आत्माराम पाण्डे
परम सिद्ध ब्रह्मनिष्ठ स्वामी श्री १००८ ज्ञानाश्रमज्यूबाट सन्न्यास सम्प्रदायमा दीक्षित भएपछि विसं १९८६ मा खप्तड बाबा भारतको हरिद्वारबाट आफ्ना गुरुको आज्ञा र सल्लाह शिरोपर गरी तपो साधनाका लागि शैलभूमि नेपालमा प्रवेश गर्नुभएको बताइन्छ । उहाँका साथमा गोविन्दानन्द (शिवपुरी बाबा) श्याम चेतन (बासुकी बाबा) र योगेशानन्द, आत्मानन्द र श्यामानन्दलगायत छ जना सन्त पनि साधनाकै क्रममा यहाँकै शैल शिखर क्षेत्रलाई रोज्नुभएको पाइन्छ । सन्न्यास ग्रहणपछिको नाम सच्चिदानन्द सरस्वती (खप्तड बाबा) लाई अध्यात्म साधनाका लागि यहाँको हिमाल हिमाच्छादित वातावरण, पवित्र नदी, धार्मिक पर्वतको शृङ्खलाले मोहित र मन्त्रमुग्ध बनायो ।
त्यसैले नेपाल प्रवेश गरेपछि इलामको फिक्कल, ताप्लेजुङको पाथिभरा, दोलखाको कालिञ्चोक, दैलेखको दुल्लु र जुम्लाको गणेशथान हुँदै विसं २००५ देखि तत्कालीन बझाङ्गी राजा रामजङ्गबहादुर सिंहको सहयोगमा खप्तड लेकमा तपोकुटी निर्माण गरी कठोर साधना सुरु गर्नुभएको थियो, खप्तड बाबाले । पवित्र पावनभूमि नेपाललाई आफ्नो साधनाभूमि बनाएर महिनौँ हिउँमा पुरिएर समाधिस्थ रहनुहुने खप्तड बाबा सर्वसाधारण गाउँले गोठालादेखि लिएर राजा, राजनेता तथा सर्वोच्च पदासीन व्यक्तिबाट पनि पुजित हुनुहुन्थ्यो । बाबाको साधना भूमि बनेपछि सुन्दर पश्चिमको स्वर्ग मानिने ‘खप्तड’ ले ठूलो प्रसिद्धि पायो । अमूल्य र दुर्लभ जडीबुटी तथा वन्यजन्तु र धार्मिक सम्पदाकोे खजाना रहेको खप्तड शृङ्खला, राष्ट्रिय निकुञ्जको घोषणाबाट संरक्षित हुन पुग्यो ।
गुरुभक्तिको महिमा
गुरु महिमाको विषयमा बाबाले धर्मविज्ञानका सबै खण्डमा विशद् चर्चा गर्नुभएको छ । हाम्रा सबै धर्मग्रन्थमा गुरुलाई बह्मा, विष्णु र महेश्वरको स्वरूप मानिन्छ । भनिन्छ, गुरुबाट निर्दिष्ट हुने उपदेश र अनुशासन विधि नै शास्त्र हो । शिष्यको उद्धार गुरुबाटै हुन्छ र सद्गुरु चरणको सेवालाई शास्त्रमा मोक्ष प्राप्तिको मार्ग बताइएको छ । अहिले, वैज्ञानिक शिक्षा प्रणालीको नाममा गुरुलाई उपेक्षा गर्दै ‘गुरु’ जस्तो आधारार्थी शब्दको मान मर्दन भएको छ । जीवनको पूर्णता गुरु कृपामा मात्रै निर्भर छ, भन्नुहुन्छ खप्तड बाबा । ‘‘सदगुरुको कृपाबिना पूर्णत्वको पथ उन्मुक्त हँुदैन । गुरु कृपाबाट जब त्यो मार्ग प्राप्त हुन्छ, तब जीवनको जीवभाव अर्थात् प्राकृत भाव समाप्त हुन्छ तथा दिव्य एवं अप्राकृत भावको उदय हुन्छ ।” (धर्मविज्ञान, चतुर्थखण्ड) शिवपुरी बाबाले आफ्नो धर्मगुरु उहाँको बाजे र सन्न्यास दीक्षाका गुरु परमात्मानन्दप्रति सधैँ कृतज्ञताको भाव प्रकट गर्नुहुन्थ्यो भनी उहाँका भक्त अहिले पनि चर्चा गर्नुहुन्छ । त्यसरी नै खप्तड बाबाले बहुचर्चित कृति ‘विचारविज्ञान’ ‘पतितपावनी’ कल्मष– हारिणी, कल्लोल तरङ्गीणी, पुन्यसलिला भागीरथी तट निवासी परमसिद्ध कर्मनिष्ठ श्री १००८ स्वामी ज्ञानाश्रमजिका परम पावानदिव्य चरण कमलमा........शब्द पुष्पका साथ समर्पण गर्नुभएको छ । बाबाका यी शब्दले अगाध भक्तिको भाव झल्किन्छ ।
