दीपक शर्मा
सामान्यतया घरबाहिर २४ घण्टाभन्दा बढी वा एक वर्षभन्दा कम समयका लागि गरिने यात्रा वा मनोरञ्जन नै पर्यटन हो । पर्यटनमा आर्थिक क्रियाकलाप भएको हुनुपर्छ । मानव सभ्यताको विकाससँगै खाना, नाना, छाना, पानी सुरक्षा एवं व्यापारका निम्ति मानिस एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न उत्प्रेरित थिए । पहिले मानिस जनावर चढेर वा हिँडेर आफ्नो यात्रा तथा आवश्यकता पूरा गर्दथे । अहिले प्रविधिमा आएको तीव्र विकासले जल, वायु र थलजस्ता द्रुत गतिका साधन प्रयोग गरी यात्रा गर्छन् । यो पर्यटनको पछिल्लो विकासक्रम पनि हो । अब अन्तरिक्षमा पर्यटनको कुरा पनि छ ।
पर्यटन तथा पर्यटक शब्दको उत्पत्ति सन् १२९२ तिर भएको हो । वर्तमान समयमा यसको अर्थ व्यापक भएको छ । पर्यटन शब्द ल्याटिन भाषाको टोर्नोसबाट व्युत्पत्ति भएको हो । यसको अर्थ वृत्त वा चक्र बुझाउने उपकरण भन्ने बुझिन्छ । जहाँ व्यक्ति चक्रको एक उत्पत्ति स्थानबाट भ्रमण स्थान हँुदै पुनः उत्पत्ति स्थानमै आइपुग्छ । यही अवधारणाबाट नै ‘राउन्ड ट्रिप’ वा यात्रा व्यवस्थापन हुँदै पर्यटन शब्दको विकास भएको हो ।
पर्यटनको पहिलो परिभाषा सन् १९१० मा अस्ट्रियन अर्थशास्त्री हरम्यानवन स्कुलार्डले दिनुभएको थियो । उहाँका अनुसार पर्यटन भन्नाले कुनै पनि निश्चित राष्ट्र, सहर वा क्षेत्रभित्र र बाहिर विदेशीको बसोवास, आवतजावत र आर्थिक प्रकृतिसँग प्रत्यक्ष सरोकारको सम्पूर्ण कार्यक्रम हो भनेर भन्नुभएको थियो । अहिले त पर्यटनको विकास र विस्तारमा परिवर्तन आइसकेको छ । पर्यटनको विविधीकरणमा पनि विस्तार भएको छ ।
व्यावसायिक रूपमा पर्यटन क्षेत्रको विकास सन् १९५० मा भएको पाइन्छ । हुन त त्यसभन्दा अगाडि पर्यटन गतिविधि भइरहेकै थिए तर तीव्र र व्यावसायिक रूपमा सन् ५० को दशकबाट थालनी भएको हो । आजको सन्दर्भमा पर्यटन आर्थिक सुदृढीकरणका लागि सबैभन्दा सहज र सम्भावनायुक्त क्षेत्र भएको छ । पर्यटन क्षेत्र मात्र यस्तो क्षेत्र हो, जसले प्रकृति र पर्यावरणमा ठूलो नोक्सानीबिना आर्थिक सञ्चालन र गतिविधि गर्दछ । नेपालका लागि पर्यटन क्षेत्र सधैँ तुलनात्मक लाभको क्षेत्र रहेको छ र विविध नीति तथा कार्यक्रमको महìवपूर्ण हिस्सा बन्दै आएको पनि छ तर अहिलेसम्म पनि हामीले पर्यटनलाई नयाँनयाँ अवधारणासँग जोड्न सकेका छैनौँ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुआयामिक तथा बहुसांस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँको प्राकृतिक छटा र सुन्दरताबारे विभिन्न समयमा अन्तर्राष्ट्रिय पत्रपत्रिका तथा व्यक्तिबाट विशेष रूपमा नै पनि चर्चा गरिन्छ । नेपाल सम्पदाले भरिपूर्ण देश पनि हो । नेपालको प्राकृतिक, सांस्कृतिक, पुरातात्त्विक सम्पदाले विश्वमा नै विशिष्ट र मौलिक पहिचान बोकेका छन् । यहाँको मौलिक कला, संस्कृति, रहनसहन परम्परागत वेशभूषा, भाषा आदि सबै हाम्रा सम्पदा हुन् । यसले हाम्रो पहिचानका साथै आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकासमा समेत सहयोग पु-याउँदै आएको छ भने विश्वलाई परिचय दिनमा सहयोग गर्दै आएको छ ।
