logo
२०८१ जेष्ठ २ बुधवार



महिला फुटबल टिमलाई उपाधिको खडेरी कायम

सावित्रा भण्डारी हाई स्कोरर

खेलकुद |


महिला फुटबल टिमलाई उपाधिको खडेरी कायम


प्रजित शाक्य
काठमाडौँ, भदौ २६ गते । उज्बेकिस्तानसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएपछि नेपालको अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि पर्खाइ लम्बिने भएको छ । विश्व महिला फुटबलमा ४४ आंै स्थानमा रहेको उज्बेकिस्तानले १०६ आंै स्थानमा रहेको नेपाललाई कम गोल अन्तरले हराएको छ ।

किर्गिस्तानस्थित काराकोलस्थित सेन्ट्रल रङ्गशालामा उज्बेकिस्तानले नेपाललाई ३–२ ले हराएर नादेज्दा कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
नेपालको महिला फुटबल टिमले आठ पटक अन्तर्राष्ट्रिय फुटबलको उपाधि भिडन्त गरिसकेको छ । यद्यपि नेपाल अहिलेसम्म उपाधि विहिन छ । विगतका फाइनलमा भारतसँग छ पटक र म्यान्मासँग एक पटक हारेको नेपाली महिला फुटबल टिमलाई निराश बनाउने राष्ट्रमा उज्बेकिस्तान पनि थपिएको छ ।

खेलको ६४ औँ मिनेटसम्म उज्बेकिस्तानले ३–० ले अग्रता लिइसकेको थियो । तर नेपालले त्यसपछि दुई गोल फर्काएर आफूलाई जुझारु टिमको रुपमा प्रस्तुत ग¥यो । खेलको ६७ औँ मिनेटमा नेपालकी नम्बर एक स्ट्राइकर सावित्रा भण्डारीको सहयोगमा नेपालले एक गोल फर्काएर फाइनल रोमाञ्चक बनाउने प्रयास गर्नुभयो । सरु लिम्बुले डिबक्समा मिलाइदिएको पासमा सावित्राले गोल गर्नुभएको हो । अतिरिक्त समयको पहिलो मिनेटमा अनिताले प्रहार गरेको बल डिबक्समा रहेकी डिफेन्डरको हातमा लागेपछि नेपालले पेनाल्टी पाएको थियो । सावित्राले सो पेनाल्टीको सदुपयोग गर्दै स्कोर ३–२ पार्नुभयो । तर सो गोल नेपाललाई ढिला प्राप्त भयो । त्यसपछि नेपाललाई बराबरी गोल फर्काउन पर्याप्त समय मिलेन ।

चालू प्रतियोगितामा सावित्राको यो सातौँ गोल भएको छ । उहाँले यसअघि आयोजक किर्गिस्तानविरुद्ध ह्याट्रिकसहित चार गोल र ताजकिस्तानविरुद्ध एक गोल गर्नुभएको थियो । सन् २०१४ मा सिनियर टिममा पदार्पण गरेकी सावित्राले अहिलेसम्म ३५ गोल गरिसक्नुभएको छ ।

चार टिम सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा पनि उज्बेकिस्तानसँग नै हारेको थियो । यद्यपि पहिलो खेलमा किर्गिस्तानलाई ८–२ र तेस्रो खेलमा ताजकिस्तानलाई १–० ले हराएर नेपालले उज्बेस्तिानसँगै शीर्ष दुईमा रहेर फाइनलमा स्थान बनाएको थियो ।

नेपालकी कप्तान निरु थापाले फाइनलमा पुनरागमन जनाउनुभयो । उज्बेकिस्तानविरुद्धको खेलमा घाइते भएपछि निरु ताजकिस्तानविरुद्ध सहभागी हुनसक्नुभएको थिएन । ताजकिस्तानविरुद्ध रेनुका नगरकोटीले नेपाली महिला टिमको नेतृत्व गर्नुभएको थियो ।

भण्डारी हाई स्कोरर

नादेज्दा कप फुटबल प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीलाई हाई स्कोरर अवार्ड दिइएको छ । उहाँले प्रतियोगितामा सात गोल गर्नुभएको थियो ।

-फाेटाे साभार गाेलनेपालडटकम

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?