अहिलेको विश्व भौतिक र प्रविधि विकास गतिमा तीव्र रूपले अघि बढिरहेको छ । विकासको साथसाथमा विभिन्न किसिमका विनाश, विसङ्गति भित्रिने हुँदा मानवमै अशान्त हुनेक्रम बढिरहेकाले खप्तड बाबा, अध्यात्म र विज्ञानको संयोजन भए यसको न्यूनीकरण हुनसक्ने बताउनुहुन्छ । उहाँका ग्रन्थमा अल्बर्ट आइन्सटाइनको ‘अध्यात्मविनाको विज्ञान लङ्गडो हुन्छ’ भन्ने भनाइलाई स्वीकार्दै अध्यात्म र विज्ञानको संयोजनलाई नै उन्नतिको आधार बताउनुहुन्छ । नास्तिकताका प्रबल समर्थक मानिएका डेभिड ह्युमको सुप्रसिद्ध पुस्तक ‘ट्रिटिज् अन ह्युमन नेचर’ को सन्दर्भ, नास्तिकताको पथमा जीवनपूर्ण नैराश्यमा परिणत भएको र सबै क्रियाशिल अङ्ग अकर्मन्य रहेको स्वीकारोक्ति बाबाले चर्चा गर्नुभएको छ । अध्यात्म चिन्तन र योगाभ्यासको माध्यमबाट मानव मात्रको मानसिक स्वास्थ्यमा सकारात्मक परिवर्तन र सुधार आएको चिकित्सा विज्ञान क्षेत्रका विभिन्न अनुसन्धानले देखाएको छ ।
सरल र सात्त्विक जीवनशैलीको महत्त्व
खप्तड बाबाको स्वभाव सरल, मिजासिलो र शौम्य प्रकृतिको थियो । कुनै आडम्बर, अभिमान र ठूलाठूला योगीको जस्तै शिष्य भेला गर्ने, प्रवचन गर्ने तौर तरिका थिएन । उहाँ स्थानीय गाउँले गोठालाको प्रेमी हुनुहुन्थ्यो । जडीबुटी पत्ता लगाएर रोगको औषधीमूलो बताइदिनुहुन्थ्यो । बाबाको कुटीमा आउने राजादेखि रङ्कसम्मको व्यवहार समान हुन्छ । आफ्नो तप, ध्यान र साधनामै बाबाको अधिकांश समय बित्थ्यो । तत्कालीन राजा महेन्द्रको वि.सं २०२३ को भ्रमणमा खप्तड बाबाले राजासँग स्थानीय जनताको अभाव र गरिबीको समस्या दर्शाउनु भएको थियो । त्यसरी नै तत्कालीन राजा वीरेन्द्रबाट विसं २०३२ देखिको पटक पटकको भेटघाटमा खप्तडको सभ्यता, संस्कृति र प्राकृतिक सम्पदाको संरक्षणमा सरकारको प्रयास हुनुपर्नेमा बाबाले जोड दिनुहुन्थ्यो ।
(खप्तड बाबा स्मारिक २०५४) स्थानीय बसिन्दाप्रतिको उहाँको आदरभावको अभिव्यक्ति धर्म विज्ञानको भूमिकामा यसरी स्पष्ट पार्नुहुन्छ–‘‘मेरो बोलिचाली खानपान आदि धेरै मात्रामा ग्रामवासी व्यक्तिबाट प्रभावित भएको छ । तिनीहरू शुद्ध भाषा त बोल्न सक्दैनन् तर तिनको हृदय अन्य सभ्य मानिसको भन्दा ज्यादै शुद्ध हुन्छ ।’’ त्यसरी नै बाबाले आफ्ना ग्रन्थमा सात्त्विक आधार र पवित्रता, शुद्ध आचरण तथा वाणीको सत्यतामा जोड दिनुभएको छ । सात्त्विक आहारबाट सात्त्विक विचारको प्रादुर्भाव हुन्छ, फलस्वरूप सरल जीवनशैली र सत्कर्मबाट सत्परिणाम प्राप्त हुने मार्ग देखाउनुहुन्छ,खप्तड बाबा ।
मानसिक तनावको उन्मुक्तिमा विचार