पर्यटन क्षेत्रमा काम गर्ने विभिन्न विश्वविख्यात जर्नल तथा संस्थामा उत्कृष्ट गन्तव्यको सूचीमा नेपाल सधैँ परिरहन्छ । सांस्कृतिक विविधता, भौगोलिक पर्यावरण र संस्कारी परम्पराका कारण पर्यटकको रोजाइमा नेपाल सधैँ रहेको छ । हामीले समयसँगै आपूmलाई अपडेट गर्न सकेका छैनौँ, जसका कारण पर्यटनका नयाँनयाँ आयामका कुनै काम र कार्यक्रम नै विकास गरिँदैनन् । नेपालका लागि अथाह सम्भावना भएको कृषि पर्यटनबारे पनि हामीले अहिलेसम्म खासै केही सोचेजस्तो देखिन्न ।
कृषि क्षेत्रसँग सम्बन्धित पर्यटनलाई कृषि पर्यटन भनिन्छ । यो यस्तो प्रकृतिको पर्यटन हो, जसमा पर्यटक कृषि क्षेत्र मगाएर कृषिसँग सम्बन्धित क्रियाकलापबाट मनोरञ्जन अथवा ज्ञान हासिल गर्छन् । विश्वका विशेषगरी रक्सी उत्पादन गरिने क्षेत्रहरू जस्तै– इटाली र स्पेनमा यस्तो पर्यटन ज्यादा भएको पाइन्छ । अमेरिकामा पनि कृषि पर्यटनलाई विशेष महìव दिइएको छ । जहाँ कृषि फार्महरू पर्यटकका लागि निश्चित समयमा खोलिन्छ । त्यस्ता फार्ममा पर्यटक फलफूल र सागसब्जी टिपेर, घोडा चढेर, मह चाखेर, फलफूल खाँदै र कृषिसम्बन्धी विभिन्न जानकारी बटुल्दै अनि कृषि उत्पादन र उपकरण खरिद गरी मनोरञ्जन लिने गर्छन् ।
नेपाल कृषिप्रधान देश भएकाले यहाँ कृषि पर्यटनको सम्भावना व्यापक छ । आन्तरिक तथा विदेशी पर्यटकलाई कृषि पर्यटनमार्फत कृषिसम्बन्धी शिक्षा, अनुसन्धान र विकासबारे ज्ञान र सेवा दिई आर्थिक लाभ उठाउन सकिन्छ । यसका साथै कृषि पर्यटनको अथाह विस्तार हुन सके यसले गरिबी निवारणजस्ता राज्यका महìवपूर्ण कार्यक्रममा पनि मद्दत गर्दछ । कृषि पर्यटन खास गरेर हाम्रोजस्तो देशमा ग्रामीण भेगमा गरिने हुँदा यसले त्यहाँका मानिसको आर्थिक क्रियाकलापमा मद्दत पनि हुन्छ । कृषि पर्यटनको विकासका लागि यसका केही पूर्वाधार विकास र पर्यटकीय गन्तव्य स्थल पनि हुनुपर्छ ।
कृषि पर्यटकीय स्थलका रूपमा राष्ट्रिय कृषि अनुसन्धान परिषद् र अनुसन्धान केन्द्रहरू, काठमाडौँ उपत्यकास्थित खुमलटार र विभिन्न जिल्लामा अवस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्का केन्द्र र तिनका विभिन्न कार्यक्रम कृषि पर्यटनका लागि उचित गन्तव्य स्थल हुन्, जसमा केन्द्रित गरेर स्वदेशी र विदेशी कृषि पर्यटकलाई अनुसन्धानमा आधारित कृषि ज्ञानवद्र्धक