केशवराज मिश्र
उड्डयनलाई अङ्ग्रेजीमा एभिएसन भनिन्छ । एभिएसन शब्द ल्याटिन भाषाको एभिसबाट बनेको हो, जसको अर्थ उड्ने चरा भन्ने बुझिन्छ । एभिएसन शब्द पहिलो पटक सन् १८६३ मा फ्रेञ्च नागरिक जोसेफ ग्याब्रिलले प्रयोगमा ल्याएका थिए । चरा उडेको देखेर मानवले उड्ने कल्पना गरेको देखिन्छ र उडानको इतिहास हेर्दा पहिलो मानवनिर्मित उडान यन्त्रका रूपमा चङ्गालाई लिइन्छ; जुन पाँचौँ शताब्दी विसीतिर मोजी र लुबानले चीनमा निर्माण गरेका थिए ।
उड्ने तीव्र चाहना बोकेका मानिस चराको पखेटाजस्तै शरीरमा लगाएर अग्लो ठाउँबाट हामफाल्ने गर्दथे; जसमा ब्रिटिस नागरिकले सन् १०१० तिर करिब दुई सय मिटर उचाइको टावरबाट ग्लाइडिङ क्राफ्टमार्फत हामफाल्ने क्रममा दुवै गोडा नै भाँचिएको कुरा उड्डयनको इतिहासमा रैलि भिक्टोरियालगायतले उल्लेख गर्नुभएको छ । ली ग्लोबले सन् १७८३ अगस्ट २६ का दिन पहिलो हाइड्रोजन ग्यास बेलुन उडाएर मानिसलाई आश्चर्यचकित तुल्याउनुभएको थियो ।
नेपालमा भने पहिलो उडान सन् १९४९ मा भयो । जसमा भारतीय राजदूतले भिन्टेज विच क्राफ्ट बोनान्जामार्फत काठमाडांँैको गौचरणमा अवतरण गर्नुभएको थियो । सन् १९५७ मा हवाई विभाग र १९५८ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमको स्थापना भएलगत्तै नेपालमा उड्डयन गतिविधि बढ्न थाल्यो । नेपालले सन् १९६० मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको सदस्यता प्राप्त ग¥यो र नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान उल्लेख्य मात्रामा वृद्धि भएबमोजिम सोको समुचित व्यवस्थापनका लागि सन् १९९३ मा नेपाल सरकारले हवाई नीति तर्जुमा ग-यो ।
सोही नीतिले अवलम्बन गरेको खुला आकाश नीतिको मर्मअनुसार नेपालको नागरिक उड्डयनको तीव्र विकासलाई व्यवस्थित, सुरक्षित, नियमित, स्तरीय र प्रभावकारी बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ मार्फत सन् १९९८ डिसेम्बर ३१ अर्थात् वि.सं. २०५५ साल पुस १६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणको स्थापना भयो । तत्कालीन हवाई विभागबाट प्राधिकरणमा रूपान्तरण भएपछि प्राधिकरणले विगत २३ वर्षदेखि आजका दिनसम्म अनवरत् रूपमा नेपालको उड्डयन क्षेत्रमा नियमनकारी र सेवाप्रदायी भूमिका निर्वाह गर्दै आएको छ ।
