आर. आर. चौलागाईं
ए, पल्लो घरकी नानी !
मेरो घरलाई यसरी नहेर
आँखा लाग्न सक्छ ।
तिम्रा आँखाहरू सुन्दर छन्
हेराइ झन् सुन्दर छ
तिमीले हेरेपछि अरूले पनि हेर्लान्
चर्चा गर्लान्
कानेखुसी गर्लान्
अझ हल्लै गर्लान्
एक कान, दुई कान, मैदान होला
घरै हेर्न आउलान्
अनि कसरी थेग्नु मैले त्यत्रो भीडलाई ?
बिन्ती ! यसो नगर ।
मलाई रातो रङ मन पर्छ
रातो विचार मन पर्छ
त्यसैले त लालीगुराँस मन पर्छ
रातो गुलाफ मन पर्छ
उदाउँदै गरेको रातो घाम मन पर्छ
रातो कलम मन पर्छ
रातो किताब मन पर्छ
रातो झन्डा मन पर्छ
मेरो घर पनि रातै छ
तिमीले यसरी हेरेपछि
मेरो घर अझै रातो हुन सक्छ
साँच्चै मलाई अप्ठ्यारो पर्न सक्छ
बिन्ती ! यसो नगर ।