्वमा हिंसाका घटना वृद्धि हुने क्रम बढ्दो छ । त्यसका विभिन्न कारण छन् । पहिलो– जनसङ्ख्याको वृद्धि हो । विश्वको जनसङ्ख्या हाल सात अर्ब नाघेको अवस्था छ । जनसङ्ख्या वृद्धिसँंगै मानिसको इच्छा, चाहना र आवश्यकता वृद्धि हुँदै गइरहेको हुन्छ । सामाजिक मूल्य मान्यतामा पनि वृद्धि हुँदै जान्छ । दास प्रथाको अन्त्यदेखि स्वतन्त्रताका लडाइँसमेत मानिसको चाहनाबाटै देखापर्छ । विभिन्न उपनिवेशबाट स्वतन्त्रता प्राप्त गर्न होस् वा आन्तरिक रूपमा व्यवस्था परिवर्तन गर्न राजनीतिक जागरणले सघाउँछ । स्वतन्त्रता प्राप्त गर्न क्रान्ति, सङ्घर्ष आवश्यक पर्छ । हिंसाबिना स्वतन्त्रता प्राप्ति हँुदैन । अर्को जाँडरक्सी, लागूपदार्थको प्र्रयोग हो । रक्सी, हेरोइन, चरेसजस्ता मादक पदार्थ र लागूपदार्थबाट घरायसी झै–झगडादेखि सामाजिक अपराधमा वृद्धि भइरहेको पाइन्छ । अपराधमा वृद्धि भनेकै हिंसामा वृद्धि हुनु हो । हातहतियारको सर्वसुलभताले समेत यसमा भूमिका निर्वाह गरेको छ ।
विश्वयुद्ध हातहतियारको होडबाजीले जन्मिएको थियो । हातहतियार जस्तै बन्दुक, पेस्तोल घरमा राख्न अमेरिका जस्तो देशमा अनुमति प्राप्त छ । व्यक्तिको सनकबाट एक वा सामूहिक हत्या हुनजान्छ भने कतिपय समयमा घरेलु हतियार, खुकुरी, चक्कुको प्रहारबाट हत्या, बलात्कारका घटना बढ्न गएको छ । यसका साथै आतङ्ककारी सङ्गठनको समेत वृद्धि भएको छ । विश्वमा आतङ्ककारी सङ्गठनमा वृद्धि हँुदै गइरहेको छ । राजनीतिक उद्देश्य प्राप्तिका लागि होस् अथवा आफ्नो उपस्थिति वृद्धि देखाउन होस्, विभिन्न आतङ्ककारी सङ्गठनहरू जैविक र रासायनिक हतियारको प्रयोग गरेर हिंसा बढाइरहेका देखिन्छन् । यसमा दूषित राजनीतिक वातावरण पनि रहेको छ । सिद्धान्त र विचारभन्दा देखासिखीमा राजनीति गर्नेहरू थुप्रै हुन्छन् । पार्टी–पार्टीबीचको खिचातानी, आन्तरिक गुट उपगुटले अपराधको राजनीति र राजनीतिमा अपराध बढाइरहेको हुन्छ ।
पछिल्लो समय गरिब र धनीबीचको फराकिलो खाडल बढेको छ । विश्वका दुई हजारभन्दा धनी अर्बपतिसँग अन्य जनसङ्ख्याको भन्दा धेरै धन छ । केही घटनालाई छाडेर हेर्ने हो भने धनी झन् धनी र गरिब झन्झन् गरिब हुँदैछन् । गरिबले धनीले जस्तै सौख गर्ने, खाने लाउने चाहना गर्छन् तर पाउँदैनन् । यसैले द्वन्द्व निम्तिन्छ । अनि हत्या, आतङ्क, घुसखोरी, कालोबजारी, भ्रष्टाचार मौलाउँछ ।
यसबाट सामाजिक अन्यायमा वृद्धि भएको छ । समाजमा जातभातको विभेद, गरिब–धनीबीचको विभेदले आन्तरिक कलह निम्त्याउँछ । धार्मिक सहिष्णुता नभएपछि अलग अलग धर्मावलम्बीहरूबीच धार्मिक द्वन्द्व चल्छ र हिंसामा वृद्धि गर्दछ । हिन्दु मुस्लिमबीचको द्वन्द्व, श्रमिक र पुँजीपति वर्गको विभेद विभिन्न उदाहरण हुन् ।
