logo
२०८१ जेष्ठ २ बुधवार



नेपाली फुटबल टोलीका लागि मौसमको चुनौती

खेलकुद |


नेपाली फुटबल टोलीका लागि मौसमको चुनौती


प्रमोद जोशी

कुवेत सिटी, भदौ १८ गते । फिफा विश्वकप २०२२ को छनोट प्रतियोगिताअन्तर्गत पहिलो खेल खेल्न कुवेत पुगेको नेपाली फुटबल टिमलाई यहाँको गर्मी मौसमले चिन्तामा पारेको छ ।
नेपालले आगामी बिहीबार कुवेतसँग उसकै मैदानमा खेल्दैछ । कुवेतको गर्मी मौसमसँग अभ्यस्त हुन नेपाल चार दिनअघि कुवेत आएको थियो । नेपालले यहाँ दुई दिन अभ्यास पनि गरिसकेको छ । यद्यपि, नेपाली टिम जाबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा आफ्नो स्वभाविक प्रदर्शनमा असर पार्ला कि भन्ने चिन्तामा छ ।
नेपाली खेलाडीले पहिलो दिन कुवेतको समयअनुसार आठ बजेदेखि अभ्यास सत्रमा बिताएका थिए । सो समय तापक्रम ४६ डिग्री रहेको थियो । नेपाल कुवेत पुगेको दिन तापक्रम ४८ डिग्री थियो ।
नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले पहिलो दिन अभ्यास गर्दा खेलाडीलाई गाह्रो भएको जानकारी दिनुभयो । यहाँ एकदमै गर्मी छ, उहाँले भन्नुभयो । कप्तान चेम्जोङकै भनाइमा सही थाप्दै स्ट्राइकर नवयुग श्रेष्ठले तातो हावाले अभ्यासमा कठिनाइ आएको प्रतिक्रिया दिनुभयो । कुवेतको यात्रा पहिलो पटक गर्ने मिडफिल्डर सुनील वललाई यहाँको मौसमसँग अभ्यस्त हुन थप कठिनाइ भइरहेको छ । उहाँले भन्नुभयो, तातो हावामा अभ्यास गर्न सहज भएन । मलाई लाग्यो, नाकबाट रगत बगिरहेको छ । तातो हावाले मेरो नाकलाई सुख्खा नै बनाइदिएको थियो ।
यद्यपि, नेपाली फुटबल टिमले कुवेतमा खेल्न लागेको यो पहिलो पटक होइन । गत मार्चमा मात्र नेपालले कुवेतसँग दुई मैत्री खेल खेलेको थियो । यद्यपि सो समय यहाँको तापक्रम २५ देखि २९ डिग्री मात्र रहेको थियो । पछिल्लो पटक हामीले यस्तो समस्याको सामना गरेका थिएनौँ । सो समय खासै गर्मी थिएन । हाम्रो देशमा गर्मीको समय जस्तै थियो । त्यसैले सो समय खेल्न खासै गाह्रो भएन । यसपटक कुवेतको मौसमसँग भिज्न केही समय लाग्ने पक्का छ, इन्डोनेसियाली लिगमा आफ्नो व्यावसायिक खेल जीवन अगाडि बढाइरहेका मिडफिल्डर रोहित चन्द भन्नुहुन्छ ।
यद्यपि कप्तान चेम्जोङ अझै तीन दिन बाँकी रहेकोले बिहीबारसम्ममा सबै खेलाडी यहाँको गर्मी मौसमसँग अभ्यस्त भइसक्ने विश्वासमा हुनुहुन्छ । अर्का गोलरक्षक विशाल श्रेष्ठ पनि दुई, तीन दिनमै मौसम परिवर्तन हुने भए पनि खेलको समयमा यसले प्रभाव पार्नेछैन भन्नुहुन्छ । हामी करिब एक हप्ताअघि नै कुवेत आएका छौँ, यो हाम्रो राम्रो पक्ष हो । आशा गरौँ हाम्रो शरीरले यहाँको सुक्खा मौसमलाई जित्नेछ, उहाँको भनाइ छ । नेपाली टिम मलेसियाको सुपर लिग च्याम्पियन जिकोहोर डारुल ता जिम एफसीसँग मैत्री खेल खेलेर कुवेत आएको हो ।
विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह बीमा रहेको छ । सो समूहमा नेपाल र कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई पनि रहेका छन् । कुवेतसँग घरेलु मैदानमा पहिलो खेल खेल्ने तय भएता पनि दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य नसकिँदा नेपालले पहिलो खेल कुवेतमा नै गएर खेल्न लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?