logo
२०८१ मंसिर ११ मंगलवार



बुद्धधर्म : नेपाल र चीनबीचको सांस्कृतिक सेतु

विचार/दृष्टिकोण |




डा. सर्वोत्तम श्रेष्ठ

करिब दुई हप्ताअघि काठमाडौँस्थित चीन सांस्कृतिक केन्द्रको अनुरोधमा २१ वटा बौद्ध धर्म संस्कृतिसँग सम्बन्धित चित्रकलाको शीर्षक र व्याख्याको नेपाली भाषामा अनुवाद मैले गरेको थिएँ । ती चित्रकलाहरू निकट भविष्यमा आयोजना गरिने चीन–नेपाल बौद्ध सांस्कृतिक प्रदर्शनी (अनलाइन) मा राखिने छन् । प्रदर्शनी प्रारम्भ भएपछि सबैले ती चित्रकलाहरू अवलोकन गर्न सक्नु हुनेछ । यहाँ ती चित्रकलाबारे नभई चीनमा अभ्यासमा रहेको
बुद्धधर्मबारे लेख्दैछु ।

चीनमा तीन प्रकारका बुद्ध धर्म प्रचलनमा छन् । चीनको हान् जातिमा प्रचलित हान् महायान बुद्धधर्म, तिब्बती, नासी आदि जातिमा प्रचलित तिब्बती महायान, वज्रयान बुद्धधर्म र स्वीन्नान्का ताइ आदि अल्पसङ्ख्यक जातिमा प्रचलित थेरावाद बुद्धधर्म । चिनियाँ बुद्धधर्म भनेर प्रायः हान् महायान् बुद्धधर्मलाई भन्ने गरिन्छ । यस प्रदर्शनीमा राखिने सबै चित्रकलाहरू पनि हान् महायान बुद्धधर्म संस्कृतिसँग सम्बन्धित छन् ।

बुद्धधर्म पूर्वी हान् राजवंश (ई.सं. २४–२२०) को प्रारम्भ मै चीन पुगिसकेको थियो र चीनमा केही बौद्धविहारहरूको पनि निर्माण भएको थियो । पूर्वी हान् राजवंशको पतनपछि चीन धेरै वटा राज्यमा विभाजित हुन पुग्यो । करिब चार सय वर्षसम्म चीन विभाजित अवस्थामै रह्यो । चीन विभाजित रहेको उक्त कालखण्डमा चीनमा बुद्धधर्मको प्रचारप्रसारले गति लिन थालेको थियो । त्यस बेला दक्षिण तथा मध्य एसियाका बौद्ध पण्डितहरू बुद्धधर्मको

प्रचारप्रसार एवं बौद्ध धर्मग्रन्थको चिनियाँ भाषामा अनुवाद गर्न चीनमा पुगेका थिए । यसै कालखण्डमा नेपालमा जन्मेका बौद्ध पण्डित बुद्धभद्र पनि बौद्ध धर्मग्रन्थको अनुवाद गरी बुद्धधर्मको प्रचारका लागि चीनमा पुग्नुभएको थियो । उहाँले चीनमा पुगी केही बौद्ध धर्मग्रन्थको चिनियाँ भाषामा अनुवाद गरी त्यहाँ बुद्धधर्मबारे प्रचारप्रसारमा योगदान पु-याउनुभयो तर विभिन्न कारणले गर्दा अरू महापण्डितहरू जति प्रख्यात हुन सक्नुभएन । त्यस्तै, चिनियाँ बौद्ध भिक्षुहरू पनि बुद्धधर्मको अध्ययनका लागि भारतवर्ष (नेपाल, भारत)मा आउन थालेका थिए । उक्त कालखण्डमा भारतवर्षमा बुद्धधर्मको अध्ययनका लागि आउने चिनियाँ बौद्ध भिक्षुहरूमध्ये फाःसियान् सबैभन्दा प्रसिद्ध हुनुहुन्थ्यो ।

चीनमा बुद्धधर्मको विस्तारै प्रचार हुँदै गए पनि चिनियाँ समाजमा राम्ररी स्थापित हुन सकिरहेको थिएन । हान् राजवंशको समयदेखि नै चीनमा कन्फ्युसियसवादी शासकवर्ग बुद्धधर्मको प्रचारप्रसारप्रति सतर्क थिए । त्यस्तै, चिनियाँ सर्वसाधारण जनताको आफ्नै मौलिक ताउ धर्म पनि थियो । बुद्धधर्मले चिनियाँ समाजमा स्थापित हुन कन्फ्युसियसवाद र ताउ धर्मसँग धार्मिक रूपमा टक्कर लिनु परिरहेको थियो । त्यसबाहेक तत्कालीन चीनको दक्षिण र पश्चिममा रहेका अन्य जातिहरूले पहिले नै बुद्धधर्म अगालिसकेको र हान् जातिको ती जातिहरूसँग युद्ध परिरहने हुँदा हान् जातिका केही समूहमा बुद्धधर्म भनेको आफ्नो शत्रु जातिको धर्म हो भन्ने मानसिकतामा परेको हुँदा बुद्धधर्मप्रति वैमनश्यता पनि उत्पन्न भएको थियो ।

