logo
२०८१ जेष्ठ ३ बिहीवार



पारसको ऐतिहासिक शतक, नेपालको सान्दार जित

खेलकुद |


पारसको  ऐतिहासिक शतक, नेपालको सान्दार जित


प्रजित शाक्य


काठमाडौँ, असोज ११ गते । कप्तान पारस खड्काको ऐतिहासिक शतकीय पालिको सहयोगमा नेपालले शनिबार आयोजक सिङ्गपुरलाई सजिलै नौ विकेटले हराएको छ ।
सिङ्गापुरमा भइरहेको त्रिदेशीय टि२० शृङ्खलामा नपालको यो पहिलो जित हो । नेपाल एक दिनअघि जिम्बाब्वेसँग पराजित भएको थियो । सिङ्गापुरको इन्डियाना एसोसिएसन क्रिकेट मैदानमा टस जिति पहिले ब्याटिङ गरेको घरेलु टिम सिङ्गापुरले तीन विकेटको क्षतिमा १५१ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । नेपालले चार ओभर बाँकी छँदै एक विकेटको क्षतिमा १५४ रन बनाएर लक्ष्य हासिल गर्यो ।


पारसको कीर्तिमान शतक
पारसले चौका, छक्काको वर्षात् गर्दै आउट नभइकन १०६ रन बनाउनुभयो । पारसको सो पालि टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो शतक भएको छ । अनतर्राष्ट्रिय एकदिवसीइ क्रिकेटमा पनि नेपालका लागि पहिलो शतक पारसकै नाममा छ । गत जनवरीमा पारसले युएयविरुद्ध ११५ रन बनाएर कीर्तिमन राख्नुभएको थियो ।
पारसले ४९ बलमा शतक पूरा गर्नुभयो । ३० बलमा अर्धशतक छुने पारसलाई शतकसम्म पुग्न थप १९ बलको मात्र आवश्यकता पर्यो । पारसले मात्र ५२ बलको सामना गरी नौ छक्का र सात चौका प्रहार गर्नुभयो । पारस नै म्यान अफ दि म्याच बन्नुभयो ।


के भन्छन् पारस
‘मैले मात्र होइन टिमनै एकजुट भएर खेल्दा जित प्राप्त भएको छ । विकेट ब्याटिङमैत्री थियो । मैले त्यसको फाइदा उठाएँ । शतकले सन्तुष्टि त दिन्छ नै तर त्यो भन्दा पनि महत्वपूर्ण टिमको जित हो । देशलाई खेल जिताउनुले ठूलो सन्तुष्टि मिल्छ । अब जिम्बाब्वेविरुद्धको खेलमा पनि यस्तै आत्मविश्वासका साथ खेल्नेछौँ ।
सिङ्गापुरविरुद्ध बदला
यो जित नेपालका लागि बदला पनि भएको छ । यी दुई राष्ट्रबीच भएको पछिल्लो खेलमा सिङ्गापुरले नेपाललाई हराएर आफूलाई टि२० विश्वकपको ग्लोबल छनोटमा पुर्याएको थियो भने नेपालको टि२० विश्वकपमा खेल्ने सपना चकनाचुर पारेको थियो । यसैगरी, सिङ्गपुरविरुद्धको पाँच टि२० मा नेपालको यो तेस्रो जित हो । एक खेल नतिजाविहिन रहेको थियो ।
आरिफको उचित साथ
युवा प्रारम्भिक ब्याट्सम्यान इशान पाण्डेले लगातार दोस्रो खेलमा असफल हुनुभयो । इशान पाँच रनमै आउट भएपछि लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात कमजोर बनेको थियो । तर पारसले दोस्रो विकेटका लागि आरिफ शेखसँग मिलेर ८७ बलमा १४५ रनको साझेदारी निर्वाह गरी नेपालको जित सहज बनाउनुभयो । जसमा आरिफको योगदान ३९ रन रह्यो । आरिफले ३८ बलको सामना गरेर पाँच चौका प्रहार गर्नुभयो ।
सिङ्गापुरको पालि
यसअघि, सिङ्गापुरका लागि कप्तान टिम डेभिडले ४४ बलमा अविजित ६४ रनको पालि खेल्नुभएको थियो । डेभिडको पालिमा चार छकका र तीन चौका सामेल थियो । सुरेन्द्रन चन्द्रमोहनले पनि २६ बलमा उपयोगी ३५ रन बनाउनुभयो ।
नेपालका लागि करण केसीले दुई तथा सुसन भारीले एक विकेट लिनुभयो । स्टार लेग स्पीनर सन्दीप लामिछानेले विकेट लिन नसकेपनि चार ओभरमा मात्र १८ रन खर्चेर किफायती बलिङ गर्नुभयो ।
नेपालले अर्को खेल मङ्गलबार जिम्बाब्वेविरुद्ध खेल्नेछ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?