यी त भए विश्वमा हिंसा बढ्नुका प्रमुख कारणहरू । हिंसा भन्ने कुरा आज मात्रै होइन, परापूर्वकालदेखि नै देखिएको छ । धार्मिक दृष्टिले हेर्ने हो भने सत्ययुग, त्रेता युग, द्वापर युग र कलि युग सबैमा हिंसाका घटना घटिरहे । सत्य युगमा भगवान् विष्णुले मधु–कैटभको हत्या गरेको घटना होस् अथवा देवीले महिषासुर, शुम्भ–निशुम्भ, रक्तबिजको हत्या गर्दा हिंसा नै भएको थियो । देवासुर सङ्ग्राममा हिंसा भएका थिए तर सत्ययुगमा कम हिंसा घटेका थिए ।
सत्ययुगमा सत्यवादीहरू धेरै थिए, त्यसैले कमै हिंसा भए । त्रेतायुगमा रामराज्य स्थापना भयो । द्वापर युगमा भगवान् कृष्णले गीताको अमृतवाणी प्रदान गरे । कलि युगमा भगवान् बुद्ध, जिसस, महावीर, महात्मा गान्धीजस्ता महामानवहरूले अहिंसा शान्तिका लागि ठूलो योगदान गरे । विश्वयुद्धपछि राष्ट्रसङ्घ र संयुक्त राष्ट्रसङ्घले समेत अमूल्य योगदान गरी शान्ति र अहिंसाका लागि सघाउ पु¥याइरहेका छन् ।
महाभारतको युद्धमार्फत भगवान् श्रीकृष्णले एउटा महìवपूर्ण सन्देश दिनुभयो, “यदि हिंसाको अन्त्य गर्नका लागि फेरि पनि हिंसाकै सहायता लिनुपर्छ भने त्यो हिंसा जायज हुन्छ ।” हुन त महाभारतमा ठूलो सङ्ख्यामा मानिस र हात्तीघोडा मारिए तर यसै युद्धबाट दुर्योधन, दुशासन, शकुनीलगायत ठूलो सङ्ख्यामा अधर्मीहरूको विनाश पनि त भयो । द्रौपदी वस्त्रहरण दुनियाँभरका नारीको अपमानको विषय थियो । महिला हिंसाको यो अक्षम्य रूप थियो । यसप्रकार सदाका लागि हिंसावादीको अन्त्य भयो ।
अब एउटा महìवपूर्ण प्रश्न उठ्छ, के पशुबलि हिंसा हो कि होइन ? यो उपयुक्त हो त ? हिन्दु मान्यताअनुसार पशुबलि दिएपछि पशुहरू मुक्त हुन्छन् । पशुपन्छीहरू आफ्नो मुक्तिका लागि पूजापाठ, यज्ञ, प्रार्थना गर्न सक्दैनन् । विभिन्न शक्तिपीठ वा देवदेवीका मन्दिरमा पशुबलि दिँदा उनीहरू आफ्नो जुनीबाट मुक्त हुन्छन् । पशुबलि आफैँमा हिंसा हो तर यो जायज मानिन्छ । आफ्नो धर्म, परम्परा, रीतिरिवाजअनुसार यस प्रकारको हिंसा जायज मानिन्छ । त्यसैले गढीमाईको मन्दिरमा, दशैँमा विभिन्न शक्तिपीठ र आफ्नो कुल पूजाअनुसार कुलदेवताको पूजामा पशुबलि दिन्छन् तर बौद्ध दर्शनअनुसार पशुबलि अन्यायपूर्ण हो किनकि पशुहरूको बाँच्न पाउने अधिकार हनन हुन्छ ।
के हामी हिंसामुक्त समाज निर्माण गर्न सक्छौँ
त ? हुन त हिंसामुक्त समाज निर्माण गर्नु भनेको रामराज्य अथवा स्वर्गलोकको कल्पना नै हो तर विश्वका सबै नागरिकले आफ्नो धार्मिक ग्रन्थ र धार्मिक तीर्थस्थलमा भगवान्लाई साक्षी मान्दै धार्मिक आ–आफ्नो ग्रन्थलाई छोएर शपथ खाने हो भने एक दिन अहिंसा सम्भव छ । यस प्रकारको शपथ विश्वभरिका आमनागरिकले खाऔँ र यसको पालना पनि गरौँ ।