logo
२०८१ जेष्ठ ३ बिहीवार



अन्तिम बलमा सिंगापुरको जित

आईसीसी टी ट्वान्टी विश्वकप छनोटअन्तगर्तको पहिलो खेलमा सिंगापुरु विरुद्ध अन्तिम बलमा तीन रन ल्याउन आवश्यक छँदा स्कटल्याण्ड सकेनन ।

खेलकुद |


अन्तिम बलमा सिंगापुरको जित


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १ गते । यूएईमा जारी आईसीसी टी ट्वान्टी विश्वकप छनोटको प्रथम खेलमा सिंगापुरले स्कटल्याण्डमाथि दुई रनको जित हात पारेको छ । १६९ रनको लक्ष्य पछ्याउँदै स्कटल्याण्ड १६६ रनमा समेटिएपछि सिंगापुरले झिनो अन्तरको जित हात पार्न सफल भयो ।
स्कटल्याण्डले उत्कृष्ट सुरुवात गरेपनि पुछारका ब्याट्सम्यानहरु संयमित हुन नसक्दा उसले हार बेहोर्नुपर्यो । ७० रनको स्थितिमा मात्र एक विकेट गुमाएको स्कटल्याण्डले बाँकीको ९६ रन जोडन महत्वपूर्ण आठ विकेट गुमायो । अन्तिम बलमा तीन रन ल्याउन आवश्यक छँदा स्कटल्याण्ड सकेनन । सिंगापुरका बलरहरुले वापसी गर्दा स्कटल्याण्ड पुरा २० ओभर खेलेपनि १६६ रनमा खुम्चिन पुग्यो । स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सीले सर्वाधिक ४६ तथा कप्तान कायल कोर्जरले ३८ रनको पारी खेल्नुभयो । चौथो नम्बरमा आउनुभएका क्यालम म्याक्लोइडले ४४ रनको योगदान गरेर स्कटिश पारीलाई केही स्थिरता दिने प्रयत्न गर्नु भएपनि पुछारका ब्याट्सम्यानहरुको विकेट लगालग झरेपछि स्कटल्याण्ड अप्ठ्यारोमा परेको हो ।
सिंगापुरका लागि अमजद महबुब र सिद्धान्त सिंहले सामान दुई दुई तथा सेलाडोर विजयशंकरले तीन विकेट लिनुभयो ।
यसअघि यूएईमा टस हारेर पहिला ब्याटिङग गर्ने निम्ता पाएको सिंगापुरले २० ओभरमा छ विकेटको क्षतिमा १६८ रनको योगफल तयार गर्नुभयो । छ रनमै पहिलो विकेट गुमाएर दबाबमा आएको सिंगापुरलाई सुब्रमण्यम चन्द्रमोहनले अद्र्धशतकीय पारी खेलेर ५१ रनको योगदान गरेपछि उच्च योगफल बनाउन सफल रह्यो । मध्यक्रममा अरिता दत्तले ३२ था मनप्रित सिंहले २६ रनको योगदान गर्नुभयो । जितसँगै सिंगापुरले महत्वपूर्ण दुई अङ्क जोडेको छ ।
छनोट प्रतियोगिताको समूह ए मा यी दुई राष्ट्रसँगै नेदरल्याण्ड्स, पपुवान्युगिनि, नामिबिया, केन्या र बर्मुडा रहेका छन् ।
समूह बी मा यूएई, आयरल्याण्ड, ओमान, हङकङ, क्यानाडा, जर्सी र नाइजेरिया रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?