विश्वव्यापीकरणको परिवेशमा हवाई यातायात प्रयोगकर्ताको बढदो सङ्ख्या, सेवा प्रदायकबीच तीव्र प्रतिष्पर्धा, काम र कारदारमा व्यापक विविधताका बीच जनताको उच्च आकाङ्क्षाको स्तरबमोजिम उड्डयन गतिविधि सञ्चालन हाल चुनौतीपूर्ण बन्दै गएको छ । विभिन्न निकायसंँगको समन्वय, उडान सुरक्षा, हवाई सुरक्षा, कामदार र उपकरणबीचको सौहार्दपूर्ण सम्बन्धका साथै सर्वसाधारणको पहुँचयोग्य उड्डयन गतिविधि चुनौतीका विषय हुन् । ती चुनौतीको सामना गरी प्रभावकारी उड्डयन गतिविधि सञ्चालनका लागि एडवार्ड र हकिन्सले भनेजस्तै चारवटा पक्ष मननीय हुन्छन्; जसमा मानवीय पक्ष केन्द्रका रूपमा रहेको हुन्छ ।
पहिलो कानुनी पक्ष हो । उड्डयन गतिविधि सञ्चालनका लागि कार्यान्वयन योग्य नीति, ऐन, नियम, निर्देशिका, कार्यविधि, म्यानुअललगायत स्पष्ट चिह्न एवं सङ्केत आवश्यक पर्छन् । नेपालमा उक्त कानुन अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तय गरेका स्तर र परिधिभित्र रही सरकारले तर्जुमा गर्ने गर्छ । उड्डयन गतिविधिमा संलग्न कर्मचारीले उपरोक्त कानुनको पूर्ण परिपालना गर्नु जरुरी हुन्छ । यसमा कर्मचारी र कानुनको बीचमा उचित तालमेल नमिलेमा दुर्घटना हुने गर्छ । अर्को भनेको उपकरणीय पक्ष हो । उड्डयनका लागि सहज, सरल, प्रविधियुक्त र विश्वसनीय उपकरण एवं यन्त्र आवश्यक पर्छन् ।
नेपालमा उक्त उपकरण अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले तोकेका मापदण्डबमोजिम नियमानुसार खरिद गरिन्छ । विमानस्थल उपकरणको सहर हो किनभने जहाज एउटा उपकरण हो भने एयर ट्राफिक कन्ट्रोलरले प्रयोग गर्ने सञ्चारयन्त्र पनि उपकरण हो । पुराना उपकरणमार्फत कार्यसम्पादन गर्दा उत्प्रेरित कर्मचारीले पनि राम्रो नतिजा दिन सक्दैन । यसमा मानव एवं कर्मचारी र यन्त्रका बीचमा उचित तालमेल नमिलेमा दुर्घटना हुने गर्दछ । पहिलो विश्वयुद्ध हुनुभन्दा पहिला मानवलाई यन्त्रको क्षमताअनुसार विकास गर्नेतिर ध्यान दिइन्थ्यो भने अहिले मानवको क्षमताअनुसार यन्त्रको निर्माणतिर ध्यान दिने गरिन्छ ।
अर्को भनेको वातावरणीय पक्ष हो । उड्डयन कार्यका लागि कार्य क्षेत्रको भौतिक, समयगत र मनोसामाजिक वातावरण उपयुक्त हुनु जरुरी हुन्छ । नेपालको भौगोलिक बनोट, छिनछिनमा परिवर्तन भइरहने मौसमलगायत आर्थिक एवं राजनीतिक वातावरणका बारेमा कार्यरत कर्मचारी जानकार हुन आवश्यक हुन्छ । यसमा कर्मचारी र वातावरणको बीचमा उचित तालमेल नमिलेमा दुर्घटना हुने गर्छ ।
अर्को मुख्य भनेको मानवीय पक्ष हो । उड्डयनका लागि कार्यबोझ र कार्यप्रकृति अनुसारको पर्याप्त दक्ष जनशक्ति आवश्यक पर्छन् । उक्त मानवीय पक्षले उड्डयनका लागि उपलब्ध उपकरणीय पक्षलाई पूर्वनिर्धारित कानुनी पक्षको परिपालना गर्दै उपलब्ध वातावरणीय पक्षमा उचित समायोजनका साथ सञ्चालन गर्नुपर्ने हुन्छ; जसलाई हामी कार्य भन्ने गर्दछौँ । नेपालको उड्डयन क्षेत्रमा उक्त मानव पक्षको प्राप्ति लोकसेवा आयोग र विभिन्न सेवा प्रदायक जनशक्ति आपूर्तिकर्तामार्फत हुने गर्दछ । कार्य क्षेत्रमा भएका विभिन्न प्रकृतिका कर्मचारीबीच सौहार्दपूर्ण सम्बन्ध आवश्यक हुन्छ ।
