logo
२०८१ जेष्ठ ३ बिहीवार



सागको तयारीका लागि समिति गठन

खेलकुद |


सागको तयारीका लागि समिति गठन



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १० गते । नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ ।
१३औँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । समितिअन्तर्गत राष्ट्रिय टिम तयारीमा रिमबहादुर रानाभाट संयोजक र महेन्द्रकुमार राई सचिव तोकिएको छ ।
यसैगरी राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव केशवकुमार विष्टले खेल स्थल व्यवस्थापनको जिम्मेवारी पाउनुभएको छ । उहाँलाई सचिव पदमा रहेर लवभक्त श्रेष्ठले साथ दिनुहुनेछ । बैठकले प्राविधिक समितिमा गङ्गाबहादुर थापा मगर संयोजक र अर्जुनबहादुर विक सचिव तथा स्रोतसाधन परिचालनमा उमेशलाल श्रेष्ठलाई संयोजक तोकेको छ ।
अन्य समितिअन्तर्गत सुरक्षामा प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल संयोजक र फणिन्द्र पौडेल सचिव, आवास व्यवस्थापनमा टासी घले संयोजक र विनोद उप्रेती सचिव, यातायात व्यवस्थापनमा अर्जुनबहादुर केसी संयोजक र सरोजकुमार पोखरेल सचिव, स्वास्थ्यमा डा. अजयशमशेर जबरा संयोजक र मधुसुदन बस्नेत सचिव हुनुहुन्छ ।
यसैगरी, प्रचारप्रसार तथा प्रकाशनमा शिव कोइराला संयोजक र दुर्गाप्रसाद दुलाल सचिव, समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल संयोजक र कुलबहादुर थापा सचिव, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ संयोजक र प्रेम मल्ल सचिव, मूल्याङ्कनमा अणप्रसाद न्यौपाने संयोजक र डेमबहादुर बस्नेत सचिव, अतिथि सत्कारमा अमरसिंह शाह संयोजक र अनन्तादेवी खनाल सचिव तथा खेल सामग्री, उपकरण तथा पोसाक व्यवस्थापनमा पुरेन्द्रविक्रम लाखे संयोजक र बज्रबहादुर केसीलाई सचिवको जिम्मेवारीमा हुनुहुन्छ ।
१३औँ दक्षिण एसियाली खेलकुद मङ्सिर १५ गतेदेखि काठमाडौँ र पोखरामा हुँदैछ । बैठकले सागको अर्को आयोजनास्थल पोखराका लागि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा पाँच सदस्यीय स्थानीय व्यवस्था सहजीकरण समिति पनि गठन गरेको छ । समितिका सदस्यमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी र राखेपका सदस्य राजेश गुरुङ रहनुभएको छ । सचिवमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी हुनुहुन्छ । उक्त समितिलाई सहजीकरणका लागि विभिन्न ११ उपसमिति गठन गर्न अधिकार पनि दिएको छ । त्यस्तै सागमा समावेश विभिन्न २७ खेल मध्ये कुस्ती जनकपुरमा गर्ने निर्णय गरेको छ ।
यी विविध समितिलाई कार्यको बाँडफाँड गरिएपछि सागको तयारी तीव्र हुने अपेक्षा गरिएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?