logo
२०८१ जेष्ठ ५ शनिवार



उच्च मतले केन्द्रीय सदस्य

विचार/दृष्टिकोण |




नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले भन्नुभएको छ, “न्यायपूर्ण आर्थिक विकास र प्रजातन्त्रको अभावमा हुने जुनसुकै विकास तथा राजनीतिक स्वतन्त्रता कोरा कल्पना मात्र हुनेछन् । किनकि विकास पनि एउटा राजनीतिक कार्य हो ।” बीपीको यही भनाइबाट प्रेरित भएर राजनीतिमा होमिनुभएको थियो– काँग्रेस नेत्री मुक्ताकुमारी यादव । बीपीले मुलुकबारे व्यक्त गर्नुभएका भनाइ उहाँले स्कुल जीवनदेखि नै पढ्नुभएको थियो । पञ्चायतकाल समाप्त भएर मुलुकमा प्रजातन्त्र आउँदा यादव किशोरवय उमेरमा प्रवेश गर्दै हुनुहुन्थ्यो । विद्यालयमा राजनीतिक चेतना प्रदान गर्ने शिक्षकबाट प्रेरित भएर बिस्तारै विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएकी धनुषाकी यादव नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा मधेसी महिलातर्फको केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएपछि चर्चामा हुनुहुन्छ ।

मुक्ताकुमारी यादव 



१२औँ महाधिवेशनमा गगनकुमार थापा, १३औँ महाधिवेशनमा डा. शेखर कोइराला र १४औँ महाधिवेशनमा नेत्री यादव सर्वाधिक लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । थापा र कोइरालाले खुलातर्फको केन्द्रीय सदस्यबाट सर्वाधिक मत ल्याउनुभएको हो । मधेसी महिलातर्फ केन्द्रीय सदस्य पदमा खसेको कुल चार हजार ६७१ मतमध्ये तीन हजार ९६० मत यादवले प्राप्त गर्नुभयो । केन्द्रीय सदस्यले प्राप्त गरेको यो सबैभन्दा धेरै मत हो । देशभरका कार्यकर्ताले आफूमाथि ठूलो विश्वास गरेको भन्दै उहाँ काँग्रेसलाई सबैको प्रिय पार्टी बनाउन आफूले भूमिका निर्वाह गर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पार्टीमा गरेको कामलाई विश्वास गरेर, ममाथि भरोसा गरेर देशभरिका नेता–कार्यकर्ताले मलाई सर्वाधिक मत दिनुभएको छ । यो जिम्मेवारी पनि हो । मलाई मत दिने र नदिने सबै साथीको पक्षमा काम गर्नेछु ।”

देहातबाट राष्ट्रिय राजनीतिमा
ग्रामीण क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने बीपीको सिद्धान्तलाई आदर्श मान्ने नेत्री यादव मधेसबाट राष्ट्रिय राजनीतिमा आफ्नो करिअर अघि बढाउँदै हुनुहुन्छ । संविधान सभा सदस्य र राष्ट्रिय सभा सदस्यको जिम्मेवारीमा रहँदा देशभरिका समस्या उठान गर्नुभएकी यादवले काँग्रेस केन्द्रीय सदस्यका रूपमा जनताका आधारभूत आवश्यकता परिपूर्तिमा आवाज उठाइरहने बताउनुभयो ।

कमला नदीको किनारबाट राजनीतिक सङ्घर्ष गर्दै रूपान्तरण र सामाजिक परिवर्तनको मुद्दासहित उदाउनुभएकी यादवको जन्म वि.सं. २०३४ भदौ १३ गते महोत्तरीको औरही नगरपालिका, श्रीपुर कबिलासामा भएको हो । बुवा रामआशीष राय र आमा सुनैनादेवी यादवकी छोरी यादवले प्राथमिक तहको अध्ययन राष्ट्रिय प्राथमिक विद्यालय वैरियामा गर्नुभयो । त्यसपछि श्री शोन्फी दसैँ उच्च माध्यमिक विद्यालय श्रीपुरमा कक्षा १० सम्म अध्ययन गर्नुभयो । जनता माध्यमिक विद्यालय सिमराढीगढीबाट २०५० सालमा दोस्रो श्रेणीमा एसएलसी पास गर्नुभयो । सिरहा क्याम्पसबाट शिक्षाशास्त्र सङ्कायमा स्नातक पूरा गर्नुभएकी यादवले रामस्वरूप रामसागर बहुमुखी क्याम्पसबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।
२०४८ सालमा विवाह बन्धनमा बाँधिनुभएकी यादवका पति रामईश्वर यादव पनि सामाजिक कार्यमा क्रियाशील हुनुहुन्छ । यादव दम्पतीका जेठा छोरा लोकेशकुमार यादवको २०७४ चैत २ गते हत्या भयो । कान्छा छोरा अमरेशकुमार यादव एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

