logo
२०८१ जेष्ठ २ बुधवार



भीम बने गोरखा म्याराथन च्याम्पियन

खेलकुद |


भीम बने गोरखा म्याराथन च्याम्पियन


नरेन्द्र ढकाल

गोरखा, भदौ २६ गते । गोरखामा आयोजित लिगलिगकोट–सिरानचोक–गोरखा दरबार खुला म्याराथन दौडको उपाधि भीमबहादुर गुरुङले जित्नुभएको छ । ३ घण्टा १७ मिनेट २ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै गोरखाको थुमीका स्थानीय गुरुङले उपाधि जित्नुभएको हो ।
द्रव्य शाहले नेपाल एकीकरण सुरु गरेको उद्गमस्थल लिगलिगकोटदेखि पृथ्वीनारायण शाहको गोरखा दरबारसम्म दौडन पाउनु निकै खुसीको कुरा हो, विजेता भएपछि पत्रकारसँग कुराकानी गर्दै नेपाली सेनाका अवकाशप्राप्त धावक गुरुङले भन्नुभयो, मलाई गर्वको महसुस भएको छ ।
उहाँले नगद एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभएको छ । ४६० वर्षअघि लिगलिग राज्यले गोरखा राज्यमाथि हमला गरेर युद्ध जितेको सम्झनामा बुधबार दौड आयोजना गरिएको हो । ११४ जना धावक सहभागी प्रतियोगितामा रुकुमका दुर्गाराज बुढा दोस्रो हुनुभएको छ । उहाँले निर्धारित दूरी ३ घण्टा १७ मिनेट ४७ सेकेण्डमा पार गर्दै एक लाख पुरस्कार हात पार्नुभएको छ । यसैगरी रणबम दल गणका सविन तामाङ ३ घण्टा ३० मिनेट २ सेकेण्डमा गोरखा दरबारमा
पुगेर तेस्रो घोषित हुनुभएको छ । उहाँलाई ५० हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी दस जना खेलाडीलाई नगद पुरस्कार वितरण गरिएको छ ।
विक्रम संवत् १६१६ भदौ २५ गते श्रीकृष्ण जन्माष्टमीका दिन गोरखा दरबार नियन्त्रणमा लिएपछि द्रव्य शाहले पस्लाङ चौतारामा राज्याभिषेक लिइएको इतिहास छ । यो म्याराथन नितान्त दौड मात्र होइन, आयोजकमध्येका एक सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले भन्नुभयो, हामीले दौडमार्फत आजभन्दा ४६० वर्षअघिको इतिहासलाई सम्झेका छौँ । यसले इतिहासको जगेर्ना गर्नुका साथै पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुग्छ भन्ने अपेक्षा छ ।
गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रणसिंह दल गण गोरखाको संयुक्त आयोजनामा लिगलिगकोट –सिरानचोक–गोरखा दरबार खुला म्याराथन दौड गरिएको हो । उक्त दौडलाई एकीकरण टे«लका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । ‘तत्कालीन राजा द्रव्य शाहले छोप्राकमा बसी सेनाका कमान्डर र राजगुरुलाई समेत राखी गोरखा दरबारमा हमला गर्ने योजना बनाएको इतिहासमा उल्लेख छ, अध्यक्ष गुरुङले भन्नुभयो, त्यसैले लिगलिगकोटबाट सिरानचोक हुँदै गोरखा दरबारसम्म राज्य विस्तार हुँदा प्रयोग भएका स्थानलाई समेटेर यो रुट बनाएका हौँ । सोही बेला नेपाली सेनाको जन्म भएकाले सोही अनुसार दौड आयोजनामा सेना पनि जोडिएको हो । पृथ्वीनाराण शाहले १८२६ सालमा नेपालमा सर्वप्रथम श्रीनाथ गण गठन गर्नुभएको थियो । कालिबक्स गण, वज्रभैरव र गोरख गणसमेत सोही बखतमा गठन भएको इतिहासमा उल्लेख छ । ऐतिहासिक स्थलहरूलाई जोड्दै खेल पर्यटन विकास गराउने उद्देश्यका साथ सेना र हामी एकैठाउँमा उभिएका हौँ, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भन्नुभयो, यसले नेपालको खेलकुद र पर्यटन दुवैलाई फाइदा पुग्छ भन्ने हाम्रो अपेक्षा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?