logo
२०८१ जेष्ठ ३ बिहीवार



नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्वाचित

खेलकुद |


नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्वाचित


प्रजित शाक्य
काठामडौँ, असोज ११ गते । चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चुनिनुभएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)द्वारा विगत साढे तीन वर्षदेखि प्रतिबन्धमा रहेको कारण बहुप्रतिक्षित बनेको क्यानको चुनावी विशेष साधारण सभाले चन्दलाई अध्यक्षमा शनिबार चयन गरेको हो । क्यानको अध्यक्ष बन्न चन्दले प्रतिस्पर्धी विनयराज पाण्डेलाई सहजै हराउनुभयो । चन्दले ४४ र पाण्डेले १५ मत प्राप्त गर्नुभएको थियो ।
साढे तीन वर्षअघि चन्द नेतृत्वमा रहेकै बेल आइसीसीले क्यानलाई निलम्बन गरेको थियो । सो बेला चन्दको निर्वाचित कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद्ले मान्यता नदिएर रमेश सिलवालको अध्यक्षमा क्यान पुनर्गठन गरेको थियो । त्यसपछि क्यानको समानानतर संघ बन्यो । जसले गर्दा चन्दले अध्यक्षको रुपमा गर्न पाउनुभएन । सोही बहानामा आइसीसीले घरेलु क्रिकेटको सर्वोच्च संस्थामा सरकारी हस्तक्षेप, आर्थिक पारदर्शिता र निष्पक्ष निर्वाचन नभएको भन्दै क्यानलाई निलम्बन गरेको थियो । आइसीसीले नेपालप्रति उदारता देखाएर अन्तर्राष्ट्रिय क्रिकेट खेल्न भने दिएको थियो ।
१७ सदस्यीय कार्य समितिमा चन्द समूहको प्यानलले अधिपत्य कायम गर्यो । राजुबाबु श्रेष्ठ ४१ मत हासिल गरी उपाध्यक्षमा, तथा अशोक प्याकुरेल ४२ मतका साथ सचिवमा चुनिनुभयो । यसैगरी कोषाध्यक्षको जिम्मेवारी रोशनबहादुर सिंहले पाउनुभयो । उहाँले ४५ मत प्राप्त गर्नुभएको थियो । राजबाबुले मिङमा देण्डु शेर्पा (१७ मत), प्याकुरेलले विनोद मैनाली (१५ मत) र सिंहले उपेन्द्र भट्टराई (१२ मत)लाई हराउनुभएको हो ।
सदस्यमा कैलाश विष्ट, अमितवीर पाण्डे, दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द, माधवकुमार कर्माचार्य, प्रशान्तविक्रम मल्ल, सञ्जय सिंह, करन महोत्रा क्षेत्री, विक्रम विष्ट, ऋषि गौतम, पदमबहादुर खड्का, दाउद अन्सारी र जयन्ती भट्ट विजयी हुनुभयो । भट्ट एक मात्र महिला सदस्य भएपछि स्वतः निर्विरोध हुनुभयो ।
अन्सारी (प्रदेश २), गौतम (प्रदेश ४), मल्ल (प्रदेश ५), खड्का (प्रदेश ६) र विक्रम विष्ट (प्रदेश ७) निर्विरोध चुनिनुभएको हो । प्रत्येक प्रदेशबाट एकजना सदस्य रहने प्रावधान छ । अन्य सदस्यमा प्रदेश १ मा कैलाश विष्टले लाक्पा लामा र प्रदेश ३ का उम्मेदवारमा अमितवीर पाण्डेले कैलाश प्रधानलाई हराउनुभयो । खुल्लातर्फ वीरेन्दबहादुर चन्द, दुर्गाराज पाठक, माधवकुमार कर्माचार्य, करण महोत्रा क्षेत्री र सञ्जयराज सिंह विजयी बन्नुभएको हो ।
निर्वाचनमा जिल्लाबाट एक÷एक जना गरी ३९ र प्रदेशबाट २० गरि ५९ जना मतदाताले मत दिएका थिए ।
आईसीसीद्वारा गठिन स्वतन्त्र समितिले राष्ट्रिय खेलकुद परिषद्को रोहबरमा क्यानको निर्वाचन सम्पन्न गरेको हो । क्यानको नयाँ कार्यसमितिपछि आइसीसीको आगामी बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्ने अपेक्षा गरिएको छ । आइसीसीको बैठक यही असोज २६ गते बस्दैछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?