माओवादीसँगै चन्दा माग्नुभयो काँग्रेस केन्द्रीय सदस्य यादव १२ वर्षसम्म शिक्षण सेवामा सक्रिय रहनुभयो । वि.सं. २०५७ देखि २०७० सम्म धनुषाको रामनगर लक्ष्मीपुरस्थित राष्ट्रिय प्राविमा शिक्षण गर्दा उहाँले उच्च शिक्षा पनि हासिल गर्नुभयो ।
राहत शिक्षक दरबन्दीमा उहाँले शिक्षण सुरु गर्दा तत्कालीन नेकपा माओवादीको सशस्त्र सङ्घर्ष उत्कर्षमा थियो । उहाँका अनुसार विद्यालयको आयस्रोत केही थिएन । माओवादी कार्यकर्ताले दिनहुँ गाउँमा आएर चन्दा माग्ने शृङ्खला चलिरहेको थियो । यादवले भन्नुभयो, “माओवादीको नजर शिक्षकको तलबमा प-यो । धम्की दिने कार्य त सामान्य थियो । एक दिन विद्यालयमा एक हुल माओवादीका कार्यकर्ता आएर चन्दा माग्न थाले तर मैले डटेर सामना गरेँ । बरु तपार्इंहरूसँग भएको पैसा विद्यालयलाई दिनुस् भनेपछि माओवादी कार्यकर्ता फर्किए ।”
तत्कालीन माओवादी सशस्त्र सङ्घर्षमा उहाँको परिवारले लामो समयसम्म त्रासदीपूर्ण अवस्था झेल्नुप-यो । यसअघि २०५८ सालमा प्रहरीको भेषमा आएका माओवादी कार्यकर्ताले उहाँका कान्छा ससुरा रामसेवक यादवको हत्या गरेका थिए । उहाँ २०५४ मा गाउँ विकास समितिको अध्यक्ष हुनुहुन्थ्यो ।

संविधान सभा र राष्ट्रिय सभामा
शिक्षण सेवाबाट नेत्री यादवका पाइला संविधान सभातर्फ अघि बढे । संविधान सभाको २०७० सालको निर्वाचनमा काँग्रेसको समानुपातिक सूचीमा पर्नुभयो । त्यसपछि शिक्षकबाट राजीनामा दिनुभयो । उहाँ भन्नुहुन्छ, “शिक्षण सेवा मेरा लागि चेतना प्रवाह गर्ने एउटा माध्यम थियो । मैले सिकेका धेरै कुरा कैयौँ विद्यार्थीलाई बाँड्न पाएँ । अहिले राजनीतिमार्फत आमनेपालीका सपना साकार पार्ने लक्ष्यका साथ अघि बढिरहेकी छु ।”
संविधान सभा सदस्य हुँदा मधेसी, महिला, दलित, पिछडिएको क्षेत्र र आमनेपालीका मुद्दा उठान गरेको उहाँले बताउनुभयो । “बीपीले ग्रामीण क्षेत्रको विकास नभएसम्म देशको विकास भएको मानिँदैन भन्नुभएको छ । त्यसैले मैले पनि बीपीको त्यो भनाइको मर्मलाई शिरोपर गरेरै जनताका मुद्दालाई राष्ट्रिय राजनीतिमा उठाइरहेकी छु,” यादवले भन्नुभयो ।

