logo
२०८१ मंसिर ८ शनिवार



रङहरूको चाड होली

विचार/दृष्टिकोण |




सुनिता नेपाल (सुवेदी)

नेपाल कला र संस्कृतिले भरिएको देश हो । यहाँ मनाइने विभिन्न चाडपर्वका आ–आफ्नै महत्त्व रहेको पाइन्छ । तीमध्ये होली पनि एक हो । होली नेपाल–भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दुहरूको एक महìवपूर्ण चाड हो । होली रङहरूको चाड हो । सृष्टिको आरम्भकालदेखि नै ब्रह्माण्डमा रङको विशेष महìव रहेको पाइन्छ । यी रङहरू केवल मनोरञ्जन र आकर्षकका लागि मात्र नभई यिनीहरूको धार्मिक तथा आध्यात्मिक महìव रहिआएको छ । नीलो रङले मानवता र धैर्यतालाई दर्शाउँछ । नीलो रङ सर्व–समावेशीपन पनि दर्शाउँछ । समुद्रको रङ नीलो छ, आकाशको रङ पनि नीलो नै छ । नीलो रङलाई धर्म–युद्धको प्रतीक मानिन्छ । नीलो वर्णका श्रीहरिले अधर्म नाश गरी धर्मको रक्षा गर्न प्रत्येक युगका अवतार लिँदै आएको धार्मिक मान्यता छ । लोककल्याणका लागि विषपान गरेर महादेव नीलकण्ठको रूपमा कहलिए ।

यसैगरी, कृष्णलाई पनि निलो वर्णकै रूपमा देखाइन्छ । अस्तित्वमा जे विशाल छ र जे हाम्रो बोद्यभन्दा पर छ तिनको रङ नीलो हुन्छ । रातो रङ जीवन्त रङ हो । रगतको रङ पनि रातो नै हुन्छ । मानव चेतनाको सन्दर्भमा रातो रङले सबैभन्दा बढी कम्पन सिर्जना गर्छ । जोस र उल्लासको रङ पनि रातो हुन्छ । देवीसंँग सम्बन्धित साधना गर्नका लागि रातो रङ आवश्यक हुन्छ । शक्ति र सौभाग्यको प्रतीकको रूपमा पनि रातो रङ लिइन्छ । त्यसैले देवताहरू रातो रङको पहिरन लगाउने गर्थे भन्ने मान्यता रहिआएको छ । पहिलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । पहेलो रङ भक्ति धर्म परायणताको प्रतीकको रूपमा लिने गरिन्छ । मनोचिकित्सकको भनाइअनुसार, पहेलो रङ मनपर्ने मानिस रमाइलो, व्यावहारिक, आत्मीय र सरल स्वभावका हुन्छन् ।

हरियो रङ प्राकृतिक रङ हो । त्यसैगरी, सेतो रङलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास गर्नेहरू सेतो रङ विशेष रुचाउँछन् । पहिले पहिले होलीका लागि प्राकृतिक रङहरूको प्रयोग गरिन्थ्यो । केशर, चामलको पिठो, चन्दनलगायतका रङ र अबिरले छालाको रोग निवारण गर्ने र शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुने मान्यता आयुर्वेदले गरेको छ । त्यसैगरी, होलीको प्रारम्भमा बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगको कीटाणु निर्मूल हुने कुरा आयुर्वेदमा उल्लेख छ ।

प्रत्येक वर्षको फागुनमा शुक्ल पूर्णिमाको दिनमा मनाइने हिन्दुहरूको प्रमुख चाड हो फागुपूर्णिमा अर्थात् होली । वसन्त ऋतुको आगमनसँगै मनाइने फागुपूर्णिमाको पर्व, फागु सुरु हुनुभन्दा एक साताअघि अर्थात् फागुन शुक्ल अष्टमीको दिन वसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ तीन तले चीर ठड्याइ रङीचङ्गी ध्वजापताका साथ सिङ्गारिएको चीरमा पूजाआजा गरी चीरलाई परिक्रमा गर्दै एक आपसमा अबिर छ्यापी हर्षौल्लासका साथ होली सुरु गरिन्छ । सो अवसरमा स्थानीयवासी तथा नेपाली सेनाको सहभागितामा गुर्जुको पल्टनले सलामीसमेत दिने गर्छ । सोही राति टुँडिखेलमा गुरुमापा नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दस पाथी चामलको भात र एउटा रागोको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको धारामा चुठाउने चलन छ । चीर गाडिएको एकसातापछि फागुपूर्णिमाको दिन सो चीर ढालेर टँुडिखेलमा पु¥याइ दहन गर्ने परम्परा छ । चीर बीचमै ढलेमा देशमा कुनै सङ्कट नपरोस् र अनिष्ट नहोस् भनी ब्राह्मणद्वारा स्वस्तिशान्ति गराई पुनः चीर गाडी क्षमापूजा गरिने चलन छ । यसै अवसरमा मोहनकाली चोकमा काठ निर्मित हातमा मुरली लिएका श्री कृष्णको मूर्ति र नौवटा विभिन्न मुद्राका गोपिनीका मूर्तिहरू सजाएर अबिर छर्कदै पूजा गरिन्छ ।

होली पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकमा पाइन्छ । नारद पुराण र भविष्य पुराणजस्तो प्राचीन हस्त लिपिहरू र ग्रन्थमा पनि यस पर्वको उल्लेख पाइन्छ । भारतको रामगढ भन्ने स्थानको इसापूर्व ३०० वर्ष पुरानो एउटा अभिलेखमा यसको उल्लेख छ । संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषयको रूपमा रहेको पाइन्छ ।

