logo
२०८१ मंसिर ८ शनिवार



चुरे संरक्षणको मुद्दा

शनिवार |


चुरे संरक्षणको मुद्दा


लक्ष्मीप्रसाद उपाध्याय

विश्वका अरू मुलुकमा लोप भइसकेका र सङ्कटापन्न अवस्थामा रहेका वन, वनस्पति तथा वन्यजन्तुका लागि नेपाल अझै सुरक्षित मानिन्छ । एकसिङे गैँडा, पाटे बाघ, हात्ती, हिउँ चितुवा, रेडपाण्डा, स्वच्छ पानीमा पाइने डल्फिन तथा गोही लगायत विभिन्न प्रजातिका वन्यजन्तु, यार्सागुम्बा, पाँचऔँले, जटामसीजस्ता वनस्पति तथा दर्जनाँै दुर्लभ पक्षीहरू नेपालमा अझै पनि पाइन्छ । तराई, पहाड र हिमालको फरक भौगोलिक विविधतामा फरक जैविक विविधता पाइनु नै नेपालको विशेषता हो । त्यसमा पनि चुरे पर्वत शृङ्खला नेपालमा पर्नु अर्काे थप विशेषता हो । सबैभन्दा कान्छो पहाड चुरेको अधिकांश भूभाग नेपालमा पर्छ । यस भू–भागलाई शिवालिक क्षेत्र पनि भनिन्छ ।
चुरेको दोहन भयो, यसको संरक्षण गर्नुप¥यो भन्ने बहस बेलाबेला उठ्ने गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा ‘वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा खानिजजन्य ढुङ्गा, गिट्टी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनीकरण गरिने छ । निकासी गरिने खानिजजन्य निर्माण सामग्रीको परिवहनका लागि उद्योगदेखि निकासी विन्दुसम्म रोपवेको निर्माण गर्न आयातमा लाग्ने भन्सार महसुल छुट दिइने छ’ भनी उल्लेख भएपछि यो मुद्दा फेरि सतहमा आएको छ । चुरे प्रतिकुल हुने गरी कुनै कार्य नहुने, खानी विभागले पहिचान गरेका स्थानबाट वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा मात्रै खानी उत्खनन् गर्ने भनेर सरकारले स्पष्ट पारिसकेको छ । यस आधारमा पनि चुरेको महत्व कति छ भनेर बुभ्mन सकिन्छ । चुरे तराई र पहाडको एक अभिन्न अङ्गको रूपमा उभिएको छ ।

