विनोद अधिकारी
हाम्रो समाजमा परिवारको आम्दानी, खर्च, ऋण, धन आदिका बारेमा बालबालिकालाई जानकारी दिने वा उनीहरूसँग सँगै बसेर तिनका बारेमा छलफल गर्ने प्रचलन खासै देखिँदैन । बालबालिकालाई पढ्ने, दैनिक घरव्यवहार चलाउने, घर बनाउने वा मर्मतसम्भार गर्ने, जग्गाजमिन जोड्ने, व्यवसाय सञ्चालन गर्ने, चाडपर्व मनाउने, रीति परम्पराअनुसारका व्रतबन्ध, विवाह, काजकिरियाजस्ता संस्कार सम्पन्न गर्न आवश्यक पर्ने पैसा कहाँबाट आउँछ ? के–केमा कसरी कसरी र कति–कति खर्च हुन्छ ? आम्दानीले पुग्छ पुग्दैन ? नपुगेको बेला कसरी व्यवस्था गरिन्छ ? त्यसका बारेमा कमै थाहा हुन्छ ।
बाबुआमाको कुनै जागिर वा पेसा, कृषिउपज वा पशुधनको बिक्री, घरभाडा आदिजस्ता केही आम्दानीका स्रोतका बारेमा सामान्य जानकारी राख्ने भए पनि परिवारको आम्दानी खर्चको सन्तुलन, नियमित आम्दानीले नपुग्ने अवस्थामा गरिने वैकल्पिक उपाय अवलम्बन आदिका बारेमा उनीहरू अनभिज्ञ नै हुन्छन् । यसले गर्दा उनीहरू कहिले आफूलाई अति आवश्यक भएको र सजिलै किन्न÷व्यवस्था गर्न सकिने वस्तुको पनि माग गर्दैनन् त कहिले किन्न वा व्यवस्था गर्न नसकिने वस्तुका लागि अधिक जिद्दी गर्ने गर्छन् । त्यस्ता माग पूूरा नभएमा बाबुआमाले आफ्नो चाहना, आवश्यकतालाई महत्त्व नदिएको, वास्ता नगरेको भन्ने ठानेर तनावमा हुन्छन् । वित्तीय कुरा तथा आफ्नो पारिवारको आर्थिक अवस्थाको यथार्थ जानकारी नहुँदा उनीहरू सोअनुसार सोच बनाउन र कुनै निर्णय गर्न पनि सक्दैनन् ।
घरमा वित्तीय विषयका बारेमा छलफल नहुने र विद्यालयमा पनि वित्तीय ज्ञान, सीपका बारेमा नपढाइने हुँदा ठूलो उमेरसम्म पनि बालबालिकामा वित्तीय स्रोतको सही प्रयोगका बारेमा आत्मविश्वास हुँदैन । वित्तीय मामिलामा उनीहरू आफूलाई कमजोर र परनिर्भर भएजस्तो महसुस गरिरहन्छन् । जसले गर्दा उनीहरूले वित्तीय स्रोत तथा सेवाबाट फाइदा लिन सक्दैनन् र उनीहरूका सोच र योजना अधुरा हुन पुग्छन् । त्यसैले विद्यालय उमेरदेखि नै बालबालिकालाई वित्तीय ज्ञान, सीप अर्थात् वित्तीय साक्षरता/शिक्षा दिनु जरुरी हुन्छ ।
मानिसका आवश्यकता तथा चाहना पूरा गर्ने साधन पैसा नै हो । यो मानिसको जीवनको अभिन्न अङ्गजस्तो भइसकेको छ । यस्तो पैसा अर्थात् वित्तीय स्रोतलाई प्रभावकारी वा सही तरिकाले प्रयोग गर्ने ज्ञान तथा सीपले जीवन सञ्चालनलाई सजिलो बनाउँछ र सम्पन्नता प्राप्तिमा सहयोग पु-याउँछ । त्यसैले पैसाको महत्त्व र यसलाई सही तरिकाले प्रयोग गर्ने ज्ञान, सीपसम्बन्धी शिक्षा अर्थात् वित्तीय साक्षरता सबैलाई दिनुपर्छ । वित्तीय शिक्षा÷साक्षरताभित्र आफ्ना चाहना र आवश्यकता छुट्याउन सक्ने, जीवनचक्रका वित्तीय आवश्यकताको पहिचान गर्न सक्ने, पैसाको योजना बनाउने, आवश्यकता तथा औचित्यका आधारमा मात्र पैसा खर्च गर्ने, बचत गर्ने, उत्पादनमूलक कामका लागि ऋण लिने÷लगानी गर्ने, बीमा गर्ने, वित्तीय सेवामा पहुँच बढाउने र ती सेवाको सही छनोट तथा प्रयोग गर्ने आदि विषय पर्छन् ।
