logo
२०८१ जेष्ठ २ बुधवार

  सन्दर्भ पारसको राजिनामा 



स्टाइलिस र प्रिय क्रिकेटरको अपत्यारिलो पाली

खेलकुद |


स्टाइलिस र प्रिय क्रिकेटरको अपत्यारिलो पाली


प्रजित शाक्य

काठमाडौँ, असोज २८ गते । कप्तान र आदर्श कप्तान बन्नु फरक कुरा हो । कुनै पनि कप्तानलाई पछिसम्म सम्झिरहनुपर्छ भन्ने जरुरत छैन । तर आदर्श कप्तानलाई पछिसम्म सम्झिरहने हुन्छ ।
पारस खड्का नेपाली क्रिकेटमा सोही आदर्श कप्तानको छवि बनाएको क्रिकेटर हुनुहुन्छ । यद्यपि अब पारससँग मङ्गलबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तानको ‘ट्याग’ झुन्डिएको हुनेछ । नेपाली क्रिकेटका सर्वाधिक सफल कप्तान पारस खड्काले सोमबार आप्mनो पदबाट राजीनामा दिनुभएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपालमाथि करीब तीन वर्षदेखि लगाएको प्रतिबन्ध सशर्त फुकुवा गर्ने निर्णय गरेको भोलिपल्ट पारसले कप्तानी छोड्ने स्तब्धकारी निर्णय गर्नुभएको हो । पारसले यो निर्णय एक्कासि नभई कप्तान पद छोड्न आइसीसीले निलम्बन फुकुवा गर्ने दिन कुरिररहेको थिएँ, भन्नुभयो । मेरो लागि यो कठिन निर्णय होइन । म आप्mनो कुरामा पहिले नै स्पष्ट हुने गर्दछु । हो धेरैलाई थाहा थिएन । त्यसैले झट्का लागेको हुनुपर्छ । तर कुनै न कुनै दिन मैले निर्णय गर्नुनै पर्ने थियो र अहिले एक कप्तान र खेलाडीको रुपमा स्थिति अनुकुल भएको बेला नै कप्तानी छोड्ने निर्णय लिएँ– उहाँको भनाई छ ।
पारसले सञ्चारमाध्यमको सामना गर्नुअघि मङ्गलबार बिहान प्रेस विज्ञप्ति र सामाजिक सञ्जालमार्फत् आफू अब केही नयाँ सुरुवात गर्न चाहेको उल्लेख गर्नुभएको थियो ‘नेपाली क्रिकेट टिममाथिको प्रतिबन्ध हटाइएको थाहा पाउँदा ठूलो खुशीको अनुभव भइरहेको छ । नेपाली क्रिकेट, खेलाडी र क्रिकेटसँग सरोकारवाला सबैको विकासका लागि काम गर्न नयाँ कमितिलाई शुभकामना दिन चाहन्छु । अब नयाँ सुरुवात र सबैजना संलग्न हुनसक्ने प्रतिवद्धता र दुरदर्शीताको महसुस गर्दै मैले नेपाली क्रिकेट टिमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु । यस अवसरमा म सबै खेलाडी, प्रशिक्षक, अम्पायर, ग्राउन्ड्सम्यान, साथीभाई, परिवारलाई धन्यवाद दिन चाहन्छु, जसले मेरो असाधारण यात्रामा सहयोग गरेका छन् ।’
पारसले एक खेलाडीको भूमिकामा भने आफू निरन्तर रहने बताउनुभयो ।
कप्तानको रुपमा पारस
अग्लो कद, आकर्षक अनुहार, स्टाइलिस र सबैको प्रिय क्रिकेटर मध्यम तेज गतिमा बलिङ गर्ने शीर्ष क्रमका भरपर्दा ब्याट्सम्यान पारस २२ वर्षको उमेरमा पुग्दा सिनियर राष्ट्रिय टिमका कप्तान बनिसक्नुभएको थियो । पारसले विनोद दासलाई स्थानापन्न गर्दै सन् २००९ मा संयुक्त अब इमिरेट्समा भएको एसिसी टि२० क्रिकेट प्रतियोगितामा पहिलो पटक नेपाली सिनियर क्रिकेट टिमको नेतृत्व गर्नुभएको हो । त्यसपछि उहाँले आप्mनो कप्तानीमा नेपाललाई थुप्रै उपलब्धि दिलाउनुभएको छ । विश्वकप टि२० क्रिकेटमा सहभागिता र पहिलो सहभागितामै तीनमध्ये दुई खेलमा दुर्लभ जित । अन्तर्राष्ट्रिय टि–ट्वान्टीको मान्यता र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पारसकै कप्तानीमा नेपालले प्राप्त भएको हो ।
