logo
२०८१ मंसिर ८ शनिवार



तराईमा होली

विचार/दृष्टिकोण |




डा. मुकेशकुमार साह

हरेक वर्षझैँ यस वर्ष पनि नेपालका सबै हिन्दु धर्मावलम्बीले रङहरूको पवित्र पर्व होली मनाउने छन् । मित्रता, एकता तथा सद्भावरूपी रङहरूको पावन पर्व होली नेपालको पहाडी भू–भागमा ३ गते सम्पन्न भयो । तराईमा ४ र ५ गते खुसी आदान प्रदान गर्दै मनाइँदै छ । असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ । होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ । हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ ।

फगुवा खेल्ने अर्थात् फागु पूर्णिमामा तराई मधेसमा बेग्लै रौनक हुन्छ । एउटै उमेरसमूहका युवायुवती जम्मा भएर हर्षोल्लासपूर्ण रूपमा होली मनाउँछन् । यो पर्वले सौहार्द, सद्भावना, शान्तिपूर्ण समाज र सहअस्तित्वको सन्देश दिन्छ । जाडो सकिएको र गर्मी नबढिसकेको अवस्था भएकाले पनि रमाइलो मौसम छ यतिबेला । हिउँदे बाली खेतमा तयार हँुदै र बर्खे थन्क्याइसकिएको छ ।
मैथिल गाउँघर श्रमजीवी पुुरुषमा प्रायः महिना दिनअघिदेखि राति राति अबेरसम्म मादल र मृदङ्ग धुनले होली गीत अभ्यास गरिरहेको सुनिन्छ ।

कसैले हातमा डम्फु, खैँजडी बोक्छन् र कसैले गलामा मादल भिर्छन् । घर–घर चहार्छन्, बाजाका तालमा नाच्दै गाउँदै हिँड्ने प्रचलन छ । गीतको बोल यस्तो सुनिन्छ– मोहन खेले होरी हो लाला, मोहन खेले होरी ... ! यो जमात पहाडे, मधिसे, गृहत गृहत (गृहस्थ गृहस्थ)का आँगनमा झुम्छ, नाच्छ र गाउँछ । गृहत स्नेहशील भएर यो कर्मलाई पवित्र देख्छन् र रमाइलो मान्छन् । यी आपूm एक छेउमा उभिन्छन् र आँगनीमा नाच्न, गाउन, खेल्न, उफ्रिन छुट दिन्छन् । एकथरी झुम्ने, खेल्ने अर्कोथरी हेर्ने, अर्थात् नाचगानकर्ता र गृहत दुवै यो दृश्यमा मग्न । केही क्षण कतै रोकटोक हँुदैन । उत्सव र रमिता यही हो । यी फगुवा खेल्ने ज्यादै टाढाका न भई वरिपरि छरछिमेकी हुुन्छन् ।

रङ्गीन जीवनमा रम्ने धेरै हुन्छन्, त्यही भएर धेरैले रङको यस पर्वलाई महìवका साथ लिने गरेका छन् र होली खेल्ने गर्छन् तर होलीलाई पर्वका रूपमा मनाउनुपर्छ । पर्वका रूपमा खुसी आदानप्रदान तथा रङ अविर तथा खानपानको उपयुक्त प्रयोग गरेर मनाउने धेरै व्यक्ति भए पनि पछिल्लो समयमा होलीको नाममा धेरै विकृति भित्रिएको छ । होलीलाई गलत ढङ्गले प्रयोग गरेको उदाहरण प्रशस्त छन् । नशालु पदार्थ, भाङ, रक्सी सेवन नियतवस गर्ने प्रचलन पनि छ । साथै कतिले यसलाई जुवा–तास खेल्ने आधार बनाएका हुन्छन् । अत्यधिक तैलीय (चिल्लो) तथा मसालेदार पदार्थ प्रयोग गर्नाले पनि शरीरलाई हानि गर्ने धेरै छन्, फलस्वरूप बिरामी भएर अस्पताल आउन बाध्य हुन्छन् । वास्तवमा होली पर्व खुसियालीको आधार बन्नुपर्छ, कुनै अप्रिय घटना नघटोस्, कोही बिरामी नपरोस् भन्ने उद्देश्यका साथ मनाइनुपर्छ ।

