logo
२०८१ मंसिर ६ बिहीवार



प्रधानमन्त्रीको चासोपछि क्रिकेट बङगलादेश पछि हट्यो, खेलाडीहरु सहमतिमा

खेलकुद |


प्रधानमन्त्रीको चासोपछि क्रिकेट बङगलादेश पछि हट्यो, खेलाडीहरु सहमतिमा


एजेन्सी
काठमाडौं, कात्तिक ७ गते । एघार बुँदे माग राखेर विद्रोहमा उत्रेका बङगलादेशका क्रिकेट खेलाडी सहमतिमा आएका छन् । बङगलादेश क्रिकेट बोर्डसँगको छलफलमा खेलाडीहरुको लगभग पुरा माग सम्बोधन हुने सहमतिपछि खेलाडीहरु मैदानमा फर्किने भएका हुन् ।
बङगलादेश टेष्ट र टी ट्वान्टी टोलीका कप्तान शकीब अल हसनले बुधबार अबेर राति दुई घण्टासम्म बोर्डसँगको छलफल करीब सहमतिमा पुगेको बताउनुभएको छ । शकीब अल हसनले बोर्डको आश्वासनपछि राष्ट्रिय क्रिकेट लिग र भारत भ्रमणको तयारी स्वरुप प्रशिक्षणमा सहभागी हुने प्रष्ट्याउनुभयो । बङगलादेशले नोभेम्बर भारत भ्रमण गर्ने तालिका रहेकोमा खेलाडीको विद्रोहले उक्त तालिका प्रभावित हुने अनुमान गरिएको थियो ।
सहमतिका लागि पहिलो चरणको छलफल लगत्तै खेलाडीहरुले पत्रकार सम्मेलनको आयोजना गरी दुईवटा थप माग प्रस्तुत गरे । क्रिकेट बोर्डको आम्दानीको प्रतिशत खेलाडीलाई वितरण गर्नुपर्ने र महिला क्रिकेटरको ज्याला समान हुनुपर्ने माग राखेका छन् । कप्तान शकीब अल हसनले डीपीएल स्थानान्तरण र बीपीएल फ्रेन्चाइज मोडेल निरन्तरता पाउने बताउनुभयो । सहमति बमोजिम सबै माग तीन चार दिन भित्रै पुरा हुने उहाँले दाबी गर्नुभयो ।
सञ्चारमाध्यमहरुका अनुसार विवाद बढ्दै गर्दा क्रिकेट बोर्डका प्रमुख नजमुल हस्सन र निर्देशक नैमुर रहमानले मशरफे बिन मर्तजनाको उपस्थितिमा प्रधानमन्त्री शेष हसिनासँग भेट गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटपछि बोर्ड आफ्नो अडानबाट पछि हटेको हो । सोमबारबाट सुरु भएको खेलाडीहरुको विरोधमा केन्द्रमा आबद्ध पहिलो श्रेणीको खेलाडी र ढाकाको पहिलो दर्जाको लिगका खेलाडीहरुले समर्थन जनाएपछि बङगलादेश क्रिकेट बोर्डमाथि दबाब परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?