प्रजित शाक्य
हामीकहाँ पुरुषको तुलनामा महिलाहरू हरेक क्षेत्रमा पछाडि परेका छन् भन्ने गुनासो आइरहेकै अवस्थामा खेलकुद क्षेत्र पनि यस्तै देखिँदै आएको छ । सामाजिक र पारिवारिक कारणले पनि महिला खेलाडीको कमी भएको अनुभव हुन्छ । खेलकुदका क्षेत्रका महिलाको सहभागिता क्रमशः हुँदै आएको भए पनि ‘बडी बिल्डिङ’ का क्षेत्रमा त शून्यताजस्तै थियो । अहिले पनि महिला बडी बिल्डिङ खेलाडीहरूको नाम औँलामा गन्न पनि धौ–धौ हुन्छ । यही कम सङ्ख्याबीच पनि नेपाली महिला बडी बिल्डरले अन्तर्राष्ट्रिय मञ्चमै आफ्नो दर्विलो उपस्थिति देखाउनसक्नु निश्चय पनि खुसीको कुरा हो । नेपाली महिला बडी बिल्डरले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक जितेर नेपालको नाम उँचो पार्न थालिसकेका छन् ।
मलिका शाक्य यस्तै एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । गत असार महिनामा भएको १२औँ दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपअन्तर्गत महिला मोडल फिजिकमा स्वर्ण पदक जितेर मलिका एक्कासि चर्चामा आउनुभयो । मलिकाको उपलब्धि देशका लागि स्वर्ण पदकमात्र नभएर, नेपाली महिलालाई प्रेरणा दिने जित पनि बनेको छ । एक त शक्ति प्रदर्शन गर्नुपर्ने, अर्को हजारौँ दर्शकका अगाडि ‘टु पिस’ वस्त्रमा आफ्नो शरीरको प्रदर्शन गर्नुपर्ने खेल हो– बडी बिल्डिङ । यस्ता सामाजिक बाधा–अड्चनका कारण महिलालाई यो खेलमा लाग्न ठूलै आँट र भरोसा चाहिन्छ । नेपाली महिलाका लागि प्रतिकूल देखिने बडी बिल्डिङ खेललाई मलिकाले आत्मसात् मात्र गर्नुभएन, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरेर स्वर्ण पदक नै दिलाउनुभयो ।
बडी बिल्डिङको यात्रा
मलिकाको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । अझ भनौँ, उहाँ बडी बिल्डिङमा लागिपरेको नै धेरै भएको छैन गत वैशाखमा मात्रै हो । उहाँले पहिलोपटक बडी बिल्डिङ च्याम्पियनसिपमा सहभागिता जनाएको नै यही थियो । एक वर्षअघिसम्म त यो खेलबारे खासै ज्ञान पनि थिएन उहाँलाई । विनाशकारी महाभूकम्पपछि हो– मलिकाले जिम गर्न थालेको । पहिले उहाँ कार्डियो, एरोबिक गर्नुहुन्थ्यो । यसमा पारङ्गत भएर मलिका कार्डियो र एरोबिक प्रशिक्षक नै बन्न सफल हुनुभयो । अहिले पनि मलिका डिभाइन फिजिकल फिटनेस, केज टोटल फिटनेस, ताहाचल फिजिकल फिटनेस, फिटनेस स्टेसन कुमारीपाटी फिटनेस र नित्य जुम्बा फिटनेस गरी छ, फिटनेस सेन्टरमा प्रशिक्षण दिनुहुन्छ । सोहीक्रममा उहाँ हल्काफुल्का जिममा पनि समय दिँदै आउनुभएको थियो । एक दिन डिभाइनका बडी बिल्डिङ प्रशिक्षक रुजेश शाहीले हिमालयन बडी बिल्डिङ प्रतियोगितामा खेल्न सुझाउनुभयो ।
