विश्वास रेग्मी
योजनाअनुसार नै काम अगाडि बढेमा अबको ६ महिनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग देशकै एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको परिचय हुनेछैन । अबको एक महिनाभित्र निर्माण सम्पन्न हुने भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्थापित हुनेछ । त्यतिमात्र होइन, सरकारले सञ्चालनमा ल्याएका २२ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये पहिलोपटक पूरा हुने आयोजनाको परिचय पनि भैरहवासँग जोडिनेछ । उता तोकिएकै मितिमा निर्माण पूरा गरेर उदाहरणीय आयोजना बनाउने उद्देश्यसाथ पोखरामा पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम धमाधम हुँदैछ । पृष्ठभूमिमा अग्ला हिमाल देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनले ग्रहण गरेको आकारले धेरैलाई लोभ्याउन थालिसकेको छ ।
उच्च हवाई चापका कारण कोभिड अगाडि आफ्नो अधिक सामथ्र्यमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई अब यी निर्माणाधीन दुई अन्तर्राष्ट्रिय विमानस्थलले भरथेग गर्नेछन् । दशकौंदेखि नेपालीलाई विदेशसँग र विदेशीलाई नेपालसँग जोड्ने एकमात्र सेतु बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प बन्ने अपेक्षा पनि गरिएको छ यी दुई विमानस्थलबाट । विदेश पुग्न काठमाडौँमै आउनुपर्ने अनि विदेशीलाई पनि काठमाडौँमै ओर्लिएर बल्ल बाहिर जानुपर्ने बाध्यताको व्यावहारिक समाधान पनि दिनेछन् पोखरा र भैरहवाले । अन्तर्राष्ट्रिय विमानस्थलको केन्द्रीकृत संरचना विकेन्द्रित बनाउन पनि यसको भूमिका रहनेछ । साँचो अर्थमा हवाई सेवामा सङ्घीयताको अभ्यास पनि हुनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि यतिबेला आफ्नो स्वरुप परिवर्तन गरेर नयाँ तरिकाबाट सेवा दिन तयार भइसकेको छ । चार दशकपछि फेरिएको धावनमार्गको कालोपत्रेदेखि प्रस्थान र आगमन कक्षतर्फ अत्याधुनिक साजसज्जासहित गरिएको व्यापक सुधारले अन्तर्राष्ट्रिय विमानस्थलको साख बढाएको मात्र छैन, यात्रु व्यवस्थापनमा थप सहज भएको छ । अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा बाधक बनेको कोभिडपछिको सामान्य अवस्थामा थप दुईसहित तीनवटा विमानस्थल विदेशी पर्यटक स्वागत गर्न तम्तयार हुनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अत्यन्त प्राथमिकतामा परेका आयोजना भएका कारण पनि यी दुई आयोजनाले पछिल्लो समय परिणाम देखाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्प दिने गरी तयार भइरहेका यी विमानस्थल निर्माणको कथा भने बेग्लै छ ।
झण्डै नबनेको गौतमबुद्ध विमानस्थल
आन्तरिक उडानका लागि प्रयोग भइरहेको भैरहवा विमानस्थललाई विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सम्झौता भएको १२ बर्ष बितिसकेको छ । यसबीचमा विमानस्थल निर्माणको कामले निकै उतारचढाव लियो । कुनै समय यस्तो पनि आएको थियो, विमानस्थल निर्माणको मुख्य ठेकेदार र स्थानीय ठेकेदारको बारम्बारको विवादका कारण मुख्य लगानीकर्ता एसियाली विकास बैङ्क(एडीबी)ले यसबाट हात झिकिसकेको थियो । मुख्य ठेकेदार र स्थानीय ठेकेदारको दोषारोपणका बीच लामो समय निर्माण नै ठप्प भएको यो विमानस्थलमा एडीबीलाई फर्काउन तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको महत्वपूर्ण पहल रह्यो । मन्त्रीकै विशेष पहलका कारण गौतमबुद्ध विमानस्थल निर्माणले पछि पुनः गति लियो । यद्यपि विमानस्थल निर्माण सम्पन्न गर्ने सम्झौता अवधि भने बढेको बढ्यै छ । सम्झौताअनुसार अब २० दिनभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
