logo
२०८१ जेष्ठ ३ बिहीवार



वुमन्स च्याम्पियन्स लिगमा काठमाडौँद्वारा ललितपुर पराजित

खेलकुद |


वुमन्स च्याम्पियन्स लिगमा काठमाडौँद्वारा ललितपुर पराजित



काठमाडौं, कात्तिक ३ गते ।
राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा क्याट क्विन्स काठमाडौँ पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा काठमाडौँले ललितपुर फाल्कोन्सलाई ८ विकेटले हराउँदै प्ले अफमा पुगेको हो । जितसँगै काठमाडौँले चार खेलमा छ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लेको छ । त्यस्तै लगातार तेस्रो हार बेहोरेको ललितपुर प्रतियोगिताबाट बाहिरिएको छ ।

ललितपुरले प्रस्तुत गरेको १०६ रनको लक्ष्य काठमाडौंले १७ ओभर दुई बल खेलेर मात्र दुई विकेटको क्षतिमा पुरा गर्यो । काठमाडौँको जितमा कप्तान रुबिना क्षेत्रीले अविजित ५९ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो। उहाँले ५२ बलमा एक छक्का र नौ चौका प्रहार गर्दै सर्वाधिक ५९ रनको योगदान दिनुभयो । त्यस्तै रोमा थापाले १८, रश्मी चौलागाईले ९ तथा अप्सरी बेगमले अविजित ७ रन जोडिन् । बलिङतर्फ ललितपुरकी सम्झना खड्का र अलिसा केसीले एक÷एक विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०५ रनको योगफल बनाएको थियो । उसका लागि रोशनी बोहराले अविजित २९ रन जोडिन् भने नेरी थापाले २२, ममता चौधरीले १५ तथा गीता गोसाईले १३ रन बनाइन् । काठमाडौँकी ईश्वरी बिष्टले दुई विकेट लिँदा सरस्वती चौधरीले एक विकेट झारिन ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?