logo
२०८० चैत्र १६ शुक्रवार



स्थानीय तह निर्वाचन : चुनावी तालमेल कस्तो हुन्छ ?

मुख्य समाचार |
राजनीति |


स्थानीय तह निर्वाचन : चुनावी तालमेल कस्तो हुन्छ ?


काठमाडौं, माघ २७ गते। लामो छलफल र बहसपछि सरकारले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकैपटक गर्ने निर्णय गरेको छ। मिति घोषणा भएसँगै राजनीतिक दल चुनावी प्रतिस्पर्धाको तयारीमा लागेका छन्। चुनावको मिति तय भएसँगै चुनावी गठबन्धन र तालमेलको विषय चर्चामा छ। गठबन्धन र तालमेलको विषयमा दलसँगै नेताका फरक धारणा छन्। प्रमुख दलका नेतासँग गोरखापत्र अनलाइनका लागि सपना थामीले तयार पार्नुभएको सामग्री :

राजनीतिक फाइदा अनुसार हुन्छ : काँग्रेस
पाँच दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसको बिहीबार बस्ने भनिएको कार्य सम्पादन समिति बैठकमा आगामी निर्वाचनको विषयमा छलफल हुँदैछ। काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार निर्वाचनसँगै मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताका कारण गठबन्धनमा देखिएको विषयमा छलफल हुनेछ।

गठबन्धनमा देखिएको मतान्तरले चुनावमा प्रभाव पार्ने भन्दै नेताहरु सचेत हुन थाल्नुभएको छ। चुनावमा काँग्रेसले गठबन्धन गर्ने वा एक्लै जाने भन्ने विषयमा निर्णय गरिसकेको छैन। ‘अहिले यो विषयमा निर्णय हुने बेला भएको छैन। गठबन्धनमा पनि सबैले आ–आफ्ना दलमा मूल्याङ्कन भइरहेको छ’, महतले भन्नुभयो, ‘के गर्दा राजनीतिक पार्टीलाई फाइदा हुन्छ वा गठबन्धन मजबुत हुन्छ, यसको आधारमा हुन्छ।’

काँग्रेससहित गठबन्धन गर्ने प्रयासमा जसपा
गठबन्धनभित्रको जनता समाजवादी पार्टी (जसपा) ले भने आगामी चुनावसम्म गठबन्धनलाई निरन्तर अगाडि बढाउन चाहेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले संसदमा पुरै र स्थानीय तहको चुनावमा जति सकिन्छ, त्यति गठबन्धन हुने बताउनुभयो। ‘काँग्रेससहितको गठबन्धन अगाडि बढाउन चाहन्छौं। काँग्रेस र देशको हित त्यसैमा छ’, यादवले भन्नुभयो। जसपाले सबै प्रदेशमा गठबन्धन कायम राखेर जाने प्रयास गरे पनि गठबन्धनका अन्य दलको निर्णयमा भर पर्ने देखिन्छ।

चुनावसम्म गठबन्धन टुट्दैन : एकीकृत समाजवादी
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा चुनावसम्म गठबन्धन नटुट्ने बताउनुहुन्छ। ‘अहिले काँग्रेसले एमालेसँग सहकार्य गर्नेभन्दा पनि संसद् खुलाउने प्रयास महत्वपूर्ण छ’, खतिवडाले भन्नुभयो, ‘गठबन्धनमा कुनै दल अलग हुन्छु भन्ने अलग कुरा हो, नभए गठबन्धन टुट्दैन।’

चुनावमा काँग्रेस एक्लै जाने भन्ने कुरा आएको विषयतर्फ इङगित गर्दै खतिवडाले गठबन्धनबाट अलग नभएका दलबीच समेत गठबन्धन हुने बताउनुभयो। तर, ठूला माछाले साना माछा खाएजस्तो गरेर सिध्याउने कि इज्जत र सम्मानका साथ यसलाई जोगाउने भन्ने कुराले यसको भविष्य निर्माण हुने बताउनुभएको छ।

चुनावपछि सफलता हाम्रै हातमा पर्छ : नेकपा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विगतदेखि नै चुनावमा एक्लै लडेको भन्दै अहिले त्यही ढङ्गले अगाडि बढ्ने नेता सुवास नेम्बाङ बताउनुहुन्छ । प्रथम विधान महाधिवेशनदेखि दशौं राष्ट्रिय महाधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गर्दै आएको एमालेले चुनावमा एक्लै लड्ने तयारी गरेको उहाँको भनाइ छ।