के हो चुरे ?
चुरेको भौगोलिक अवस्था हेर्दा यो पहाड पछिल्लो अवस्थामा निर्माण भएको हो । यसलाई करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड मानिन्छ । भूगर्भमा पर्याप्त ताप र चाप नपुगेका निकै कमलो, नरम, सजिलै बग्न सक्ने कमजोर पत्रे चट्टान, बलौटे चट्टान, रातो माटो, मसिनो बलौटे सम्मिश्रणले यसका तहहरू निर्माण भएका छन् । हावाले समेत उडाउने कमजोर माटोको सतह भएको यो भूभागको माटो, ढुङ्गा, बालुवा हरेक वर्ष क्षय हुने क्रममा छ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ३६ जिल्लामा पर्ने यो क्षेत्र करिब ८०० किलोमिटरमा पैmलिएको छ । उत्तर दक्षिणको पैmलावट भने थोरै छ । उत्तर दक्षिण चौडाइ १० किलोमिटरदेखि ५० किलोमिटरसम्म रहेको छ । चुरेले पहाड र तराईलाई जोड्ने सेतुको रूपमा काम गरेको छ ।
चुरे क्षेत्रमा मात्रै कम्तीमा ५० लाखभन्दा बढी मानिसको बसोवास छ । सडक, खानेपानी, बिजुलीलगायत भौतिक पूर्वाधारको विकास र हावापानी राम्रो भएकाले धेरैले आवासका लागि यही क्षेत्र रोज्छन् । चुरेको बस्ती पनि नयाँ हो । पछिल्लो चरणमा बसाइँ सराइको दर तराईपछि चुरेमा बढी हुने गरेको छ । उत्तर दक्षिण जोड्ने राजमार्ग निर्माण सँगै कतिपय स्थानमा ससाना बजारको विकास भएका छन् भने चुरेलाई खनी खोस्रेर जीवन गुजारा चलाउनेको सङ्ख्या पनि बढी रहेको छ । तराई झर्न पनि सहज हुने र पहाड उक्लन पनि नजिक पर्ने भएकाले श्रम गरेर खाने वर्गका लागि चुरे आँखामा परेको छ । चुरेमा फलफूल, तरकारी, पशुपालनको उत्पादन पनि राम्रो हुन्छ । यसले नेपालको आर्थिक विकासमा टेवा पु¥याउँदै आएको छ । तराईका सहर बजारदेखि विदेश निर्यात हुने अम्रिसो, अदुवा, चिया, कफी, फलफूल लगायतका उत्पादन हुने क्षेत्र पनि यही हो ।
चुरेलाई तराई र पहाड जोड्ने मेरुदण्ड पनि भनिन्छ । यसले तराईमा हुने सम्भावित विपद्लाई रोक्ने गरेको छ । पहाडबाट बग्ने बाढी, पहिरोको रोकथाम गर्दै तराईको उर्वरभूमि जोगाउन सुरक्षा कवचको काम चुरेले गर्दै आएको छ । २०६८ सालको जनगणनाअनुसार तराई र चुरेमा गरी झण्डै एक करोड ४५ लाखभन्दा बढी जनसङ्ख्या रहेको छ । उच्च हिमाली क्षेत्रबाट बग्ने ठूला हिमनदी र पहाडबाट बग्ने साना नदीको बहावलाई नियन्त्रण गर्ने र बगाएर ल्याएको ढुङ्गा, काठपात तथा अन्य गेग्रानलाई चुरेका खोँचले रोक्ने काम गरेको छ ।
तराई उर्वरभूमि हो । तराईमा उत्पादित खाद्यान्नले पहाड र हिमालसम्मको खाद्यान्न सुरक्षाको केही हदसम्म ग्यारेन्टी गर्दै आएको छ । तराईलाई चाहिने पानी भूमिगत रूपमा प्रवाह गर्ने क्षेत्र चुरे हो । चुरेमा मूल छन् । जुन तराईका लागि भूमिगत जलभण्डारका प्रमुख स्रोत हुन् । बर्खाको पानी चुरे तथा भावरले सोस्छ र तराईका लागि भण्डारणको काम गर्छ । चुरेको जुन क्षेत्रमा वनजङ्गल नासिँदै गएको छ, त्यस क्षेत्रको तल्लो भाग तराईमा भूमिगत पानीको सतह पनि घट्दै गएको विभिन्न अध्ययनले देखाएको छ । त्यसैले पछिल्लो चरणमा चुरेमा पानी पोखरी निर्माण गर्ने र पानीको स्रोतलाई संरक्षण गर्ने काम भइरहेको छ ।
चुरेमा वन, वनस्पति र वन्यजन्तु छन् । तराईको उष्ण हावापानीदेखि लिएर पहाडको शीतोष्ण हावापानीको बीचमा हुने वन, वनस्पति र वन्यजन्तुका लागि यो क्षेत्र स्वर्ग मानिन्छ । चुरे वन्यजन्तुका लागि चरिचरन र हिँडडुल गर्ने करिडोर पनि हो । नेपालमा पाइने १ हजार ९१८ प्रजातिका वन्यजन्तुमध्ये एक हजार ३०८ प्रजातिका वन्यजन्तुको आश्रय स्थल त चुरे नै हो । तीमध्ये विश्वमै सङ्कटमा परेका ३१९ प्रजाति वन्यजन्तु र वनस्पति चुरेले संरक्षण गरेर राखेको छ । केही समय अघि डडेल्धुराको चुरे क्षेत्र र इलामको चुरेको चुचुरोमा पाटे बाघ विचरण गरेको देखिएको छ । कोसी टप्पुबाट उदयपुर, सिन्धुलीको चुरे क्षेत्र हुँदै जङ्गली हात्ती पर्सा तथा चितवन राष्ट्रिय निकुञ्जसम्म विचरण गर्न आउँछन् ।
अर्काे कुरा चुरे क्षेत्र समेटिएर नेपालको पाँच वटा निकुञ्ज तथा कोसी टप्पु वन्यजन्तु आरक्ष स्थापना भएका छन् । चुरे आफैँमा जैविक विविधताको बाक्लो उपस्थिति भएको ठाउँ हो भने चुरेका कारणले विश्वमै लोप हुने अवस्थामा पुगेको जैविक विविधताको संरक्षण भएको छ ।
प्राकृतिक स्रोतको उपलब्धताअनुसार विश्वमा मानव सभ्यता तथा संस्कृति विकास भएको पाइन्छ । चुरेले पनि यो अवसर उपलब्ध गराएको छ । नेपालका धेरै आदिवासी जनजातिको सभ्यता, धर्म, संस्कारको मूल आधार चुरेको प्राकृतिक स्रोत नै हो । धेरैजसो जातजातिको पहिचान, अस्तित्व, जीवनशैली तथा व्यवहार चुरेमा आधारित छ । डडेल्धुराका जोगबुडामा भेटिएको मानव सभ्यताको अवशेष, पाल्पाको दोभान क्षेत्रमा भेटिएको मानव सभ्यताको विकासका अवशेष, सुनसरीको बिष्णुपादुका, मकवानपुरेको चुरीयामाई, चितवनको चुरे क्षेत्रमा भेटिएका आदिम मानव समाजका घर, वैदिक तथा रामाणयणकालीन भग्नावशेषले यो क्षेत्र मानव सभ्यताको सुन्दर भूमि भएको स्पष्ट बुझ्न सकिन्छ ।
चुरेका अधिकांश डाँडामा यातायातको पहुँच पुगेको छ । गर्मी याममा चिसो बतासका लागि होस् कि जाडोमा घामका लागि होस्, सबै मौसम र ऋतुमा लोभलाग्दो भूगोल हा चुरे । रमणीय दृश्यावलोकन सहितको वातावरणीय स्वच्छताको बीचमा खुलेका सुविधासम्पन्न होटल, रेस्टुरेन्टले नेपालको पर्यटन विकासमा ठूलो टेवा पु¥याइरहेको छ । चुरे भएर कलकल बग्ने खोला अनि अलौकिक भूदृश्यले नेपाल भित्रिने पर्यटकको रोजाइ पनि यही क्षेत्र पर्ने गरेको छ । नेपालका अधिकांश होमस्टेहरू पनि चुरे क्षेत्रमा छन् भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सदावहार चल्ने पर्यटकीय स्थलहरू पनि चुरे क्षेत्रमै छन् । चुरे क्षेत्रको प्राकृतिक सम्पदामा आधारित भएर नेपालमा अर्बाैं रुपियाँको पर्यटकीय क्षेत्रमा लगानी भएको छ ।
चुरे क्षेत्र तराई र पहाड जोड्ने कसी (नट बोल्ट) हो । त्यसैले नेपालको यातायातको विकास तथा पूर्वाधार लगायतका विकासमा पनि यो क्षेत्रको भूमिका ठूलो छ । चुरेलाई छिचोलेर सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने सबै प्रदेश र जिल्लाको सदरमुकामबाट सडक निर्माण भएका छन् । जलविद्युत् गृहदेखि लिएर बिजुली राजमार्ग (प्रसारण लाइन) को निर्माण पनि चुरेमा विस्तार भएको छ । नहर, कुलो, ससाना पुलपुलेसाहरूको क्षेत्र पनि चुरे बनेको छ ।

