काठमाडौं, पुस ८ गते । सरकारले ९० वर्ष भन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घरमै भत्ता पु-याउने व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षभन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घर घरमै बृद्धभत्ता पु-याउने व्यवस्था गर्ने बताउनुभयो ।
मन्त्री रेग्मीका अनुसार अब छिट्टै यो व्यवस्था लागु गर्न सरकारले कर्मचारीलाई निर्देशन दिनेछ । यो व्यवस्था लागू भएपछि ज्येष्ठ नागरिक भत्ता लिनका लागि स्थानीय तहको कार्यालयमै पुग्नु पर्दैन । अहिले भत्ता वितरण स्थानीय तहले वडा कार्यालयबाट गर्दै आएका छन् ।
उहाँले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने बताउनुभयो । उहाँले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि सिडमा मात्रै निर्भर नेपाल विशेष कानुन निर्माण गरेर विश्वको ध्यान आकर्षित गराउने प्रयत्नमा रहेको बताउनुभयो
महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई हालसम्म १८९ देशले अनुमोदन गरेका मन्त्री रेग्मीले समितिमा जानकारी गराउनुभयो ।