‘रुजेश गुरुले तपाईंको शरीर फिट छ । प्रतियोगितामा खेले हुन्छ । खेल्छ्यौ भने म तिमीलाई सो खेलका लागि तयार पार्छु,’ भन्नुभयो । मैले आफूलाई जाँच्न नै भए पनि खेल्ने निर्णय लिएँ । त्यसपछि हो– मैले गम्भीर भएर जिम गर्न थालेको । प्रतियोगितामा भाग लिने भएपछि दुई महिना अति मिहिनेत गरेँ । आफ्नो पहिलो प्रतियोगितामा नै चौथो भएँ । जसले मलाई यो खेलमा लाग्न सक्छु भन्ने प्रेरणा दियो,’ मलिका भन्नुहुुन्छ । गत वैशाखमा हिमालयन बडी बिल्डिङ खेलेपछि मलिकाका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने ढोका पनि खुल्यो । असारमा नेपालमै दक्षिण एसियाली बडी बिल्डिङ प्रतियोगिता हुने भयो । हिमालयन बडी बिल्डिङमा म स्टेजमा उभिएकीमात्रै हुँ भन्ने मलिकाले दक्षिण एसियाली खेलकुदका लागि भने कडा मिहिनेत गर्नुभयो । यद्यपि, मलिकालाई यस्तो उपलब्धि आउँछजस्तो लागेको थिएन । ‘मेरो प्रतिस्पर्धीमा नेपालकै धेरै अगाडिदेखि यही खेलमा लागेकी पूजा श्रेष्ठ हुनुहुन्थ्यो । भारतकी खेलाडी निसरिन (पारिख) पनि निकै अनुभवी थिइन् । त्यसैले स्वर्ण पदक नै जित्छुजस्तो लागेकै थिएन । ब्याकस्टेजमा प्रिजजिङमा भने अरूले मलाई दाबेदार मानिसकेका थिए । तर, म ढुक्क भने थिइनँ । स्वर्ण पदक विजेतामा मेरो नाम घोषणा हुँदासम्म पनि मैले विश्वास गर्न सकेकी थिइनँ,’ मलिकाले प्रतियोगिताको समय सम्झिनुभयो ।
परिवार र प्रशिक्षकको प्रेरणा
हुन त हरेक क्षेत्रमा सफलता हासिल गर्न परिवारको प्रेरणा चाहिन्छ । मार्गनिर्देशक पनि चाहिन्छ । मलिका यस पक्षमा भाग्यमानी ठहरिनुभयो । ‘मलाई यस खेलमा लाग्न कहिल्यै रोकतोक भएन । यो गाह्रो खेल हो । जिममा केही नभए पनि दिनको दुई÷तीन घन्टा व्यतीत गर्नुपर्छ । अझ प्रतियोगिताको समयमा बिहान–बेलुका गरी दुई सिफ्टमा अभ्यास गर्नुपर्छ । जीवनशैली सामान्य नै हुँदैन । परिवारलाई समय दिन नै सकिँदैन ।’ अझ मलिकाले अहिले आप्mनो नियमित कामसमेत छोडेको स्थिति छ । भन्नुहुन्छ– बुझ्ने परिवार भएन भने यो खेलमा लाग्नै सकिन्न ।
यस खेलमा लागेदखि मलिकालाई धरधन्दाको चिन्ता गर्नुपरेको छैन । विशेषतः आमाले मेरो सबै काम गरिदिनुहुन्छ । सुरुमा ‘टु पिस’ कपडा लगाउँदा पनि आमाले अप्ठ्यारो मान्नुभयो । तर, यो खेल नै शरीर देखाउने हो भनेर सम्झाएँ । अहिले त छोरीको सफलतामा उहाँ पनि खुसी हुनुहुन्छ । घरका अन्य सदस्य पनि रुढीवादी सोचाइ राख्ने हुनुहुन्न । जुन मेरा लागि ठूलो प्रेरणा हो ।
मलिकाको सफलतामा गुरु रुजेशको योगदानलाई पनि बिर्सन मिल्दैन । मलिकाको सम्बन्धमा असल हीरा चिन्ने जौहरी बन्नुभयो उहाँ । मलिका रुजेशकै खोज हो भन्दा फरक पर्दैन । एक बडी बिल्डिरलाई अनुशासन राख्नेमात्र होइन, अभ्यास, खुराकबारे सूक्ष्म अध्ययन गर्नुपर्छ प्रशिक्षकले । यस खेलमा आइपर्ने कठिनाइसँग सामना गर्न मानसिक रूपमा बलियो पार्नुपर्छ । प्रशिक्षक रुजेशले यी सबै गुण मलिकामा भर्नुभएको छ । मलिका भन्नुहुन्छ, ‘खेलको बेला उहाँको उपस्थितिले मात्रै पनि मलाई हौसला मिल्छ ।’
महँगो खेल