चुरे संरक्षणका प्रयास
नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक विकास र धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्तै महŒवपूर्ण मानिएको चुरे क्षेत्रमा विभिन्न राजनीतिक परिवर्तनका घटना हुने समयमा एकोहोरो दोहन गर्ने प्रवृत्ति छ । चुरेको अधीक दोहनसँगै भूक्षय, बाढी पहिरोको कारण तराईमा डुबान समस्या देखिन थालेपछि सरकारले २०६६ सालदेखि चुरे संरक्षण कार्यक्रम सुरु गरेको हो । चोरीशिकार, ढुङ्गा, गिट्टी, बालुवाको अवैध कारोबार नरोकिएपछि सरकारले चुरे क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गर्दै २०७१ सालमा चुरेदेखि लिएर तराईसम्म काम गर्न राष्ट्रपति तराई चुरे संरक्षण विकास समिति गठन गरेको हो । फलस्वरूप चुरे व्यवस्थापनका लागि २० वर्षे गुरुयोजना निर्माण भइसकेको छ भने जलाधार क्षेत्रमा आधारित रहेर चुरेको गुरुयोजनाअनुसार काम भइरहेको छ ।
चुरे संरक्षणका काम एक्लो निकायले गर्न नसकिने देखिएको छ । अन्तरसम्बन्धित विषय भएकाले यसको संरक्षणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रको समन्वयमा प्रभावकारी काम हुनु जरुरी छ । माटो अनुसारको फलफूल, तरकारी तथा अन्य नगदेबाली र पशुपालन लगायतको व्यावसायिक कृषि प्रणाली विकास गर्न कृषि विकास मन्त्रालय, सिँचाइ, कुलो निर्माणका लागि सिँचाइ मन्त्रालय, ऊर्जाको विकासका लागि ऊर्जा मन्त्रालय, बाढी पहिरो नियन्त्रणका लागि जलउत्पन्न प्रकोप नियन्त्रण विभाग, सडक, पुलपुलेसा निर्माणका लागि सडक विभाग र वातावरणीय अध्ययन अनुसन्धानका लागि वन तथा वातावरण मन्त्रालयको सहकार्य र समन्वय हुनु जरुरी छ । चुरे क्षेत्रको जलस्रोत, भू–उपयोग, वन तथा वातावरण, भू तथा जलाधारको संरक्षण गर्न सरकारी निकायको भूमिका र सक्रियता जति छ, त्यति नै स्थानीय समुदायको पनि छ ।
समिति गठन भएयता हालसम्म झण्डै १० अर्ब रुपियाँ चुरे संरक्षणका लागि खर्च भइसकेको छ । हाल नदी जलाधार क्षेत्रका आधारमा चुरे संरक्षणका कामहरू भइरहेका छन् । गुरुयोजना अनुसार काम हुनका लागि सरोकारवाला सबै निकाय र समुदायको सक्रिय सहभागिता हुन सके चुरेलाई हराभरा बनाई चुरेभित्रको विद्यमान सम्पदाले पनि समृद्ध नेपाल सुखी नेपालीको अभियानमा ठूलो योगदान दिन सक्छ ।


