logo
२०८१ मंसिर ११ मंगलवार



मानवको अस्तित्व रक्षामा विचार सिद्धान्त

विचार/दृष्टिकोण |




आरसी न्यौपाने

मानव जातिको उत्पत्तिपछि उसको जीवन अस्तित्व रक्षार्थ सङ्घर्ष अनिवार्य सर्त बन्यो । अस्तित्व रक्षार्थ सिर्जित कृषि कर्म, भाषा, वेशभूषा, आवास, गाँस, बास, कपास र चालचलन, उठबस, नाचगान, कला र साहित्यजस्ता संस्कृति मानव समाजमा पल्लवित बने । सामाजिक यथार्थको प्रतिविम्बित समुच्चयमा विचार, सिद्धान्त, दर्शन, ज्ञानविज्ञान, कला, आस्था, नैतिक मूल्य, मान्यता, आदर्श एवं परम्परा, धर्म, प्रथा तथा चालचलन समाविष्ट भए । संस्कृति आत्मिक, भौतिक, आर्थिक, राजनीतिक, सामाजिक अभ्युदयका सम्यक् चेतनाहरूको समुच्चय हो । संस्कृतिले मानिसका निजी एवं सार्वजनिक जीवनका समग्र स्वरूपको निर्माण, निर्देशन र नियमनलाई मागनिर्देशन गर्दछ । मानव व्यवहारद्वारा निर्धारण गरिएका नियमन हुने व्यवहारहरूको सार्थकतालाई संस्कृतिकै रूपमा बुझ्नुपर्छ ।

सामाजिक विकासका प्रक्रिया सांस्कृतिक प्रतिमानहरूका रूपमा रहेका हुन्छन् । प्रकृति र चेतनाका बीच द्वन्द्व हुन्छ र समाजको अस्तित्वका लागि यी दुईका बीचमा द्वन्द्व आवश्यक हुन्छ । त्यसैले संस्कृति प्रकृतिप्रदत्त नभई मानवसिर्जित हुन्छ । तसर्थ संस्कृति संस्कार र व्यवहारहरूमा सम्बद्ध हुन्छ । यसैका माध्यमबाट संस्कृति सामाजिक व्यवहारको विशिष्टताहरूको एउटा पुस्ताबाट अर्को पुस्तामा निरन्तरतासहित प्रवाहित हुन्छ । यिनै आयामको व्यवहारबाट समाजमा संस्कृतिको अस्तित्व रहन्छ । संस्कृतिको समयसापेक्ष विकास हुन्छ । उत्पादक शक्ति र उत्पादन सम्बन्धमा आउने विकास प्रक्रियाले नयाँ उत्पादन प्रणालीको विकास हुन्छ । नयाँ उत्पादन प्रणालीका कारण सिर्जित हुने नयाँ विचारले नयाँ जनवर्गको उदय हुन्छ । जसबाट देखापर्ने नवीन विचार, सिद्धान्त र आदर्शले समाज अगाडि बढाउन नयाँ मार्गादेश संस्कृतिको जन्म हुन जान्छ ।

संस्कृतिका दुई पक्ष
(१) आधिभौतिक संस्कृति र (२) भौतिक संस्कृति । आधिभौतिक संस्कृति भन्नाले आत्मिक संस्कृति, कला, विचार, ज्ञान, साहित्य, दर्शन, बुद्धि र चेतनाको पक्षलाई बुझिन्छ । भौतिक संस्कृति भन्नाले पूर्वाधार विकास, संरचना निर्माण तथा मानव सभ्यता विकास भन्ने बुझ्नुपर्छ । यी दुई संस्कृति रूपमा एकअर्काबीच अन्न्तरसम्बन्धित जस्ता देखिए पनि सारमा अलग अलग हुन्छन् । संस्कृतिमा पौराणिक मान्यता र परम्परागत सोच चिन्तन, सामाजिक यथार्थको कलात्मक प्रतिविम्ब तथा अनुभूति, फराकिलो ज्ञान एवं धार्मिक सद्भावको अन्तरघुलन हुन्छ तर भौतिक संस्कृति सभ्यतासँग अन्तरसम्बन्धित अर्थात् बाह्य पक्षसँग जोडिएको हुन्छ । मानव जातिले गर्ने भौतिक प्रगति राजनीतिक, आर्थिक, सामाजिक, पूर्वाधार विकास तथा वैज्ञानिक खोज आविष्कार भौतिक संस्कृतिका मानक हुन् । त्यसैले आधिभौतिक संस्कृति साध्य हो भने भौतिक संस्कृति तथा सभ्यतालाई साधनका रूपमा बुझ्नुपर्छ ।

