logo
२०८१ बैशाख १७ सोमवार



सलसल र समामा

विचार/दृष्टिकोण |


सलसल र समामा


 

मणिरत्न शाक्य
सलसल र समामा भनेर स्थानीय भाषाले पुकार्ने गरेका अफगानिस्तानस्थित बामियान उपत्यकाको हजरस भन्ने स्थानमा स्थापना गरिएका दुई बुद्धमूर्ति विश्वकै बेजोड नमुना थिए । तर, यी दुई उभिएर रहेका विशाल बुद्धमूर्ति सन् २००१ को मार्चमा मुल्ला महमद ओमार नेतृत्वको तालिवान सरकारले शक्तिशाली बारुद पड्काएर ध्वस्त पारे । २५ दिन लगाएर ध्वस्त पारेको भनिएका यी दुई बुद्धमूर्ति ठूलो सलसल ५५ मिटर अग्लो थियो भने सानो समामा ३८ मिटर थियो ।
स्थानीय भाषामा सलसलको अर्थ विश्वलाई प्रकाश दिने हो भने समामाले मुमा रानी भन्ने बुझाउँछ । हिन्दकुश पर्वतको मध्यभागस्थित बामियान उपत्यकामा रहेका यी दुई मूर्ति अफगानिस्तानको राजधानी काबुलबाट २४० किमि उत्तर–पश्चिमतिर थिए । एसिया र युरोप जोड्ने सिल्करोड (रेशममार्ग) मा अवस्थित बामियान उपत्यका त्यो बेला व्यापारिक तथा धार्मिक केन्द्र रहेको थियो । इस्वी संवत् ६३० मा बामियान भ्रमण गरेका चिनियाँ यात्री झाउझ्याङले उल्लेख गरेअनुसार त्यसताका बामियान हजारौँ भिक्षुहरूको आश्रय स्थल थियो भने त्यहाँ नौवटा गुम्बा थिए । ती गुम्बाहरू बुद्ध र बुद्धको जीवनीसँग जोडिएका विभिन्न रङ्गीन तस्बिरले सजिएको र त्यहाँ थुप्रै बुद्धमूर्तिहरू रहेको बताइएको छ । यी दुई विशाल बुद्धमूर्ति कसले बनाएको भनेर एकिन गर्न नसके पनि उक्त निर्माणकार्यमा नेपालको प्रसिद्ध भूमि कपिलवस्तुका शाक्यहरूको हात रहेको विश्वास गरिएको छ । पाँचौँ शताब्दीतिरको कुरो हो, बुद्धको जीवनकालमा कपिलवस्तु र कोशल राज्यबीच भीषण युद्ध भएको थियो । त्यो बेला आफ्नो जीवनरक्षाका लागि कपिलवस्तुका एक जमात शाक्य राजपरिवार बामियान पुगेको इतिहासमा उल्लेख छ । तिनै शाक्यहरूले बुद्धप्रति श्रद्धा र भक्तिभाव प्रकट गर्दै ती दुई बुद्धमूर्ति बनाएको हुन सक्ने अड्कल गरिएको छ ।
अरब मुलुकमा इस्लाम धर्म सुरु हुनुभन्दा पहिला निर्माण गरिएका अत्यन्त कलात्मक र सुन्दर यी मूर्ति सानोचाहिँ समामा इसं ५०४ र ठूलो सलसल इसं ५५४ मा निर्माण गरेको उल्लेख छ । झाउझ्याङका अनुसार निजको भ्रमणताका उक्त दुई मूर्ति सुनको गहनाले सजिएको थियो । यसै सिलसिलामा बामियानका स्थानीयवासीले आफूले सुनेको भनेर उल्लेख गरेअनुसार बामियानमा यी दुई बुद्धमूर्तिबाहेक अर्काे एउटा विशाल मूर्ति जुन बुद्ध महापरिनिर्वाण बेलाको प्रतिविम्बित हुनेखालको छ, त्यो जमिनमुनि पुरिएर रहेको अवस्थामा छ । र त्यसको उत्खनन् हुन सकिरहेको छैन ।