मुआब्जाबाहेक ६ अर्ब ८२ करोड रुपियाँ लागत रहेको यो विमानस्थल २८७ बिघा क्षेत्रफलमा फैलिएको छ । यसबाहेक विमानस्थल दोस्रो चरणमा विस्तार गर्न थप ५ सय बिघा जग्गा अधिग्रहण पनि गरिसकिएको छ । निर्माण सम्पन्न हुने क्रममा रहेको यो विमानस्थलको धावनमार्ग तीन किलोमिटरको छ, जुन काठमाडौं विमानस्थलकै बराबरी हो । अहिले ७२ सिट क्षमताका जहाजमात्र अवतरण गर्न सक्ने यो विमानस्थलमा अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा सञ्चालन भएपछि एयरबस ३२० सम्मका तीन सय सिट क्षमताका जहाजसमेत अवतरण गर्न सक्नेछन् । निर्माण सम्पन्न हुनै लागेको विमानस्थलको नयाँ टर्मिनलले प्रतिघन्टा दुई हजार यात्रुलाई सेवा दिन सक्छ । जुन यसअघि ६ सय यात्रुलाई सेवादिन सक्ने क्षमताको मात्र थियो । यस हिसाबले यो विमानस्थलले दैनिक १६ हजार र वार्षिक ६० लाखसम्म यात्रुलाई सेवा दिन सक्छ ।
‘फोर ई क्याटेगोरी’को यो विमानस्थलमा आठ तलाको ‘कन्ट्रोल टावर’ निर्माण गरिएको छ । अहिले त्यही ‘कन्ट्रोल टावर’मा उपकरण जडानका काम भइरहेका छन् । हाल पहिलो चरणको काम भइरहेको यो विमानस्थललाई दोस्रो चरणमा पनि विस्तार गर्ने योजना छ । त्यसरी विस्तार गर्दा अहिले निर्माण भएको धावनमार्गलाई ट्याक्सी ‘वे’का रुपमा प्रयोग गर्ने रणनीति बनाइएको छ । काठमाडौं विमानस्थलमा अत्यधिक ट्राफिक जाम हुँदा अथवा कुनै विपद्को समयमा अवतरण गर्न नसकेर आकाशमै होल्ड हुनुपर्ने समस्या यो विमानस्थलको निर्माणपछि समाधान हुने अपेक्षा गरिएको छ ।
भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुको मुख्य उद्देश्य विदेशी पर्यटकलाई सिधै लुम्बिनीसँग जोड्नु हो । काठमाडौं ओर्लिएर लुम्बिनी जानुपर्ने बाध्यता यो विमानस्थल सञ्चालनपछि हट्नेछ । खासगरी बुद्ध धर्मावलम्बी रहेका देशका पर्यटकलाई गौतम बुद्धको जन्मस्थलसम्म सहजै पहुँच पु¥याउन यो विमानस्थल एकदमै सहयोगी हुनेछ । विमानस्थल सञ्चालनपछि म्यानमार, श्रीलङ्का, मङ्गोलिया, भियतनामलगायतका देशबाट यो विमानस्थलमा सिधा उडान हुनसक्ने अपेक्षा गरिएको छ ।
भैरहवा विमानस्थल निर्माणपछि यसको सञ्चालन महत्वपूर्ण हुनेछ । विमानस्थल सञ्चालनका लागि कतिपय मुलुकले इच्छा देखाए पनि टुङ्गो लागिसकेको छैन । यद्यपि सरकारले आफैँ भए पनि विमानस्थल सञ्चालन गर्ने प्रष्ट पारिसकेको छ । निर्माण सम्पन्न भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट परीक्षणका लागि अन्तर्राष्ट्रिय उडान हुनेछन् । विमानस्थलले त्यसपछि व्यावसायिक उडानका लागि विदेशी हवाई कम्पनीहरुलाई आह्वान गर्नेछ । यो सबै प्रक्रियाका लागि करिब दुई महिना लाग्ने अनुमान गरिएको छ । त्यसपछि व्यावसायिक रुपमै यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि करिब ४५ मिनेटमै लुम्बिनी पुग्न सकिन्छ ।
चार दशकपछि पूरा हुँदै सपना