बालबालिकाले सानैदेखि पैसा के हो ? यो कहाँबाट आउँछ ? कहाँ खर्च हुन्छ भन्नेबारेमा थाहा पाउनुपर्छ । उनीहरूमा पैसा बचत गर्नुपर्छ, सोच विचार गरेर र योजना बनाएर मात्र खर्च गर्नुपर्छ भन्ने जानकारी हुनु आवश्यक छ । आम्दानी खर्चको हिसाब राख्न र विभिन्न वित्तीय सेवाका बारेमा जानकारी लिनु, तिनबाट हुने फाइदा तथा फाइदा लिने तरिकाका बारेमा सुसूचित पनि हुनुपर्छ । त्यसरी नै उनीहरूले आकस्मिक रूपमा पर्न आउने अवस्थाका लागि बीमा गर्ने कुरा साथै वित्तीय उपभोक्ता÷सेवाग्राहीका अधिकार र कर्तव्यका बारेमा सिक्नु जरुरी छ । वित्तीय सेवाको प्रयोग गर्दा विद्युतीय विधि, जस्तै– मोबाइल बैङ्किङ, एटीएम, क्युआर कोड आदिको फाइदा र प्रयोग गर्ने तरिकाका बारेमा पनि जानकारी पाउनु आवश्यक छ ।
तहगत हिसाबमा विद्यार्थीलाई प्राथमिक (आधारभूत) तहमा पैसा र यसको महत्त्व, पैसा आउने माध्यम र खर्च हुने शीर्षक, आवश्यकता र चाहना, बचत र यसको महत्त्व आदि कुरा सिकाउनु जरुरी हुन्छ । माध्यमिक तहमा वित्तीय लक्ष्यको निर्धारण, आम्दानी र खर्चको योजना, वित्तीय लक्ष्यको आधारमा बचत, आम्दानी खर्चको अभिलेख (रेकर्ड), खर्चको वर्गीकरण/प्राथमिकीकरण, बैङ्क तथा वित्तीय संस्थाले दिने सेवा र तिनका फाइदा, बीमा, सेयर बजार, विद्युतीय बैङ्किङका विधि आदिका बारेमा जानकारी दिनु आवश्यक हुन्छ । कलेजस्तरमा पारिवारिक वित्तीय अवस्थाको लेखाजोखा तथा योजना, वित्तीय सेवाको विश्लेषण र छनोट, वित्तीय सेवा लिने प्रक्रिया, ती सेवाको सही प्रयोगका लागि ध्यान दिनुपर्ने कुरा, वित्तीय सेवाका सर्त, वित्तीय सेवाप्रदायक तथा सेवाग्राहीका कर्तव्य तथा अधिकार आदिका बारेमा सिकाउनु आवश्यक हुन्छ ।
औपचारिक शिक्षामा वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान, सीपका विषय समावेश गर्नाले विद्यार्थी जीवनमा आइपर्ने वित्तीय आवश्यकता सजिलै पूरा गर्न र आकस्मिक रूपमा आइपर्न सक्ने वित्तीय चुनौती सामना गर्न सक्षम बन्छन् । वित्तीय बजारमा प्रचलनमा रहेका सेवाबाट फाइदा लिन सक्छन् । यसले वित्तीय सम्पन्नता हासिल गर्न मद्दत पुग्छ । यस्तो शिक्षा पाएपछि उनीहरूले आफ्ना चाहना र आवश्यकता वर्गीकरण गर्छन्, आवश्यक काममा मात्र खर्च गर्ने र बचत गर्ने बानीको विकास गर्छन्, परिवारको आम्दानी वृद्धिमा सघाउँछन् र आफ्ना आवश्यकताका आधारमा वित्तीय सेवाको छनोट गर्न तथा तिनीहरूको सही प्रयोग गर्न सक्छन् । यसबाट उनीहरूको भविष्य सजिलो र समृद्ध हुन्छ ।
वित्तीय शिक्षा÷साक्षरताले विद्यार्थीलाई पैसाको प्रयोगमा अनुशासन कायम राख्न सघाउँछ । पारिवारको वित्त व्यवस्थापनप्रति उत्तरदायित्वको भावना विकास गर्छ अर्थात् वित्तीय जिम्मेवारी लिन सिकाउँछ । यस्ता बानीले लागूपदार्थ, दुव्र्यसनजस्ता गलत बाटोतिर लाग्नबाट बचाउँछन् र आपसी झैझगडाजस्ता क्रियाकलापमा संलग्न हुनबाट पनि जोगाउँछन् । त्यसैले वित्तीय साक्षरता केवल आर्थिक पक्षसँग सम्बन्धित विषय मात्र नभई सामाजिक पक्षसँग समेत सम्बन्धित छ । यस अर्थमा पनि यसका बारेमा सानै उमेरदेखि विद्यार्थीलाई सिकाउनु अति आवश्यक छ ।
