धनगढी, असोज १२ गते । केटिएम बाईक अन्तर संघ फुटबल प्रतियोगिता हुने भएको छ । नैनादेवी युवा क्लबको आयोजनामा अन्तर संघ फुटबल प्रतियोगिता हुन लागेको हो ।
असोज १३ गतेदेखि असोज १८ गतेसम्म धनगढी रंगशालामा केटिएम बाईक अन्तर संघ फुटबल प्रतियोगिता हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलन गर्दै जानकारी गराइएको छ ।
प्रतियोगितामा संघका पदाधिकारीसहित ३५ वर्ष पुगेका चारजना खेलाडी पनि टीममा राख्न पाउने आयोजक नैनादेवी युवा क्लबका अध्यक्ष जीतेन्द्र बोगटीले जानकारी दिनुभयो ।
संघमा मताधिकार भएका चार जना खेलाडी टीममा राखे पनि दुई जनाले मात्रै मैदानमा खेल खेल्न पाउने उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार रुपियाँ तथा उपविजेताले नगद २५ हजार रुपियाँसहित ट्रफी र मेडल पाउनेछन् । प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टीमको सहभागिता रहेको छ ।
समुह ‘ए’ मा कैलाली जिल्ला फुटबल संघ, निर्माण व्यवसायी संघ, ईटा व्यवसायी संघ र कैलाली उद्योग वाणिज्य संघ रहेका छन् ।
समुह ‘बी’मा नेपाल खेलकुद पत्रकार मञ्च कैलाली, धनगढी उपमहानगरपालिका, वैंकर्स क्लब धनगढी र निजामति कर्मचारी संघ रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा निर्माण र ईटा व्यवसायी संघ भिड्नेछन् । प्रतियोगिताको उद्घाटन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रतियोेगिता धनगढी रंगशालामा आयोजना हुने आयोजकले जनाएको छ ।