पर्यटन प्याकेजका रूपमा विकास र विस्तार गर्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालय अन्तर्गतका क्याम्पस कृिष पर्यटन सञ्चालन र दिगो विकासका लागि महìवपूर्ण पर्यटकीय गन्तव्य स्थल हुन् । त्यहाँ भएका पुस्तकालय, प्रयोगशाला, बागबानी फार्म, बाली विज्ञान फार्म, पशु फार्म, माछापोखरी तथा अनुसन्धान फार्म आदि कृषि पर्यटन गतिविधि सञ्चालन हुने केन्द्र हुन् । यी केन्द्र कृषि पर्यटनको ज्ञानकेन्द्रका रूपमा रहने गर्छन् । अनुसन्धानमूलक पर्यटनमा रुचि भएका पर्यटकका लागि यी उपयोगी हुन्छन् ।
राष्ट्रिय र विभिन्न प्रदेशस्तरका बाली विकास कार्यक्रम, कृषि ज्ञान केन्द्र र त्यससँगै भएका बीउ उत्पादन केन्द्र, मौरी विकास, फलफूल बगैँचा विकास, व्यावसायिक तरकारी उत्पादन, केरा खेती आदि कृिष पर्यटनको आकर्षण केन्द्रका रूपमा रहेका छन् । पशु सेवा केन्द्रहरूले पनि आधारभूत पशु प्याकेज कार्यक्रममार्फत कृषि पर्यटन प्रवद्र्धनमा स्रोत र सम्पदाका रूपमा कार्य गर्न सक्छन् । कृषि पर्यटकले कृषिसम्बन्धी ज्ञान आर्जन गर्न, कृषिका आकर्षणबाट मनोरञ्जन गर्न कृषि पर्यटनमा भाग लिन्छन् । कृषि पर्यटन प्रवद्र्धनका लागि केही नमुना कार्यक्रमको विकास गर्दै कृषि पर्यटनलाई निरन्तर विकास र विस्तार गर्न सकिन्छ तर पर्यटन उद्यमसँग सरोकार राख्ने सङ्घसंस्था र व्यक्तिको सक्रिय सहभागितामा कृषि पर्यटनको दीर्घकालीन योजना तर्जुमा गर्नुपर्छ ।
कृषि पर्यटनसम्बन्धी पाठ्य सामग्री बनाई स्कुल, कलेज र विश्वविद्यालयमा पठनपाठन सञ्चालन गरी योग्य र सक्षम जनशक्ति निर्माण गर्ने । कृषि पर्यटनको आधारभूत संरचना तयार गर्न र प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र जिल्ला पर्यटन विकास समिति तथा अन्य सरोकारवाला निकायलाई संलग्न गराई एउटा बृहत् सञ्जाल तयार गर्नु आवश्यक छ । कृषि पर्यटन सञ्चालन र विस्तार गर्न इच्छुक कृषक र अन्य उद्यमीलाई पर्यटनबाट हुने सकारात्मक र नकारात्मक असरबारे चेतना दिने, कृषि पथप्रदर्शक तयार गर्ने, पर्यटन व्यवसाय सञ्चालन र व्यवस्थापन गर्ने, वातावरण संरक्षण र व्यवस्थापनबारे तालिम दिने आदि जस्ता कामलाई निरन्तरता दिनुपर्छ ।
खासगरी स्थानीय निकाय नगरपालिका र गाउँपालिकाले यो कार्यक्रमलाई कृषिमा महत्त्व दिनैपर्छ । यसले एकातिर त्यहाँ रोजगार सिर्जना हुन्छ भने अर्कातिर स्थानीय उत्पादनले प्रचारप्रसार पनि पाउँछन् । कृषि पूर्वाधार र विकासका लागि पनि कृषि पर्यटन सहगोगी बन्न सक्छ । नेपालका लागि कृषि पर्यटनको अथाह सम्भावना छ । हामीले अहिलेसम्म पर्यटनको यो ग्रिन स्वरूपमा कुनै ठोस कार्यक्रम सञ्चालन गर्न सकेका छैनौँ । यसबारे सरोकारवालाको ध्यानाकर्षण हुनु जरुरी छ ।