स्वास्थ्यका हिसाबले सतर्क रहँदै होली मनाउनु जरुरी छ । होलीमा गलत रूपमा प्रयोग गरिने मादक पदार्थको सेवनले धेरै झगडा हुने गरेको उदाहरण प्रशस्त छ । मोबिल, कालो मोसो, हानिकारक रङ नालाको पानी पानीले शरीरलाई नकारात्मक असर पु-याउन सक्छ । तसर्थ होली खेल्दा स्वास्थ्यमा असर नपर्ने गरी वा कमभन्दा कम असर पुग्ने गरी मनाउनुपर्छ र यस्ता वस्तुको प्रयोग पूर्ण रूपमा रोकिनुपर्छ ।

होली खेल्दा स्वास्थ्यका दृष्टिकोणबाट आफू बच्ने र अरूलाई बचाउने भरपुर प्रयास गर्नु उचित हुन्छ । यसो गर्नाले मात्र सौहार्दपूर्ण वातावरणमा होली खेल्न सबैलाई आकर्षित गर्नेछ अन्यथा विनायासै व्यक्ति बिरामी हुने र झैझगडा बढ्ने सम्भावना बढ्छ । विभिन्न रङका र रङमा स्वास्थ्यमा प्रतिकूल असर पु-याउने फरक फरक रसायन हुने भएकाले शरीरमा कम असर पार्न शरीरमा उपयुक्त तेल लगाएर खेल्नु पर्छ, कानमा कपास राख्नुपर्छ, आँखा, कान तथा मुखमा रङ लगाउन कसैलाई पनि दिनु हुन्न । होलीको रङले एलर्जीदेखि दीर्घकालीन रूपमा क्यान्सरसम्मको खतरा हुने भएकाले कमसल र सस्ता रङ नखेल्नु नै उचित हुन्छ । एलर्जी हुनेहरूले होलीको रङको प्रयोग नगर्दा नै उचित हुन्छ, एलर्जी भएमा तुरुन्त रङबाट टाढिने तथा स्वास्थ्यकर्मीसँग उपचार गराउनु पर्छ । होलीलाई एकता, मित्रता, मेलमिलाप, सद्भावको आधार, सत्यको प्रतीक तथा खुसियालीको पर्वका रूपमा लिएर संयमित भएर स्वास्थ्यमा असर नपुग्ने गरी, भौगोलिक, धार्मिक, साम्प्रदायिक तथा जातीय सहिष्णुता कायम रहने गरी शान्तिको कमनासहित मनाउनुपर्छ ।

होली खेल्नेले अपनाउनुपर्ने सावधानी
सद्भावरूपी पर्वका रूपमा खुसी आदानप्रदान गरी मनाउने । मादक पदार्थ सेवन नगर्ने, संवेदनशील अङ्ग आँखा, नाक, कान तथा मुखमा रङ नदल्न । कानमा रुवा प्रयोग गर्ने । बजारमा पाइने गुणस्तरीय रङ प्रयोग गर्ने । बजारमा पाइने कमसल रङको प्रयोग नगर्ने बरु स्थानीय रूपमा चिरपरिचित झारपातबाट बनाइएको रङ वा अविर प्रयोग गर्ने । अत्यधिक चिल्लो पदार्थको प्रयोग नगरिएका परिकार सेवन गर्ने । खुला स्थानमा होली खेल्ने । परिचित व्यक्तिसँग मात्र होली खेल्ने । झैझगडा नगर्ने ।

कतै खुला छतमा त बालबालिकाले होली खेलिरहेका छैनन् ! छ भने अभिभावकले तुरुन्त खुला चौरमा होली खेल्न सम्झाउनु होस् ! कतै साथीको लहलहैमा मादक पदार्थ त सेवन गरेका छैनन् ? छ भने रोक्नुहोस्, घरमा नै आराम गर्न सम्झाउनु होस् ! घरमा कतै अत्यधिक चिल्लो प्रयोग गरी परिकार तयारी हुँदैछन् भने सतर्क हुनुहोस् । संयमित रूपमा यसको सेवन गरौँ । होली खेल्ने क्रममा बालबालिका कतै घाइते त भएका छैनन् वा एलर्जी त भएको छैन ! छ भने तुरुन्त अस्पताल लैजानु होस् । रङ किन्दा चनाखो हुनुहोस्, गुणस्तरीय रङ र अविर मात्र घरमा ल्याउनु होस् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप