logo
२०८१ जेष्ठ २ बुधवार



यू–१९ क्रिकेटमा चामत्कारिक प्रदर्शनको आशा

खेलकुद |


यू–१९ क्रिकेटमा चामत्कारिक प्रदर्शनको आशा


प्रजित शाक्य

काठमाडौँ, भदौ १९ गते । उपलब्धिको दृष्टिकोणले विश्वस्तरीय खेलकुदमा नेपालको यू–१९ क्रिकेट टिमले जस्तो सफलता अन्य टिमले दिएको छैन । यस उमेर समूहमा पाँच पटक विश्वकप खेलिसकेको नेपालले पाकिस्तान, बङ्गलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्डजस्ता टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हराइसकेको छ । त्यसैले अहिले यू–१९ एसिया कप खेल्न श्रीलङ्कामा रहेको नेपाली क्रिकेट टिमबाट त्यस्तै चामत्कारिक प्रदर्शनको आशा गरिएको छ ।
श्रीलङ्काको कोलम्बोमा बिहीबारदेखि आठ टिम सहभागी यू–१९ एसिया कप सुरु भएको छ । नेपालले शुक्रबार आयोजक श्रीलङ्काविरुद्ध नै खेलेर दस दिन लामो प्रतियोगिताको सुरुवात गर्नेछ । गत महिना मलेसियामा भएको यू–१९ इस्टन क्षेत्रीय प्रतियोगिताको च्याम्पियन बनेर नेपाल एसिया कपमा खेल्न चयन भएको हो । नेपाल समूह ‘ए’मा श्रीलङ्का, बङ्गलादेश र यूएईसँग रहेका छन् । अर्को समूहमा गत विजेता भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।
पाँच टेस्ट राष्ट्र स्वतः यू–१९ एसिया कपमा छनोट भएका हुन् । नेपालसहित यूएई र कुवेत भने छनोट चरण पार गरेर यस प्रतियोगितामा खेल्न योग्य भएका हुन् । दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलमा खेल्नेछन् । त्यसपछि भदौ २८ गते फाइनल हुनेछ । श्रीलङ्कासँग खेलेपश्चात् नेपालले भदौ २२ मा बङ्गलादेश र भदौ २४ मा यूएईविरुद्ध खेल्नेछ ।
प्रतियोगितामा नेपाल अन्डरडग टिमका रूपमा रहेको छ । यद्यपि नेपालका कप्तान रोहित पौडेललाई प्रतियोगिताकै हेर्न लायक खेलाडीका रूपमा हेरिएको छ । दुई दिनअघि मात्र १७ वर्ष लागेका रोहितको नाममा सर्वाधिक कम उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतधक प्रहार गर्ने ब्याट्सम्यानको विश्व कीर्तिमान छ । त्यसैले पनि अन्य टिमले रोहितलाई खतरा मानेका छन् ।
मध्यक्रमका ब्याट्सम्यान रोहितसँग सिनियर टिमका लागि पनि छ एकदिवसीय र चार टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको अनुभव छ । त्यसैले रोहित स्वयं भन्नुहुन्छ, सिनियर टिमका लागि खेलेको अनुभव काम लाग्नेछ । यस प्रतियोगितामा आफ्नो टिमका लागि योगदान दिएर नेपाललाई जिताउन उत्सुक छु । यद्यपि प्रतियोगितामा छाप छोड्न नेपाललाई रोहितको प्रदर्शनले मात्र पुग्ने छैन । ब्याटिङको भार रोहितसहित आसिफ शेख, रित गौतम, हरिबहादुर चौहान, भीम सार्की, खडक बोहरा र लोकेश बममा पनि रहनेछ । बलिङमा सागर ढकालबाट ठूलो अपेक्षा गरिएको छ । उहाँसँगै सूर्य तामाङ र तेज बलरद्वय रसिद खान र कमलसिंह ऐरीमा पनि विकेट लिने जिम्मेवारी हुनेछ । यसैगरी, पवन सराफ र कुशल मल्लको रूपमा नेपालसँग दुई प्रतिभाशाली अलराउन्डर छन् ।
यू–१९ एसिया कपका लागि वैदेशिक प्रशिक्षण हुन नसके पनि नेपाल करिब दुई हप्ताअघि नै श्रीलङ्का आएको हो । नेपालले श्रीलङ्कामा तीन अभ्यास खेल पनि खेल्यो । जुन नेपालका लागि प्रतियोगितामा फलदायी हुनसक्छ । श्रीलङ्का र बङ्गलादेशमध्ये एक र त्यसपछि यूएईलाई हराएर सेमिफाइनलमा पुग्ने नेपालको दाउ हुनेछ ।
आयोजक श्रीलङ्कामा स्कुल क्रिकेट संरचना निकै बलियो छ । त्यसैले श्रीलङ्काको उमेर समूहको क्रिकेट सशक्त हुन्छ । यद्यपि श्रीलङ्काले एसिया कप तथा विश्वकपजस्ता प्रमुख प्रतियोगितामा आफ्नो क्षमताअनुसार प्रदर्शन गरेको विगत छैन तर यसपटक घरेलु मैदानमा श्रीलङ्कालाई भारत र पाकिस्तानसँगै उपाधि दावेदार मानिएको छ । श्रीलङ्काका कप्तान निपुल धनन्जय पनि यसपालि आफ्नो टिमले प्रतियोगितामा राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त छ, भन्नुहुन्छ ।
हामी घरेलु मैदानमा खेल्दैछौँ । हाम्रो तयारी पनि राम्रो छ । प्रशिक्षण शिविरमा छँदा हामीले केही अभ्यास खेल पनि खेल्यौँ । त्यसैले हामी अहिले उच्च मनोबलमा छौँ, श्रीलङ्काका कप्तान धनन्जयको भनाइ छ । धनन्जयसहित श्रीलङ्काका केही खेलाडीसँग यू–१९ विश्वकप खेलेको अनुभव छ ।
यी दुई टिमबीच यू–१९ मा पाँच पटक भिडन्त भएको छ । नेपालले अहिलेसम्म श्रीलङ्कालाई हराउन सकेको छैन । यद्यपि पछिल्लो पटक सन् २०१६ को एसिया कपमा नेपाल जितको नजिक पुगेर पनि श्रीलङ्कालाई हराउनबाट वञ्चित भएको थियो । श्रीलङ्कामा नै भएको सो खेलमा नेपाल नाटकीय रूपमा एक रनले पराजित भएको थियो । नेपालले भोलि श्रीलङ्काविरुद्ध खेल्दा पछिल्ला हारको बदला लिने प्रयास गर्नेछ ।
à पाकिस्तान स्तब्ध
यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले बिहीबार पाकिस्तानलाई डकवर्थ लुइसको नियमअनुसार ८५ रनले स्तब्ध पारेको छ । पहिले ब्याटिङ गरेको अफगानिस्तानले प्रतिपालि ४६ ओभरमा छोट्याएको खेलमा नौ विकेटको गुमाएर १६२ रन बनाएको थियो । पाकिस्तान जवाफमा १९.४ ओभरमा नै ७८ रनमा सीमित भयो । पाकिस्तानलाई खेल जित्न १६४ रन बनाउनुपर्ने संशोधित लक्ष्य दिइएको थियो । दुई वर्षअघि अफगानिस्तानले फाइनलमा पाकिस्तानलाई नै हराएर युथ एसिया कपको उपाधि जितेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?