ध्वस्त पारिएका दुई बुद्धमूर्तिको बनावटलाई दृष्टिगत गर्दा ती मूर्ति सतप्रतिशत स्थानीय रूपमा उपलब्ध हुने माटो, ढुङ्गा, चुन, काठ, डोरी आदिले बनाएको बुझिएको छ । मूर्ति अग्लो हुनाका कारण बुद्धको हात, खुट्टा र वस्त्र अर्थात् चिवरको आकार दिन ठाउँठाउँमा काठको चुकुल बनाई पहाडमा ठोकिएको थियो । तर, बुद्धको सुन्दर अनुहार भने मखुन्डो बनाई जडान गरेको बुझिन्छ । बुद्धमूर्ति ध्वस्त हुँदा जम्मा पारिएका टुक्राले यसको पुष्टि भएको बताइएको छ भने यी टुक्राहरू अहिले पनि सुरक्षितसाथ राखिएको छ । अफगानिस्तानलाई नै विश्वमा चिनाउने यी दुई मूर्ति ध्वस्त नगर्न विश्व समुदायले आग्रह गर्नुको साथै इस्लाम धर्मावलम्बीका एक जमातले यी मूर्तिबाट केही हानि नभएको भनेर अनुरोध गर्दा पनि इस्लाम धर्मसँग सरोकार नभएको भनेर ध्वस्त पारेका थिए । हुन त यी बुद्धमूर्ति ध्वस्त पार्न पहिला पनि धेरैपटक प्रयास भएको इतिहासमा उल्लेख छ । सर्वप्रथम इसं १२२१ मा जेनघिस खानले यी मूर्ति ध्वस्त पार्न खोजेका थिए । उनको प्रयास असफल भएपछि मुगल सम्राट औरंगजेवले भत्काउन खोजेका थिए । उनको प्रयास पनि असफल भएपछि १८औँ शताब्दीमा पर्सियाका वादशाह नादर अफसरले भत्काउन खोजे । त्यो पनि असफल भएपछि अफगानी राजा अब्दुल रहमान खानले मूर्ति भत्काउन नसके पनि मुखावृत्त र पाउ भए पनि बिगार्ने प्रयास गरेका थिए । ती सबै प्रयास बिफल भएपछि पछिल्लोपटक तालिवान नेतृत्वले यी दुई मूर्ति ध्वस्त पारेरै छाड्ने मनसायले निरन्तर प्रयास गरेका थिए । तर, यी दुई मूर्ति ध्वस्त पारेको धेरै दिन नबित्दै तालिवान सरकार सत्ताच्युत भएको थियो ।
युनेस्कोले साँस्कृतिक धरोहर ध्वस्त पार्नु जघन्य अपराध भएको आरोप लगाएको थियो । यसको लगत्तै सन् २००२ को अप्रिलमा अफगानिस्तानमा हमिद करजाईको नेतृत्वमा बनेको अन्तरिम सरकारले बामियानको भ्रमण गरी सहानभूति प्रकट गरेको थियो । र, सन् २००३ मा युनेस्कोले बामियान उपत्यकाको साँस्कृतिक धरोहर विश्व सम्पदाको सूचीमा समावेश गरेको थियो ।
पर्यटकीय दृष्टिकोणले अत्यन्तै मनमोहक र महŒवपूर्ण यस बामियान उपत्यकास्थित ती दुई बुद्धमूर्ति पुनर्निर्माण गर्न अहिले स्वयम् अफगानिस्तान र विश्वका विभिन्न मुलुकले आवाज उठाइरहेको समाचार आएको छ । तर, युनेस्कोले यसलाई इतिहासकै रूपमा राख्नुपर्ने बताउँदै आइरहेको छ । यसै सिलसिला यी दुई मूर्ति ध्वस्त भएको खबरले दुःखी भएका चिनियाँ दम्पती जेन्सन हु र लियान युले पहिला बुद्धमूर्ति भएकै स्थानमा ‘३ दिन लाइट प्रोजेक्सन’ प्रविधिबाट बुद्ध मूर्ति छायाङ्कन गरी अस्थायी रूपमा बुद्धमूर्ति देख्न सक्ने अवस्था बनाएका थिए । सन् २०१५ को जुन ७ मा केही बेरका लागि छायाङ्कन गरिएको उक्त बुद्धमूर्ति त्यसपछि बन्द भएको थियो ।
(लेखक काठमाडौँ विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?