logo
२०८१ जेष्ठ ३ बिहीवार



सागका लागि बीच भलिबलको मैदान निर्माण

खेलकुद |


सागका लागि बीच भलिबलको मैदान निर्माण


कास्की, कात्तिक ३ गते ।
नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत बीच भलिबल खेलका लागि मैदान निर्माण गर्न थालिएको छ ।
आगामी मङ्सिर १५ गतेदेखि आयोजना हुने सागलाई लक्षित गरेर बीच भलिबल खेलको पूर्वाधार निर्माण थालिएको हो । सागअन्तर्गत बीच भलिबलसहित नौ खेल पोखरामै खेलाइनेछ ।

बीच भलिबल खेलिदै आएको एक कोर्टलाई स्तरोन्नति तथा थप तीन नयाँ कोर्ट निर्माण गरिने योजना छ । त्यसैगरी महिला तथा पुरुषको छुट्टाछुट्टै चेञ्जिङ रुम, बत्तीलगायत अन्य पूर्वाधारसमेत निर्माण गरिने बताइएको छ । फेवाताल किनार बाराहीघाटस्थित नेपाल ट्रष्टको स्वामित्वमा रहेको जग्गामा दुई सातामै आवश्यक सबै पूर्वाधार निर्माण गरी काम शुरु गरिएको राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले बताउनुभयो ।

सो कार्यका लागि राखेपबाट रु ५२ लाख विनियोजन भएपछि उपभोक्ता समितिमार्फत काम शुरु गरिएको उहाँको भनाइ थियो । नयाँ कोर्ट निर्माणका लागि जमीनको खाल्डाखुल्डी पुर्न करीब पाँच हजार ५०० घनमिटर माटो आवश्यक पर्नेछ । आजदेखि पाँच ट्रिपर लगाएर फेवाताल सफाइअन्तर्गत निकालिएको माटो ओसार्न शुरु गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष भीम पराजुलीले बताउनुभयो । मैदानमा माटो भरेपछि डेढ फिट बालुवा हालेर निर्धारित समयमै मैदान तयार गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सागका लागि नेपाली राष्ट्रिय भलिबल टोली एक सातापछि बन्द प्रशिक्षणका लागि पोखरा आउने सदस्य गुरुङले जानकारी दिनुभयो । नेपाली टोलीमा महिला तथा पुरुष चार/चार गरी आठ जनाको सहभागिता रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?