logo
२०८१ जेष्ठ २ बुधवार



कुवेतविरुद्ध खेल्न नेपाल तयार

खेलकुद |


कुवेतविरुद्ध खेल्न नेपाल तयार


प्रमोद जोशी

कुवेत सिटी, भदौ १९ गते । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको २२औँ संस्करणको यात्रामा निस्केका नेपाल र कुवेत बिहीबार एकअर्काविरुद्ध खेल्दैछन् । विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत पहिलो खेल हुन लागेको हो ।
नेपालका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको खेलका लागि नेपाल तयार रहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “कुवेतविरुद्धको खेल जित्न सक्दो प्रयास गर्नेछौँ । फुटबल विकासका लागि चाहिने भौतिक पूर्वाधार र स्रोत सुविधाको तुलना गर्ने हो भने कुवेतभन्दा नेपाल निकै पछाडि छ । तर हामीले आफूसँग जति स्रोतसाधन छ, त्यहीअनुसार तयारी गरेका छौँ । हामीलाई थाहा छ, कुवेत सशक्त टिम हो । तर हामी कुवेतलाई टक्कर दिनेछौँ । सबै खेलाडीले कडा महेनत गरेका छन् । ”
गत मार्चमा मात्र नेपालले कुवेतसँग उसकै मैदानमा दुई मैत्री खेल खेलेको थियो । त्यसमा नेपालले एक खेल बराबरीमा खेलेको थियो भने अर्को खेल १–० ले हारेको थियो । प्रशिक्षक कालिनले सो समय डिफेन्समा ध्यान दिनुभएको थियो । यस पटक उहाँले पूर्ण रूपमा डिफेन्सिभ खेल नखेल्ने सङ्केत गर्नुभएको छ । उहाँले भन्नुभयो, “कुवेतविरुद्धका पछिल्ला दुई खेलमा नेपालको प्रदर्शन खराब थिएन तर हामीले आक्रमण गरेर खेलेनौँ । यद्यपि नेपालको डिफेन्सले कुवेतलाई समस्या दिएको थियो । टिम एकजुट भएर खेलेको थियो । आशा छ, भोलिको खेलमा नेपालको प्रदर्शनमा अझ सुधार हुनेछ । ”
उहाँले कुवेतमा अत्यधिक गर्मी भएकाले नेपाली खेलाडीका लागि परिस्थिति अनुकूल नभए पनि त्यसलाई बहाना नबनाई जितका लागि मैदानमा उत्रनेछौँ भन्नुभयो । “हामीलाई अन्डरडग मानिएको छ, जुन गलत होइन । हाम्रो मनोबल उच्च छ । हामी सबै टिमको सम्मान गर्छौं तर विपक्षी टिमसँग डराएर खेल्दैनौँ । हामीले मैदानमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन दिनु छ । नेपाली फुटबल टिमका लागि यो छनोट राम्रो अनुभव पनि हुनेछ । ”
यसैगरी नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले पनि प्रशिक्षककै भनाइमा सही थाप्नुभयो । उहाँले भन्नुभयो, “कुवेत बलियो टिम हो । हामी विपक्षी टिमको सम्मान गर्छौं । हाम्रो तयारी पनि राम्रो छ । हामीले तयारीकै क्रममा दुई मैत्री खेल पनि खेल्यौँ । त्यसैले कुवेतको सामना गर्न हामी तयार छौँ । हामी डराएर होइन, खेलको मज्जा लिएर खेल्नेछौँ । ”
कुवेतका प्रशिक्षक रोमियो योजाकले नेपाल राम्रो प्रतिद्वन्द्वी हो भन्नुभयो । “नेपाल सभ्य टिम हो ।
हामी यस छनोटका लागि विगत १३ महिनादेखि निरन्तर खटिइरहेका छौँ । यसबीच थुप्रै प्रशिक्षण शिविरका साथै केही खेल पनि खेल्यौँ । अब हामी नेपालका लागि
मात्र होइन, यस छनोटअन्तर्गत अन्य सबै टिमको सामना गर्न तयार भएका छौँ । हामीसँग फरक खेल र टिमका लागि भिन्नभिन्न योजना छन् । पछिल्ला तीन वर्ष प्रतिबन्धमा परेकाले हाम्रो क्षमताबारे हामीलाई नै राम्रो ज्ञान छैन । तर पछिल्लो पटक इराकमा भएको प्रतियोगितामा हामीले जसरी खेल्यौँ, त्यसले धेरै सकारात्मक नतिजा दिएको छ । ”
सरकारी हस्तक्षेपका कारण फिफाले सन् २०१५ मा कुवेतलाई प्रतिबन्ध लगाएको थियो । सन् २०१७ को डिसेम्बरमा मात्र प्रतिबन्ध फुकुवा भएको हो ।

 नवयुग अस्वस्थ
यसैबीच नेपालका स्ट्राइकर नवयुग श्रेष्ठ बिहीबार कुवेतविरुद्ध मैदानमा उत्रनेमा शङ्का उत्पन्न भएको छ । कुवेत आएपछि नवयुग अस्वस्थ हुनुभएको हो । उहाँको अहिले उपचार भइरहेको छ । चिकित्सकले नवयुगलाई धेरै झोल पदार्थ खान भनेका छन् । चिकित्सकका अनुसार नवयुग बिहीबारसम्म फिट भइसक्नुहुनेछ ।

इतिहास बनाउने दाउमा नेपाल
नेपालले अहिलेसम्म कुवेतलाई हराउन सकेको छैन । सन् १९८२ मा कुवेतविरुद्ध वाईबी घलेले गरेको गोल नेपालको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । सो खेल नेपालले ३–१ ले गुमाएको थियो । नेपालले अहिलेसम्म कुवेतविरुद्ध छ खेल खेलेको छ । त्यसमध्ये पाँच खेलमा नेपाल पराजित भएको छ । एसियाली खेलकुदअन्तर्गत सन् १९८६ मा ५–०, सन् १९९४ मा ८–० र सन् २००० मा भएको एएफसी एसियन कपमा ५–० ले नेपाल कुवेतसँग हारेको थियो । गत मार्चमा भएको दुई मैत्री खेलमध्ये एकमा नेपाल १–० ले पराजित भयो भने अर्को खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?