logo
२०८१ जेष्ठ २ बुधवार



रुस र पोल्याण्ड यूरो कपका लागि छनौट

खेलकुद |


रुस र पोल्याण्ड यूरो कपका लागि छनौट



एजेन्सी
पेरिस, असोज २७ गते । रुस र पोल्याण्ड यूरो कप २०२० को लागि स्थान सुनिश्चित गरेको छ । रुसले साइप्रसलाई र पोल्याण्डले उत्तरी म्यासिडोनियालाई पराजित गरेर यूरो कप २०२० मा स्थान सुनिश्चित गर्ने तेस्रो र चौथो राष्ट्र बनेको छ । अर्को वर्ष पोर्चुगलमा आयोजना हुने प्रतियोगितामा बेल्जियम र इटाली यसअघि नै छनौट भइसकेको छ ।
रुसले दशजना खिलाडीमा सिमित भएको साइप्रसमाथि ५–० को फराकिलो अन्तरको जित सुनिश्चित गर्यो । रुसका लागि डेनिस चेरेसेभले दुई, मागोमेड ओजदोइभ, अर्टिम ज्युभा र एलेक्जेन्डर गोलोभिनले सामान एक एक गोल गर्नुभयो । भ्यालेन्सियाका चेरेसेभले खेलको नवौं मिनेटमा पहिलो गोल गर्नुहुँदै पाहुना टोली रुसले १–० को अग्रता दिलाउनुभयो । स्कटल्याण्ड विरुद्धको खेलमा लामो प्रहार गरेर दुई गोल गर्नुभएका ओजदोइभले हाफ टाइम अघि अर्को गोल गरेर रुसको अग्रतालाई २–० मा पुर्याउनुभयो ।
खेलको २८ औं मिनेटमा कोस्तास लैफिस खेल मैदान बाहिर पठाइएपछि साइप्रसको पुर्नवापसीको सम्भावना लगभग समाप्त भएको थियो । स्ट्राइकर अर्टिम ज्युभाले आफ्नो दोस्रो खेलमा तेस्रो गोल गर्नुहुँदै ७९ औं मिनेटमा अग्रतालाई तेब्बर पार्नुभयो । अलेक्जेन्डर गोलोभिनले गोल थपेपछि साइप्रस ४–० ले पछाडि पर्दा चेरेसेभले आफ्नो दोस्रो गोल गर्नुहुँदै गोल अन्तर ५–० पुर्याउँदा रुस फराकिलो अन्तरको जितसँगै यूरो कपको लागि स्थान सुनिश्चित गर्न सफल भयो ।
तेस्रो स्थानको साइप्रसभन्दा रुस ११ अड्ढले अगाडि रहेको छ । समूह आई को अब दुई खेल मात्रै खेल्न बाँकी रहेको छ ।
आइतबार नै सम्पन्न यूरो कपको अर्को खेलमा भने पोल्याण्डले उत्तरी म्यासिडोनियामाथि २–० को जित हात पारेको छ । रोबर्ट लेवान्डोस्कीले तयार गरेको बललाई जेमिस्लव फ्रान्कोस्की र अर्काडिऊज मिलिकले गोलमा परिणत गर्दा पोल्याण्डको जित सुनिश्चित भएको हो । समूह जी को अब दुई खेल मात्रै खेल्न बाँकी रहेको छ ।
६५ प्रतिशत बल आफ्नो पोल्टामा राखेपनि गोल गर्न नसकेको पोल्याण्डले खेलको ७४ औं मिनेटमा फ्रान्कोस्किको गोलमा खाता खोल्न सफल भयो । गत् नोभेम्बर यता एउटै गोल गर्न नसकेका लेवान्डोस्कीले छ मिनेटपछि अर्को गोल गर्नुहुँदै पोल्याण्डको अन्तरलाई २–० पार्नुभयो ।
समूह जीको अड्ढ तालिकामा शिर्ष स्थानमा पुगेको पोल्याण्डले आठ खेलबाट १९ अड्ढ जोडेको छ । अष्ट्रिया १६ अड्ढसहित दोस्रो र म्यासिडोनिया र स्लोभानिया १४ अड्ढ ल्याएर तेस्रो र चौथो स्थानमा छन् ।
२००८ सम्म यूरो कपमा पुग्न नसकेको पोल्याण्ड भने त्यसयता लगातार चौथो पटक छनौट भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?