हिन्दु संस्कृतिअनुसार, फागुपूर्णिमाको इतिहास विभिन्न युगसँग जोडिएको छ । पौराणिक भनाइअनुसार, त्रेतायुगमा भगवान् विष्णुका परम भक्तलाई उनकै बुबा हिरण्यकश्यप जो नास्तिक थिए उनले मार्न विभिन्न योजना बनाएको जसअनुसार पुत्र प्रह्लादलाई आफ्नो बहिनी होलिका र प्रह्लादकी फुपू जसले अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् उनले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ जलेर भष्म भएकी र विष्णुभक्त प्रह्लादलाई केही नभएकोले सोही दिनको सम्झनामा विजय उत्सव मनाउन अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा सुरु भएको मानिन्छ ।

त्यस्तै अर्को प्रसङ्गअनुसार, कंशको निर्देशनमा द्वापर युगमा राक्षसनी पुतनाले श्रीकृष्णलाई दुग्धपान गराई मार्न जाँदा बालक श्रीकृष्णले नै पुतनाको इहलीला समाप्‍त गरिदिएकोले पुतनाको शवलाई व्रजवासीहरूले सोही दिन जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाए र यसरी अहंकार र पापाचारको अन्त्य गरी सङ्कटलाई टारेको सम्झनामा श्रीकृष्णलाई झुलनमा राखी हल्लाउने र हरेक वर्ष चीरदाह गरी होली खेल्ने परम्परा रहेको मानिन्छ ।
भगवान् कृष्णको व्रजभूमि, मथुरा, वृन्दावन, नन्द गाउँ र वर्षनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्ने गर्छ ।

दक्ष पुत्री सतीदेवीले यज्ञकुण्डमा हाम फाली देहत्याग गरेपछि विछिप्त बनेका शिवजीलाई कामदेवले कामवाण प्रहार गरी संसारप्रति सम्मोहित बनाउने प्रयास गरेका थिए तर यस कार्यले शिवजीको तृतीय नेत्र खुल्न गई त्यसबाट निस्किएको क्रोधाग्निमा परी कामदेव स्वयं भस्म भए । यो पीडा कामदेवकी पत्नी रतीले सहन गर्न सकिनन् । उनको विलाप देखेर भगवान् शिवले कामदेवलाई जीवित हुने वरदान दिनुभयो । अनि देवताहरू खुसी भएर रङको वर्षा गरी खुसियाली साटेको प्रसङ्गलाई पनि होली पर्वसँग जोड्ने गरिन्छ ।

महर्षि नारदको सल्लाहअनुसार, सत्य युगमा राजा युधिष्ठिरले आफ्नो राज्यमा भएका सम्पूर्ण कैदीलाई उनीहरूको बाँकी कसुर माफ गरी यसैदिन अभय दान दिएको र रङ खेलेर उन्मुक्तभावमा हर्षोल्लासका साथ यो पर्व मनाइएको हो भन्ने कथाहरू पनि पाइन्छ ।

चारवटै युग सत्य, त्रेता, द्वापर र कलिमा विभिन्न किसिमले बेग्ला–बेग्लै होली पर्व मनाउने बौद्धिक र पौराणिक दुवै मत चलन चल्तीमा छन् । काठमाडौँलगायत पहाडी भेगमा फागूपूर्णिमाकै दिन होली खेलिन्छ भने तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट यो पर्व मनाइन्छ । मिथिला भूमिमा धनुषाधामको कचुरीबाट डोला उठाएर जटहीलगायत महोत्तरीको मठियानी, जलेश्वर, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तीर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा जनकपुर आएर अन्तगृह घुमेपछि होलीको समापन गरिन्छ । भगवान् राम कन्चनवनमा होली खेल्न आएको जनविश्वास रहेकोले सो अवसरमा कन्चनवन राम खेलेहरी भन्दै गीत गाइन्छ ।

पूर्वी नेपालमा एकआपसमा रङ दलेर होली मनाइन्छ भने सुदूरपश्चिमका पहाडी समुदायमा डेउडाको लयमा श्रीकृष्ण तथा रामका बहादुरी गाथा गाएर रङ दल्दै होली खेलिन्छ । रामले रावणलाई तथा कृष्णले कंशलाई मारेको घटनालाई जोडेर गीतमार्फत लयबद्ध तरिकाले गोल घेरामा होली खेलिन्छ । अछामीहरू मौलिक पहिरन अर्थात् सेतो जामामा पगरी बाँधेर सेतै फेदा पहिरिएर कानमा फूल सिहुँरिएर फूलको माला लगाई डेउडाको लयमा होली खेल्ने गर्छन् । अछामी होलीको सुरुवात शिवरात्रिको दिनबाट भए पनि विशेषगरी अष्टमीको दिनबाट बेलुकीपख प्रत्येक गाउँमा होली खेल्ने गर्छन् ।

नेवारी परम्परामा पानीसँग होइन अबिर र रङसंँग होली खेल्ने चलन छ । नेवारी संस्कृतिमा होलीका बारेमा युवालाई जिस्काउँदै गाएका अनेक शिष्ट र रोचक गीतहरू प्रशस्त पाइन्छ ।
यो चाडमा थकालीहरू रङ्गी बिरङ्गी पोसाकमा सजिएर सपरिवार भेला भई तीर हान्ने प्रतियोगिता गर्छन् । सात दिनसम्म चल्ने यो पर्वमा प्रत्येक दिन आफ्ना दाजुभाइ तथा नातेदार भेला भई रमाइलो गर्ने परम्परा छ । यसप्रकार असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली पर्व मनाउने गरिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?