काठमाडौं, माघ १ गते । देशको राजनीतिक परिवर्तनको इतिहासमा माघ १ सँगै सधैं स्मरणीय छ, ‘पिस्कर काण्ड’ । देशैभरमा विशेषगरी थारु समुदायले माघी, पहाडी भेगमा माघे संक्रान्ति, मकर संक्रान्ति लगायत विभिन्न नामले आजको दिन विशेष पर्वको रुपमा मनाइन्छ । वि.सं. २०४० मा तात्कालीन पञ्चायती निरंकुश शासन व्यवस्थाविरुद्ध भूमिगत रुपमा नेकपा (माले) ले विद्रोह गरिरहेको थियो ।
खासगरी, गरिब, किसान एवम् श्रमजीवीको अधिकार प्राप्त हुनुपर्ने प्रारम्भिक रुपमा आवाज उठिरहेको थियो । आधारभूत जनताबीचमा सांस्कृतिक कार्यक्रममार्फत् साधारण सचेतना फैलाउने कार्यक्रम चलिरहेका बेला तात्कालीन सेनाले घेराबन्दी गरेर निर्ममरुपमा गोली प्रहार गर्दा कयौं सर्वसाधारणको घटनास्थलमा नै ज्यान गुमाउनुप¥यो । त्यही पिस्कर काण्ड पछि मेचीदेखि महाकालीसम्म साधारण नागरिकमा पनि थप विद्रोहको सचेतना बढ्यो जसले उनीहरुलाई पार्टीगत रुपमा पनि थप संगठित बनाउन बल पु¥यायो ।
माघेसंक्रान्तिमा त्यहाँ सधैं ठूलो मेला लाग्छ । त्यस बेला तात्कालीन अवस्थाको कुनै राज्य व्यवस्थाको विरोध गर्नेभन्दा जागरुक युवाले सामान्य सांस्कृतिक जागरणको कार्यक्रम गरेका थिए । विकृति, विसंगतीविरुद्ध सचेतना जगाउने तर त्यो बेलाको राज्यले व्यवस्थाविरुद्ध नै लाग्ला भन्ने सोच्यो, नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ बताउनुहुन्छ । सिन्धुपाल्चोकको त्यस कार्यक्रमस्थलमा कुनै गुरिल्ला ट्रेनिङ भइरहेको गलत सूचना कतैबाट पुगेका कारण काठमाडौंदेखि ठूलो संख्यामा पुलिस लगियो र घेरा हालेर सिध्याउनैपर्छ भन्ने मनस्थिति बन्यो । त्यो घटना एकदमै अत्यन्तै बर्बर थियो । यसैलाई आधार मानेर पछि एक वर्षसम्म पनि गिरफ्तार गर्ने, यातना दिने क्रम पछिसम्म चलेको तामाङ सम्झनुहुन्छ । ‘हामी साना विद्यार्थी थियौं । यस्तो देखेपछि नयाँ पिढींमा विद्रोही चेतना ल्यायो’, उहाँ बताउनुहुन्छ । निरंकुश सत्ताको बर्बर दमनविरुद्ध जनताद्वारा गरिएको प्रतिरोध जसले वामपन्थी राजनीतिमा चेतना थपेको थियो, यसरुपमा पिस्कर काण्डलाई बुझ्नुपर्ने उहाँको धारणा छ ।
कसरी भयो घटना
पिस्करको महादेवथानमा रातभर जनवादी कार्यक्रममा गीत गाउने, नाटक देखाउने कार्यक्रम चलिरहेको थियो । बिहान ४ बजे जुन डुबिसकेकोपछि पुलिसले घेरा लाएको त्यहीका स्थानीय एवम् नेकपा एकीकृत समाजवादीका नेतृ मीरा थामी पौडेल आज पनि सम्झनुहुन्छ । पहिला आक्रमण मञ्चमा भयो त्यसपछि पिठ्युँमा बच्चा बोकेर भाग्नेक्रम चल्यो । पुलिस र जनताबीच ढुंगा, लाठीले केही समय हानाहान भयो । यसैबीच इली