डा.शोभा ढुङ्गाना
मानिस सामाजिक प्राणी हो । मानिसले आफ्नो जीवन निर्वाह गर्न अँगालेको कार्यलाई पेसा भनिन्छ । मानव समाजमा जीवन निर्वाहको लागि कृषि, पशुपालन, उद्योग, व्यापारलगायत जातीय सीप रहेको पाइन्छ । मानव समाज विकासको विभिन्न कालखण्डमा यिनै पेसा अँगालेको देखिन्छ । पछिल्लो समयमा आएर विदेशमा गई काम गर्ने संस्कृतिको पनि विकास भएको छ ।
जसलाई लाहुरे भनेर गाउँ घरमा सम्बोधन गरिन्छ । यसको व्युत्पत्ति पाकिस्तानको राजधानी लाहोरबाट आएको हो । मुगल सम्राटको राष्ट्रलाई मुग्लान भनिन्थ्यो । भारत र पाकिस्तानमा अङ्ग्रेजले भन्दा पहिले मुसलमानको शासन थियो । धन आर्जन गर्न मुग्लान पस्नेलाई ज्याला मजदुरी गर्न जाने श्रमिकका रूपमा लिइएको थियो भने सेनामा भर्ती हुन जानेलाई लाहुरे भनेर सम्बोधन गरिन्थ्यो । आर्थिक रूपमा दुवैलाई सम्मानको रूपमा हेर्ने प्रचलन यथावत् छ ।
नेपालबाट बाहिर (इष्ट इन्डिया कम्पनी ) गएर काम गर्ने संस्कृतिको सुरुवात सुगौली सन्धि (वि.सं १८७२) पछि मात्र भएको हो । सुगौली सन्धिमा त्रिपक्षीय (नेपाल–भारत र बेलायत) सन्धिपछि नेपाली भारतमा रोजगार गर्न थाले । कम्पनी सरकारको लाहोर (पाकिस्तानको राजधानी ) मा रहेको गोर्खा फौजमा भर्ती हुन जाने र आर्थिक पक्ष बलियो बनाउन बर्मा, हङकङसम्म पनि जाने गर्दथे । मरे पेन्सन पाइन्छ, बहादुरी देखाए अनेक पद पाइन्छ भन्ने गर्दथे ।
त्यसैगरी मालिकबाट शोषित भएका दासहरू भागेर भारतको गोर्खा पल्टनमा भर्ती हुन जान्थे । कतिपय पुरुष श्रीलङ्का, मौरिसस, फिजीसम्म पुगेर कृषि मजदुर हुन पुग्थे (त्यस बखतको नेपाल १,पृ.७७,१११) । यसरी नेपालबाट विदेशमा अनेकौँ उद्देश्यले काम गर्न जाने प्रचलनलाई नै वैदेशिक रोजगार भनिन्छ ।
२०४६ मा राजनीतिक प्रणाली परिवर्तन भएपछि विश्वव्यापीकरणको नीतिअनुरूप वैदेशिक रोजगार खुला भएको हो । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार १६ करोड ९० लाख मानिस वैदेशिक रोजगारमा संलग्न भएको देखाउँछ । तीमध्ये ६७.४ प्रतिशत उच्च आय भएका देशमा श्रम गरिरहेको देखिन्छ । १९.५ प्रतिशत उच्च मध्यम र ९.५ प्रतिशत न्यून मध्यम, ३.६ प्रतिशत न्यून आय भएका देशमा श्रमिक संलग्न भएका छन् ।
नेपालको सन्दर्भमा लिनुपर्दा, २१ लाख ६९ हजार ४७८ जना श्रमिक १०० भन्दा बढी देशमा रोजगार गर्न गएको पछिल्लो गणनामा उल्लेख गरिएको छ । पुरुषको सङ्ख्या १७ लाख ६३ हजार ३१५ र महिलाको सङ्ख्या चार लाख छ हजार १०३ जना देखिन्छ । यसरी हेर्दा पुरुषको तुलनामा महिलाको सङ्ख्या न्यून देखिन्छ । यद्यपि रेमिट्यान्स पठाउने र बचत गर्ने संस्कृतिको विकासमा महिला नै अग्रपङ्क्तिमा पर्छन् । वैदेशिक रोजगारलाई विशेषतः आठौँ योजना (वि.सं. २०४९ र ०५४) देखि मात्र महìव दिन थालिएको हो । विदेशबाट आउने रेमिट्यान्स नेपालको अर्थतन्त्रको मूल आधार बनेको छ ।
पन्ध्रौँ योजना (२०७६/७७))२०८०/८१) को आधार पत्रमा दैनिक १ हजार युवा विदेशिने गर्छन् । तिनीहरूको विप्रेषण आय कुल गार्हस्थ्य उत्पादनको अनुपातमा २१.१ प्रतिशत रहेको छ । जुन विश्वको उच्चमध्ये एक मानिन्छ । नेपालबाट वैदेशिक रोजगारीका लागि जाने देशको सङ्ख्या ११० वटा र व्यक्तिगत रूपमा १६७ वटा देशमा खुला गरिएको छ ।
नेपालमा अवसर नभएको अवस्थामा वैदेशिक रोजगारले सकारात्मक भूमिका खेलेको छ । आर्थिक वृद्धिलाई समेत सकारात्मक प्रभाव पारेको छ । यद्यपि दीर्घकालीन रूपमा यो लाभदायक हुन सक्दैन । विप्रेषणको आगमनसँगै नेपाली अर्थतन्त्रमा निम्न पक्षमा प्रभाव परेको देखिन्छ । विदेशी मुद्राको सञ्चिती, सीपको आयात, सरकारी खर्चमा योगदान, गरिबी निवारण र समाजको आर्थिक विकास । यी पक्षहरूमा सकारात्मक प्रभाव परेको देखिएको छ । यद्यपि निम्न पक्षमा भने यसले समाजको विभिन्न पक्षमा नकारात्मक असर पारेको स्पष्ट देखिन्छ ।
सामाजिक पक्ष
वैदेशिक रोजगारमा अधिकांश पुरुष नै जाने गरेको देखिन्छ । पछिल्लो जनगणनामा पुरुष ८७.६४ प्रतिशत र महिला १२.३६ प्रतिशत रहेको देखिन्छ । कतिपय पुरुष वैदेशिक रोजगारमा गएपछि सन्तान पढाउने बहानामा तिनको पत्नीमा सहरमा बस्ने मोह बढ्दै गएको देखिन्छ । सहरमा बस्ने क्रममा परपुरुष÷पर स्त्रीसँग अनावश्यक सङ्गत बढेर घर परिवार नै विचल्ली भएको तथ्य हाम्रोसामु छर्लङ्ग छ । त्यसैगरी विदेशको श्रमलाई बुझ्न नसकेर स्वदेशमा भएको परिवारले पनि जुवा तास मादकपदार्थ आदिको लत बस्दै गएको देखिन्छ । त्यसैगरी सम्बन्ध विच्छेद, बालबच्चालगायत परिवारको उचित हेरचाह नहुनु, अनेकौँ कारणले आत्महत्या गर्नु वा प्रयास गर्नु आदि कारण रहेको देखिन्छ ।
वैदेशिक रोजगारमा जानेहरूमध्ये केहीले अन्तरदेशीय विवाह गरेका छन् भने केहीले सहजीवन संस्कृतिलाई नेपालमा ल्याएका छन् । अर्कोतिर उच्च तापमानमा काम गर्ने पुरुषमा प्रजनन शक्तिमा ह्रास आइरहेको तथ्य स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारले आन्तरिक बसाइँसराइ (सहरमुखी) गर्नाले जनसङ्ख्याको घनत्वमा पनि असन्तुलन रहेको तथ्य हालैको जनगणनाले देखाएको छ ।
आर्थिक पक्ष
वैदेशिक रोजगारीले राष्ट्रदेखि परिवारसम्मको आर्थिक पक्ष बलियो बनाएको छ । यो दीर्घकालीन रूपमा नभएर क्षणिकका लागि मात्र रहेको छ । विश्व बैङ्कको प्रतिवेदनअनुसार रेमिट्यान्स भित्र्याउने १० देशमा नेपाल दशौँ नम्बरमा पर्छ । यसको अर्थ हो स्वदेशमा नै आर्थिक गतिविधि न्यून भएको सङ्केत गर्छ । राष्ट्र बैङ्कले पनि कुल जनसङ्ख्याको १८ प्रतिशत घरपरिवारको मासिक आय रेमिट्यान्सबाट नै चलेको देखाएको छ । यसको अर्थ परनिर्भरता प्रणालीको विकास भएको देखिन्छ ।
कृषि क्षेत्रमा मजदुर नपाउनु, स्वदेशमा श्रम गर्न लाज मान्नु, रेमिट्यान्सले गर्दा विलासी वस्तुको उपभोगमा वृद्धि हुनु र मौलिक वा जातीय सीप लोप हुँदै गएको छ । यस प्रकार वैदेशिक रोजगारीले गर्दा सहरमा बस्ने र सुख काट्ने संस्कृतिको विकास भएको प्रष्ट देखिन्छ । युवा विदेशिएका कारण मजदुरदेखि कृषि कर्म गर्ने किसानको समेत अभाव छ । रेमिट्यान्स बढाउन युवा त विदेशिन्छन् तर स्वदेशी उत्पादन बढाउन र विकास निर्माणको काममा भने जनशक्तिको अभाव देखिएको छ । वैदेशिक रोजगारमा जानेले नगद ल्याएका हुन्छन् तर मुद्रा स्फितिले गर्दा त्यो नगन्य हुन्छ । केहीले सीपलाई निखारेर आएका छन् । यसको उदाहरणमा कृषि र पशुपालन व्यवसायमा नयाँ ज्ञान सीप र अनुभव देखिएको छ । यसबाट बेरोजगारको सङ्ख्या घट्नेछ ।
सांस्कृतिक पक्ष
वैदेशिक रोजगारले नेपाली समाजको सांस्कृतिक पक्षमा पनि असर पारेको देखिन्छ । वैदेशिक रोजगारीबाट फर्किएका परसंस्कृतीकरणबाट प्रभावित भएको देखिन्छ । यसको पृष्ठ भागमा अन्तरदेशीय विवाहको पनि मुख्य कारण रहेको छ । चाडपर्वभित्र रहेको नृत्य सङ्गीत र जात्राहरूमा चाहिने जनशक्तिको पनि अभाव देखिएको छ । यसले गर्दा कतिपय लोकसङ्गीत नृत्य र जात्रा क्रमशः लोप हुँदै गएका छन् । यसरी हेर्दा रेमिट्यान्समा मात्र भर परेको हाम्रो देशको अर्थतन्त्रलाई दिगो मान्न सकिँदैन । भुइँको टिप्न खोज्दा पोल्टाको समेत खस्यो भन्ने उखानलाई वैदेशिक रोजगारीले चरितार्थ गरेको छ । नेपाली समाजको आर्थिक स्तर प्रत्यक्ष रूपमा देखिन्छ तर पारिवारिक संरचना, मानवता, श्रम गर्ने संस्कृति, उत्पादन प्रणाली, जातीय सीप, धर्म संस्कृति, संस्कार भने हराउँदै गएको प्रत्यक्ष रूपमा देखिएको छ ।