अहिले विश्व नै कोभिड–१९ को महामारीबाट आक्रान्त छ । हजारौँ परिवारले आफन्तजन बन्धुबान्धव गुमाएर शोकसन्तप्त छन् । घर, अस्पतालमा हजारौँको सङ्ख्यामा रोगसँग जुधिरहेका छन् । जीवन मृत्युको दोसाँधमा छटपटाइरहेका छन् । रोगको भयले घरभित्रै सीमित हुनुपर्दा मानसिक तनाव र कुण्ठा बोकेर दिन बिताउनुपर्ने बाध्यता छ । विकृत विचारको वाणीले मानिसलाई सताएको छ । यस्तो, असन्तुलित विषम परिस्थितिमा खप्तड बाबाको ‘विचारविज्ञान’ मा निर्दिष्ट विकल्प मानसिक तनावको उन्मुक्तिमा ज्यादै उपयोगी प्रतित हुन्छ । बाबाको यो कृति अध्यात्म जगत्मा मात्र नभएर व्यावहारिक दर्शनको अमूल्य निधिको रूपमा सर्वत्र चर्चित छ । यसमा, सकारात्मक र उत्साहबद्र्धक विचारले नै जीवन सफल बनाउने हुँदा विचारको अपरिमेय महìवलाई प्रकाश पारिएको छ । उहाँ मानिसलाई असल विचार प्रतिस्थापित गर्न विभिन्न विकल्प र विधि बताउँदै नराम्रा विचार त्यागेर सरल शुद्ध विचारको दृढताबाट जीवन आनन्दमय बनाउन सल्लाह दिनुहुन्छ ।
मानिसको सोच र विचारले नै उसलाई दुःखी र सुखी बनाउँछ । बाबाको ‘म र मेरो कर्तव्य’ मा सुखलाई यसरी परिभाषित गरिएको छ– ‘मनले, वचनले र शरीरले कसैलाई पीडा नदेउ, सबैको भलाइ गर, वाणीको हित र मधुरता प्रदान गर, शरीरलाई कष्ट नदेउ र सर्वेश्वरको भक्त भएर सुखी होउ ।’ यस्तै धर्म विज्ञानमा उहाँले मानसिक तनावबाट छुटकारा दिलाउन सङ्गीत, बगैँचाको काम, चित्रकलाजस्ता साìिवक र रोचक काममा अभिरुचि राख्न सल्लाह दिनुहुन्छ । पवित्र विचार र चिन्तनले मानसिक शान्ति र सन्तोष प्रदान गर्छ । त्यसैले, खप्तड बाबाले दोष दृष्टि र अहंकारको त्याग गरी गुणदर्शी बनेर वस्तुलाई शुभ देख्ने र शुभमय वातावरण बनाउने अमृततुल्य उपदेश दिनुभएको छ ।
दुर्लभ जडीबुटीको पहिचान र अनुसन्धान
खप्तड बाबा, खप्तड शृङ्खलामा पाइने वनस्पतीय औषधि तथा दुर्लभ जडीबुटीका ज्ञाता हुनुहुन्थ्यो । वनस्पतिविज्ञ डा. निर्मल भट्टराईका अनुसार त्यहाँ पाइने हरेक वनस्पति वैज्ञानिक नाम, उपयोग र प्रयोगविधि उहाँले कण्ठै सुनाउनुहुन्थ्यो । ‘शरीर स्वस्थ भएमा मात्र धर्मको अनुष्ठान गर्न सकिन्छ’ (शरीर माद्यं खलुधर्म साधनम्) भन्ने युक्ति दोहो-याइरहनु हुन्थ्यो । स्वस्थ शरीर नै स्वस्थ विचारको सुख शान्ति र सन्तोषको मापक हो । त्यसैले, खप्तडमा औषधीय गुणका वनस्पति र जडीबुटीको अध्ययन अनुसन्धान बाबाको अभिरुचिको क्षेत्र भएकाले अनुसन्धान प्रारम्भ भई २८८ प्रजातिका फूल फुल्ने विरुवा राष्ट्रिय निकुञ्ज कार्यालयमा सूचीकृत गराइयो । भनिन्छ, नेपालमा पाइने वनस्पतिमध्ये ४०० प्रजातिका बहुमूल्य वनस्पति, अन्यत्र नपाइने दस प्रतिशत फूल र २६० प्रकारका चराचुरुङ्गी तथा ४० प्रकारका स्तनधारी जीव एवं दुर्लभ बाघबुट्टे निगालो खप्तड राष्ट्रिय निकुञ्जमा पाइन्छ ।