चुनौती प्रेरणाका स्रोत
माक्र्सवादले सार्थक गतिशील जीवन निर्देश गरेको छ । त्यसैले मानव जीवन सार्थक र गतिशील यथार्थ बन्नुुपर्छ । श्रमशील जीवन हुनुपर्छ । जीवन वर्गीय हुन्छ, त्यसैले द्वन्द्वात्मक भौतिकवादी चेतना यसको अमूल्य सम्पत्ति हो । यसकारण हामीलाई जस्तासुकै चुनौती भए पनि ती सबै सहज र सामना गर्न लायक लाग्छन् । किनकि सामाजिक न्याय र रूपान्तरणको मुक्तिगामी पथमा ती सबै चुनौती प्रेरणाका स्रोत हुन् । घनघोर निष्पट्ट अँध्यारो रातको चकमन्नताकै बीचमा आशाका ज्योतिकर्ण देख्ने, प्रकाशका मिहिन रेसा देख्नेहरूका लागि जीवनका चुनौती र सङ्घर्षहरू फूलजस्तै सुन्दर लाग्छन् । मानव जातिको सृष्टि र अस्तित्व रक्षाको सवालमा आइपर्ने अनेकौँ चुनौती तिनै घनघोर अँध्यारो रातमा भेट्टाइए । आशाका ज्योतिकर्ण जस्तै प्रेरणाका स्रोत हुन् ती । यस अर्थमा श्रमजीवी वर्गका लागि सामाजिक सङ्घर्ष तथा रूपान्तरणको मुिक्तपथ प्राप्त गर्न जति अप्ठेरो भए पनि त्यो अप्ठेरोपन सुखद र आनन्दमय हुन्छ नै ।

सामाजिक न्याय र रूपान्तरणको यात्रामा हरेक प्रतिकूलताहरू अनुकूलतामा बदलिन्छन् । उचित कार्यदिशा भएका कारण प्रतिकूलता अनुकूलतामा बदलिन्छन् । यस सङ्घर्षमा अगाडि बढ्दै गर्दा विशेष ध्यान दिनुपर्ने कुरा माक्र्सवादी तथा पार्टीले अङ्गीकार गरेको विचार दृष्टिलाई दह्रोसँग पक्डिनु हो । यसरी अघि बढेमा नभएका चिज मात्र होइन, गुमेका चिजहरू पनि प्राप्त हुन्छन् । यस दिशामा अघि बढ्दै गर्दा हामीले आफूलाई जनताको मित्र बनेर उनीहरूलाई नै सम्झनुपर्छ । जीवनलाई सामाजिक न्याय र रूपान्तरणको लक्ष्यमा होम्न सामाजिक न्याय, समृद्धि, समतामूलक समाज निर्माणको उद्देश्य चुम्ने अभीष्ट, आँट, साहस, सौर्य, ऊर्जा शक्ति, इच्छाशक्तिमा भर पर्छ । महान् इच्छा शक्तिको बलमा चुनौती चिरेर समृद्धिको उद्देश्य चुम्न सकिन्छ ।

विभ्रमीकरणविरुद्ध सङ्घर्ष
राजनीतिक आदर्शलाई बिक्रीको मालमा परिणत गर्न उद्यत तथा आस्था, निष्ठा, विचार र दर्शनको विभ्रमीकरण गर्ने दलाल पुँजीवादको अपराधपूर्ण संस्कृतिलाई आदर्शीकरण गर्ने खराब प्रवृत्तिविरुद्व जुझारू सङ्घर्षबाट मात्र समाजवादी यथार्थवाद स्थापित गर्न सकिन्छ । समाज न्याय र समानताका विरुद्ध देखापरेका उपभोक्तावादी, उत्तर आधुनिकतावादी, भोकवादी, विलासी, शून्यवादी, मानवताविरोधी चिन्तनका विरुद्ध माक्र्सवादी दृष्टिका साथ राजनीतिक आदर्श स्थापित गर्न जरुरी छ । समाजवादी आन्दोलन सफल बनाउन सांस्कृतिक आन्दोलनको कार्यदिशा स्पष्ट हुन आवश्यक छ । समाजवादी संस्कृति सर्वहारा वर्गको नेतृत्वमा सञ्चालित हुने जनसमुदायको सामन्तवाद साम्राज्यवादविरोधी संस्कृति भएकाले यसको आवश्यकता नेपाली समाजमा अनिवार्य बनेको छ ।