ई.सं. ५८१ मा याङ् चियान्ले चीनको पुनः एकीकरण गरी सुओइ राजवंश स्थापना गरेपछि चीनमा बुद्धधर्मको स्वर्णकाल सुरु भयो । याङ् चियान्ले बुद्धधर्मको प्रचारका लागि धेरै प्रयास गर्नुभयो । त्यहाँ धेरै सङ्ख्यामा बौद्ध विहारहरूको निर्माण गरियो । बौद्ध धर्मग्रन्थहरूको चिनियाँ भाषामा अनुवाद गर्नका लागि विदेशबाट धेरै जना बौद्ध पण्डितहरू चीनमा आमन्त्रित गरिएका थिए । ज्ञानगुप्त, नरेन्द्रयशास र धर्मगुप्तलाई उनको राज्यकालका तीन बौद्ध महापण्डित भन्ने गरिन्छ । सुओइ राजवंश ४० वर्ष पनि टिकेन, सुओइ राजवंशपछि उदय भएको थाङ् राजवंशका सम्राटहरू पनि बुद्धधर्मप्रति विशेष उदार थिए । थाङ् राजवंशका सम्राट थाङ् स्वीयान्चुङको राज्यकाल (ई.सं. ७१३–७४१) मा पनि बौद्ध धर्मग्रन्थहरूको चिनियाँ भाषामा अनुवाद गर्नका लागि धेरै विदेशी बौद्ध पण्डितहरू चीनमा पुग्नुभएको थियो । तिनीहरूमध्ये विशेष योगदान पु-याउने शुभकरसिंह, वज्रबोधि र अमोघवज्रलाई थाङ् स्øवीयानचुङ्को राज्यकालका तीन बौद्ध महापण्डित भनिन्छ । सुओइ र थाङ् राजवंशको शासनकालमा चीनबाट पनि धेरै बौद्ध भिक्षुहरू बुद्धधर्म अध्ययन गर्नका लागि भारतवर्ष पुग्नुभएको थियो, तिनीहरूमध्ये स्वीयान्चाङ्को नाम सबैभन्दा प्रसिद्ध छ ।

प्रारम्भमा बुद्धधर्मलाई चिनियाँ समाजमा स्थापित हुन चुनौतीपूर्ण भएको भए पनि सुओइ र थाङ् राजवंश कालमा पुगेपछि बुद्धधर्म सहज रूपमा चिनियाँ समाजमा स्थापित भई चिनियाँ धर्मदर्शन, कला, साहित्य, भाषा आदि विभिन्न क्षेत्रमा गहिरो प्रभाव पार्न सफल भएको थियो । चीनमा हान् बुद्धधर्मको इतिहासबाट अर्को एउटा अभिरुचिपूर्ण तथ्य पत्ता लाग्दछ त्यो के भने चीनमा बौद्ध धर्मग्रन्थहरू चिनियाँ भाषामा अनुवाद गर्ने कार्य पाँच सय वर्षदेखि चल्दै आएको भए पनि सही अर्थमा हान् बुद्धधर्मको निर्माण हुन सकेको थिएन । तर सुओइ र थाङ् राजवंशको मध्यकालसम्मको १५० वर्षमा हान् बुद्धधर्मका अधिकांश मत एवं सम्प्रदायहरूको स्थापना भएको थियो । यसबाट सरकारी नीति अनुरूप कुनै विषय क्षेत्रको विकासमा लागि पर्ने चिनियाँ प्रवृत्ति त्यसबेला पनि प्रचलित भइसकेको थियो भन्ने अनुभव हुन्छ ।

थाङ् राजवंशकालमा चीनबाट हान् बुद्धधर्म कोरिया र जापानसम्म फैलिएको थियो । चीनमा हान् बुद्धधर्मको निर्माण हुँदा धेरै वटा सम्प्रदाय बनेको भए पनि विभिन्न कारणले बुद्धक्षेत्र सम्प्रदाय र ध्यान सम्प्रदायका अनुयायीहरू मात्र पछिसम्म रहिरह्यो । अरू सम्प्रदायका अनुयायी बिस्तारै कम हुँदै गएको थियो । चीनमा बुद्धधर्मको दार्शनिक पक्षको विकास रोकिन गई बुद्धधर्म एक कर्मकाण्डको रूपमा मात्र रहन थाल्यो । अहिले पनि बुद्धधर्म चीनका तीन परम्परागत विचारधारा मध्ये एकीकृत भएर रहेको छ । चीनमा अहिले पनि बुद्धधर्मका अनुयायीहरू धेरै सङ्ख्यामा रहेका छन् ।

यसरी नेपालको लुम्बिनी क्षेत्रमा जन्मनुभएका सिद्धार्थ गौतम बुद्धले छिमेकी देश भारतको गयामा दिव्योपदेश प्राप्त गर्नुभयो र शारनाथमा बौद्ध दर्शनबारे ज्ञान दिनुभयो र कुशिनगरमा महा परिनिर्वाण हुनुभयो । त्यसैले, जब बौद्धधर्मको प्रसङ्ग चल्दछ, चीनको नेपाल, भारतलगायत सम्पूर्ण दक्षिण एसियासँगको सांस्कृतिक आदानप्रदानको कुरा स्वाभाविक रूपमा आउँछ । फलतः बौद्धधर्म पनि नेपाल र चीनको एक सांस्कृतिक सेतुको रूपमा रहन पुगेको छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?