‘निर्वाचन गराउनुपर्छ भनेर सुरुदेखि नै एमालेले निरन्तर अडान राखेका कारण दबाब सिर्जना भयो। पछिसम्म पनि सत्ता गठबन्धनमा चुनाव हुने, नहुने जस्ता गैर अभिव्यक्ति पनि सुनिन्थ्यो। अब देश चुनावमा गयो’, नेता नेम्वाङले भन्नुभयो, ‘जुन बेलादेखि चुनाव हुनुपर्छ भनिएको थियो, त्यति बेलादेखि तयारीको क्रम अगाडि बढ्ने सिलसिला जारी रहेको थियो।’

त्यसैगरी नागरिक र कार्यकर्ता समक्ष पार्टीलाई सशक्त बनाउने, पार्टी प्रवेशको तीन महिने कार्यक्रम अघि बढेको उहाँ बताउनुहुन्छ। ‘हामी फेरि पनि सफलता हासिल गर्नुपर्छ भन्ने ध्यानमा अगाडि बढ्छौं। संविधान र कानुनद्वारा स्थापित अभ्यास बमोजिम निर्वाचन समयमै हुनुपर्छ’, उहाँले भन्नुभयो। यसका लागि निर्वाचन आयोगले पनि सिफारिस गरिसकेको उहाँ भन्नुहुन्छ। तथापि, स्थानीय तहको चुनावमा कुन दलसँग गठबन्धन हुने वा नहुने भन्ने विषयमा भने एमालेको आधिकारिक धारणा बाहिर आएको छैन।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको भोलिपल्ट स्थानीय निर्वाचनको मिति घोषणा भएको थियो। संसद सञ्चालनका लागि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्य गरेर सहमति खोज्नु भएको छ।

एमसीसी सम्झौता संसदमा लाने विषयमा सत्तापक्षको स्पष्ट धारणा बाहिर आउनुपर्ने नेम्वाङ बताउनुहुन्छ। ‘संसद चलाउने र बिजनेस दिने काम सरकारको हो। अहिले सरकारले त्यो गर्न सकेको छैन। एमसीसीबारे फेरि कागजपत्र बनाउने, अध्ययन कार्यदल बनाउने बाटो अवलम्बन गर्नुहुँदैन’, नेम्बाङ भन्नुहुन्छ, ‘सरकारलाई हामीले आफ्नो जिम्मेवारी पूरा गर्नुस् भनेर लगातार भनिराखेका छौँ।’

एमसीसीको प्रभाव निर्वाचनसम्म पनि पर्न सक्ने देखिएको भन्दै नेम्वाङ संसदमा अगाडि बढेपछि धारणा राख्ने बताउनुभयो। ‘एमसीसी जब अगाडि बढ्छ, हामी त्यतिबेला एक मिनेट पनि ढिला नगरी आफ्नो धारणा राख्छौँ’, नेम्वाङ भन्नुहुन्छ।

एमसीसीले गठबन्धनलाई असर गर्दैन : राष्ट्रिय जनमोर्चा
पाँच दलको गठबन्धनमा अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी सम्झौताका विषयमा सबै दलको अलग–अलग धारणा रहदै आएको छ। राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौता खारेजीको माग राख्दै आएको छ। एमसीसीको विषयमा अलग धारणा भएकाले गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग हुन्छ कि भन्ने विषय चर्चामा छ। तर, एमसीसी कै कारण गठबन्धनमा असर नपरेको उपाध्यक्ष दुर्गा पौडेलले बताउनुभयो।

‘जुन आवश्यकता र आधारमा गठबन्धन थियो त्यो अहिले पनि छ। राष्ट्रिय जनमोर्चाले एमसीसी खारेजको माग गर्दागर्दै गठबन्धन बनेको हो’, पौडेलले भन्नुभयो, ‘एमसीसी छलफलको बैठकमा राष्ट्रिय जनमोर्चा सहभागी हुनु जरुरी छैन।’ अहिलेसम्म स्थानीय तहको चुनावमा कसरी जाने भन्ने विषयमा छलफल नै नभएको पौडेल बताउनुहुन्छ। यसका लागि छिट्टै नै पार्टीको बैठक बसेर निर्णय गर्ने उहाँको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?