वर्तमान समाजमा संरचना राजनीति, अर्थतन्त्रदेखि संस्कृतिसम्म अर्धसामन्ती र नवऔपनिवेशिककै प्रभुत्व छ । त्यसैले समाजवादी क्रान्ति अपरिहार्य भएकाले जनताको सत्ता र संस्कृति स्थापना गर्ने विभिन्न खाले सांस्कृतिक र राजनीतिक आन्दोलन चलिरहे । समाजमा विद्यमान पछौटे संस्कृति, अन्धविश्वास, रूढिवादी कुरीति, कुसंस्कृतिका विरुद्ध नर्क, स्वर्ग, पाप–पुण्यजस्ता कुनै पनि अदृश्य तत्त्वहरूका विरुद्धमा जनतालाई सचेत बनाउने काम जनसंस्कृतिकर्मीले गरिआएका छन् । श्रम र श्रमजीवी जनताका पक्षमा लाग्ने शोषण, दमन र उत्पीडनको विरोध गर्ने, न्याय समानताको पक्षपोषण गर्ने उपभोक्तावादी संस्कृतिको विरोध गर्ने काम समाजवादी, संस्कृतिले गर्दछ । संस्कृति समाजको समुच्च रूप भएकाले राजनीतिक, सामाजिक, आर्थिक सबै पक्षमा संस्कृतिको महìव नङ र मासुको जस्तै हुन्छ । नेपालमा प्रगतिवादी जनसंस्कृतिकर्मीले आफ्ना कलम, मादल, कुची, कविता, गीत–सङ्गीत नृत्य, कथा, उपन्यास, निवन्ध, चित्र, चलचित्र आदिका माध्यमबाट समाजवादी राजनीतिक विचार एवं दर्शनलाई राष्ट्रिय रूपमा स्थापित गराइरहे । समग्र जनताको सांस्कृतिक रूपान्तरणको पक्षलाई विचार र व्यवहार वा शब्द र कर्मको मेल गराई समाज रूपान्तरण गराउन द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणका साथ विचारधारामा आधारित भएर सांस्कृतिक साम्राज्यवाद, दलाल पुँजीवाद, आत्मकेन्द्रित अवसरवाद, प्रतिक्रियावाद, संशोधनवादको घेराबन्दी तोडेर मात्र जिउँदोजाग्दो समाजवाद स्थापना गर्न सकिन्छ ।

निष्कर्ष
देशभक्त राष्ट्रवादीहरूका लागि वर्गमुक्तिको सपना तथा समाजवाद आस्थाको विषय हो । त्यसैले माक्र्सवादी तथा समाजवादी संस्कृतिकर्मी तथा प्रगतिशीलले दासताको जीवन नभएर मुक्तिको जीवन बाँच्नुपर्छ । जब मानिसले वास्तविक जीवनको गहिराइलाई बुझ्न सक्दैन, तबसम्म ऊ हाडछालाको थुप्रो सिवाय अरू हुन सक्दैन । आत्मस्वाभिमान गुमाएका निरासावादी कायर चाकडीबाजले रूपान्तरणकारी आन्दोलनको नेतृत्व लिन सक्दैनन् । जीवनको अर्थ नबुझेर न्याय र रूपान्तरणको आन्दोलनबाट भागेका अवसरवादी अल्छीहरूले सायद समाजवादी दृष्टि अभियानलाई व्यर्थ ठान्दछन् । माक्र्सवादी राष्ट्रवादी मृत्युको सट्टा जीवन, घृणाको विरुद्ध प्रेम, निराशाको सट्टा आशा, अन्यायको विरुद्ध न्याय, असत्यका विरुद्ध सत्यको समाजवादी सौन्दर्य स्थापित गर्न निरन्तर क्रान्तिकारी यात्रामा लयबद्ध हुनुपर्छ । रक्तिम इतिहासको मूल्य पहिचान स्थापित गर्न समाजवादी यथार्थवादको अभीष्ट सामाजिक न्याय र रूपान्तरणको यात्रामा निरन्तर लागिरहनुपर्छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?