यलु जोशी
ललितपुर, भदौ १८ गते । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा सहभागी हुनुभएका ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनका अनुसार, १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत र्हेर्ने र २६ गते मूर्ति बुङ्मतीमा पुर्याएर मन्दिरमा विराजमान गराउने कार्यक्रम रहेको छ ।
बैठकमा सङ्घीय सांसद पम्फा भुषाल, प्रदेश राजकाजी महर्जन, कृष्णलाल महर्जन, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनलगायत अन्य पदाधिकारी, गुठी संस्थानका पदाधिकारीको उपस्थिति थियो । यसैगरी, बैठकमा रातो मछिन्द्रनाथको जात्रामा प्रत्यक्ष सहभागी हुने १९ वटा सङ्घसंस्थाका प्रतिनिधिको समेत सहभागिता थियो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले छोटो कार्यविधि गरी जात्रा मनाउने कुरा भएको जानकारी दिनुभयो ।
याे पनि पढ्नुहाेस्
तस्बिरमा तनावबीच रातो मच्छिन्द्रनाथकाे रथ जात्रा
ललितपुरमा रहेका १९ जातीय समुदाय र राजनीतिक दलका प्रतिनिधि कसैलाई पनि ती युवा सडकमा उत्रिएर रथयात्रा गर्न खोज्ने विषयमा जानकारी नभएको प्रजिअ भट्टको भनाइ छ ।
उहाँले जातीय समूह, ३१ जना पुजारीहरू, खलः पुच, ज्यापू महागुठी, राजनीतिक दलहरू दिउँसोको घटनालाई लिएर खेद व्यक्त गर्नुभएको बताउनुभयो ।
यसैगरी, गुठी संस्थानका प्रवत्ता सरोज थपलिया सरोकारवालाहरू पुजारीको अध्यक्ष, बाराहीको नाइके, रथ निर्माण गर्नेउहाँहरूलाई बोलाएर यस्तो परिस्थतिमा कसरी जाने छलफल गर्न बोलाएको हो । उहाँले भन्नुभयो, गुठी संस्थानले गर्ने भनेको पर्व पूजाहरू, रथ निर्माणहरु गर्दा आवश्यक सामाग्रीहरू दिने हो जुन संस्थानको दायित्व हो ।
थपलियाले थप्नुभयो, निषेधज्ञामा नित्य पूजाबाहेक अरु कुनै पनि धार्मिक कार्यहरू नगर्ने भन्ने उल्लेख भएको छ । यस्तो अवस्थामा रथ तान्नुपर्छ भन्न मिल्दैन । छोटो विधिबाट रथको कार्यविधि सम्पन्न गर्ने कुरा छ ।
याे पनि पढ्नुहाेस्
ललितपुरमा शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु
असोज २ गते अधिकमास सुरु हुन्छ त्यो भन्दा चार दिनअगाडि बुङ्गमतिमा पुगिसक्नुपर्छ भन्ने सरोकारवालाको भनाइ छ । किनभने असोज मसान्तसम्म कुनै पनि साइत ननिस्कने भएकोले अधिकमास सुरु हुनुभन्दा पहिले नै बुङ्गमति पुर्याउनुपर्ने हुन्छ ।
वरिष्ठ प्रहरी उपरीक्षक टेकप्रसाद राईले जबरजस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी हटाएको जानकारी दिनुभयो ।
उहाँले संस्कृतिको कुरा भएर हामीले पनि पूरा संयमताका साथ गरेको जानकारी दिँदै भन्नुभयो, नौ जनालाई नियन्त्रणमा लिएका छौँ भने चार जना प्रहरी घाइते भएका छन् ।
उहाँले २२ वटा अश्रुग्यास प्रयोग गरेको र स्थानीयभन्दा पनि बाहिरको मान्छेहरू आएर संस्कृतिमाथि चोट पुर्याएको जानकारी दिनुभयो । वृष्टिदेवको रथयात्रा गर्न आएका मानिसलाई प्रहरीले कोरोना बढ्नेदेखि पुल्चोकबाट हटाएको पुजारी पूर्णराज शाक्यले बताउनुभयो ।
रथयात्राका लागि उपयुक्त साइत रहेको ठानी युवाहरू सडकमा उत्रिएको हुनसक्ने गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । ‘जात्रा रोक्न पाइँदैन, माथिको आदेश चाहिँदैन’, हाम्रो परम्परा हामी अघि बढाउन चाहन्छाैँ’ भन्ने नाराका साथ सैयौँ युवा सडकमा उत्रिएका देखिन्थे । ती युवा सडकमा उत्रिएर करिब २० पाइला रथयात्रासमेत गरेका थिए ।
यसैबीच, नेपाली काँग्रेस संसदीय दलका बालकृष्ण खाणले रथ तान्ने विषयमा स्थानीय र प्रहरीबीच भएको हिंसात्मक झडपको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।