चुरेमा अनावश्यक हस्तक्षेप सह्य हुँदैन

डा. किरण पौडेल, अध्यक्ष,
राष्ट्रपति चुरे तराई संरक्षण विकास समिति

चुरे यो मुलुकको संवेदनशील भूभाग हो । चुरेलाई जथाभावी चलायौँ भने चुरेमा रहेका ५० लाखभन्दा बढी जनसङ्ख्या त जोखिममा पर्छ नै । त्यसका अतिरिक्त तराईको उर्वरभूमि, त्यहाँका सहर, बस्ती अनि सबै भौतिक पूर्वाधार नास हुनेछ । चुरे नेपालको भाग्य र भविष्यसँग जोडिएको अति महŒवपूर्ण भूमि हो । यसको उचित संरक्षण गर्न सके तराईमा बस्नेदेखि पहाड र हिमालमा बस्ने सबैलाई लाभदायी हुनसक्छ । त्यसैले चुरेमा हुने अवाञ्छित गतिविधि कुनै पनि हालतमा सह्य र स्वीकार्य हुनै सक्दैन ।


चुरे चलाउनु भनेको तराई मास्न खोज्नु हो

मनबहादुर खड्का,
महानिर्देशक,
वन तथा भूसंरक्षण विभाग

चुरेलाई सामान्य आँखाले हेर्नु हुँदैन । चुरे अहिलेसम्म जोगिएकाले यसको ताण्डव रूप हामीले देख्न सकेका छैनौँ । यदि चुरे भत्किन, स्खलित हुन र बग्न सुरु भयो भने तराईको भूमि मात्र होइन, हाम्रा सहर, बजार, सडकलगायतका अन्य सबै पूर्वाधार ढाकिने छन् । उर्वरभूमि मरुभूमि हुनेछ । अहिलेकै अवस्था त कति पीडा हामीले भोगिरहेका छौँ । त्यसैले भविष्यमा पछुताउनुभन्दा चुरेको संरक्षण गरेर हामीले तराई, पहाड र हिमालको विद्यमान बस्ती, पूर्वाधार तथा अरू सम्पदा जोगाउन सक्छौँ । अन्यथा पछुताउनुबाहेक हामीसँग केही हुँदैन । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?