नेपालकै प्रमुख पर्यटककीय गन्तव्य पोखरा अब आफैँ सोझै विदेशसँग जोडिने तर्खरमा छ । त्यसो त पोखरामा क्षेत्रीय स्तरको विमानस्थल निर्माण गर्ने योजना ४५ वर्ष अगाडिकै हो । २०३२ सालदेखि नै यही उद्देश्यका लागि जग्गा अधिग्रहण सुरु गरिए पनि चार दशकपछि मात्र त्यो काम पूरा भयो । जग्गा अधिग्रणपछि पोखरामा निर्माण गर्ने विमानस्थल क्षेत्रीयमात्र नभएर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवधारणामा अगाडि बढ्यो । सन् २०१२ मा विश्वव्यापी बोलपत्र आह्वान गरे पनि सन् २०१४ मा चीनको सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता भयो । मुआब्जासहित २२ अर्ब रुपियाँ लगानी अनुमान गरिएको यो विमानस्थलका लागि सरकारले लगानी जुटाउने प्रयासस्वरुप चीनको एक्जिम बैङ्कसँग सम्झौता गर्यो ।
बैङ्कसँगको सम्झौताका कतिपय प्रावधानमा पछि मात्र नेपालले असहमति दर्ज गरेपछि केही समय त्यसको संशोधन प्रक्रियामै अल्झियो । यो सबै प्रक्रिया सकिएपछि सन् २०१७ जुलाई ११ मा प्राधिकरणले सम्झौता पाएको चिनियाँ कम्पनीलाई निर्माणको कार्यादेश दियो । त्यतिबेलै चार वर्षभित्र अर्थात् आगामी जुलाई १० मा सम्पन्न गर्ने निर्देशन प्राधिकरणले दिएको थियो । यतिबेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यही समयसीमाभित्र निर्माण सम्पन्न गरेर उदाहरणीय गौरवको आयोजनाका रुपमा स्थापित हुने गरी धमाधम काम हुँदैछ । कोरोना सङ्क्रमणका कारण केही समय निर्माणको काम रोेकिए पनि अहिले फेरि विस्तारै लयमा फर्किंदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण यो आयोजना अझै पनि तोकिएकै समयमा सम्पन्न गर्ने प्रतिबद्धताका साथ अगाडि बढिरहेको छ ।
पोखराको छिन्नेडाँडामा रहेको यो विमानस्थल तीनहजार १०६ रोपनी क्षेत्रफलमा फैलिएको छ । विमानस्थललाई १० मिटर चौडाइसहितको चक्रपथले घेरेको छ । ६३ प्रतिशत भौतिक प्रगति भइसकेको यो विमानस्थल आइकाओ मापदण्डअनुसार ‘फोरडी’ स्तरको हुनेछ । दुई हजार पाँच सय मिटरको विमानस्थलको धावनमार्ग पूर्णरुपमा ढलान गरिएको छ । १४ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको यो विमानस्थलको टर्मिनल निकै आकर्षक बनेको छ । यसमध्ये १० हजार वर्गमिटर क्षेत्रफलमा अन्तर्राष्ट्रिय टर्मिनल हुनेछ, बाँकी आन्तरिकतर्फको टर्मिनल हुनेछ । भैरहवाको तुलनामा यो विमानस्थलको क्षमता भने केही कम नै छ । यो विमानस्थलमा दुई सय सिट क्षमताका जहाजमात्र अवतरण गर्न सक्नेछन् । विमानस्थलमा नेपालमै पहिलोपटक ‘बोर्डिङ ब्रिज’को प्रयोग गरिँदैछ । अर्थात् यात्रुहरुले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जस्तो बोर्डिङ पास भएपछि बसमा चढेर जहाजसम्म पुग्नुपर्ने छैन । बोर्डिङपछि जहाजसम्मै जोडिने ‘ब्रिज’बाट यात्रुले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रयोग गर्न पाउनेछन् । विमानस्थलको निर्माणपछि खासगरी भारत र चीनसहित मलेसिया, सिङ्गापुर, थाइल्यान्ड जस्ता देशबाट सिधै उडान हुनसक्नेछ । निर्माण सम्पन्न भए पनि सन् २०२२ को जनवरीसम्म सञ्चालनमा ल्याउने उद्देश्य राखिएको छ ।
भैरहवा र पोखरामा क्षेत्रीय स्तरकै भए पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा त्यसको लाभ नेपालीले मात्र लिने छैनन्, लुम्बिनी र पोखरालाई केन्द्रमा राखेर घुम्न आउने जोकोहीलाई यी सहयोगी हुनेछन् । तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भएको गर्व नेपालसँग हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्रै बोक्दै आएको हवाई यात्रुको भारी बिसाउने ठाउँ पनि हुनेछ, अझ व्यवस्थित हुनेछ नेपालको हवाई उडान अनि सुरक्षित पनि ।