logo
२०८० चैत्र १५ बिहीवार

  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल  



बाैद्ध धर्मावलम्बी बाहुल्य देशबाट उडानकाे चासाे, धार्मिक पर्यटक बढ्ने

पर्यटन |


बाैद्ध धर्मावलम्बी बाहुल्य देशबाट उडानकाे चासाे, धार्मिक पर्यटक बढ्ने


काठमाडौं, चैत १३ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि नेपालमा धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुनसक्ने देखिएको छ । बौद्धधर्म मान्ने देशहरुबाट उक्त विमानस्थलमा सिधा उडान गर्ने चासो बढेसँगै लुम्बिनी क्षेत्रमा धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने व्यवसायीहरुले जनाएका छन् ।

हालसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं र नेपाल भारत सीमा सुनौली नाका हुँदै लुम्विनी क्षेत्रका लागि धार्मिक पर्यटक नेपाल प्रवेश हुँदै आएको थियो । तर सिङ्गापुर, मलेसिया, थाइल्याल्ड, श्रीलङ्का, माल्दिभ्स, बर्मालगायतका देशबाट विमानस्थलमा सिधा उडान गर्ने इच्छा देखाएसँगै पर्यटकको सङ्ख्यामा वृद्धि हुने भएको पर्यटन व्यवसायी टीकाराम गुरुङले बताउनुभयो । हिजोको अवस्थाभन्दा जहाजको सिधा उडानपछि बौद्धधर्मावलम्बी रहेको देश र अन्य देशबाट गरी ३० प्रतिशतभन्दा बढीले पर्यटकको सङ्ख्यामा वृद्धि हुनसक्ने उहाँले बताउनभुयो ।

कोरोना भाइरस (कोभिड–१९) महामारीले प्रभावित बनेको पर्यटन क्षेत्रसँगै धार्मिक पर्यटन क्षेत्रमा पनि प्रभाव पारेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२२ जनवरीमा गत वर्षको तुलनामा धार्मिक पर्यटक दोब्बरले कमी आएको छ । लुम्बिनीको दर्शनमा आउने बुद्ध धर्मावलम्बी रहेको देशबाट गतवर्षको जनवरीमा दुई हजार १६७ रहे पनि यस वर्षको जनवरीमा भने एक हजार २२७ जना मात्र आगमन भएको छ ।

हाल कुवेतको जजिरा एयरलाइन्सले गौतमबुद्ध विमान स्थलमा उडान गर्न अनुमति माग गरेको र बाँकी वायुसेवा कम्पनीहरु अध्ययनको क्रममा रहेकाले सार्क मुलुक र एसियाली मुलुकबाट उडानका प्रस्तावहरु आउने तयारी भएको बुझिएको नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । उडान सेवा विस्तारसँगै पर्यटन प्रवर्धन हुने तर होटल लगायतका अन्य व्यवस्थापनमा समेत राज्यले तयारी शुरु गर्नु जरुरी भएको उहाँको सुझाव छ । हाल लुम्बिनी क्षेत्रमा भारतीय पर्यटक, तेस्रो मुलुकका पर्यटक र धार्मिक पर्यटक आउने गरेका छन् ।
यता लुम्बिनी क्षेत्रमा १४६ वटा होटल रहेको र पाँच हजार पर्यटक अटाउन सक्ने क्षमता रहेको होटल एसोसिएसन नेपाल भैरहवा शाखाका अध्यक्ष सिपी श्रेष्ठले जानकारी दिनुभयो । पर्यटन प्रवर्धनसँगै होटल एसोसिएसनले दुई वर्षभित्र तीन हजार पाँच सय कोठा विस्तार गरी सात हजार पर्यटक अटाउने गरी तयारी शुरु गरेको समेत उहाँले जानकारी दिनुभयो । सरकारले विमानस्थल निर्माणसँगै थप सार्क मुलुक र अन्य देशमा सिधा उडानका लागि पहल गरी प्रवर्धनात्मक काम अघि बढाउनुपर्ने उहाँको सुझाव छ ।
अध्यागमन विभागको तथ्याङ्क अनुसार पछिल्लो दुई वर्ष यता लुम्बिनी क्षेत्रको दर्शनमा आउने धार्मिक पर्यटक आगमन न्यून  छ । सन् २०२२ जनवरीमा गत वर्षको तुलनामा दोब्बरले पर्यटकको सङ्ख्या वृद्धि भए पनि धार्मिक पर्यटकको सङ्ख्या भने वृद्धि हुनसकेको थिएन । मुख्य गरी बुद्धजन्मस्थल लुम्विनी आउने भूटान, श्रीलङ्का, म्यानमार, जापन, मलेसिया, सिङ्गापुर, ताइवान, साउथकोरिया, थाङल्याण्ड लगायतका देशबाट आउने पर्यटकको सङ्ख्या करिब शून्य जस्तै भएको तथ्याङ्कले देखाएको छ । प्रभावकारी प्रचारप्रसारको अभाव र आकर्षक प्याकेजका कार्यक्रम गर्न नसक्दा ती देशबाट पर्यटकको आगमन हुन नसकेको पर्यटन व्यवसायी वाङछु शेर्पाले बताउनुभयो तर सिधा उडान शुचारु भएसँगै पर्यटक सङ्ख्यामा वृद्धि हुन सक्ने उहाँ बताउनुहुन्छ । लुम्बिनी क्षेत्रमा पर्यटक आगमनका लागि प्रशस्त सम्भावना रहेकाले प्रभावकारी कार्यक्रमहरु ल्याउनुपर्ने उहाँको सुझाव छ ।

वार्षिक रुपमा धार्मिक तीर्थालु पर्यटक आगमनमा कमी आएपछि लुम्बिनी विकास कोषले ट्राभल मार्ट सञ्चालन लगायतका प्रचारप्रसारका कार्यक्रमलाई तीव्रता दिएको कोषका सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो । कोभिड सङ्क्रमणमा कमी आएसँगै कोषले पनि नयाँ योजना तय गरेर पर्यटक आगमनलाई सुधार गर्ने तयारीमा जुटेको शाक्यले बताउनुभयो । बुद्धधर्म मान्ने सार्क राष्ट्र अन्तर्गत रहेका देश र एसियाका देशबाट एक प्रतिशतसम्म पनि पर्यटक आगमन हुनसकेको छैन । तथ्याङ्क अनुसार भारत पछि अमेरिका र बेलायतबाट नेपाल आउने पर्यटकको सङ्ख्या बढी  छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?