राजनीतिक पृष्ठभूमि
पञ्चायतकालको अन्त्यसँगै सुरु भएको नेत्री यादवको राजनीतिक जीवन लोकतन्त्र प्राप्तिपछि सशक्त रूपमा अघि बढ्यो । वि.सं. २०५४ देखि सक्रिय राजनीतिमा लाग्नुभएकी यादवको सक्रियता २०६२÷६३ को जनआन्दोलनपछि अझै बढ्यो ।
जनआन्दोलनको सुरुमा धनुषासहित तराई–मधेसका जिल्लामा जनलहर ल्याउने काममा खटिएको बताउँदै यादवले भन्नुभयो, “आन्दोलन अघि बढ्दै जाँदा काठमाडौँ आएर अझ सशक्त रूपमा लाग्यौँ । त्यसैको प्रतिफल थियो– जनआन्दोलनको सफलता ।”
शिक्षण पेसामा रहँदा नेत्री यादवले नेपाल शिक्षक सङ्घ धनुषा तथा नेपाल महिला सङ्घ धनुषा जिल्ला सचिवको जिम्मेवारीमा रहेर काम गर्नुभयो । २०६२ सालमै महाधिवेशन प्रतिनिधि हुनुभएकी यादव नेपाल महिला सङ्घ केन्द्रीय सदस्य हुनुभयो । राजनीतिक यात्राका दौरान काँग्रेसको १२औँ र १३औँ महाधिवेशनमा उहाँ झिनो मतान्तरले केन्द्रीय सदस्यमा पराजित हुनुभएको थियो तैपनि उहाँले हार मान्नुभएन ।

पार्टीपङ्क्तिमा अझै विश्वास र भरोसा आर्जन गर्नुपर्छ भनेर झनै सक्रिय हुँदै गएको बताउँदै यादवले भन्नुभयो, “देशका सातै प्रदेश, ७७ जिल्लाका कार्यकर्ताका समस्या सुनेँ । समाधानको कोसिस गरेँ । त्यसैले देशभरबाट १४औँ महाधिवेशनमा यो साथ पाएकी हुँ ।”
२०७४ मा राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएकी यादवले कैयौँ चुनौतीको सामना गर्नुभएको छ तर निडर भएर राजनीतिक यात्रा अघि बढाउने अठोट उहाँले व्यक्त गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “मधेसबाट महिलाले राजनीति गर्न धेरै कठिन हुन्छ । क्षमतावान भए पनि मजस्तै साधारण परिवारबाट राजनीतिक यात्रा तय गर्न त झनै चुनौतीपूर्ण छ तर परिवारको साथ, पार्टी नेतृत्व र कार्यकर्ताको विश्वास भएमा अघि बढ्न
असम्भव छैन ।”

राजनीतिमा सुधार, स्वदेशमै रोजगार
काँग्रेसको १४औँ महाधिवेशनबाट सर्वाधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी भएपछि नेत्री यादवले मुलुकलाई विकास र समृद्धिले जोड्नुपर्ने बताउनुभयो । उहाँले ‘राजनीतिमा सुधार, स्वदेशमै रोजगार’ नाराका साथ अघि बढ्ने बताउनुभयो । मूल सफा भए मात्रै अन्य क्षेत्र सफा हुने भएकाले राजनीतिक सुधारका लागि दृढ भएर काम गर्ने उहाँको विश्वास छ । स्वदेशमै रोजगारीका सम्भावनाको खोजीका लागि बृहत् अवधारणा निर्माण गर्ने पक्षमा छौँ, यो अभियानमा सबैको साथ र सहयोग हुनेमा नेत्री यादव विश्वस्त हुनुहुन्छ ।

तीन तहको निर्वाचन आउन लागेको बताउँदै केन्द्रीय सदस्य यादवले वडा तहदेखि केन्द्रसम्मको नेतृत्वले युवालाई आकर्षित गर्ने कार्यक्रम ल्याएर सङ्गठन बलियो बनाउनुपर्ने बताउनुभयो । सरकारप्रमुख काँंग्रेस सभापति शेरबहादुर देउवा नै भएकाले उहाँसामु लोकतन्त्र सुदृढ गर्ने मात्र नभई सङ्घीयताको मर्मअनुसार काम गर्नुपर्ने दायित्व रहेको यादवको भनाइ थियो । यादवका अनुसार यो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै पार्टी सङ्गठनलाई चुस्तदुरुस्त बनाउनुपर्छ । स्थानीय तहको निर्वाचन पनि नजिकिएकाले अरू पार्टीमा आबद्ध र राजनीतिसँग नजोडिएका युवालाई काँग्रेसमा आकर्षित गराउन पनि युवालक्षित कार्यक्रम ल्याउनुपर्नेमा उहाँको जोड थियो । युवाको अग्रसरतामै मुलुकलाई समुन्नत बनाउन सकिने बीपीको सपना साकार पार्न सके राजनीति गरेको सार्थक हुने यादवको विश्वास छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?