logo
२०८१ मंसिर ६ बिहीवार



अफगानिस्तानले बंगलादेशलाई घरेलु मैदानमा हरायो

खेलकुद |


अफगानिस्तानले बंगलादेशलाई घरेलु मैदानमा हरायो



ईश्वरचन्द्र झा
काठमाडौं, भदौ २३ गते । उत्कृष्ट टेष्ट खेल्ने टोलीलाई घरेलु मैदानमा हराएर चर्चा बटुल्दै आएको बङ्गलादेश यसपटक आफ्नै मैदानमा आफैं स्तब्ध हुनुपर्यो । मान्यता पाएको तेस्रो वर्षमा बङ्गलादेश विरुद्ध टेष्ट म्याच खेल्ने अवसर जुराएको अफगानिस्तानले घरेलु टोलीलाई उसकै मैदानमा फराकिलो अन्तरले पराजित गरेको छ ।
ठूल ठूला टेष्ट खेल्ने राष्ट्रलाई हराएर विश्व क्रिकेटलाई स्तब्ध बनाउँदै आएको बङ्गलादेश अफगानिस्तान विरुद्धको पहिलो र एकमात्र खेलमा नीरिह बन्नपुग्यो ।
अफगानिस्तानका लागि पहिलो चार दिन सहज भए जस्तो पाँचौं तथा अन्तिम दिन वर्षाको रुपमा ठूलै चुनौतीको रुपमा आयो । ऐतिहासिक जित हात पार्न चार विकेट मात्रै बाँकी रहेको अवस्थामा पटक पटक पानी पर्दा खेल बिना परिणाम टुंगिने धेरैले अनुमान गर्नुभएको थियो ।
तर तेस्रो पटक पानी पर्न रोकिएपछि अम्पायरले १८ ओभर तीन बल बलिङ्ग गर्ने निर्णय सुनाएका थिए
। अफगानिस्तानले राहत महसुस गर्यो र अम्पायरको निर्णय उसलाई कीर्तिमान रच्न पर्याप्त भयो ।
३९८ रनको लक्ष्य पछ्याउने क्रममा पाँचौं तथा अन्तिम दिन वर्षाले खेल अवरुद्ध हुनुअघि बङ्गलादेशका लागि चर्चित अलराउण्डर शकीब अल हसन र सौम्य सरकार ब्याटिङ्ग गर्न क्रिजमा हुनुहुन्थ्यो । तर अफगानिस्तानका कप्तान राशिद खान एक्लैले दोस्रो पालिमा छ विकेट लिएपछि बङ्गलादेश १७३ रनको झिनो योगफलमा खुम्चिन पुग्यो । अफगानिस्तान २२४ रनको फराकिलो अन्तरको जित हात पार्दा इतिहास बनाउन सफल भयो ।
यसअघि चतोग्राममा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको अफगानिस्तानले आफ्नो पहिलो पालिमा ३४२ रन बनाएको थियो । रहमत शाह शतक लगाएर अफगानिस्तानको मध्यक्रलाई भरपर्दो बनाउनु भएपछि अश्गर अफगानले ९२ तथा कप्तान खानले ५१ रनको योगदान दिनुभयो ।
जवाबमा बङ्गलादेश पहिलो पालिमा मात्र २०५ रनमा समेटिन पुग्यो । पहिलो पालिमा १३७ रनको अग्रता लिएको अफगानिस्तान दोस्रो पालिमा २६० रन बनाएर घरेलु टोली समक्ष ३९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । अफगानिस्तानले लक्ष्य प्रस्तुत गर्दा झण्डै खेल सकिन दुई दिन बाँकी रहेकोले परिणाम अफगानिस्तान वा बङ्गलादेश दुबैको पोल्टामा जान सक्ने अनुमान गरिएको थियो । तर पानी परेपछि परिणामविहीन टुंगिने अड्कल चल्दा पाहुना टोली अफगानिस्तानले प्रकृतिको व्यवधानका बीच पाएको अवसरमा कीर्तिमान बनाउन सफल रह्यो ।
खेलको म्यान अफ द् म्याच राशिद खान घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?