नेपालले पारसको कप्तानीमा सन् २०१४ मा बङ्गलादेशमा भएको आइसीसी विश्वकप टि२० प्रतियोगिता खेलेको हो । पारसले नेतृत्व लिँदा नेपाल आइसीसीले टेस्ट नखेल्ने राष्ट्रका लागि तयार पारिएको विश्व क्रिकेट लिगको डिभिजन पाँचमा थियो । पारसकै नेतृत्वमै नेपाल त्यहाँबाट एकदिवसीय मान्यताप्राप्त राष्ट्रको असाधारण यात्रा तय गरेको छ । यसैगरी, पारसको नेतृत्वमा नै विगतमा टेस्ट नखेने राष्टबीच नेपाल शीर्ष स्थानमा पनि रहेको टिम हो ।
सन् २००६ मा युवख विश्वकपमा प्लेट च्याम्पियन पनि पारसको कप्तानीमा ठूलो उपलब्धि हो । यसैगरी, पारसको नेतृत्वमा आइसीसी डिभिजन फाइभ, डिभिजन फोर, एसीसी ट्रफीको उपाधि पनि नेपालको सफलताका कथा हुन् । यी उपलब्धिले प्रष्ट हुन्छ, पारस नेपाली क्रिकेटका सबभन्दा सफल कप्तान हुनुहुन्छ ।
पारसको क्रिकेट यात्रा
काठमाडौँस्थित बुद्धनगरमा पारसको क्रिकेट जीवन साउथ प्वाइन्ट स्कुललाई उपाधि दिलाएपछि सुरु भएको हो । सोही प्रतियोगिताले पारस काठमाडौँको यु–१५ क्रिकेट टिममा पर्नुभएको थियो । त्यसपछि प्रशिक्षक रोय डायसको रेखदेखमा उनको क्रिकेट जीवन झाँगिदै गयो ।
१६ वर्षकै उमेरमा उनी राष्ट्रिय यु–१९ टिममा पर्नुभयो । यु–१९ खेलिसकेपछि उहाँ पाकिस्तान जाने यु–१७ टिममा सामेल हुनुभयो । जुन टिममा उहाँलाई नाइके बनाइएको थियो । त्यसपछि लगातार शानदार प्रदर्शनले राष्ट्रिय सिनियर टिममा छनोट हुन पनि उनलाई धेरै समय लागेन । सन् २००४ मा एसीसी इन्टरकन्टिनेन्टल तीन दिवसीय प्रतियोगितामा मलेसियाविरुद्ध खेलेर उहाँले राष्ट्रिय सिनियर टिमबाट पनि पदार्पण गर्नुभयो । सन् २००९ मा आइपुग्दा उहाँ राष्ट्रिय टिमका कप्तान पनि घोषित हुनुभयो ।
यसबीच उहाँले तीन पटक विश्वकप यु–१९ प्रतियोगिता खेलिसक्नुभएको थियो । पारसले उमेर समूहको क्रिकेट खेल्दा नेपालले टेष्ट नखेल्ने राष्ट्रबाहेक एसियाली उमेर समूह क्रिकेटमा अजय टिमको छवि बनाएको थियो । यसैले पारसले नेपालको जर्सीमा उमेर समूहका धेरै उपाधि जित्नुभयो । यसै क्रममा पारस आइसीसीबाट उदयीमान खेलाडी पनि घोषित हुनुभयो । यस्तो सम्मान हासिल गर्ने उहा त्यसबेला नेपालका एकमात्र पुरुष खेलाडी हुनुहुन्थ्यो ।
एक खेलाडीको रुपमा पनि पारसको नाममा थुप्रै कीर्तिमान रहेका छन् । उहाँ अन्तर्राष्ट्रिय एकदिवसीय र टि२० मा शतक प्रहार गर्ने नेपालका एकमात्र ब्याटसम्यान हुनुहुन्छ । नेपाललाई पहिलो पटक एकदिवसीय र टि२० शृङ्खला जिताउने कप्तान पनि पारस नै हुनुहुन्छ ।
पारसले कप्तानको रुपमा चार प्रशिक्षक रोय डायस, पुबुदु दसनायके, जगत टमाटा र उमेश पटवालसँग सहकार्य गर्नुभएको छ । यी सबै प्रशिक्षकसँग पारसले नेपाली क्रिकेटका लागि राम्रो नतिजा निकाल्नुभएको छ ।
को होला नयाँ कप्तान
नेपाल क्रिकेट संघ (क्यान)को कार्यसमितिको यही हप्ता बस्ने बैठकले नयाँ कप्तानको निर्णय गर्ने सम्भावना बढी छ । पारस भने नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भावी कप्तानको रुपमा हेर्नुभएको छ । मलाई लाग्छ, कम्तीमा एक वर्ष ज्ञानेन्द्रलाई मौका दिनुपर्छ, उहाँ टिमको सबभन्दा सिनियर खोलडी हुनुहुन्छ भने सबै खेलाडीको सम्मान पनि उहाँलाई प्राप्त छ– पारसले भन्नुभयो । यद्यपि नयाँ कप्तानमा दिपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेलाई पनि बेवास्ता गर्न मिल्दैन । ज्ञानेन्द्रको अनुपस्थितिमा दिपेन्द्रले नेपाली क्रिकेट टिमको उपकप्तानको भूमिका निर्वाह गसिक्नुभएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?