मलिका बडी बिल्डिङलाई सबभन्दा महँगो खेल भन्नुहुन्छ । उहाँको भनाइमा ‘एउटा खेल खेल्न चार÷पाँच लाख रुपियाँ खर्च हुन्छ । खाना, सप्लिमेन्ट, जिमको सामग्रीमा धेरै खर्च हुन्छ । पैसाको जोहो आफैँ गर्नुपर्छ । यो खेलमा खर्च गर्ने क्षमता नभएर राम्रो खेलाडी पनि पछाडि हट्नुपरेको उदाहरण धेरै छन् । मेरै कुरा गर्ने हो भने साथीभाइको सहयोगले मैले खेल्न सकेकी छु । अहिले त खेलका लागि काम पनि छोडेको स्थिति छ । अर्को हप्ता थाइल्यान्डको बैङ्ककमा ‘एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिप’मा खेल्दै छु । त्यसका लागि मेरो डाइटको जिम्मा डिभाइन जिम परिवारका साथीहरूले लिएका छन् । ‘सप्लिमेन्ट’मा लाग्ने खर्च एचएनपी, पोखराले प्रायोजन गरेको छ । मलाई त यो पैसा हुनेले मात्र खेल्ने खेलजस्तो लाग्छ । हामीजस्तोले त हरेक प्रतियोगितामा प्रायोजक खोज्दै खेल्नुपर्छ । आर्थिक कारणले नै खेलाडी जीवन दुई÷तीन वर्षभन्दा लम्ब्याउने सोचाइ छैन । अहिले नै आर्थिक रूपमा गाह्रो भइसक्यो । यो खेलमा सहयोगी हात छन् भनेमात्रै खेल्न सकिन्छ ।
सरकारले यो खेलप्रति खासै ध्यान दिएको देखिँदैन । देशका लागि पदक भिœयाएको खेल हो । त्यसैले सरकारले यसमा ध्यान दिनुपर्छ । बडी बिल्डिङ खेलाडीलाई यो खेलमा लाग्दा हुने तनाव कम गरिदिनुपर्छ । हुन पनि स्पोर्ट्स काउन्सिलमा अहिलेसम्म जिम नहुनु यस खेलप्रति सरकारको दृष्टिकोण कस्तो छ भन्ने गतिलो उदाहरण हो ।
डाइट र अभ्यास
यो खेलमा लाग्न ठूलो समर्पण चाहिन्छ । यसले शरीर सुन्दर बनाउँछ । त्यसकै प्रेरणाले जागरुक भएर युवाहरूको जिम जाने चलन निकै बढेको पनि छ । जिम गएरमात्र शरीर बन्ने होइन । जिमको प्रशिक्षण तथा बडी बिल्डिङको पूरा चक्रको एक हिस्सामात्र हो । बडी बिल्डिङमा अथक कसरतमात्र होइन, त्यसअनुरूप आहार र आरामको पनि आवश्यकता पर्दछ । बडी बिल्डिङमा लाग्ने खेलाडीको शरीरलाई अधिकतम प्रोटिनको आवश्यकता पर्छ । यसबाहेक बडी बिल्डिङमा लाग्नेले कम्तीमा आठ घन्टा सुत्नु आवश्यक छ । यस खेलमा धैर्यको आवश्यकता सर्वाधिक हुन्छ । कतिपय खानेकुरा बार्नुपर्छ । मलिका चिल्लो, पिरो खानुहुन्न । उहाँको ‘डाइट प्लान’मा बिहानै ओट्स खानुहुन्छ । त्यसपछि जिम गर्नुअघि भुटेको चिउरा, केरा, ओखर र बदाम खानुहुन्छ । बिहान करिब तीन घन्टा कसरत गरेपछि ‘प्रोटिन सेक’ लिनुहुन्छ । दिनको १५–२० वटा अन्डा खानुहुन्छ । उसिनेको कुखुराको मासु खानुहुन्छ । ‘बोइल’ भेजिटबल सलाद उहाँलाई नभई हुँदैन । त्यसपछि दुई घन्टा आराम गरेर जिम गरेपछि अगाडिका सबै डाइट दोहोरिन्छन् ।
भविष्यको योजना
मलिकाको भविष्यको योजनामा आफ्नै क्लब खोलेर अन्यलाई स्वस्थ बनाउनेछ । भन्नुहुन्छ– यो ‘वर्कआउट’को क्षेत्रमै जीवन बिताउँछु होला । अर्को योजना होइन सपना छ, विश्व बडी बिल्डिङ च्याम्पियनसिप जित्ने । उचित खुराक, अभ्यास र आर्थिक सहयोग भयो भने नसकिने होइन । मलाई लाग्छ– भित्री चाहना हुनुपर्छ, आफ्नो काममा समर्पित हुनुपर्छ, नसकिने केही छैन ।’