उड्डयन गतिविधिमा संलग्न कर्मचारी मानव हुन् । मानव इतिहास हेर्ने हो भने मानवले परापूर्वकालदेखि गल्ती गर्दै आएको छ र गल्तीबाट सिक्दै परिष्कृत एवं परिपक्व हुँदै आएको छ तर उड्डयन क्षेत्रमा कर्मचारीबाट हुने सानो गल्तीले धेरै धनजनको धेरै क्षति हुने हुँदा गल्तीविहीन कार्यको सुनिश्चितताका लागि उड्डयन क्षेत्रमा मानवीय पक्षको समुचित विकासका लागि व्यापक अध्ययन एवं छलफल आवश्यक छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले सार्वजनिक गरेका विभिन्न प्रतिवेदनमा उड्डयन क्षेत्रमा हुने प्रत्येक चार दुर्घटनामध्ये तीनवटा मानवीय पक्षको कमीकमजोरीका कारणले भएको देखाएको छ । उड्डयन क्षेत्रमा मानवीय पक्षलाई निकै नै संवेदनशील मानिन्छ किनभने मानव मूल्य मान्यता, संस्कृति, अनुभव, आचार, नैतिकता, पूर्वाग्रह, मनोबलजस्ता तìवबाट सञ्चालित हुन्छ । मानव व्यक्तित्व, बुद्धि, बुझाइ, संवेग, मनोवृति, इच्छा, आकाङ्क्षा, सोचाइ, क्षमता, ध्यान, स्मरण, विस्मरण, कल्पनालगायतका तìवहरूको समष्टी हो भने उक्त तìव मानवमा व्यक्तिअनुसार फरक फरक हुने गर्छन् ।
उड्डयन क्षेत्रमा परिवर्तनका लागि तर्जुमा गरिएको नयाँ नियम कुनै व्यक्तिका लागि सकारात्मक परिवर्तनको संवाहक हुनसक्छ तर कसैका लागि नकारात्मक सन्देश हुनसक्छ । कार्यालयमा ल्याइएको नयाँ यन्त्र कसैका लागि अवसर हुनसक्छ भने कसैका लागि ठूलो चुनौती । कार्यालयको वातावरण कसैलाई सहज लाग्न सक्छ भने कसैलाई असहज । उक्त अवस्था प्रतिकूल हुँदै जाने क्रममा व्यक्तिको मानसिकतामा नकारात्मक असर पर्नुका साथै दिक्क लाग्ने, अविश्वास हुने, बिर्सने, तनाव, चिन्ता, कुण्ठाजस्ता समस्या देखा पर्न सक्छन्; जुन उड्डयन क्षेत्रमा दुर्घटनाका कारक बन्छन् ।
प्रभावकारी उड्डयन गतिविधि सञ्चालनका लागि उड्डयन क्षेत्रमा भएका कार्यको प्रभावकारी कार्य विश्लेषण गरी कार्यको प्रकृतिअनुसारको ज्ञान, सीप, निष्ठा र मनोवृति भएको जनशक्तिको प्राप्तिमा मनोवैज्ञानिक परीक्षण, प्राप्त जनशक्तिको उचित पदस्थापन, आवश्यक तालिम, प्रभावकारी कार्यसम्पादन मूल्याङ्कन प्रणाली, प्रभावकारी सञ्चार, उत्प्रेरणाका उत्कृष्ट आधार तय गर्दै प्रभावकारी नियम र उपकरणलगायत उड्डयन क्षेत्रमा कार्यरत जनशक्ति र उपकरणका बीच उचित तालमेल स्थापित गराउने कार्यलाई व्यवहारमा लागू गर्न
आवश्यक देखिन्छ ।