थामीको पेटमा गोली लाग्यो । मुर्छिएका उनलाई घिसार्दै लगेर खोलाको छेउमा वनमाराको घाँसले पुर्ने काम भयो । कन्चटमा गोली लागेका अर्का वीरबहादुर थामीको भने गिदी नै खेतभर छताछुल्ल भयो । यसपछि वातावरण थप त्रासदीपूर्ण रहे पनि न्याय, समानताका लागि कहिल्यै आत्मसमर्पण नगरेको उहाँको भनाइ छ । त्यो दिनदेखि पछिसम्म पनि किसानको घर–घरमा राति–राति जाने कुट्ने, पिट्ने, टाउको फुटाउने लगायतका निमर्म गतिविधि भएको तर, पार्टीमा आबद्ध उहाँहरु भने दिनभर ओडार र जंगलमा लुकेर भए पनि रातको समय जनतालाई प्रशिक्षित गराउने गरेको उहाँ सम्झनुहुन्छ ।
‘त्यो समय लखेट्दा हिउँमा परेर छ जना अरु पनि बिते । सरेस नेपाल, अरुण नेपाल लगायतका अरु १८ जना पनि कोही तीन, कोही डेढ वर्ष जेल परे । यो दमनपछि अमृत बोहोरा र अष्टलक्ष्मी शाक्य मेची सरुवा हुनुभयो र म सिन्धुपाल्चोकमा पार्टीको सचिव भएर पुगेँ’, एमाले नेता केशव बडाल सम्झनुहुन्छ, ‘जनताको त्यो पीडामा मलम लगाउन हिँड्दा सिन्धुपाल्चोकको थुमपाखर, डाँडापाखर, पिस्कर, धुस्कुन, कर्थली, घोर्थलीको भेगमा २०४० देखि ४६ सालसम्म डुल्दा करिब–करिब जुँकाले मात्रै मेरो धेरै रगत खायो ।’ माघे संक्रान्ति सम्झदै गर्दा पहाडी भेगमा हलिया प्रथा, कमैया प्रथा र समग्र दलित मुक्तिको संघर्ष गर्दै गर्दा पिस्करलाई पनि लोकतान्त्रिक आन्दोलनविरुद्धको दमनको रुपमा बुझ्नुपर्ने उहाँ भन्नुहुन्छ ।
किसानले सामान्य आफ्नो ज्याला पाउनुपर्छ भन्दा हातमा कुनै हात, हतियार नहँुदा पनि गोली लागेर मर्नुपर्ने यस्तो परिस्थिती देशका अन्य ठाउँमा पनि घटेको उहाँ बताउनुहुन्छ । धनकुटामा हांसीमा साइलीसहित १६ जना र धनुषामा मुमेश्वर यादवसहित दर्जनौ श्रमजीवीले पनि आफ्नो हक अधिकारका लागि ज्यान गुमाउनुपरेको उहाँ पुनः स्मरण गर्नुहुन्छ ।
एमाले केन्द्रीय सदस्य बिन्दा पाण्डे पिस्कर काण्डलाई जनताको बीचमा सचेतना फैलाउने बेला राज्यशक्तिबाट भएको एउटा क्रुरताको रुपमा हेर्नुहुन्छ । ‘यसको शिक्षा भनेको दमनले मान्छेलाई पछाडि हटाउन सकिँदैन भन्ने हो’, पाण्डे भन्नुहुन्छ, ‘त्यस समय सामान्य कार्यक्रम मात्रै हुन दिएको भए कमै मात्र सचेत हुन्थे । पञ्चायतले दमन ग¥यो, यो सुनेपछि मेचीदेखि महाकालीसम्म निरंकुशताविरुद्ध सचेतना र संगठित बनाउने क्रम थप बढेको थियो ।’
पिस्कर काण्डले मध्ये नेपालमा निरंकुश दमनविरुद्ध एउटा शक्ति अर्थात् इन्धन थप्ने काम भएको उहाँको भनाइ छ । ‘पञ्चायतको आयु घटाउन पिस्करको महत्वपूर्ण भूमिका छ’, उहाँ भन्नुहुन्छ, ‘यसले पीडा मात्र दिएन जनतामा चेतना फैलाउने काम गर्यो ।’