वित्तीय बजार परिवर्तनशील र जटिल पनि हुने हुनाले यसका विभिन्न पक्षका बारेमा हरेक बालबालिका जानकार हुनैपर्छ । जसरी आवश्यक ज्ञान, सीपबिना सवारीसाधन चलाउँदा दुर्घटना हुन्छ, त्यसरी नै वित्तीय ज्ञान, सीप नहुँदा जीवनमा धेरै वित्तीय चुनौती बेहोर्नुपर्ने, वित्तीय तनाव झेल्नुपर्ने हुन्छ । यसै यथार्थलाई महसुस गरी जापान, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा आदि देशले वित्तीय शिक्षालाई औपचारिक पाठ्यक्रममा नै समावेश गरी अध्यापन गराउँदै आएका छन् ।
नेपालमा पनि वित्तीय शिक्षा÷साक्षरताको औचित्यलाई आत्मसात् गरिएको छ । एक दशकभन्दा अगाडिदेखि नै बैङ्क तथा वित्तीय संस्था तथा समुदायस्तरमा काम गर्ने गैरसरकारी सङ्घसंस्थाले तालिम, गोष्ठी, सेमिनार आदिको माध्यमबाट वित्तीय सचेतना विस्तारका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । बेलाबेलामा विभिन्न विद्यालयमा पुगेर विद्यार्थीलाई यस्तो ज्ञान, सीप बाँड्ने प्रयास पनि भएका छन् । यस्ता प्रयास सबैतिर पुगेका छैनन् । वित्तीय ज्ञान र सीपसम्बन्धी केही पुस्तक पुस्तिका तथा श्रव्यदृश्य सामग्री फाट्टफुट्ट प्रकाशन/निर्माण हुन थालेका भए पनि ती न्यून छन् । त्यस्ता सामग्रीमा समावेश हुनुपर्ने वा समेटिनुपर्ने कुनै निश्चित विषय क्षेत्र/विषयवस्तुको स्पष्ट मापन आधार, निश्चित संरचना/ढाँचा र संस्थागत प्रणालीको पनि अभाव नै छ ।
नेपाल सरकारका विभिन्न नीति तथा कार्यक्रम र बजेटमा वित्तीय समावेशिता, वित्तीय सारक्षरतालाई प्रभावकारी बनाउने कुरा उल्लेख छन् । अर्थ मन्त्रालयले वित्तीय साक्षरतालाई अभियानका रूपमा सञ्चालन गर्ने नीति लिएको छ । नेपाल राष्ट्र बैङ्कले आफ्ना नीति तथा कार्यक्रममा वित्तीय शिक्षा र वित्तीय पहुँच विकासको विषयलार्र्ई जोड दिएको छ । यसो भए पनि दीर्घकालीन सोच र संस्थागत प्रणाली नभई यदाकदा गरिने केही प्रयासले मात्र वित्तीय सचेतना तथा वित्तीय पहुँच विस्तारको अपेक्षित लक्ष्य प्राप्ति गर्न सकिँदैन । यस अर्थमा पनि वित्तीय शिक्षा/साक्षरतालाई औपचारिक पाठ्यक्रमभित्रै समावेश गर्नुपर्छ ।
यस्तो प्रयासले विद्यार्थी वित्तीय व्यवस्थापनका विषयमा जानकार हुन्छन् र तिनीहरूकै माध्यमबाट यो ज्ञान, सीप हरेक घरघरमा पुग्छ । निश्चय नै सुखी र सम्पन्न जीवनको आधार वित्तीय शिक्षा/साक्षरतालाई औपचारिक पाठ्यक्रममा समावेश गर्ने सोच र प्रयास पनि सरकारबाट भएका छन् तथापि कार्यान्वयनको तहसम्म ती आइपुगेको अवस्था छैन । त्यसैले परिवारको आर्थिक सम्पन्नतासँग प्रत्यक्ष सरोकार राख्ने वित्तीय साक्षरता/शिक्षाजस्तोे विषयलाई औपचारिक शिक्षामा समावेश गर्ने कार्यमा राज्यले ढिलाइ गर्नुहुँदैन ।